Thursday, February 20, 2014

दोरम्वा नरसंहारले उब्जिएका तामाङ समुदायका अनुत्तरित प्रश्नहरु

-अमरदीप मोक्तान तामाङ 
जुन राष्ट्रमा जनताको कुनै मूल्य हुदैन, मानवताको सिद्धान्त विपरित राज्यको आचारण हुन्छ भने त्यो राष्ट्र कहिले पनि सवल र समृद्ध हुनै सक्दैन । विद्रोहीबाट अन्याय हुन सक्छ र भएका दृष्टान्त भेटिन्छन् तर राज्यद्वारा समातिएका निहत्या विद्रोहीलाई नृसंसता पूर्वक हत्या गरिएको हृदय विदारक दोरम्वा हत्या काण्ड २०६० साउन ३२ गते भएको थियो अर्थात् २०७० साउन ३२ गते दोरम्वा हत्याकाण्डको दस वर्ष स्मृति दिवस ।
यो लडिरहेको शव रामेछाप जनसरकार प्रमुख क. बाबुराम लामा तामाङको हो । 
दोरम्वा हत्याकाण्डमा युवराज मोक्तान तथा उनका छोरा लिला, बाबुराम लामा लगाएतका होनहार तामाङ युवाहरुलाई हत्या गरियो । दोरम्वा हत्याकाण्डमा शहादत प्राप्त गर्ने क्रान्तिकारी युवाहरुले बोकेका विचार जमिन मुनि दफन गरिएको छ, आखिर ती विर सहिद तामाङ्हरुको शहादतको के नै अर्थ रह्यो तथा राष्ट्रले के नै सार्थक परिणाम प्राप्ति गर्न सक्यो । दोरम्वा हत्याकाण्डमा मारिएका सहिदहरुका सपना क्रमशः विलिन हुदै गइरहेको छ । दोरम्वा हत्याकाण्डको दसौं वर्षमा प्रवेश तथा उक्त घटनामा सहिद भएका एक पात्र हुन् यूवराज मोक्तान । युवराज मोक्तान स्कूल पढ्ने तत्कालिन समयमा दोरम्वामा हाइस्कूल नभएको कारण युवराज मेरै गाउँ मेलुङ्गमा केही वर्ष अध्ययन गरेको थिए । स्कूल विदा समाप्ती पश्चात दोरम्वाबाट डोको बोकेर मालसामान सहित मेलुङ्ग आउँदा मेरै घरको बाटो हुदै हिडेको स्मरण आउँछ । काका भनी युवराजका त्यो बाल सुलभ अनुहारद्वारा गरिएको संबोधन कसरी बिर्सन सकिन्छ त्यस्तो भद्र केटाले के नै राज्यद्रोह गरेको थियो कि राज्यले हत्या नै गर्न ठान्यो सम्झिदा अचम्म लाग्छ । दोरम्वा घटना सँग युवराज जोडिएको हुँदा त्यो नृसंस घटना मेरो मानस पटलमा हमेशा जिवीत छ एवं रहनेछ । 
दोरम्वा हत्याकाण्डः २०६० साल साउनको महिना डाँडा पाखा, वृक्षहरु वर्षाको फुहारले तरवतर  थियो । सैलुङ्गको दक्षिण तर्फको काखमा पर्ने मनोरम झुरुप्प घर भएको गाँउ दोरम्वामा पनि वर्षायामले गर्दा गाँउलेहरु कोही घरभित्र कोही घुम ओडेर बारीमा आफनो काममा मग्न थिए । दोरम्वा बजार भन्दा तल अन्तिम छोरमा रहेको युवराज मोक्तानको घरमा त्यस दिन माओवादी कार्यकर्ताहरुको आन्तरिक छलफल बसिरहेको थिए । मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा लगभग ८० जना सेनाको डफ्फाले युवराजको घरमा घेरा हाल्यो केही माओवादी कार्यकर्ता सैनिकका घेराबाट उम्कन सफल भए भने युवराज समेत १९ जनालाई सेनाले आफनो कव्जामा लिए, समातिएका मध्ये सबै माओवादी कार्यकर्ता थिएनन् । युवराज मोक्तान विचारको समर्थन गर्नेमा पर्थे तर माओवादी कार्यकर्ता थिएनन्, युवराज ज्ञान बाँड्ने शिक्षक थिए ।
शाही नेपाली सेनाले हत्यागरी दोरम्वाको भिरबाट खसालेको तामाङ युवाहरुको शव

