हामी माओवादीहरु कसरी सिद्धिँदै छौं ?
सबै चिज दिएर बिस्तारै कसैले चालै नपाई माओवादीलाई खत्तम बनाउनु बुर्जुवाहरूको सफलता हो ।
रूसी लेखक पिलन्याकले 'बाँझो वर्ष' शीर्षक कथामा त्यस्ता रूसी बोल्सेभिकको चित्रण गरेका छन्, जसको संकल्प शक्ति र व्यावहारिक अठोट ज्यादै दह्रो छ र जो ज्यादै जोडदार रूपमा काम गर्छ, तर जोसित अन्तरदृष्टि छैन र जसलाई आफूलाई के गर्दैछु भन्ने कुरोसमेत थाहा छैन, पक्का हो कि त्यो क्रान्तिकारी बाटोबाट बहकिन्छ । यस्तो प्रवृत्तिलाई पछि लेनिनले 'संकीर्ण व्यापारवाद'को संज्ञा दिएका थिए ।
'ब्ााँझो वर्ष'को कथा नेपाली कम्युनिस्टहरूसँग ठ्याक्कै मेल खाएको देखिन्छ । उनीहरू अति आदर्शवादी कोणबाट सोच्छन् र भौतिक हिसाबले खट्छन् पनि । कसैले पार्टी, नेता र नीतिको सामान्य आलोचनामात्र गर्यो भने पनि प्रतिकार गर्ने बानी परेका हुन्छन् । तर अति आदर्शअनुरुप न आन्दोलन अघि बढ्छ, न परिणाम आउँछ, नत नेता नै आदर्श पात्र देखिन्छन् । अद्वन्द्ववादी बुझाइको कारण आफूले बुझेअनुसार नदेखेपछि उसमा तुरुन्त निराशा प्रवेश गर्छ र क्रान्ति, क्रान्तिकारी बाटो र आदर्श नै खराब भन्ने निष्कर्ष निकाल्छ । यसको अनिवार्य नियति पार्टीलाई गाली गर्दै पलायन हुने नै हो ।
पछिल्लो चरणमा माओवादी अगुवाहरूको एउटा हिस्साले सरकारबाहिर बस्नै नसक्ने, रातदिन सम्पत्तिको सपनामात्र देख्ने र स्वयम् आन्दोलनलाई अभिजात वर्गमा पतन गराउने प्रक्रिया तीव्र बनाएको साँचो हो । तल्लो तहका ठूलो हिस्साले देखेको सपनाको हत्या र आदर्शमा आगो लगाएर पुरै पुस्ताको भविष्य बर्बाद बनाएको पनि उत्तिकै सत्य हो । एमालेद्वारा भित्र्याइएको स्खलन तीन दसक अघिको, बर्बाद हुने पुस्तामध्ये केही तितर-वितर बनेको र केहीको खाटा बसिसकोले आज दृश्यमा त्यति चर्चा चलेको छैन । तर माओवादीले बनाएको बर्बादी आलो र निकै महँगो भएकाले त्रासद ढंगबाट बहसमा आउनु स्वाभाविक नै हो । उस्तै जीवन र मृत्यु, एउटै बाटो र गन्तव्य अनि साझा सपना देख्ने कमरेडहरूबीच आखिर किन विरोधीसँग खिचिने जस्तै सीमारेखा कोरिन्छ त ? यो विषयको गहिरो अध्ययन, तिखो बहस र सही निष्कर्ष निकाल्न सकिएन भने चरम निराशा, अविश्वास र विघटनको विकल्प नै कम्युनिस्टहरूको अनिवार्य नियति हुनेछ ।
माओवादीले 'एमाओवादीको नेतृत्वबाट धोखा भयो' भन्दै 'विद्रोहमार्फत जनवादी क्रान्ति पुरा गर्ने' कार्यदिशा बनाएको छ । यो धारा विरुद्ध बाहिरबाट वैचारिक एवं भौतिक निषेध गरिएको छ भने भित्रबाट अविश्वासको आगो बालेर हमला भइरहेको छ । 'आन्दोलन झ्याङगिँदै जाँदा प्रचण्ड-बाबुरामजस्तै बन्दैनौं र उनीहरूले जस्तै आधा बाटोबाटै धोखा दिँदैनौं भन्ने आधार के छ ?' भन्ने प्रश्नले भित्री अविश्वास चुलिएकै देखाउँछ । यसरी हेर्दा बुर्जुवा वर्गले विस्तारै तर सजिलै माओवादीलाई सिध्याए । आफ्नै बराबर सांसद दिएर, एउटा चुनावमा सबभन्दा ठूलो दल बनाइदिएर र आतंककारी भनिएका सेनालाई तलबभत्ता र केहीलाई आफ्नै सेनामा मिसाउँदै सिध्याउन सफल भए । सबै चिज दिएर विस्तारै कसैले चालै नपाई माओवादीलाई खत्तम बनाउनु बुर्जुवाहरूको जुन मात्राको सफलता हो, त्यही मात्राको असफलता र प्रतिकूलता माओवादी आन्दोलनको हो भन्ने निष्कर्ष निस्कन्छ ।
