Saturday, February 15, 2014

एक्ली इन्दिरा

काठमाडौ, फाल्गुन ३ - स्विडेनको वल्र्डस् चिल्ड्रेन्स प्राइज फाउन्डेसनले आगामी अक्टोबरमा प्रदान गर्न लागेको १ लाख अमेरिकी डलरको 'वल्र्डस् चिल्ड्रेन्स प्राइज' का लागि मलाला युसुफजाई र जोन उडसँगै अन्तिम तीनको मनोनयनमा परेपछि इन्दिरा रानामगर अहिले चर्चामा छिन् ।
बालअधिकार, प्रजातन्त्र र विश्वमैत्री सम्बन्धमा जोड दिने वल्र्डस् चिल्ड्रेन्स प्राइज फाउन्डेसनमा दर्ता भएका १ सय ८ देशका ५९ हजार ७ सय ३९ स्कुलहरू यसका ग्लोबल फ्रेन्डस् छन् । हरेक वर्ष यस संस्थाले एकजनालाई पुरस्कृत गर्ने गर्छ ।
अनलाइन भोटिङ र फाउन्डेसनमा दर्ता भएका स्कुलमा हुने मतदानबाट विजेताको नाम छनोट गरिनेछ । यसका लागि स्कुलहरूमा मतपेटिका राखिनेछ । फाउन्डेसनमा नेपालका एक सय स्कुल दर्ता छन् । यो बालअधिकारको पुरस्कार भएकाले यसमा १८ वर्षमुनिकाले मात्र मतदान गर्न सक्नेछन् । अन्तिम छनोटमा परेका इन्दिरा, जोन र मलाला तीनैजना एकै मञ्चमा स्विडेनकी महारानी सिल्भियाबाट सम्मानित पनि हुँदै छन् ।
४२ वर्षअघि झापाको शनिश्चरे-६ सालबारीमा जन्मिएकी इन्दिरा रानामगर नर्स वा शिक्षक बन्न चाहन्थिन् । उनले अत्यन्तै कष्टले आफ्नो पढाइ पूरा गरिन् । सँगैका साथीहरू स्कुल जाने बेला, उनले दाउरा खोज्न जंगल पस्नुपथ्र्यो । छाक टार्नै मुस्किल भएपछि कहिलेकाहीं त जंगलबाट खोजेेर ल्याएका गिठा, भ्याकुरमा चित्त बुझाउनुपथ्र्यो । स्थानीय सतार समुदायका बालबालिकाहरूसँग हुर्केकी उनी बेलाबेला गँगटा र माछा मार्न पनि जान्थिन् । उनलाई हिजै जस्तो लाग्छ, खाली खुट्टा निगुरो टिपेर ४ आनामा बेेेचेको, अर्काकोमा धान रोप्न गएको, बालुवा बोकेर बेचेको । अनिकालको सामना गर्न कठोर संघर्ष गरेका ती क्षणहरू सम्झिँदा अझै पनि उनको मन अमिलो हुन्छ ।
त्यो यस्तो समय थियो, गरिबका सन्तानले स्कुल पढ्ने अवसर कमै पाउँथे । त्यसमाथि छोरीहरूलाई स्कुल जान प्रोत्साहन गर्नेहरू बिरलै भेटिन्थे । मनमाया मगर र प्रतापसिंहकी कान्छी छोरी इन्दिराले आफ्ना दाइसँग घरमै पढ्न, लेख्न सिकिन् । उनी दाइलाई सधैं स्कुल जान्छु भनिरहन्थिन् । एक दिन शनिश्चरे माविका प्रधानाध्यापक हस्त परियार उनको घरमा टुप्लुक्क आइपुगेका बेला उनको टेस्ट लिए । उनले पास गरिन् । एकैचोटि ५ कक्षा भर्ना भइन् । कक्षामा प्रथम भएर सबैलाई चकित पारिन् । १६ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेपछि भर्ना हुन दमक क्याम्पस पुग्दा भर्ना लिइएन । 'अभिभावक ल्याउनु नत्र भर्ना हुँदैन भनियो,' हालैको एक बिहान इन्दिराले सुनाइन्, 'म रोएरै बसें ।' त्यो बेला उनीसँग न पैसा थियो, न त क्याम्पससम्म आमा, बुबा आउन सम्भव थियो । पछि सबै कथा सुनेपछि सरहरूले भर्ना गरिदिए र छात्रवृत्ति पनि दिलाए ।
