Sunday, November 22, 2015

बुद्धको जन्मस्थल नेपाल लेखिएको ११८ वर्षअघि प्रकाशित पत्रिका फेला पर्‍यो

बुद्धको जन्मस्थान नेपाल भनेर लेखिएको सम्भवत पहिलो पत्रिका 

सन् १८९७ को एक जर्मन पत्रिका आल्गेमाइनन चाइटुङ्को (Beilage Bur Allgemeinen Zeitung ) जहाँ भगवान बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भनेर लेखेको छ । सन् १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रिकामा लेखक कुर्ट क्लेमले ‘क्युनिक अशोका’ अर्थात् ‘राजा अशोका’ शीर्षकमा सम्राट अशोक र गौतम बुद्धका बारेमा लेखेका छन् । क्लेमले उक्त लेखमा सम्राट अशोकलाई प्रगतिशील समयका सामाजिक सुधारक भनेका छन् । उनले अशोक स्तम्भमा गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएको भनेर लेखेका छन् । सम्भवत: यही नै बुद्धको जन्मस्थानको विषयमा किटान साथ लेखिएको सबैभन्दा पुरानो पत्रिका र पहिलो प्रिन्ट पत्रिका हुन सक्छ । 
सो लेख ८ पृष्ठको रहेको छ । सम्राट अशोकलाई केन्द्रमा राखेर लेखिएको उक्त लेखमा प्रस्टसँग बुद्धको जन्मस्थान नेपालको कपिलवस्तु स्थित लुम्बिनीमा रहेको तथ्य उल्लेख गरेको छ । 
भारतमा व्रिटिश शासनकालको समयमा इस्ट इन्डिया कम्पनीका प्रमुख स्मिथले जर्मनीका पुरातत्वविद् आन्टोन फ्युररलाई नेपाल सरकारको अनुमतिमा लुम्बिनीको अध्ययन-उत्खननका लागि चाँजोपाँजो मिलाइदिएका थिए । सन् १८९६ मा फ्युररले थालेको उत्खनन कार्यमा नेपाल सरकारका तर्फबाट खड्गशमशेर राणा खटिएका थिए । त्यो कुरा आल्गेमाइनन चाइटुङ्को लेखमा उल्लेख छ । त्यसमा सम्राट अशोकले आफ्नो कार्यकालमा गौतम बुद्धको ऐतिहासिकता उत्खनन कार्यमा गरेका महत्त्वपूर्ण प्रयासहरूको विवरण र सम्राट अशोकको जीवनी समेटिएको छ । सम्राट अशोकले आफ्नो शासनकालमा अशोक स्तम्भ मात्रै गाडेनन्, पाँच-पाँच वर्षमा आफूले गाडेको स्तम्भ र निर्माण गरेका स्तूपहरूको अवलोकन गर्ने थितिसमेत बसालेका थिए ।
सम्राट अशोकले बुद्धको अस्तुधातुलाई ८४ हजार टुक्रा बनाएर नेपाल र भारतका विभिन्न भागमा पुर्‍याएका थिए । त्यति नै संख्यामा स्तुपाहरू निर्माण गर्न लगाएका थिए । त्यसैगरी उनले गौतम बुद्ध जन्मेको, देहत्याग गरेको र ज्ञान प्राप्त गरेको सबै ठाउँको पहिचान गर्नुका साथै बुद्धको प्रचारप्रसार समेत गरे । सम्राट अशोकले यति नगरेको भए आज बुद्धको जन्मस्थानका रूपमा न लुम्बिनीले मान्यता पाउँथ्यो, न बुद्धको जीवनीका बारेमा नै सही तथ्य थाहा हुन्थ्यो ।
