'भट्टराईले भने, ‘पार्टीलाई नयाँ दिशा दिन फेसबुक पनि उपयोगी’
काठमाडौं, माघ १९ – २१ औं शताब्दीको यो प्रविधिको चरम उत्कर्ष युगमा फेसबुक र ट्वीटर चलाउनु अपराध हो ? पटक्कै हैन । एमाओवादीभित्र कसैले वरिष्ठ नेता डा. बाबुराम भट्टराईमाथि ‘टवीटर र फेसबुक चलाएको’मा समेत आलोचना गरेछन् । केन्द्रीय समितिको बैठकको समापन मन्तब्यका क्रममा डा. भट्टराईले यसबारेमा खुलेरै स्पष्टीकरण दिए ।
‘मलाई फेसबुक र ट्वीटर चलाउँछ भनेर समेत भनियो’, डा. भट्टराईले भने, ‘मैले फेसबुक चलाएकोमा पनि साथीहरुलाई सह्य भएन । कहाँसम्म भने हिसीलाजीसमेत मलाई कति भर्चुअल संसारमा अलमलिएको ? भन्दै फेसबुक छाड्न भन्नुहुन्छ ।’
डा. भट्टराईका अनुसार पत्नी हिसीला यमीलाई समेत उनले फेसबुक चलाएको मन परेको रहेनछ । डा. भट्टराईले थपे, ‘अरुले विरोध गरे गरे, हिसीलाजीसमेत मेरो सौता भित्रियो भनेर बारम्बार भन्नुहुन्छ ।’
आजको यो प्रविधिको युगमा पछिल्ला सूचनासँग अपडेट हुनु पनि फेसबुक र टवीटर चलाउनुपर्ने डा. भट्टराईको विचार थियो । ‘यसैबाट हामी सिंगो संसार देख्नसक्छौं । विश्वका नयाँ नयाँ विकासका मोडल र प्रविधिका बारेमा जान्न सकिन्छ । विश्व सर्वहारा बर्गको मुक्ती आन्दोलनका बारेमा जान्न सकिन्छ’, उनले भने ।
डा. भट्टराइले आफु जतिसुकै व्यस्त भए पनि र जतिसुकै ढिलो घर पुगेपछि दिनको एक डेढ घन्टा फेसबुक र ट्वीटरमा बिताउने गरेको पनि खुलाएका थिए । ‘प्रविधिलाई उपेक्षा गरेर हैन, यसको सदुपयोग गर्न जान्नुपर्छ’, भट्टराईले भने । पार्टी स्कुल विभाग र प्रचार विभागको जिम्मेवारी पाएका डा. भट्टराईले सूचनाका सम्पूर्ण साधनहरुको भरपुर उपयोग गरेर पार्टीलाई आधुनिक युग अनुकुल अपडेट बनाउनुपर्ने बताए ।
पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने हो भने नयाँ सोचका साथ अघि बढ्नुपर्ने र पुराना संकिर्ण मानसीकता त्याग्नुपर्ने उनको सुझाव थियो । पार्टीमा नयाँ शिराबाट वैचारीक, सैध्दान्तीक र कार्यदिशाका बारेमा बहस चलाउनुपर्ने, आजको माक्र्सबादका बारेमा सबैवीच बुझाईमा एकरुपता हुनुपर्ने र नेपालको अबको क्रान्तिको दिशाका बारेमा स्पष्ट र ठोस कार्यनीतिका साथ पार्टीलाई अगाडी बढाउनुपर्ने उनको विचार थियो ।
No comments:
Post a Comment