०४७ सालमा झापाबाट काठमाडौं प्रवेश गर्दा इन्दिराले जम्मा ३ सय रुपैयाँ बोकेकी थिइन् । १ सय ५० रुपैयाँ गाडी भाडा तिरेपछि त्यति नै उनको साथमा बच्यो । संयोग कस्तो पर्‍यो भने घुम्दैघुम्दै झापा आइपुगेकी अमेरिकन पर्यटक मारिसोलसँग गाडीमै उनको बोलचाल भयो । इन्दिराको छेउको सिटमा परेकी मारिसोलले उनको साहसिक यात्राको तारिफ गरिन् । बेलुकी एउटै गेस्टहाउसमा दुवैको वास भयो । स्कुल पढ्दा चिनेकी साथी मीना टाँक बुन्ने कम्पनीमा काम गर्थिन् । उनकै सहयोगमा इन्दिराले त्यहाँ टाँक बुन्ने, कपडामा आइरन लगाउने काम सुरु गरिन् । पब्लिक युथ क्याम्पस भर्ना भएकी उनी कुमारीपाटीमा डेरा गरेर बस्न बस्थिन् । एक रुपैयाँ भाडा जोगाउनकै लागि कुमारीपाटीदेखि क्षेत्रपाटी हिंडेर जान्थिन् । एक प्लेट भातको १२ रुपैयाँ पथ्र्यो । त्यो उनका लागि महँगो थियो । उनले आधा प्लेट खाएरै काम चलाइन् । कतै राम्रो जागिर पाइन्छ कि भनेर पत्रिकामा छापिएका विज्ञापनहरूमा नजर डुलाउँथिन् ।
एक दिन इन्दिराले पत्रिकामा आँखा दौडाइरहँदा 'शिक्षक चाहियो' भन्ने विज्ञापन देखिन् । खोज्दैखोज्दै नयाँबजारको अमृत बोर्डिङ पुगिन् । उनले अन्तवार्ता दिईन् । नर्स बन्ने सपना पूरा नभए पनि बाल्यकालदेखि पालेको शिक्षक बन्ने उनको सपना पूरा भयो । सामाजिक र गणित विषयकी शिक्षिका इन्दिरालाई सधैंजसो देख्थिन्, स्कुलभित्र डेरा गरेर बस्ने एक महिलाले । एक दिन उनले इन्दिरालाई बोलाएर घर, परिवार र भविष्यका बारेमा धेरै कुरा सोधिन् । 'म पढेर गाउँ जान्छु, मेरोजस्तै दुःख पाएका गरिब, दुःखीको सेवा गर्छु,' इन्दिराको जवाफ सुनेपछि उनी प्रभावित भइन् । यसरी सोध्ने ती महिला थिइन्, साहित्यकार पारिजात । जो त्यसबेला मानवअधिकारका क्ष्ाेत्रमा काम गर्ने संस्था ह्युरनकी उपाध्यक्षसमेत पारिजात थिइन् । बेलाबेला जेल पुगेर बन्दीहरूको अवस्था बुझ्ने, उनीहरूको हक, अधिकारका पक्षमा बोल्ने गर्थिन् । पारिजातले आफूसँगसँगै इन्दिरालाई जेलका ढोकासम्म पुर्‍याइन् । त्यही भेटले इन्दिराको जिन्दगीको बाटो मोड्यो । बन्दीहरूको अवस्था, उनीहरूलाई आइपर्ने समस्या, मानवअधिकारका विषयमा उनले बुझ्दै गइन् । जेलभित्रका बन्दीहरूलाई पढाउन थालिन् । 
पारिजातले खुब माया गर्थिन् इन्दिरालाई । उनले सम्भिmइन्, 'उहाँसँग भेट नभएको भए म यो ठाउँमा हुँदिनथें ।' ह्युरनपछि पारिजातले पाम नामक संस्था स्थापना गरिन् । मानवअधिकार र जेलका बन्दीहरूका क्षेत्रमा काम गर्ने यस संस्थाले इन्दिरालाई सक्रिय सदस्य बनायो । उनी नियमित बन्दीगृह आउजाउ गर्न थालिन् । केन्द्रीय कारागार गएर बन्दीहरूलाई पढाउने, उनीहरूको अवस्था बुझ्ने दैनिकीजस्तै बन्यो । मानिसहरू कसरी अपराध गर्न पुग्छन्, त्यसबाट छुटाउने उपायबारे उनी बुझ्दै गइन् । 'जेलमा बन्दीहरू तिरस्कृत थिए । तिनकै लागि काम गर्नु धर्म हो भन्ने ठानें,' उनले विगत सम्भिmइन् । जेलमा कैदीका अवोध बालबालिका पनि बन्दीजसरी नै थिए । उनले जेल प्रशासक र अधिकृतहरूसँग कुरा गरिन् र जेलमा रहेका महिला र बच्चालाई पढाउन थालिन् । बिस्तारै, केही बच्चाहरूलाई जेलबाहिर ल्याइन् ।
