Friday, February 7, 2014

आमाजस्तै अरुणा दिदी

राजेन्द्र थापा, साहित्यकार


आज (मंगलबार) सरस्वतीपूजाको दिन । अरुणा लामा दिदीको सोह्राँै स्मृति दिवस अंग्रेजी मितिका हिसाबले । संयोग, सरस्वतीकी छोरी अरुणा दिदीको स्मृति दिवस सरस्वतीपूजाकै दिन परेछ । तर, नेपाली मितिका आधारमा भने भोलि (बुधबार) स्मृति दिवस मनाइने गरिएको छ । म आज ‘शकुनी’ नामक उपन्यास सुरु गरी सरस्वतीको आराधना गर्ने सुरसार गर्दै थिएँ । यसवेला अरुणा दिदीलाई सम्झना गर्न पाउनु त झनै ठूलो पूजा हो भन्ने मलाई अनुभूति भएको छ ।

दिदीलाई सम्झँदा म भावनामा बहकिन्छु । त्यसो त मसँग उहाँका स्मरण धेरै छन् । अहिले भने केही विशेष सन्दर्भ सम्झन्छु ।
०००

मलाई सानैदेखि जुनसुकै गीत पनि ज्यादै मन पथ्र्यो । तर, पनि मनै कोट्याउने स्वर भने लता मंगेसकर र अरुणा लामाकै हो । संयोग, अरुणा दिदीका स्वरमा ०३३ सालमा मेरो गीत ‘यसपालि त मनै फाट्यो’ रेकर्ड भयो । त्यसले दिदीसित मलाई जोड्यो । अर्को संयोग, दिदीका दुवै खाले (फिल्म र आधुनिक) अन्तिम गीत पनि मेरै हुन पुगे । आधुनिकमा न्ह्यु बज्राचार्यको संगीतको ‘यो मन त तलाउ हो, ढुंगा नफेक’ र फिल्मी गीतमा ‘साइत’ फिल्मको रञ्जित गजमेरको संगीतमा ‘यो हृदय, कहिले साह्रो कहिले निको भो’ ।

मैले ‘यो हृदय...’ रञ्जित गजमेर दाइले बनाएको ट्युनमा लेखेको हँु । गीत लेख्ने क्रममा दिमागमा अरुणा दिदी लगातार आइरहनुभयो । दिदीलाई नै गाउन लगाउन पाए हुन्थ्यो भन्ने प्रस्ताव मैले फिल्मका निर्देशक तलुसी घिमिरेलाई गरेँ । अचानक दिदीको फोन आयो । भन्नुभयो– ‘भाइ, म हिजै काठमाडौँ आएँ । सपना (छोरी) को घरमा छु, आउनु नि, भेट्न मन लागिरा’छ ।’ म त छक्क परेँ । तुलसीलाई लिएर म दगुरिहालेँ । कुराकानी भयो, दिदीले तुलसीलाई भन्नुभयो, ‘राजेन्द्र भाइको गीतका लागि त म आइहाल्छु नि बम्बई पनि ।’ नभन्दै एउटामात्र गीत गाउन दिदी १०३ डिग्रीको हन्हन्ती ज्वरो आइरहेकै वेला रेलको स्लिपरमा बसेर बम्बई पुग्नुभएछ । ज्वरो आएकै वेला रेकर्ड भएछ । दोस्रो अन्तरामा एक शब्द स्वयं मलाई असहज लागेको थियो । तर, समय कम र ट्युनमा मात्रा मिलाउन जबर्जस्ती कोचेको त्यो शब्द दिदीले हटाएर अर्को हाल्नुभएछ । दिदीले जगमेर दाइलाई भन्नुभएछ, ‘गाउन गाह्रो भयो, भाइको गीत हो । मैले त परिवर्तन गर्न मिलिहाल्छ नि ।’ त्यसमा ‘कैले भुवा भो’ भन्ने शब्दको सट्टा ‘कैले सिमल भो’ गाइदिनुभएछ । मैले त्यसलाई दिदीको उपहार सम्झेँ र आजसम्म पनि त्यो शब्दले दिदीको याद दिलाउँछ ।