समातिएका माओवादीहरुलाई अनुसन्धान तथा सोधपुछ नै नगरि सवैलाई पछाडिबाट डोरीले बाँधि बन्दुकको कुन्दाले तथा लात्ती घुस्साले हान्दै सैनिकहरुले लघार्दै सैलुङ्को बाटोतर्फ लगे । डाँडाकटेरी भन्ने स्थानमा पुगेपछि सुनसान भिरालो बाटोमा हतियार विहीन १९ जनाले बचाउ बचाउ भन्दै ज्यान बचाउन याचना गर्दा गर्दै निधारको नजिकबाट नृसंसता पूर्वक गोली हानी हत्या गरियो । गोली प्रहार पश्चात् भिरालो पाखामा मृत पशुलाई जस्तै गरि १९ जनालाई सैनिकद्वारा भिर मुनि फ्याँकिदिए । दाङ्को हापुरेमा तात्कालिन राज्यशक्ति तथा माओवादीबिच शान्ति वार्ता चलिरहेको बेला निरंकुश राज्यसत्ताले जेनेभा महासन्धिको उल्लंघन गर्दै दोरम्वा हत्याकाण्डलाई नृसंसता पूर्वक अन्जाम दियो । दोरम्वा हत्याकाण्डले गर्दा माओवादी पार्टीको लोक प्रियता तथा राजनैतिक कदमा भयंकर वृद्धि भयो तथा उक्त हत्याकाण्डले नेपाली राजनितीमा ठूलो भुइँचालो ल्यायो । कृष्णजंग रायमाझीको नेतृत्वमा राष्टिय मानव अधिकार आयोगको टोली घटना स्थलमा पुगि निरीक्षण पश्चात् उक्त हत्याकाण्डको घटनामा सेनाद्वारा अपनाइएको नृसंसताको समाचारले नेपाली जनता स्तव्ध भएका थिए । राज्यको राष्ट्रीय सेनाले विद्रोही कार्यकर्तालाई कव्जामा लिएर नजिकबाट निधारमा गोलीप्रहार गरि हत्या गर्नु राज्यको सेनाले क्रुरता तथा बर्बरताको पराकाष्ठ नाघेको पुष्टि भएको छ । 
राज्यद्वारा दोरम्वा हत्याकाण्डमा क्रुरता अपनाउनुको कारण माओवादी कार्यकर्ताको रुपमा समातिएका बहुसंख्यक तामाङ् समुदाय भएको कारणले गरिएको भन्ने तर्फ इंगित गर्दछ । २००७ सालको क्रान्ति होस् वा माओवादी जनयुद्धमा सहिद भएका तामाङ्को बलिदान किन अवमूल्यन गरियो गम्भिर रुपमा चिन्तन मनन गर्ने बेला आएको छ । तामाङ्ग समुदायले राष्ट्र प्रति, राज्य प्रति, पाटी प्रति गरेको इमान्दारी, त्याग तथा बलिदान कुनै अर्थ छ वा छैन सोच्ने बेला आएको छ । नेपाल गणतन्त्र भयो भनिन्छ तर गणतन्त्र नेपालको राजनैतिक परिदृष्यमा तामाङ् समुदायको उपस्थिति तथा सहभागिता किन न्यून छ ? तामाङ् समुदाय प्रत्येक क्षेत्रमा न्युन हुनको कारण खोतल्दै जाँदा नेपालमा अहिले पनि तामाङ् समुदायलाई हेर्ने दृष्टिकोणमा बिगतको राज्य सत्ताले गरेको आचरणको धङ्गधङ्गी स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ । तामाङ् समुदायलाई अहिले पनि दोयम दर्जाका नागरिक तथा अछुत जस्तो व्यवहार गर्ने परिपाटी यथावत् रुपमा कायम छ । हाल सम्म पनि तामाङ् समुदाय माथि कुनै न कुनै रुपमा उत्पिडन तथा पक्षपात गरेको स्पष्ट रुपमा देखिन्छ । दोरम्वा हत्याकाण्ड एक उदाहरण मात्रै हो तामाङ् समुदायले राष्ट्रका लागि असंख्य बलिदान दिएका छन् तर तामाङ्ले दिएको बलिदानको अवमुल्यन बाहेक केही प्राप्त भएको छैन । २००७ सालको क्रान्तिमा तामाङ् कांग्रेसी भएर क्रान्तिमा होमिएर बलिदान दिए, माओवादी जनयुद्धमा माओवादी लडाकुको रुपमा विभिन्न मोर्चामा बलिदान दिए तर तामाङ्ले दिएको बलिदान फलस्वरुप के प्राप्त गरे त तामाङ् समुदायले ? हुन त कांग्रेस, माओवादी, एमालेको कार्यकार्ताको रुपमा रहेका तामाङ् समुदायले हाल सम्म के प्राप्त गरेका छन् भन्ने कुरामा यति