इन्दिरा अनवरत जेल धाउन थालेको २४ वर्ष बित्यो । विभिन्न अभियोगमा जेल परेका अभिभावकका सन्तानहरूको लालनपालन र शिक्षादीक्षामा उत्तिकै सक्रिय छिन् । यतिबेला उनले ४ सय बालबालिकालाई आश्रय दिइरहेकी छन् । त्यसमध्ये २ सयजना बन्दीका सन्तानले पूर्ण सहयोग पाएका छन् भने र विपन्न परिवारका बाँकी २ सय बच्चाले आंशिक सहयोग पाएका छन् । देशभर ६५ जिल्ला पाइला टेकेर उनले अभिभावकविहीन सन्तानहरूलाई उद्धार गरेकी छन् । म्याग्दी, कास्की, झापा र काठमाडौंका ३८ परिवारका सन्तानहरूलाई 'छोरी शिक्षा' कार्यक्रमअन्तर्गत पढाइरहेकी छन् । सन् २००० मा इन्दिराले स्थापना गरेको 'पि्रजनर्स एसिस्टेन्स नेपाल'ले यतिबेला काठमाडौं नयाँबजार, साँखु, पाल्पा र झापामा शाखा विस्तार गरिसकेको छ । आफूले उद्धार गरेका बालबालिकाहरूलाई पढाइ, लेखाइसँगै सीपमूलक तालिम दिएर रोजगारी दिलाउनु उनको उद्देश्य हो । हस्तकला, फर्निचर, थान्का, टे्रकिङ गाइड, कुकिङ, माटाका भाँडाकुँडा र मूर्ति बनाउने तालिम दिएर कैयौंले रोजगारी पनि पाएका छन् ।
उनले जेलबाट उद्धार गरेर ल्याएका बालबालिकाहरू सकेसम्म पारिवारिक वातावरण दिन अभिभावकहरूसँग भेटाइदिने, बेलाबेला फोनमा कुरा गराइदिने, समाजमा घुलमिल गराउने र विभिन्न तामिलहरू दिने कोसिस गर्छिन् । जेलबाट छुटेपछि सन्तानहरूलाई अभिभावककै जिम्मा लगाइदिन्छिन् । परिवारको माया र सहयोग पाऊन् भनेर उनले त्यसो गर्छिन् । आत्मनिर्भर बन्न र कम खर्चमा जीविकोपार्जन गर्न झापा र पाल्पामा धानखेती, तरकारी खेती, फलफूल खेती गरेकी छन् ।
गत मंगलबार नयाँबजारस्थित कार्यालयमा भेट्दा इन्दिरा १८ सय रुपैयाँ पर्ने नोकिया फोनमा गफिरहेकी थिइन् । यो उनले किनेको १८ औं सेट हो । हरेक २ महिना फोन हराइरहने हुनाले ३ हजारभन्दा बढीको मोबाइल किन्दिनन् । कानमा डेढ सय रुपैयाँ पर्ने रिङ लगाएकी उनले १३ वर्षअघि किनेको पुरानो सारी पहिरेकी थिइन् । सन् २०१४ को वल्र्डस् चिल्ड्रेन्स प्राइजको नोमिनेसन परेपछि उनी उत्साहित बनेकी छन् । 'पर्छु कि पर्दिनँ जस्तो लागेको थियो,' उनले खुसी साटिन्, 'मेरो कामको मूल्यांकन हुनु नै म पुरस्कृत बन्नु हो ।' स्विडेनको वल्र्डस् चिल्ड्रेन्स प्राइज फाउन्डेसनका प्रतिनिधिहरूले ८ महिनाअघि नेपाल आएर उनीसँग दुई हप्तासम्म उनको काम हेरेका थिए । इन्दिरासँगै हिँडे, उनको विगत कोट्याए, यतिबेलाको संघर्ष र काम हेरे । र, त्यसको मूल्यांकन गरेर नोमिनेसनमा पारे । यतिबेला उनका अन्य प्रतिस्पर्धी छन्, तालिवानको आक्रमणमा परेर बच्न सफल पाकिस्तानी किशोरी मलाला युसुफजाई जो छोरीलाई शिक्षा दिनुपर्छ भन्ने अभियानमा छिन् र अर्का माइक्रोसफ्टको जागिर छाडेर १५ वर्षदेखि पुस्तकालय स्थापना गर्न खटिएका अमेरिकी नागरिक जोन उड । नेपालमा उतिसारो मिडियामा नछाएकी इन्दिराबारे फिलिपे नामक ब्राजिलका लेखकले किताब लेखेका छन् ।
इन्दिरा अहिले नयाँबजारको कार्यालयमा १७ वषर्ीया छोरी सुवानी, ८६ वषर्ीया आमा र उद्धार गरिएका २८ जना बालबालिकासँग बस्छिन् । उनको दाम्पत्य जीवन त्यति सुखद रहेन । मागी विवाह गरेकी उनी पतिसँग अलग भएको १५ वर्ष भइसकेको छ । जेलमा परेका अभिभावकका सन्तानहरूलाई कोठामै ल्याएर पाल्न थालेपछि श्रीमान्सँग मनमुटाव हुन थाल्यो । 'श्रीमान्ले कि मलाई छोड कि यी बच्चाहरूलाई भन्न थाले । मैले यी बच्चाहरू छोड्न सकिनँ,' उनले भनिन् । अहिले पनि उनको छुट्टै सुत्ने कोठा छैन । बच्चाहरूसँगै सुत्छिन् । 'बच्चाहरूको साथले गर्दा जीवनसाथी नभए पनि मलाई एक्लो महसुस हँुदैन,' उनले भनिन् । उनले सन् २००५ मा अशोका फेलोसिप पाएकी थिइन् ।
प्रकाशित मिति: २०७० फाल्गुन ३

No comments:

Post a Comment