के गर्नु देशमा कहिल्यै शान्ति नआउने भो! यस्तै हो सतीले सरापेको देशमा। हरेक बिग्रिएको काममा हामी यस्तै सुन्छौं प्रायः। यस्ता कुराहरु हामी हाम्रा अग्रजबाट सुन्ने गर्छौ तर आजकल यस्ता कुराहरु कम सुन्न पनि थालिएको छ र नयाँ पिँढीका लागि त झनै नौलो कुरा। एक जमाना यस्तो थियो आफ्नो श्रीमानको मृत्यु भएपछि श्रीमतीलाई जीउदैं आगोमा होमीदिने अर्थात् उनको जिन्दगीको कुनै अर्थ नमानिएको। महिला भनेको पुरुषको सहयात्री मात्र, पुरुषको खुशीका लागि मात्र हुन्। त्यसकारण श्रीमान्को मृत्युपश्चात् अन्य पर पुरुषसँग सम्बन्ध गाँसिहाल्छन् कि भन्ने आशंकाले त्यसबेला महिलाहरु जिउँदै जलाइए। उनका चित्कार सुनिदिने पनि कोही हुदैनथ्यो, बिवाह गरेर श्रीमान्को घर गएपछि छोरीचेलीलाई माइतीको ढोका बन्द हुन्थ्यो, मर्योबाँच्यो कुनै अत्तोपत्तो हुँदैनथ्यो। छोरी बिवाह गरेर पठाउनु भनेको मरेसरह ठान्थे।
सती प्रथा ऐतिहासिक कथा हो जहाँ महिला प्रत्यक्ष रुपमा पीडित हुनैपर्ने। नेपालमा बिभिन्न प्रकारका चलचित्रहरु बने तर यस प्रथामा आधारित बन्न सकिरहेको थिएन अहिले आएर मोते फिल्म्सले जमर्को गरेको छ नामै “सती”। श्रीमान्को मृत्युपछि महिला एक पात्रलाई जबरजस्ती सती पठाउंन तयारी गरिएको दृश्य खिचिएको छ। ती महिला आफ्नो सानो बच्चाको भविश्यको लागि पनि जिउन पाउँदिनन्। श्रीमान्को लाशसंगै जीउँदो लाश बनेर जानुपर्ने मृत्युकेा काखमा। त्यो बेला उनको एक शब्द पनि बोलीदिने कोही नहुने। खुट्टाका दुई बूढी औला, हातका दुई बूढी औंला बाँधी पछाडी फर्काइदिने, मुखमा ओठको बीचमा बोल्न नपाउने गरि धागो बाधिँदिने अनि आंँखामा पट्टी बांँधेपछि ती महिलाको के बल? अनि दनदनी बलिरहेको आगोमा फालिदिन्छन्। महिलालाई सतित्व देवी कि जय भन्दै, उनको चित्कार आउला की भनी बजाइन्छ बिभिन्न खालका बाजाहरु, शंखनाद गरिन्छ जीउँदो हुँदा मान्छे कै रुपमा नहेरिने तर आगोमा हाल्दा देवीको सम्मान पाउने अनि बच्चालाई दुवैको माया, स्नेह र लालनपालनबाट बन्चित गराई अनाथ बनाईदिने, किन पुरुषको आँखाले मात्र सोचियो। मलामी जाने जति सबै पुरुष। के बुझ्नु र महिलाको पीडा तिनीहरुले? यी त भए गोबिन्द मोतेद्वारा निर्मित चलचित्र “सती” भित्रका कुरा, बिकास चौधरीको संगीत रहेको चलचित्र प्रदर्शनको तयारीमा रहेको छ। हाम्रो समाजमा अहिले श्रीमान्सँगै जलाउन लैजाने प्रथालाई त तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले बि.स. १९७७ मा अन्त गर्नुभयो तर धर्म कर्मका नियम बनाउने सबै पुरुष महिलालाई बर्षदिनभरि जुठो लाग्नुपर्ने र जिन्दगीभर मृतक पुरुषको नाममा महिलाले जिन्दगी बिताउनु पर्ने। श्रीमतीको मृत्युको केही समय पनि नगुजं्रदै पुरुषलाई अर्की महिलाको साथ चाहिने नै। केही समय पुरुषले बिवाह गरेन भने त्यै समाजले उसलाई उचालिदिने र समाजकै लागि अर्को बिवाह गर्नैपर्ने, महिला एकली भई भने त्यै समाजको लागि विबाह नगर्नुपर्ने कति बिभेद्।
सती प्रथाको त अन्त्य भयो तर महिलाहरुलाई श्रीमानैले जीउंँदो जलाउने प्रथा भने अलि कम भयो, उन्मुलन हुन भने सकेन कतिपय समाजमा अहिले पनि सती प्रथा भन्दा जर्जर जिन्दगी बिताउन बाध्य छन् महिलाहरु। केही महिना अगाडिको कुरो हो कामको सिलसिलामा उपत्यकाको एउटा अस्पतालमा पुगियो कुराको सिलसिलामा एक महिलाको अवस्थाको कुरा भयो २४/२५ बर्षे सुत्केरी महिलाको तल्लो भाग आगोले पोलेर ४० प्रतिशत काम गर्न नसक्ने अवश्थामा थियो। शुरुका दिनमा सुत्केरीलाई सेक ताप गर्दा आगो आफूतिर घोप्टेर यस्तो अवस्था भएकेा हो भनी पारिवारिक शुत्रले अस्पताल भर्ना गराए। भर्ना गरेको ३ दिनपछि परिवारका कोही पनि अस्पतालमा आएनन्। ती बिरामीको अवस्था अलि राम्रो भएपछि उनले भनिन् यो अवस्था हुनमा मेरो जन्मको होइन गर्भको दोष हो किनकि बर्षेनी बच्चा जन्मियो ३ वटा सबै छोरी। मेरो कर्ममा छोरा लेखेकै रैनछ, म कसरी घर बस्न पाउनु? छोरी बढी जन्मायो भनेर श्रीमान् र परिवारको अन्यले किचकिच गरिरहन्थे मलाई। सानी छोरीको न्वारन ५ दिनमा गरियो, म आगो बालेर आफै भएपनि सेक्छु भनेर आगो बाले आगो अलि बलेपछि मेरो सासूले श्रीमान्लाई बोलाए अनि मसँंग रिसाए छोरी छोरी पाउनेले किन आगो ताप्नु पर्योे? मलाई गाह्रो भएको मात्र के भनेको थिए रिसाएर मेरो शरिरमा त्यै आगो खन्याईदियो र मेरो यो हाल भयो तर अब मैले बुझे म परिवार र समाजसंँग लड्छु आफ्नो अधिकारका लागि।
बिडम्बना छोरीको जात हारेको जात, ढीलै होस् छोरै होस् जस्ता लोकक्तिले पनि महिलालाई कमजेार बनाइदिने गरियो समाजमा धेरै परिवर्तनहरु त भए तर महिला भएकै कारणबाट महिलाहरुमाथि ज्यादती नहोस् सबैको जय होस्।
No comments:
Post a Comment