मात्रै भन्न सकिन्छ, तामाङ् मुदायको हात लाग्यो शून्य ? यही नै यथार्थ हो । तामाङ् समुदायका केही मित्रहरु कांग्रेस, एमाले, एमाओवादी भनेर गर्व बोध गरि रहेका छन्, आज भोली केही तामाङ् मित्रहरु मधेसवादी दलको  झोला पनि बोक्न थालेका छन् । विवेक शून्य तामाङ् समुदाय समृद्धशाली इतिहास, शक्तिशाली एवं बलशाली भएतापनि क्रमशः अस्तित्व विहीन मुदाय हुने तर्फ उन्मुख भइरहेका छन् । नेपालका प्रत्येक साना ठूला जातिको आफ्नो क्षेत्रमा पकड देखिन्छ उदाहरण स्वरुप मधेशका यादव समुदायको मधेशका केही जिल्लामा बोल वाला देखिन्छ, मुसलमान समुदायको रौतहट, पर्सा, कपिलवस्तु, सुनसरीमा देखाइएको एकजुटता शक्ति प्रदर्शनले राज्यलाई घुडाँ टेकाएको देखिन्छ त्यस्तै मकवानपुर जिल्लाका तामाङ् र नेपाल भरिकै लिम्बु समुदायको जनसंख्या बराबर भएको भए पनि लिम्बु जाति विभिन्न घडामा विभाजित भएतापनि कुनै पनि घडाले लिम्बुवान क्षेत्रमा देखाएको शक्ति प्रदर्शनले त्यस क्षेत्रमा स्थापित भएको देखिन्छ । यत्रो विशाल जनसंख्या भएको तामाङ् समुदायले ताम्सालिङ्ग भनि तोकिएको जिल्लामा आफ्नो शक्ति प्रदर्शनद्वारा राज्यको ध्यानाकर्षण गराउन अहिले सम्म सफल भएको देखिन्न । मधेशको विभिन्न कार्यलयमा मधेशीको राम्रो उपस्थिति तथा पकड देखिन्छ तर तामाङ्गसालिङ्ग क्षेत्रमा पर्ने जिल्लाहरुमा तामाङ्  समुदायको ब्यक्तिलाई पिउनको रूपमा समेत पाउन कठिन छ  किन ? 
२००७ साल देखि २०७० अर्थात् ६३ वर्ष सम्म आइपुग्दा तामाङ् समुदायको स्तरमा बिगत भन्दा रतिभर उन्नति देखिएको छैन स्थिति जिउँका तिउँ छ । २००७ साल पश्चात् लोकतन्त्र, प्रजातन्त्र तथा गणतन्त्रको नाममा कांग्रेस, पञ्चायत, एमाले, माओवादी सरकारमा सत्तासिन भए तर तामाङ् समुदायको स्तरोन्नतिका लागि उल्लेखित पार्टीहरुले के गरे ? बुँदागत रुपमा त्यसको जवाफ तामाङ् समुदायले खोजेका छन् । कांग्रेसले स्व. भिम बहादुर तामाङ्को अवहेलना गरेकै हो, एमाले लगाएतका कम्युनिष्ट पार्टीहरुले स्व. कमरेड निर्मल लामाले नेपाल कम्युनिष्ट आन्दोलनमा दिइएको योगदानलाई ओझेलमा पारेकै हुन् भन्दा अन्यथा हुने छैन । जातिय, वर्गीय, क्षेत्रिय, लिंगिय नारा अघि सार्ने एमाओवादीले तामाङ् समुदायको घोर उपेक्षा मात्रै गरेनन् एमाओवादी नेता बाबुराम भट्टराईले राष्ट्रलाई धोका दिदै भारत संग विप्पा सम्झौता गरेर नेपालको गरिमालाई ठेस पुर्‍याउने कार्य गरे तथा जनचाहना बमोजिमको संविधान निर्माण गर्ने संविधान सभा समेतको निर्मम हत्या गर्ने क्रुर हत्यारा पनि बाबुराम नै हुन् । आजभोली जनतालाई मूर्ख बनाउन विघठित संविधान सभाबाट संविधानको घोषणा नगर्नु भयंकर भूल भएको भनि बहुरुपिया एमाओवादी अध्यक्ष प्रचण्ड  घडियाली आँशु बगाउदै क्षमा याचना गर्दै हिडीरहेका छन् । माओवादी आज दुई चिरामा विभाजित भएको छ । एकातर्फ एमाओवादी पुनः दोस्रो संविधान सभाको चुनाव गराएर राष्ट्रमा अन्योलको वातावरण निर्माण गर्न खोजिरहेको छ भने माओवादीका वैद्य पक्ष राष्ट्र स्वाभिमान माथि कुनै सम्झौता नगर्ने तथा संविधान सभाको हत्या