Friday, February 21, 2014

‘कांग्रेस फुट्छ’ भन्दै ट्वीट गरे मेहताले

काठमाडौं, ९ फागुन : सुशील कोइराला प्रधानमन्त्री भएदेखि उनको सरकार वादमा छ । एमालेसँगको साझेदारी राम्रोसँग अगाडि बढ्न सकेन । गृह दिने-नदिनेमा कांग्रेसभित्रै विवाद छ । एमालेभित्र पनि विवाद छ । र, विवाद एमाओवादीमा पनि पसेको छ । आखिर किन यस्तो विवाद भैरहेको छ त ? यसको रोचकपक्ष भेटिएको छ । सरकार विस्तारमा ढिलाइदेखि पार्टीभित्रका लडाईंको भित्री कथा पनि उत्तिकै रोचक र सनसनीपूर्ण रहेछ ।
केही समय अगाडि नेपाल मामलाका जानकार अशोक मेहताले कांग्रेस फुट्न सक्ने भन्दै ट्वीट गरेका थिए । उनको उक्त ट्वीटसँगै नेपालका राजनीतिक दलहरू आन्तरिक विवाद र नयाँ नयाँ समीकरणमा देखिएका थिए । भारतीय खुफिया एजेन्सीका मानिसहरूले आ-आफ्नो चासो अनुसार कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलभित्र कुरा राखिरहेको बताइएको छ । उनीहरूका कुरा अनुसार पार्टीभित्र फरक फरक मत देखा पर्ने गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । लैनचौरस्थित भारतीय दूतावासमा नेताहरूको आवतजावत बढेको स्रोतको दाबी गर्छ । एमाले दलको नेता चयनका लागि भएको चुनावमा त दूतावासमा भोज नै भएको थियो । मेहताले पछिल्लो पटक कांग्रेस, एमाले गठबन्धन के हुन्छ ? भन्दै ट्वीट गरेका थिए ।
कोइरालालाई सशर्त सरकारप्रमुख बनाउन राजी भएका भारतीय एजेन्सीका मानिसहरू कोइरालालाई अगाडि सारेर सबै पार्टीलाई भिडाउने योजनामा लागेका छन् । सबै राजनीतिक पार्टीहरूमा विवादको सुरुआत भारतीय योजनामा भएको देखिएको छ । भारत निकट मानिने नेताहरू कोइराला विरोधी खेमामा छन् भने भारतका विरोधमा रहने नेताहरू कोइरालाको पक्षमा । सबै पार्टीभित्र यस्तो खालको अन्तरविरोध पैदा गर्ने र कोइराला नेतृत्वको सरकारलाई घेराबन्दी गर्ने भारतीय योजना रहेको सूत्रहरू बताउँछन् । कांग्रेसमा कृष्ण सिटौलादेखि शेरबहादुर देउवासम्म गृहमन्त्री एमालेलाई दिनुपर्ने पक्षमा छन् । संसदीय दलको चुनावमा कोइरालासंग हार खाएदेखि नै देउवा कमजोर सरकारको पक्षमा छन् । उनी एउटा निश्चित समयमा कोइरालाको बिदाई गरेर आफैं प्रधानमन्त्री बन्ने धुनमा छन् ।
एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल भने गृहमन्त्री एमालेलाई नआए पनि चिन्ता लिने पक्षमा छैनन् । संसदीय दलको चुनावमा भएको केपी ओली र वामदेव गौतमबीचको समीकरण खनाल र नेपाललाई चित्त बुझेको थिएन । गृह मन्त्री नआउँदा ओली र गौतममाथि प्रहार गर्न सकिने निष्कर्षमा पुगेका खनाल र नेपालले गृहमन्त्री नदिन प्रधानमन्त्री कोइरालालाई नै भनेको एमालेवृत्तमा चर्चा छ । दलको नेता चयन भएलगत्तै ओलीलाई एमालेभित्र भावी प्रधानमन्त्रीका रूपमा हेर्न थालिएको थियो । ओली पनि वैशाखमा हेटौंडा महाधिवेशन गरेर पार्टी अध्यक्ष हुने र त्यसपछि कोइराला नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वको सरकार बनाउने योजनामा रहेको एमाले स्रोतको भनाइ छ ।
समस्या कांग्रेस एमालेमा मात्र होइन, माओवादीमा पनि देखिएको छ । एमालेले समर्थन नदिएको अवस्थामा कोइराला नेतृत्वको सरकारको बचाउ गर्नुपर्छ भन्ने प्रचण्डको प्रस्तावमा नेता डा. बाबुराम भट्टराईले असन्तुष्टि राखेका छन् ।
३ गते प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको कुराकानीमा सरकार संकटमा परेको भन्दै कोइरालाले सहयोग मागेका थिए । प्रचण्डले पनि एमाले सरकारबाट बाहिरिने अवस्थामा आफूहरूले सहयोग गर्ने बताएका थिए । प्रचण्डले प्रधानमन्त्री कोइरालालाई आश्वासन दिएको भोलिपल्ट ४ गते पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा नेता डा. भट्टराई र श्रेष्ठले कोइराला नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने अडान राखेका थिए । कोइरालालाई समर्थन गरेको एमालेले गृहमन्त्रालय नपाए समर्थन फिर्ता लिने चेतावनी दिन थालेपछि कांग्रेसले माओवादीको समर्थन खोजेको बताइएको छ । तर, एमाले विस्तारै सरकारमा जान तयार हुने कांग्रेस नेताहरूको भनाइ छ । करण सिंहको नेपाल भ्रमणलाई पनि यसैसंग जोडेर हेरिएको छ । उनले कांग्रेस एमालेबीच अस्थायी सरकार गठन गर्ने योजना बनाएर काठमाडौंमा आएको बताइएको छ । उनी आफ्नो मिसनमा सफल भएका छन् ।
कोइराला र प्रचण्डबीच संविधान निर्माण लगायतका विषयमा तीनबुँदे सहमति समेत बनेको दाबी गरिएको छ । सरकारले पूर्णता नपाउँदा जनतामा निराशा आएकोले सरकारलाई छिटो पूर्णता दिनुपर्ने, सरकार र सबै दलको सम्पूर्ण ताकत लगाएर एक वर्षभित्र संविधान जारी गर्नुपर्ने र शान्तिप्रक्रियाको बाँकी काम पूरा गर्न सहमति अनुसार सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानबिन आयोग गठन गर्ने सहमति बनेको थियो ।

No comments:

Post a Comment