-दिलकुमारी लिम्बु
काठमाडौ, माघ २५ – नेपाली सेना सम्पूर्ण नेपालीको साझा सुरक्षा कवच हो । सेनाले नेपालीबीच कसैप्रति आग्रह पुर्वाग्रह राख्न नपर्ने हो । यो राजनीतिमुक्त विशुध्द सुरक्षा अंग हुनुपर्ने हो । तर, कहिलेकाँही सेनाका अधिकारी पनि पुर्वाग्रहले काम गर्दा रहेछन् । अनी सेनाभित्र पनि सिन्डीकेट हावी हुँदो रहेछ । यसको ज्वलन्त नमुना शुक्रबार देखियो । नेपाली सेनाले जंगलमा हुने लडाईसम्बन्धी तालीम देखाउन राजधानीबाट केही पत्रकारलाई अमलेखगंज लग्यो । तालीम हेर्न सेनाले लगेकामा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक गुणराज लुईंटेल, नागरिक दैनिकका सम्पादक प्रतिक प्रधान, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, घटना र विचार साप्ताहिकका पुर्व सम्पादक देवप्रकाश त्रिपाठीलगायतका पत्रकारको लर्को थियो । तर, त्यो टोलीमा एमाओवादी निकट पत्रकार कोही पनि परेनन् ।
अब काँग्रेस र एमालेको सरकार बन्ने भएकाले सेनाका केही अधिकारीले तिनै पार्टीका समर्थक पत्रकारको चाकडी थालेको आभास यसबाट झल्कन्थ्यो । ‘यो सेनाभित्रको सिन्डीकेट हो । मुलुकमा पत्रकारलाई हेर्ने सेनाको यो पुर्वाग्रही सोच र व्यवहार हो’, एमाओवादी समर्थक एक पत्रकार भन्छन्, ‘हामीले सेनाको तालीम हेर्ने कुनै रहर छैन । हाम्रा कतिपय साथीहरु त्यस्ता युध्द हेरेर आएका हौं । तर राष्ट्रिय सेनाका रुपमा हामीले सम्मान गरेपछि सेनाले हामीप्रति पुर्वाग्रह राख्नुहुदैनथ्यो ।’
गत निर्वाचनमा काँग्रेस र एमालेलाई जिताउन र एमाओवादीलाई हराउन अलि बढी नै चलेखेल गरेको आरोप खेप्दै आएको सेनामा पनि सत्तासीनहरुको चाकडी गर्ने गणेश प्रवृत्ती देखा परेकोमा आम पत्रकार चकित परेका छन् ।
अमलेखगंजमा भएको तालीममा भारत, श्रीलंका र बंगलादेशलगायतका सेनाको पनि तालीम चलिरहेको थियो । त्यो अवसरमा नेपाली सेनाका अधिकारीले जनयुध्द भएकाले आफुहरुलाई बिगतमा दश वर्षसम्म जंगल युध्दको व्यवहारिक अभ्यास भएको बताउन समेत चुकेनन् । सुत्रका अनुसार एक सैनिक अधिकारीले भने, ‘हामी त दश वर्षसम्म माओवादीसँग लडयौं, युध्द कौशलको राम्रै अभ्यास भयो । जंगलमा कसरी लडनुपर्छ भन्ने हामीले सिक्यौं ।’ ति सैनिक अधिकारीलाई हो हो मिलाउँदै एक दैनिक पत्रिकाका सम्पादकले भने, ‘अब फेरी युध्द भयो भने त सेनाले माओवादीलाई एक निमेषमै सखाप पार्ने भो ।’ तालीम हेरेका ति सम्पादकले ले थपे, ‘अब माओवादीका विद्रोहका ध्वाँसको काम छैन । सेनाले आफनो रणकौशल धेरै विकास गरिसकेछ । माओवादीलाई यही मौकामा पेल्दै लानुपर्छ ।’
स्मरणीय छ, सेनाले शान्ति सेनाको मिसनमा पत्रकारलाई लैजादा पनि धाँधली गर्ने गरेको छ । सेनाको गुनगान गाएर पत्रिकामा लेख्ने, सेनालाई रिपोर्ट बुझाउने र सेनाबाट मासिक पारिश्रमीकसमेत लिने केही पत्रकारलाई अफ्रिकी मुलुकहरुमा ‘ज्वाँई भ्रमण र सत्कार’ गराएर ल्याउने गरिएको छ । विश्वका मुलुकहरुले विश्वशान्तिका लागि जम्मा गरेको रकममा केही सैनिक अधिकारी र तिनका आसेपासेल मंहगो राजसी ठाँटका साट मोजमस्ती गर्दै आएको देखिन्छ । अझ, शान्ति सेनामा जाने जवानकै पारिश्रमीक पनि आधाभन्दा बढी काटेर सैनिक अधिकारीले आफ्नो खल्तीमा हाल्ने गरेको चर्चा सुनिदैआएको छ ।
युध्दकालमा केही पत्रकार सेनाको कम्ब्याट पोशाक लगाएरै पुगेको र उनीहरुले पछि आफुलाई पत्रकार बताउने गरेको चर्चा अहिले पनि एमाओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा चल्ने गरेको छ । सेनाले मुख्य पत्रिकाहरुमा अदृश्य रुपमा आफना प्रतिनिधि खटाएको चर्चा पनि चल्ने गरेको छ । कतिपय पत्रकार खुलेरै सेनाका अधिकारी, सैनिक श्रीमती सँघ र तिनको चाकडीमा लेख्ने गरेका छन् ।
यस्तै सिन्डीकेट र कमजोरीकै कारण सेनाको लोकतान्त्रीकरणको प्रश्न उठेको हो । तर, कहिले होला सेनाको लोकतान्त्रिकरण ? मुलुकका प्रमुख दैनिकका सम्पादकलाई काखी च्यापेपछि सेनाका यस्ता विसँगती कसले औल्याउँने ? एमआइ हेलिकोप्टर खरिददेखि राशन खरिदसम्मका विकृती कसले औल्याउँने ?
No comments:
Post a Comment