उक्त उत्खननपछि फ्युररले एन्टिक्युटी अफ नेपलिज तराई नामक पुस्तक पनि लेखेका छन् । उनले त्यस पुस्तकमा पनि गौतम बुद्ध नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मिएका हुन् भनेर किटान गरेका छन् । भारत स्वतन्त्र भएपछि उक्त किताबका कैयन् संस्करणहरू भारतबाटै प्रकाशित भएको समेत तथ्य छ । बुद्धको जन्मस्थानका विषयमा यतिका धेरै ऐतिहासिक प्रमाण र कुनै समय भारतले समेत स्वीकार गरेको विषयमा अहिले बुद्ध भारतमै जन्मेको भनेर हल्ला फैलाउनुको कुनै तुक छैन ।
धर्मदर्शन – गौतम बुद्ध मनुष्य हो कि देवता ? मनुष्य हो भने किन भगवान भनि पूजा गर्दछ ?
– नागसेन
गौतम बुद्ध मनुष्य हो कि देवता हो भनेर आजका युवा वर्गले जिज्ञासा राख्ने गर्दछ । यदि बुद्ध मनुष्य हो भने किन भगवान भनि मूर्ति बनाएर पूजा गर्दछन् ? यसको संक्षिप्त र सही जवाफ हो – गौतम बुद्ध, बुद्ध नै हो ।
शिद्धार्थ कुमारको जन्म नेपालको तीर्थस्थल लुम्विनीमा शाक्य गणराज्यका राजा शुद्धोधन र रानी महामायादेवीको कोखबाट भयो । कपिलबस्तु राजदरबारमा हुर्केर २९ वर्षको उमेरमा महाभिनिष्क्रमण अर्थात गृहत्याग गर्नु भई भारतको बुद्धगयामा बोधिवृक्ष (पिपलको रुख) मुनि तपस्या गर्नु भई बुद्धत्व ज्ञान प्राप्त गर्नु भई सम्यक सम्बुद्ध हुनु भयो । त्यसपछि उहाँ संसारका गौतम बुद्धको नामबाट प्रख्यात हुनु भयो । त्यसैले पहिलो रुपमा उहाँ ऐतिहासिक मानव भएता पनि, सामान्य मानव मात्र नभई महापुरुष महामानव हुनु हुन्थ्यो । जर्मनीका विद्वान हरमन ओल्डेनवर्गले १९ औं शताब्दीको अन्ततिर युरोपमा बुद्ध काल्पनिक पुरुष नभई ऐतिहासिक पुरुष हुनुहुन्थ्यो भनेर प्रचार गर्‍यो । बुद्ध वंशावली अनुसार नेपालमा सात बुद्धहरु विपश्वी, शिखी, विश्वभू, क्रकुछन्द, कनकमुनि, काश्यप र गौतम बुद्ध जन्मि सकेका छन् । अझ विस्तृत बुद्ध वंशावली अनुसार २८ जना बुद्ध भइसकेका छन् । तण्हंकर, मेधंकर देखि लिएर गौतम बुद्ध सम्म । बुद्ध हुन सजिलो छैन, पूर्वजन्ममा अनन्त पारमिताहरु पूर्ण गरे पछि बोधिसत्व बुद्ध हुन मनुष्य रुपमा जन्म लिन्छ ।
गौतम बुद्धलाई ‘नमोतस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स, विज्जाचरण सम्पन्नो, सुगतो लोकविदू अनुत्तरो पुरिस दम्म सारथी सत्था देव मनुस्सानं बुद्धो भगवाति ’ भनेर पाली भाषामा वन्दना गरिन्छ । यो श्लोकमा उल्लेख गरिएको बुद्धका नौ गुणहरुको संक्षिप्त रुपमा चर्चा गरौं ।
पहिलो कुनै प्रकारको गोप्य रुपमा पापकर्म नगर्ने हुनाले बुद्धलाई अरहं भनिएको छ ।
