Thursday, February 6, 2014

सिध्दार्थ कटेजमा मिले भण्डारीका दुई हात

गएको शनिबार राती धोबीघाटस्थित सिध्दार्थ कटेजमा बेग्लै रौनक थियो । कटेजको गोप्य लाउन्जमा एमाले नेता केपी ओली र अर्का नेता बामदेव गौतमबीच मित्र मिलाप हुँदैथियो ।
‘एउटै मानिस जहिले पनि नेतृत्वमा ? तिनै एम्के (माधव नेपाल) र जेएन (झलनाथ खनाल) नै अगुवा भइरहने ? हामी चाँही हेरीरहने ?’, केपी ओलीले भने ।
बामदेवलाई ओलीको कुरा मनप¥यो । ‘कमरेडको कुरामा म पूर्ण सहमत छु । यो पार्टी अब कसैको बिर्ता पनि हैन र कोही राजा महाराजा झैं सँधैभरी पद ओगटेर बसीरहन पनि पाउँदैन’, बामदेवले भने ।
केही वर्षसम्म शत्रुतापूर्ण सम्बन्ध कायम राखेका यी दुई नेताले शनिबार हल्का चुस्की लिदै लामो समय बिछोडिएर मिलेका प्रेमी प्रेमीकाको जस्तो व्यवहार गरेका थिए । ‘मदन भण्डारी कमरेड हुँदा हाम्रो कस्तो मित्रता थियो सम्झनुस् त कमरेड ? मदन कमरेडका हामी दुई हात थियौं’, बामदेवले भने, ‘तपाई दाहीने हात, म बायाँ हात । अनी न पार्टी सशक्त थियो ।’
‘बिचमा सीपीले खेले, जेएनले पनि खेले, महाकाली सन्धीका पालमा तपाईलाई सीपीले अली बढी उक्साएकै हो’, ओलीले भने, ‘हामी दुई मिलीरहेको भए न त ति एमके माथि आउँथे, न त जेएन । तपाईं पश्चिमको म पुर्वको ।’
महाकाली सन्धीको प्रसँग आएपछि बामदेव पनि भावुक भए । ‘मैले त राष्ट्रवादी धार समातौं भनेको हो, तर तिनै सीपी र माधवजीहरुकै रहेछ पार्टी फुटाउने दाउ । पार्टी फुट्यो, माधवजी नेता’, बामदेवले भने, ‘मैले यो कुरा ठम्याउन नसकेकै हो ।’
१५ वर्षसम्म पार्टी नेतृत्वमा रहेका माधव नेपालले आसन्न महाधिवेशनमा फेरी अध्यक्ष हुने चलखेल थालेपछि बामदेव र ओलीले यसरी आफना पुरा भूमिकाबारे आत्मविश्लेषण गरिरहेका थिए ।
‘अब हामी मिल्नुपर्छ । मदन कमरेडको स्पीरीटमा पार्टी हाँक्नुपर्छ’, ओलीले भने, ‘मदन कमरेडले बहुदलीय जनतावादको कार्यक्रम ल्याउँदा हामी एक साथ थियौं, ति जेएन नै हुन नी दक्षप्रजापतीको टाउको भन्ने । हाम्रो त विचार पनि मिल्छ, स्पीरीट पनि मिल्छ ।’, बामदेवले थपे ।
सिध्दार्थ कटेजको त्यो गोप्य लाउन्ज झन्–झन् आत्मीय बन्दै गयो । ‘अब पुराना तिता कुरा बिर्सेर पार्टीमा हावी हुन लागेको निरंकुशताविरुध्द लडौं’, ओलीले भने, ‘हामी एमाओवादीको पुच्छर हुने हैन । अनी पार्टीलाई माधवले झैं तदर्थबादमा लाने पनि हैन । तपाइ र म मिल्यौं भने पार्टी वैचारीक र साँगठनिक रुपमा बलीयो हुन्छ । तपाई सँगठन विभागमा हुँदा पहिला कस्तो बलियो थियो पार्टी ।’
‘मलाई सीपी र झलनाथहरुले धोका दिए । तपाइलाई माधवले गत महाधिवेशनमा धोखा दिए । अब यीनलाई देखाइदिनुपर्छ’, बामदेवले भने ।
त्यो भेटमा बामदेवले आफना मनका बह मजैले पोखे । ‘म जहिले पनि सेकन्ड म्यान । मजस्तो पाको नेता जहिले पनि उपेक्षीत । अहिले पनि पार्टीमा म सेकेन्ड म्यान हुँ । तर, मलाई न त प्रधानमन्त्री बन्नेबेलामा सम्झीए, न पार्टी अध्यक्षको रुपमा चर्चा गरियो’, बामदेवले भने ।
‘अब त्यस्तो हुँदैन । पार्टीमा म तपाईलाई साथ दिन्छु । तपाईको विशेषता मलालाई थाहा छ । तपाईप्रति मेरो मनमा कहिल्यै कुनै क्लेस बाँकी रहेन । सीपीको नियत ठिक थिएन, तर तपाई महाकाली सन्धीको बेलामा पनि स्वच्छ मनले काम गर्नुभएको हो । तपाईंजस्तो भावुक मानिसलाई भड्काउने काम गरिएको हो । अब त सबै छर्लंगै भो कमरेड । आउनुस हात मिलाउँ’, ओलीले भने ।
यस्तै यस्तै बार्तालाप गर्दै त्यस रात करीव ११ बजेतीर ओली र गौतमले आपसमा नयाँ गठबन्धन गरे । सिध्दार्थ कटेजमा भएको पुराना मित्रहरुको मिलापले एमालेभित्रको राजनीतिक समीकरणलाई नयाँ मोडमा ल्याएको छ । शनिवारको त्यो भेटमा ओली र गौतमले पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवलाई अब सत्ता र पार्टी दुबैको नेतृत्वबाट गलहत्याउने सहमती गरेका छन् ।
सिध्दार्थ कटेजमा भएको पाँच बु्ँदे सहमती यस्तो छ :

