Wednesday, November 11, 2015

अख्तियार प्रभु ! बौद्धनाथभित्रको मनपरी हेर्न मिल्दैन ?


                 यसरि भत्काइयो बौद्धनाथ स्तुप
काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्प जाँदा बौद्धनाथ स्तुपको टुप्पोको केही भाग मात्रै चर्केको थियो । त्यसको तस्विर सर्वत्र उपलब्ध छ । भूकम्प गएको केही दिनपछि बौद्धनाथ क्षेत्र विकास समितिले स्तुपको ‘मर्मत’ गरौं भन्दै पुरातत्व विभागलाई हतार हतार जानकारी दिएर आफ्नो संयोजकत्व र पहलमा एउटा कथित मर्मत कमिटी गठन पनि गरियो । कोषको आफ्नै बजेटबाट मर्मत गर्ने भनेर बौद्धनाथ स्तुपको गजुर झिकेर १३(तेह्र) भुवन तहको फेदैसम्म भत्काउने काम गरेको समाचार छ । (जसको तस्विर कान्तिपुर दैनिकमा तस्विरकर्मी सुरविन्द्र कुमार पुनले १२ कात्तिक २०७२ मा छापेका पनि छन्) । अहिले बौद्धनाथ स्तपुको कलश भाग(गर्भगृह) र आधारशीलाका भाग मात्र रहेका छन् ।
तेह्र तहको भुवन भाडामा अनेक पुरातात्विक वस्तुहरू र मणि–माणिक्य, सुनचाँदीले लेखिएको बौद्ध ग्रन्थहरूदेखि मूर्ति, लघुचैत्य अनि गरगहना(आभूषण) समेत राखिएको विश्वास छ । त्यो बौद्धनाथ स्तुपको तेह्र भुवन तहको भित्री संरचना काठले बनाउने हुँदा पटक पटक काठ फेर्नेक्रममा त्यसप्रकारका वस्तुहरू थपिदै आएको बताइन्छ । पछिल्लो समय विक्रम सम्वत २०२३ सालमा चट्याङ लाग्दा पनि स्तुपको तेह्र भुवन मध्ये ६/७ वटा भागको मर्मत गरेको र दाता भक्तजनहरूले त्यसबेला पनि त्यहाँ मुँगा चीउँ र सुनचाँदीका गहनाहरू थपेको बताउने प्रत्यक्षदर्शीहरू अहिले पनि जीवित नै रहेको बताइन्छ ।
अहिले भूकम्पले क्षति पुर्‍याएको निहुँ पारी स्तुपको तेह्र भुवनको सम्पूर्ण भाग भत्काएर त्यसभित्र रहेका सबै अमूल्य वस्तु धारणीहरू(बौद्धग्रन्थ) बौद्धक्षेत्र विकास कोषको रेखदेखमा राखेको भनिन्छ । अर्काेतर्फ बौद्धनाथ स्तुपको कलश(गर्भगृह) मर्मत बिनाकारण मर्मत गर्नुपर्ने भन्दै खोतल्ने दुष्प्रयासमा लागेको कुरा बौद्ध धमौलम्वीहरूबीचमा व्यापक चर्चा चल्न थालेको छ । त्यसको मूल उद्देश्य गर्भगृह(कलाश)भित्र गाढेर राखेको अमूल्य वस्तुहरू हातापार्ने कुप्रयासको आशंका पनि बुद्धिष्ठहरूले गर्न थालेका छन् ।
बौद्धास्तुपको भूकम्प पछिको फोटो यस्तो थियो ।