दोस्रो, बुद्धगयामा ध्यान बसेर निर्वाणमा पुग्ने शुद्ध धर्मलाई स्वयं अवबोध गर्नु भएको हुँदा उहाँलाई सम्मा सम्बुद्धो भनिन्छ ।
तेस्रो, पूर्वजन्मको कुरा थाहा पाउने विद्धा (पूर्वनिवेश ज्ञान), चर्मचक्षुले भन्दा टाढा वा परको कुरा देख्न सक्ने विद्धा (दिव्यचक्षु ज्ञान) र राग, द्वेष, मोह आदि क्लेशहरुबाट मुक्त हुुन सक्ने विद्धा (आस्रव क्षय ज्ञान) आदि त्रैविद्धाले बुद्ध पारंगत हुनु हुन्थ्यो । यस बाहेक शरीरको कानले भन्दा धेरै टाढाको कुरा सुन्न सक्ने दिव्य श्रोत शक्ति, दिव्य चमत्कार देखाउने सक्ने ऋद्धि बल, मनोकामना पूरा हुने मनोमयी विद्धा, अर्काको चित्त जान्न सकिने परचित्त ज्ञान र अनित्य, दुःख, अनात्म देख्ने विद्धा विपश्यना भावना आदि आठ गुणहरुले सुसम्पन्न भएको छ । यसको साथै श्रद्धा, वीर्य प्रज्ञा, शीलसंवर, इन्द्रिय संवर, प्रथम देखि चतुर्थ ध्यान अवस्था अनुसार आचरण गर्ने आदि १५ गुणहरुबाट पनि सम्पन्न हुनु हुन्थ्यो । यी विद्धा र आचारणहरुबाट सम्पन्न भएको हुदाँ उहाँलाई ‘विज्जाचरण सम्पन्नो’ भनिन्छ ।
चौथो, सुगतिमा लागेकोले उहाँलाई ‘सुगतो’ भनिन्छ ।
पाचौं, उहाँलाई प्राणाीहरुको सत्व लोक, भौतिक बस्तु र मन सम्वन्धि सङखा लोक र सत्व प्राणीहरु बस्ने ओकास गरि ३ लोकको ज्ञाता हुनु भएकोले ‘लोकविदू’ भनिएको हो ।
छैठौं, दमन गर्न गाह्रो हुने कठीन व्यक्तिहरुलाई पनि विभिन्न तरिकाले दमन गर्न सक्ने क्षमतावान भएकोले ‘अनुत्तरो पुरिसदम्म सारथी’ भनिएको छ ।
सातौं, मनुष्य एवं देवतालाई पनि शिक्षा उपदेश दिन सक्ने हुँदा ‘सत्था देव मनुस्सानं’ अर्थात तिनीहरुको पनि गुरु भनिएको हो ।
आठौं, चार आर्यसत्य अर्थात यो संसारमा दुःख छ, यसको कारण,निरोध र निरोध गर्न आर्य अष्टागिंक मार्ग बोध गरेको हुँदा उहाँलाई बुद्ध भनिएको हो।
नवौं ऐश्वर्य, धर्म, यश, श्री शोभा, मनोकामना र प्रयत्न जस्ता ६ भाग्यहरुले परिपूर्ण भएको हुदाँ उहाँलाई भाग्यवान वा भगवान भनिएको हो ।
यसैले उहाँ सामान्य मानव र देवता भन्दा पनि माथि धेरै उच्च भएको हुदाँ मूर्ति बनाई श्रद्धा पूजा गर्ने चलन प्रचलित भएको हो । देवताहरु निर्वाणमा पुगेको हुदैन । पुण्यकर्मको प्रभावले देवलोकमा जन्मेका देवताहरु पुण्य सकिना साथ पुनः मनुष्य लोकमा जन्म लिनु पर्दछ । तर तथागत बुद्ध संपूर्ण क्लेशलाई निर्मूल गरि चित्त शुद्ध गरि, पुनः जन्म लिनु नपर्ने ‘निर्वाण’ वा मोक्षमा पुग्नु भएको छ ।

No comments:

Post a Comment