Saturday, February 15, 2014

इन्दिरा रानामगर सानो छँदा

'आफूले चाह्यो भने जे कुरा पनि पाइँदो रहेछ’
आश्विन ५ - 
इन्दिरा रानामगर समाजसेवी हुन् । उनी झापाको गरिब परिवारमा जन्मेकी हुन् । उनले १० वर्षको उमेरसम्म स्कुल टेक्न पाइनन् । एकैपटक पाँच कक्षामा भर्ना भएर पढ्न सुरु गरेकी उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छन् । उनी ४२ वर्षकी भइन् । उनले आफ्नो उमेरको आधाभन्दा बढी समय समाजसेवामा बिताएकी छन् । साहित्यकार पारिजातबाट प्रभा
वित भएर उनले बाबुआमासँगै जेलमा बस्न बाध्य भएका बालबालिकालाई सहयोग गर्ने काम थालेकी थिइन् । १३ वर्ष अघिदेखि चाहिँ आफैंले स्थापना गरेको पि्रजनर्स एसिस्टेन्स नेपाल भन्ने संस्थामार्फत काम गर्दै आएकी छन् । उनी बाबुआमा जेल परेका बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा सहयोग गर्छिन् । उनको संस्थाबाट सहयोग पाएर स्कुल जाने विद्यार्थी ३ सय ९० जना छन् । यसबाहेक उनको संस्थाले जेल परेका महिला र युवाहरूलाई सीप सिकाउने काम पनि गर्छ । इन्दिराले नेपालका अधिकांश जेलहरूको भ्रमण गरेकी छन् । २००५ मा उनले अशोका फेलोसिप पाएकी थिइन् । यसैगरी, उनले २००९ मा एसियाका शीर्ष २१ युवा नेतृत्वको जनसेवा अवार्ड पनि पाइन् । पुरस्कार लिन, आफ्नो अनुभव साटासाट गर्न र नेपाल बाहिरका जेलहरूको स्थिति थाहा पाउन उनले विश्वका धेरै देशको भ्रमण गरेकी छन् । सतार आदिवासीहरूसँग चरम गरिबीमा बितेका उनका बाल्यकालीन सम्झना यस्ता छन्:

मेरा बाआमा उदयपुर सावादारुलाबाट झापा शनिश्चरेको सालवाडीमा बसाइँ आउनुभएको रे । त्यतिबेला झापामा अहिलेजस्तो बाहुन, क्षेत्री राई, लिम्बूहरूको बाक्लो बस्ती थिएन । त्यहाँका आदिवासी सतारहरू मात्रै थिए रे । जंगलहरू बाक्ला थिए रे । मेरा बाआमा तराई झर्नुको पनि कथा रहेछ । मेरो आमाले बिहे गर्नुभएछ । उहाँ माइत आएका बेला उहाँको श्रीमान्ले त अर्को बिहे गरिसकेछन् । त्यो थाहा पाएर उहाँ माइतमै बस्नुभएछ । अलि पछि अहिलेको मेरो बासँग उहाँको भेटघाट भएछ र मायाप्रीति बसेछ । अनि उहाँहरूले बिहे गर्नुभएछ । त्यतिबेला अर्काकी श्रीमती भगाउनेले जारी तिर्नुपथ्र्यो रे । त्यसपछि उहाँहरूले गाउँबाट भागेर सालवाडीको जंगलमा झुप्रो बनाएर जीवन सुरुवात गर्नुभएछ ।

बाआमाका दसजना सन्तान थिए । म कान्छी छोरी । तर मैले थाहा पाउँदा धेरैजतिको मृत्यु भइसकेको 

थियो । उहाँहरूका ४ सन्तान मात्रै बाँकी थियौं । मेरा दुईजना दाइ र एकजना दिदी । त्यसैले मेरो ठूलो दाइ र मेरोबीच धेरै उमेरको फरक छ । कान्छो दाइचाहिँ मभन्दा चार/पाँच वर्ष जेठो हुनुहुन्छ ।

मेरा दुवै दाइहरूले स्कुल जान पाउनुभयो । त्यतिबेला गरिब परिवारका छोरीहरूले स्कुल जान पाउँदैनथे । छोराहरूलाई पढाउने चलनचाहिँ अलिअलि सुरु भएको थियो । हामी अरूको जग्गामा घर बनाएर बसेका थियौं । बाआमा दुवैजना गाउँलेहरूकोमा बनीबुतो गर्न जानुहुन्थ्यो । त्यसरी मेलापर्म जाँदा एक दिनको दुई माना चामल पाइन्थ्यो । त्यसैबाट हाम्रो गुजारा चल्थ्यो । हाम्रो घरमा सुंगुर, गाई, बाख्रा पालेको थियो । तिनीहरूलाई खुवाउन घाँस काट्नुपथ्र्यो । बाआमा काम गर्न जाने, दाइहरू स्कुल जाने । त्यसैले घरको घाँस काट्ने जिम्मा मेरै भागमा पथ्र्यो । 