१६ औं शताब्दीमा बौद्धस्तुपको वर्तमान स्वरुप निर्माण भएपछि पटक पटक उक्त स्तुपको मर्मत संभार भएको कुरा ऐतिहासिक दस्तावेजमा उल्लेख भएतापनि उनीहरूले गर्भगृहलाई नछोएको बताइन्छ । किन भने गर्भगृह ठूलो आकारको र बलियो भएकाले वि.सं.१९९० सालको भुँईचालोले पनि कुनै असर पार्न सकेको थिएन । अहिले मर्मतको नाममा अनावश्यकरुपमा बौद्धनाथ स्तुपलाई त्यसरी भत्काउने अनुमति पुरातात्विक विभाग र सम्बन्धित निकायले कसरी दिन सक्यो आश्चर्यको विषय हुन गएको बुद्धिष्ठहरू चर्चा गर्दछन् ।
वर्तमान संविधानले नेपालको ऐतिहासिकस्थलको स्याहार–सम्भार र ‘उत्खनन्’ गर्ने भन्ने शब्दावलीको मनसाय ऐतिहासिक भग्नावशेषको उत्खनन् गर्ने भन्ने बुझिन्छ । मन्दिरहरूको संरचना भत्काउने भन्ने होइन । संविधानको त्यो धारामा टेकेर पुरातत्व र राष्ट्रिय सम्पदा वा विश्व सम्पदाबारे नयाँ कानून पनि बनेका छैनन् ।
बौद्ध स्तुपको स्थापना अंशु बर्माकाल भन्दा पहिले चावेलको चारुमति बिहार निर्माणकालतिरै भएको मानिन्छ । चारुमति चैत्य अशोक सम्राटकी पुत्री राजकुमारी चारुमतिले निर्माण गरेकी हुन् । बौद्धनाथ स्तुप अहिले विश्व सम्पदा सूचीमा सूचिकृत रहेको छ । त्यसकारण नेपाल सरकारले आफू पक्ष राष्ट्र बनेको युनेस्को अवधारणा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीतिको पालना गर्नैपर्छ भन्ने बौद्ध विश्लेषकहरूको भनाई रहेको मात्र होइन–बौद्ध स्तुपप्रति आस्था राख्ने देश–विदेशका बौद्धजनहरूले बौद्धनाथप्रति कसैले निजी र व्यक्तिगत स्वार्थका कारण गर्ने कुकृत्यलाई अनास्थाकारीको आक्रमणको रुपमा लिने भएका छन् ।
बौद्धनाथको प्रवेश शुल्कबाट उठाउको रकम जथाभावी खर्च गर्ने र अहिले आएर बौद्धनाथ स्तुपको गर्भगृह नै तोड्ने दुष्प्रयास गर्नु घोर धर्मद्रोही कार्य मानिएको छ । यस विषयमा परम्परागत बौद्धगुठीका पुजारी बौद्ध घ्याङ गुठी मौन रहनु पनि रहस्यमय विषय बनेको छ । जेहोस् नेपाल सरकारले आफ्नो राष्ट्रिय सम्पदा जोगाउनका लागि मर्मतको नाममा स्तुपको तेह्र भुवनभित्रका अमूल्य वस्तुहरू कसले कहाँ राखेको छ भनि खोज्न छानविन समिति गठन गर्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ । स्तुपको गर्भगृह खोतल्न गर्भगृह(कलाश भाग) समेत मर्मत गर्ने योजना बनाएर ल्याउनेहरूमाथि कारवाही गरी गर्भगृह खोतल्ने काम तुरुन्त रोक्का गराउनुपर्छ ।
रात्रिकालमा भत्काएका तेह्र भुवन पुन: निर्माण भइनसक्दासम्म सुरक्षाकर्मी तैनाथ गर्ने र दिनमा पनि स्तुपको रेख–देख गर्न सुरक्षाकर्मी खटाउनु जरुरी रहेको स्थानीयहरू बताउछन् । कि चाहिं सरकारले नै पुनर्निर्माणको कार्य अधिग्रहण गरी मर्मत कार्य सरकारले नै जिम्मा लिनुपर्ने देखिन्छ । पञ्चायतकालमा नेपाल विकास ऐन २०१६ अहनुसार टीकापुर विकास समिति, गुम्बा विकासि समिति, दुर्गम विकास समिति, लुम्बिनी विकास समिति जस्ता अनेक सरकारी समिति गठन गर्ने गरिएको थियो । त्यसमध्ये लुम्बिनी विकास कोषको छुट्टै व्यवस्था भइसकेको छ । धेरैजसो समितिहरू असफल र असान्दर्भिक भएर गएका छन् । त्यस कारण त्यस्ता सरकारी समितिहरू तत्काल विघटन गर्नुपर्ने माग पनि जनताको रहेको छ ।
केही बर्ष अघि चावहिल चैत्य पुनर्निर्माण गर्ने क्रममा चैत्यको भुवनभित्र पाएको भनि केही प्राचीन मूर्तिहरू सार्वजनिक गरिएको थियो । तर, स्वयम्भू र चावहिल चैत्यको मोलम्वा(सुनको जलप) लगाउने भनि पुरानो पाता फेर्ने गरेकोमा अहिले ती सबैको ‘सुनरंग’ उडेर फिका भैसकेका छन् । त्यस्तै काठमाडांै, भक्तपुर र ललितपुरका पुरानो चैत्य, मठ, मन्दिरको परिसरमा विछ्याएका ढुंगाहरू फेर्ने भनि पक्की ढुंगा बेचेर खाने र नयाँ पतला ढुंगाहरू विछ्याएर सरकारी तथा मन्दिरका कोष मास्ने भ्रष्टाचारी काम पनि हुँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै गुठी तथा मठ–मन्दिरमा हुने गरेका सबै खाले भ्रष्टाचारको अनुसन्धान गरी छानबिन र कारवाही हुनुपर्ने जनताको माग रहेको छ ।



२०७२ कार्तिक १६ गतेको साँघु साप्तहिकमा प्रकाशित समाचार 

No comments:

Post a Comment