भएको कारण सहित राजनैतिक पार्टीहरुले राष्ट्रका जनतासंग माफी माग्नु पर्ने धारणा अघि सारिरहेको अवस्था छ । सरसरी हेर्दा माओवादी (वैद्य पक्ष) द्वारा पेश गरेका बुँदा तथा अडान सही देखिन्छ भने प्रचण्ड नेतृत्वको एमाओवादी कसैको इसारामा राष्ट्रलाई हमेशाका लागि चक्रव्युहमा फसाउन उद्धत देखिन्छ, राष्ट्र स्वाभिमान तथा जनचाहना बमोजिमको संविधान निर्माणप्रति कुठाराघात गर्ने षडयन्त्र विरुद्ध नेपाली राष्ट्र भक्त जनताले भण्डाफोर अभियान प्रारम्भ गर्ने बेला आएको छ । समृद्ध तथा सवल नेपाल बनाउने सपना बोकेका होनहार युवाको सहादत माथि टेकेर केही स्वार्थपर नेता नव धनाढ्यको सुचीमा सुचिकृत हुन सफल भएका छन् । संविधान सभाको निर्मम हत्या गर्न उपयुक्त वातावरण निर्माण गर्ने बर्तमान प्रधानमन्त्री खिलराज रेग्मी लाई पुनः दोस्रो संविधान सभाको चुनाव गराउने अभिभाराले संविधान निर्माणको कुरा अविश्वसनिय तथा हास्यास्पद बन्न पुगेको छ, दोस्रो संविधान सभाको चुनाव नभए लोकतन्त्र खतरामा पर्ने जस्ता शब्द प्रयोग गरेर संविधान सभा हत्याका मतियारहरु पुनः जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेका छन् । संविधान सभाको किन हत्या भयो ? त्यस विषयमा विस्तृत छलफल तथा पुनः संविधान बन्ने प्रक्रिय तथा संविधान बन्ने ग्यारेण्टी विना गरिने भनिएको दोस्रो संविधान सभाको चुनाव धोका हो । वर्तमान अवस्थामा नेपाली जनता दुई ध्रुवमा विभाजित भएका छन्, एकातर्फ यथास्थितिवादी चिन्तन बोकेका तथा संविधान सभाका हत्यारा समूहका सुकिला मुकिला अनुहारहरु, दोस्रो तर्फ शोषण अत्याचार पहिचान तथा बराबरीको अधिकार प्राप्त गर्ने अठोट बोकेका राष्ट्रवादी समूह, विजय कसले प्राप्त गर्ने हुन् समयले नै बताउनेछ ।
तामाङ् समुदायले आफ्नो विशाल शक्तिको पहिचान गरि संगठित नभए दोरम्वा हत्याकाण्ड जस्तै तामाङ् नरसंहारका घटना पुनः नदोहोरिएला भन्न सकिन्न । निरन्तर रुपमा अन्याय, अत्याचार, सहन गर्न सक्ने नेपालमा कुनै अनौठो समुदाय कोही छ भने त्यो तामाङ् समुदाय नै हुनु पर्छ । तामाङ् समुदाय अव सुत्ने, जाग्ने वा आफैलाई सदाका लागि मृत समुदाय हुँ भनी आफैलाई घोषणा गर्ने हो कि ? तामाङ् समुदायले एउटा मूल मन्त्र तामाङ् एकताको मात्र प्रदर्शन गरे तामाङ्को सम्पूर्ण समस्याको समाधान हुने थियो तर दूर्भाग्य तामाङ्को एकता प्रतिको सद्बुद्धि अहिले सम्म आएन । दोरम्वा हत्याकाण्ड लगाएत ज्ञात अज्ञात तामाङ् सहिदलाई श्रद्धान्जली स्वरुप अनुपम उपहारको रुपमा सम्पूर्ण तामाङ् एकता बाहेक केही हुन सक्दैन । दोरम्वामा सहिद भएका तामाङ् दाजु भाइद्वारा दिइएको बलिदान लाई साकार बनाउन छदमबेशी कांग्रेस, एमाले एनेकपा माओबादीको भ्रम जालमा फस्न नहुने भन्ने विचारलाई व्यापकता प्रदान गर्न अति जरुरी छ । तामाङ् स्वाभिमान जागरणको सन्देश प्रति प्रतिबद्धताका साथ अगाडि बढ्यौ भने दोरम्वा 
हत्याकाण्डमा सहिद भएका योद्धाहरुको दसौं स्मृति दिवस प्रति सच्चा श्रद्धान्जली हुनेछ ।
मोबाईल फोन: ९८४१२३७२४५

No comments:

Post a Comment