०००

अन्तिम–अन्तिम वेलाको कुरा हो । दिदीको पेटको अप्रेसन भएको थियो । केको हो भुलेँ, अपेन्डिसाइटिस हो कि । पेटको तल्लो दायाँ साइडमा अप्रेसन भएको भने याद छ । हामी छोरी सपनाको घरको पछाडिको बार्दलीमा कोच्चिएर बसेका थियौँ । कहिले सँगै बसेर पिऔँ नभन्ने दिदीलाई अचानक मसित बसेर पिउने रहर जागेछ । त्यतिवेला त के थाहा, दिदी–भाइको अन्तिम खानपिन त्यही रहेछ । दिदीले बिदाइ भोज पो माग्नु भा’रहेछ भन्ने पाल्यो । त्यसवेला दिदीले आफ्ना जीवन र भिनाजुको अवसानपछिका समयका धेरै कुरा गर्नुभयो । आफूलाई लागेको ऋण, बच्चाहरू हुर्काउँदाको दु:खलगायत कुरा भए । उहाँले त्यसैक्रममा धेरै वर्षअघि ‘अरुणा साँझ’ गर्दा पाउनुपर्ने पैसाले गोपाल योन्जनले आफ्नै घरकै स्टुडियोमा ‘तेरो पुरानो गीतलाई रिरेकर्डिङ गरिदिन्छु’ भनी रेकर्डिङ गरिदिएको पनि सम्झना गर्नुभयो । त्यसवेला आफूमाथि भारतीय रुपैयाँ २६ हजार ऋण हुँदाहुँदै पनि हुन्न भन्न नसकेको पनि बताउनुभयो । तर, क्यासेट निकालिएनछ । क्यासेट ननिस्कँदै गोपाल दाइ बित्नुभएको कुरा पनि उहाँले सम्झनुभयो । पछि, भाउजू (रिन्छिन योन्जन) सित माग्दा त्यसको मूल कपी नै हराएको जानकारी पाउनुभएछ । ऋण पनि तिर्न नपाउँदा, यता आफ्नो रेकर्ड पनि हराउँदा लागेको दु:खका कुरा उहाँले मलाई  पहिलोपटक भन्नुभएको थियो ।

उहाँले ०५० सालमा नरेन्द्र प्रसार्इंको सक्रियतामा भएको ‘एकल साँझ’ गरी नेपालकै इतिहासमै सबैभन्दा बढी अर्थात् तीन लाख रुपैयाँ दिएकाले सारा ऋण चुक्त गर्न सकेको पनि बताउनुभयो । उहाँले भावुक हुँदै भन्नुभएको थियो, ‘जिन्दगीमा पहिलोपटक त्यत्रो रकम पाउँदा भाइ, म त त्यहीँ नै धुुरुरु रोएकी पो थिएँ ।’ वास्तवमै ५० सालमा तीन लाख धेरै नै रकम हो । त्यसअघि कुनै पनि गायकले एक लाख पनि पाएका थिएनन् ।

०००

त्यहीवेला दिदी अचानक मुडमा आउनुभयो र भन्नुभयो, ‘भाइ र मेरो जोडी खुब मिल्छ भन्छन्, उतातिर । लु यौटा क्यासेटै निकालौँ ।’ म छक्क परेँ । कहिले पनि यता आउँदा रेकर्डको कुरै नगर्ने दिदीको यो चाहना कसरी आयो ? दिदीले इच्छा गरेपछि केही दिनभित्रै न्ह्यु भाइको संगीतमा जीवन श्रेष्ठ र दीप तुलाधरको पहलमा सिम्फोनी स्टुडियोले दिदी र मेरो एउटा क्यासेट निकाल्ने, कसैले पनि पारिश्रमिक नलिने तथा नाफा सबै दिदीलाई दिने सहमति भयो । एक दिनमै मैले गीत लेखेँ । न्ह्युले संगीत तयार गरे फटाफट । तेस्रो दिनमा त रेकर्डिङ नै भयो । हातले अप्रेसन गरेको पेट समात्दै दिदीले गाउनु भयो,

‘यो मन त तलाउ हो, ढुंगा नफेँक
फेर्दै छु सास, बतास नछेक
जतासुकै टेक, बिन्ती छ,
दुखेको ठाउँमा नटेक ।’

केही दिनका लागि दार्जिलिङ गएर फर्केपछि अरू गीत पनि गर्ने कुरा भयो । दिदी फर्किनु पनि भयो केही महिनापछि । तर, तुरुन्तै यस्तो बिरामी हुनुभयो कि फेरि उठ्नै सक्नुभएन । दुखेकै ठाउँमा आइन्दा कसैले टेक्नै नसक्ने गरी अरुणा दिदी त हिँडी पो हाल्नुभयो ।