१) बामदेव गौतमले तत्काल संसदीय दलको नेतामा ओलीलाई सघाउन
२) काँग्रेससँग बन्ने सरकारमा एमालेको तर्फबाट गौतमले नेतृत्व गर्ने र त्यसका लागि गौतमलाई ओलीले सघाउने ।
३) आसन्न महाधिवेशनमा गौतमले ओलीलाई अध्यक्ष पदमा जिताउन सघाउने ।
४) ओली पार्टी अध्यक्ष भएपछि संसदीय दलको नेता गौतमलाई हस्तान्तरण गर्ने ।
५) यसका लागि ‘एक पद एक व्यक्ति’को मान्यता अघि सार्ने ।

खनाल संत्रस्त
ओली र गौतमको यो सहमतीपछि अध्यक्ष झलनाथ खनाल र माधव नेपाल कित्तामा हडकम्प मच्चिएको छ । खनाललाई संसदीय दलको नेता बनाएर आफु अध्यक्ष हुने माधवको सपना पनि धरापमा पर्ने भएको छ । माधवलाई अध्यक्ष बनाउन भनेर अघि सरेका घनश्याम भुषालदेखी सुरेन्द्र पान्डेसम्मका युवा नेताहरुले पनि अब नयाँ शिराबाट सोच्नुपर्ने भएको छ ।
‘यो फेरी पार्टी फुटाउने बामदेवजीको दाउ हो’, घनश्याम भुषाल भन्न थालेका छन् । सुरेन्द्र पान्डेले आइतबार पार्टी कार्यालयमा भन्दै थिए, ‘घिउ बेचुवा र तरबार बेचुवाहरु एकै ठाउँमा आएका रहेछन् । त्यसले केही लछारपाटो लाउनेवाला छैन ।
बामदेव र ओलीको गठबन्धनपछि ललितपुरको माइलस्टाने कलेजमा आइतबार भेला गरेको खनाल र नेपाल पक्षले भने त्यसलाई पार्टी फुटाउने चाल बताए । ‘ओली र गौतम मिल्दैमा, कतै खुराफात गर्दै हिंडदैमा मलाई फरक पर्दैन । केन्द्रीय समितिले संसदीय दलको नेता चयन गर्नेछ । पार्टी विभाजन हुने खालका गतिविधि हामी कसैलाई पनि सह्य छैन’, खनालले सभासदको भेलामा आक्रोशीत हुँदै भने ।
उनले ‘यहाँ सत्ताको लोभमा केही साथीहरु पार्टी फुटाउने प्रपञ्चमा लाग्नुभएको छ’भन्दै त्यसलाई परास्त गरिने पनि बताए । ‘महाकाली सन्धीको बेलामा जस्तो बातावरण बनाउन खोजीएको छ । हिजो बामदेव कमरेडलाई सीपीले उचाले, आज बामदेवलाई ओलीजी उचाल्दै हुनुहुन्छ’, खनालले भने, ‘यस्ता अपवित्र गठबन्धनले पार्टीलाई केही फरक पार्दैन ।’

No comments:

Post a Comment