म हुर्किंदै गरेका बेला झापामा पहाडतिरबाट झरेका राई, लिम्बू, बाहुन क्षेत्रीहरूको बस्ती बाक्लो भइसकेको थियो । मेरै उमेरका तिनका छोराछोरी किताब च्यापेर स्कुल जान्थे । मचाहिँ डोको बोकेर वनतिर घाँस काट्न गएकी हुन्थें । खेतको आलीमा हाम्रो जम्काभेट भएका बेला ती मलाई धकेलेर हिँड्थे । एकपटक तिनीहरूले मलाई दाउराको भारीसहित लडाइदिएका छन् । दस वर्ष पनि नपुगी म सतारहरूकोमा धान रोप्न जान्थेँ । दीर्घराज प्रसाईं, नरेन्द्रराज प्रसाईंहरूका खेतमा पनि काम गर्न गएको छु । म बच्चा भएकोले ठूलो मानिसले जति काम गर्न सक्दिनथंे । त्यसैले मलाई चाहिँ एक माना चामल दिन्थे ।

हाम्रातिर असमेहरू अलि धनी थिए । ती भारतको असममा काम गरेर पैसा कमाएर आएका हुन्थे । तिनीहरूका घर हाम्राभन्दा राम्रा हुन्थे । जग्गाजमिन पनि धेरै थियो । हामी तिनीहरू सबैलाई असमे मामा भन्थ्यौं । खासमा सालवाडीमा मगरहरू थिएनन् । कि सतार नै थिए, कि राई, लिम्बु कि बाहुन, क्षेत्री । हामीचाहिँ ती सबैलाई मामा नै भन्थ्यौं । मलाई उनीहरू कान्छी भन्थे । म साह्रै सानी र दुब्ली थिएँ । त्यसैले घरमा चाहिँ मलाई डुंखुरी भन्थे । मेरी दिदीको बालविवाह भएको थियो, खुजुनाबारीमा । उहाँ १३ वर्ष हुँदैमा बिहे भएको, त्यो पनि १० जना छोराहरू भएको घरमा । मेरी दिदीलाई साह्रै दुःख हुन्थ्यो । त्यसैले म कहिलेकाहीँ दिदीको घरमा काम सघाउन जान्थें । त्यतातिर पनि मलाई डुंखुरी नै भन्थे ।

मलाई अरूले पढेका देखेर आफूलाई पनि स्कुल जान मन लाग्थ्यो । तर मेरा बाआमासँग पैसा थिएन । मैले अलिअलि अक्षरचाहिँ सान्दाइसँग घरमै सिकेकी थिएँ । धान कुटेको भूसमा औंलाले लेखेर सान्दाइले मलाई अक्षर चिन्ने बनाउनुभएको थियो । भर्खर लिपपोत गरेको भुइँमा पनि छेस्काले लेख्न सिक्थें । दस वर्षको हुँदा मलाई 'मेरो नाम इन्दिरा हो ।' भन्नेसम्म लेख्न आउँथ्यो । अलिअलि गणित पनि सिक्न थालेकी थिएँ । आर ए एम राम भन्न आउँथ्यो । सी ए टी क्याट भन्न पनि आउँथ्यो । सान्दाइले कहिलेचाहिँ सिकाइदिने । झगडा परेका बेलाचाहिँ 'तू बिहे गरेर अर्काको घर गइहाल्छेस्, किन पढ्नुपर्‍यो ? यो त सप्पै घर मेरै हो' भन्थ्यो । मलाई साह्रै चित्त दुख्थ्यो ।

मलाई सानैदेखि भगवान्मा आस्था थियो । वरिपरि बाहुन, क्षेत्रीको बस्ती पनि भएकोले होला, सानैदेखि म पूजा गथेर्ं । भगवान्को पूजा नगरेको हुनाले मैले पढ्न नपाएको होला भनेर मैले पूजा गर्न थालेकी थिएँ ।

