सुधीर जैन
नयाँदिल्लीमा स्वतन्त्रताप्रिय लेखकको मौन प्रदर्शनका दौरान आखिर त्यही भयो, जसबारे आशंका गरिएको थियो । शुक्रबार अचानक एउटा वर्ग खडा भयो, जसले मौन प्रदर्शन गरिरहेका साहित्यकारको विरोधमा खुलेर नारा लगाउन सुरु गर्यो । अभिव्यक्ति स्वतन्त्रता हननको विरोधमा जम्मा भएका प्रदर्शनकारीले अचानक प्रतिपक्षीको अभिव्यक्तिको सामना गर्नुपर्यो ।
साहित्य एकेडेमीद्वारा सम्मानित साहित्यकारद्वारा सम्मान फिर्ता गर्ने सिलसिला सुरु भएपछि पछिल्लो हप्ता केन्द्रीय मन्त्री अरुण जेटलीले ती साहित्कारको विरोधमा मोर्चा खोलेका थिए । त्यसबेलै कुनै प्रतिपक्षी वर्गका तर्फबाट कुनै प्रतिक्रिया अवश्यक हुनेछ भन्ने तय भइसकेको थियो, तर साहित्यकारको मौन प्रदर्शनका वेला त्यही स्थान, त्यही समय यसको प्रतिरोध हुन्छ भनेर कोही अनुमान गर्न सकिरहेको थिएन । यो मौन जुलुसको तीन दिनपहिले साहित्यकारहरूले प्रेस क्लब अफ इन्डियाको सभाकक्षमा एक प्रतिरोध सभा गरेका थिए, जसमा व्यक्त विचारले मिडियामा खासै स्थान पाएका थिएनन् । तर, त्यहाँको दृश्य हेर्दा यस्तो लाग्थ्यो, देशमा बढ्दो असहिष्णुताविरुद्ध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा साहित्यकार वर्ग जुझारु भइरहेको छ ।
अरुण जेटलीका अनुसार अभिव्यक्ति स्वतन्त्रतालाई लिएर चिन्तित यी साहित्यकार पछिल्लो सरकारका वेला साहित्य एकेडेमीबाट सम्मानित साहित्यकार हुन् । यसको आशय पछिल्लो सरकारका वेला एकेडेमीबाट सम्मानित यी साहित्यकार संदिग्ध हुन् । त्यसैले उनीहरू विरोध गरिरहेका छन् । समग्रमा देशकै दिग्गज वकिलहरूमध्ये एक अरुण जेटलीको तर्क सम्मानित साहित्यकारलाई संदिग्ध प्रमाणित गर्नु थियो । तर, यस्तो तर्कले उनको शासनकालमा साहित्य एकेडेमीले जो–जसलाई सम्मानका लागि चुन्नेछ, ती स्वत: सरकारप्रति बफादारी भएको प्रमाणित हुनेछ ।
अर्थात्, अरुण जेटलीको भनाइबाट साहित्य एकेडेमीको विश्वसनीयता बिल्कुल खत्तम हुन्छ । हाम्रो न्यायप्रणालीमा उपलब्ध अदालत र हाम्रो स्वायत्त संस्थाहरूको निर्णायक मण्डल नै एक मात्र विश्वसनीय उपाय हो । कुनैपनि राजनीतिक व्यवस्थासँग विश्वसनीयता नाप्ने कुनै सुरक्षित उपाय भए बताइयोस्, अन्यथा सबै कुरा संदिग्ध भयो भने पूरै समाज नै सन्देहको घेरामा पर्न जान्छ ।
साहित्य जगत्मा बिल्कुल निर्लज्ज, खुलमखुल्ला आग्रह छ भने अलग कुरा हो, तर आधुनिक वैज्ञानिक सम्प्रेषण प्रणाली भएको युगमा सही र गलतको भिन्नता बुझ्न त्यति मुस्किल काम पनि हुन सक्दैन । साहित्य जगत्मा आलोचना–समालोचनाको चरण खत्तम भइसकेको छ । त्यसैले असल साहित्यकार बेचैन कसरी नहोऊन् ? यस्तोमा नागरिक अथवा पाठकका रूपमा हाम्रो बाध्यता हेर्नुस् त, साहित्यकार नै मानव जटिलतालाई सरल र रोचक बनाएर सुरुचिपूर्ण तरिकाले व्यक्त गर्न सक्षम हुन्छन्, तर उनीहरू नै समस्यामा परे भने असल साहित्यबाट हामी वञ्चित हुनु अनिवार्य नै हुन्छ ।
जैन भारतका वरिष्ठ पत्रकार तथा अपराधशास्त्री हुन् ।
एनडिटिभी डट इनबाट
No comments:
Post a Comment