हिजोआज माओवादीभित्र दुइटा प्रश्न निकै पेचिलोसँग उठ्ने गरेको छ: कार्यकर्ता र जनतामा भित्रिएको घोर निराशाको झिल्को कहाँबाट सल्क्यो ? पूर्णकालीन कार्यकर्ता (डब्लुटी) हरूको आर्थिक व्यवस्थापन कसरी गर्ने ? पहिलो सवाल, निराशाको हो र यो दिनदिनै बाक्लिँदैछ । निराशा कि त पलायन कि अराजकतामा जनता, कार्यकर्ता र नेताद्वारा तीन आयाममा अभिव्यक्त भइरहेको छ । एक त सँगै काम गरेका सहयोद्धाहरूले विचलनको भेउ नै नपाउने, भेउ पाउँदा पनि जनवादी-केन्द्रीयताको नाममा छिपाउने या आफ्नो स्वार्थसँग सौदाबाजीको हतियार बनाउने र दोस्रो विकृति नाकै अगाडि ठोक्किँंदासमेत बोल्न नसक्ने दब्बु संस्कार पार्टीभित्र संस्थागत भएको देखिन्छ ।
कम्युनिस्टहरूले पटक-पटक धोका खाइरहनु, निराशावादको सिकार बन्नु र हरेक धोकाले एउटा पुरै पुस्ताको जीवन भविष्यको हत्या हुनु माओवादले नचिताएको त्रासदी हो । कम्युनिस्ट पार्टी र नेताभित्र भित्रिने विचलन र अराजकता बेलैमा चिन्ने, सच्याउने उद्देश्यमा लडाइँ लड्ने र विचलनलाई संगठित हुन नदिने विधि भनेको राजनीतिक कार्यको नैतिक मूल्याङ्कन आम समाजका सदस्यहरूबाट गराउने नै हो । यसलाई माओवादीले प्रतिक्रान्ति रोक्ने उपाय भनेर कम्युनिस्ट पार्टी र नेता, जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप हुनुपर्छ भनेको थियो, तर यो कथनीमै सीमित भयो । इतिहास हेर्दा कम्युनिस्ट आन्दोलन बाहिरी हमलाबाट हारेका सायदै छन् । नेपाली माओवादी पनि बाहिरी फौजी हमलाबाट होइन, भित्री विचलनबाट रक्षात्मक ठाउँमा पुग्न बाध्य भएको हो ।
दोस्रो सवाल, विचलनमा परेका कार्यकर्ता मुख्यतः डब्लुटी कार्यकर्ताको व्यवस्थापनको हो । माओले कार्यकर्ता व्यवस्थापनलाई 'रेखदेख' भन्ने शब्दावली प्रयोग गर्दै यसभित्र उनले अनेक तरिका प्रयोग गरेको देखिन्छ । तर हाम्रोमा तिनै माओका अनुयायी हौं भनेर माओवादी बनेकाहरू स्वयम् माओले सुल्झाएका समग्र रेखदेखका तरिका व्यवहारमा अपनाउने चिम्टीभर कोसिस गरेनौं । विचार, राजनीति र संस्कार बिनाको आर्थिक रेखदेख -यो पनि टाठाबाठामा मात्र सीमित छ) ले कम्युनिस्टलाई लुम्पेन -लम्पट) बनाउँदै लगेको छ । कम्युनिस्टभित्रको समस्याको गाँठी कुरो यही हो ।