मेरो ठुल्दाइ मेरै गाउँको स्कुलमा पढाउन आउनुभएको थियो । त्यही स्कुलको हेडसर हस्त परियार हुनुहुन्थ्यो । उहा एकदिन हाम्ो घर आउनुभउको थियो । उहाले मलाई देखेर यति राम्री नानीलाई किन स्कुल नपठाएको भन्नुभयो । मैले स्कुल जान मन लागेको छ । तर म पाँच कक्षामा मात्र पढ्छु भनें । मेरा उमेरका सबै साथीहरू पाँच कक्षामा पढ्थे । त्यसैले मलाई उनीहरूभन्दा तलको कक्षामा पढ्न मन थिएन ।

पछि उहाँले जाँच लिनुभयो । निकै गाह्रो गरी मैले पाँच कक्षामा भर्ना भएँ । राम जोशी सरले सहयोग गर्नुभएको थियो । म घरको सबै काम सकेर मात्र स्कुल जान पाउँथे । त्यसैले सधैं ढिला स्कुल पुग्थें । मलाई कक्षामा ढिलो गरी पुग्दा 'मे आई कम इन सर' भन्नुपर्छ भन्ने थाहा थिएन । त्यो नभन्दा मैले कुटाइ पनि खाएकी छु । तर स्कुलमा मैले निकै मिहिनेत गरेर पढें । खासमा सरले भोलिपल्ट पढाउने पाठ म अघिल्लो दिन नै पढेर जान्थें । म रातिको १२ बजेसम्म पढ्थें । पाँच कक्षाको परीक्षाको नतिजा आउँदा म मात्रै होइन, सारा गाउँले नै छक्क परे किनभने म पहिलो भएकी थिएँ । मनोज वन सेकेन्ड भएको थियो । ऊ अहिले भारतको दिल्लीमा काम गर्छ । धेरैले त्यतिबेला म पहिलो भएकोमा विरोध गरे । एकैपटक पाँच कक्षामा भर्ना भएकी गरिब केटी पहिलो भएकोमा मानिसले पत्याएनन् । मेरो दाइ पनि त्यही स्कुलमा पढाउने भएर मलाई पहिलो बनाइदिएको भन्ठाने होला । त्यही कारणले मेरो दाइको जागिर गयो । तर मैले एसएलसी पास गरेपछि केही समय त्यही स्कुलमा पढाएँ ।

खासमा मेरो दाइलाई पनि मैले पढ्न सक्छु भन्ने लागेको रहेनछ । उहाँले पाँच कक्षा पढेकी केटी भनेर अलि पढेको केटासँग मेरो बिहे गर्दिन सकिन्छ भन्ने उहाँलाई लागेको रहेछ । तर पाँच कक्षा सकेपछि म शनिश्चरे माविमा पढ्न गएँ । त्यो मेरो गाउँबाट ६ किलोमिटर टाढा थियो । त्यहाँ हामीलाई साहित्यकार कृष्ण धरावासी सरले पढाउनुहुन्थ्यो । त्यहाँ पनि म सधैं उत्कृष्ट पाँच विद्यार्थीमध्येमै पथेर्ं । चाडबाडका बेला पनि मैले नयाँ लुगा लगाउन पाउँदैनथंे । त्यतिबेला बंगलादेशबाट पुराना लुगा बेच्नेहरू गाउँमा आउँथे । बाले मलाई त्यस्तै लुगा किनेर ल्याइदिनुहुन्थ्यो । अनि कहिलेकाहीँ चाहिँ मेरी छोरीलाई राजकुमारीजस्तो देखिने लुगा पनि बेच्न ल्याएको थियो, तर त्यो किन्न पैसै पुगेन भन्नुहुन्थ्यो ।

२०४४ सालमा मैले एसएलसी पास गरें । गंगा जोशी गुरुआमाले एसएलसीको जाँचका बेला धेरै सहयोग गर्नुभयो । गरिबीमा बिताएका भए पनि मलाई आफ्नो बाल्यकाल पि्रय लाग्छ । अहिले पनि ठुल्ठूला डाक्टरहरू, नेताहरू, इन्जिनियरहरू मजस्तै दुःख गरेर गाउँ, पहाड र मधेसबाट आएकाहरू नै छन् । त्यसैले दुःख पाउँदैमा आफूले केही गर्न सकिँदैन भन्ने हँुदैन । मुख्य कुरा आत्मबल दह्रो हुनुपर्छ । आफूले भित्र मनदेखि चाह्यो भने जे कुरा पनि प्राप्त गर्न सकिँदो रहेछ । मेरो जीवनले मलाई सिकाएको पाठ यही हो ।

प्रकाशित मिति: २०७० आश्विन ६

No comments:

Post a Comment