०००

यो मन तलाउ गीत रेकर्ड गर्न सपनाको घरबाट दिदीलाई हरियो सैनिक मारुती आफैँले हाँकेर लगिरहेको थिएँ । विभिन्न गफ भए । त्यसैक्रममा रेकर्ड हुने गीतको शब्द सुनाएँ । साइडमा बसेकी दिदी अचानक नोस्टाल्जिक बन्नुभयो र भन्नुभयो, ‘भाइ, यो गीत सुन्दा मलाई अचानक एउटा गीत याद आयो । मेरो सबैभन्दा मन पर्ने गीत हो त्यो । मेरो आफ्नो होइन, प्रेमध्वज प्रधानको हो । त्यो सुन्यो कि भिनाजुको याद आउँछ । कसको संगीत, कसको रचना मलाई थाहा छैन ।’ त्यो गीत कुन रहेछ भनेको त, ‘पर लैजाऊ फूलहरू’ पो । म मख्ख परेँ । त्यो गीत मैले नै लेखेको हो भनेपछि दिदीले इतरिएर भन्नुभएको अझै स्मरण छ, ‘आफ्नो मान्छेले लेख्या रै’छ त, त्यस्तो मन पर्‍या र’छ मलाई ।’ त्यस्तै ‘यसपालि त मनै फाट्यो...’(मेरै शब्द) गाएर दुनियाँलाई रुवाउने अरुणा लामा आफू भने खुसुक्क रुँदी रहिछिन्, पतिवियोगको पीडा सहन नसकेर । बिहे गरेको ११ वर्ष पनि पुनि पुग्दा नपुग्दै २९ वर्षको उमेरमै जीवनसाथी गुमाएकी दिदीलाई किन मन नपरोस् त ‘पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जुन, बन्द गर गीतहरू, तिम्रो याद आउने चिजहरू’

०००

मैले ०३१ सालतिर लेखे पनि ३२/३३ सालतिर मात्रै अम्बर गुरुङ दाजुलाई दिएको थिएँ ‘यसपालि त मनै फाट्यो’ भन्ने गीत । सो गीत नारायण गोपालले गाउने कुरा भएको थियो रे । हुन त मैले त्यो गीत रेडियो नेपालको स्टुडियोबाहिर ‘पोखिएर घामको झुल्का’ गीत रेकर्ड गरेर बाहिर निक्लेका अम्बर दाइलाई सुनाउँदा नारायण गोपाल पनि सँगै उभिएर सुनिरहेका थिए । तर, ०३३ सालमा यो गीत अरुणा दिदीको स्वरमा ‘सुपरहिट’ भएको खबर पाएँ । गीत बज्दा म त भारतको मध्यप्रदेश इन्दौरनजिक महुमा थिएँ । देश फर्केपछि अम्बर दाइले भनेको अझै सम्झन्छु– ‘शरणको मृत्युपछि गीत गाउन छाडिसकेकी अरुणालाई मैले यो गीत सुनाएँ । तर, तैँले गाउन माग्न पाउन्नस् भन्ने सर्तमा । सुनेर अरुणा रोई, धेरैपटक सुनाउनुपर्‍यो मैले । मै गाउँछु भनी । मैले मानिनँ । तर, रातभर सुत्न सकिनछ । भोलिपल्ट त बिहानै म नउठ्दै आइछ । धेरै जिद्दी गरेकीले दिएँ । तर, सर्त थियो, अरुणा, गाउँदा रुन भने पाउन्नस् नि । नभन्दै अरुणा गाउँदा रोइनन् ।’ आफैँ रुनु नै किन पर्‍यो र ? जब कि उनको आवाजले करोडौँ मान्छेलाई अर्बौंचोटि जो रुवाउनु रहेछ ।

०००

दिदीको स्मृतिको यसवेला शान्तिको कामना गर्ने सुरै मलाई आएन । किनभने, दिदी त मरेकी नै छैनन् । दिदीको मृत शरीरको मुख नै मैले हेरिनँ । आँखा चिम्लेँ । हुन त आफैँले जलाएको आमाको पनि मैले मृत मुख हेरेको थिएनँ । आँखा चिम्लेको थिएँ । थाहा छैन, किन–किन मेरी आमाजस्तै नजिकको लाग्छ, अरुणा लामा पनि मलाई । मरेकैजस्तो नलागे पनि श्राद्धमा आमालाई जल चढाएपछि, दिदीलाई पनि जल चढाउन बिर्सेको छैन मैले ।

प्रस्तुति : कला अनुरागी

No comments:

Post a Comment