नेपालमा कम्युनिस्ट पार्टीका अतिरिक्त सबै राजनीतिक पार्टीहरू चन्दा, कमिसन र भ्रष्टाचारबाट चल्ने गरेको विषयलाई धेरै नगिजोल्दा नै सजिलो होला । श्रमिक सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीसमेत बाह्रमासे चन्दाको भरमा चल्नु एवं कमिसन र भ्रष्टाचारमा लिप्त हुनु पुरै कम्युनिस्ट विरोधी तरिका हो । सही कम्युनिस्टहरू त सामान्य मान्छेहरूको पक्षमा विचार राख्ने, सर्वहारावादी कम्युनिस्ट व्यवस्थाको लक्ष्य लिई काम गर्ने, बाध्यताले होइन स्वेच्छा र सचेत रूपले श्रम (मूल्य किटानी नभएको वा पुरस्कारको आश नगरी गर्ने काम) गर्ने हो । तर हामी माओवादी पुरै श्रमचोर पो बन्दैछौं । जिम्मा पाएको वा दिइएको कार्यलाई इमानदारितापूर्वक नगर्ने, कामबाट भाग्ने वा लुक्ने, दायित्व वा जोखिम लिन तयार नहुने कामचोर प्रवृत्ति हो । यो प्रवृत्तिले जनताको पुरै अपमान गर्छ, हेप्छ र शासक बनेर जनतामाथि शासन गर्न रुचाउँछ ।
समस्या यसरी जेलिएको छ कि न पार्टीले कार्यकर्तालाई निरन्तर मार्गनिर्देशन गर्छ, नत स्वयम् कार्यकर्ता नै उपभोक्तावादबाट मुक्त हुने पहल गर्छ । न पाठ्यसामग्री र आचारसहिंता नत नियमित स्कुलिङ नै । जसले सामूहिक श्रम र उत्पादन, कम्युनिस्ट जीवन र भविष्य अनि जनताको सेवा र श्रमदान गर्न सिकाउँथ्यो । को डब्लुटी र को पीटी (पार्ट-टाइमर), के-के योग्यता र क्षमता भएकालाई डब्लुटी बनाउने र अरुलाई पीटी बनाएरै परिचालन गर्ने, कस-कसलाई वर्ग धरातल र वैचारिक प्रतिबद्धता हेरेर पार्टी सदस्य दिने र कसलाई वैचारिक, कसलाई योजनागत र कसलाई भौतिक व्यवस्थापनमा सहयोग गर्ने भन्ने विषय कम्युनिस्ट पार्टीको सामान्य प्राथमिकतामा समेत पर्ने गरेकै छैन । परिणामतः कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट कट्ने, नेता र कार्यकर्ता दुबै कम्युनिस्ट चरित्रबाट च्युत हुँदै पुँजीवादी बन्ने गरेको देखिन्छ । सामाजिक मर्यादा विपरीत कम्युनिस्ट सदस्यले अकुत सम्पत्ति थुपार्न जे पनि गर्ने मानसिकता एकातिर देखापर्छ भने अर्कोतिर यस्ता गैरकम्युनिस्ट गतिविधि र सदस्य नै कम्युनिस्ट पार्टीमा हर्ताकर्ता बन्ने विडम्बना । लगभग सबै उस्तै भएपछि शुद्धीकरण कहाँबाट थाल्ने भन्ने प्रक्रिया नै कुहिराको काग बनेपछि कम्युनिस्ट आन्दोलन लुम्पेन संस्कृतिको सिकार नबनेर के बन्ने त ?
कम्युनिस्ट पार्टीको सदस्य मुख्यतः डब्लुटी सदस्यमा तलबी मानसिकताको विकास हुनु अथवा मसान्तको दिन पार्टीले ऊ डब्लुटी भएबापत तलब दिएन भने संक्रान्तिको दिन पार्टी नै छोड्ने धम्की आउनु समस्याको अर्को पत्र हो । एउटा कम्युनिस्ट सदस्य श्रमसँग जोडिएर उत्पादनमा भाग लिने, आफू आत्मनिर्भर भएर पार्टीलाई 'लेबी' तिर्ने र पार्टीमार्फत स्वयम्सेवक बनेर जनताको निरन्तर सेवा गर्ने हो । सच्चा कम्युनिस्ट सदस्यलाई सधैं तलब दिएर पाल्नुपर्ने कम्युनिस्ट तरिका हुँदै होइन । दुनियाँको लागि लड्ने र मर्ने कम्युनार्डहरू जब व्यक्तिगत योजना, इच्छा र महत्त्वाकांक्षा अनुसार कम्युनिस्ट पार्टीमा भर्ती हुने, डब्लुटी बन्ने र जिम्मा थपिने स्थिति बन्छ, तब अराजनीतिक प्रक्रिया र खेल कम्युनिस्ट पार्टीभित्र भित्रिन्छ । अनि केको लेबी तिर्नु, कसले गर्छ श्रम र किन जोडिने सामूहिक उत्पादनमा ?
लेखक नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन् ।
No comments:
Post a Comment