Friday, February 14, 2014

कम्युनिस्ट शासनका अवशेषहरू -एक

एकताका करिब २३ देशमा फैलिएको र जहाँत्यही रुवाबासी मच्चाएर आफैं समाप्त हुँदै आएको
साम्यवादी शासनका संसारभरि नै केही समानताहरु छन्। कतिपय ठाउँमा ती शासन पतन भए तर तिनले छाडेका अवेशष वा तिनले त्यो समाजलाई कस्तो पारेछन् भन्ने केही नमूना–
एक जोसेफ स्टालिन कम्युनिस्ट पार्टीले सबैभन्दा लामो समय शासन गरेको देश सोभियत संघमा सबैभन्दा लामो समय, करिव ३० वर्ष (१९२२–१९५३) शासन गर्ने व्यक्ति हुन्। उनी बितेको करिव ६० वर्ष र त्यसमध्ये त्यो शासन ढलेको २२ वर्ष भयो। यति लामो शासक यति छिट्टै त्यो देशका जनताका लागि कतिसम्म घृणित रहेछन् भने हालै उनको फोटो छापिएको एउटा नोटबुक बजारमा देखिँदा पसलबाटै त्यसलाई खोसेर सर्वसाधारणाले च्यातिदिए, सरकारविरुद्ध देशव्यापी आक्रोश उत्पन्न भयो। सरकारले त्यो नोटबुक माथि प्रतिवन्ध लगाउन पर्‍यो। दुई करोडभन्दा बढीको संख्यामा नरसंहार मच्चाउने व्यक्तिको सौम्य आकारको फोटो विद्यार्थीका नोटबुकमा देखिँदा तिनका मस्तिष्कमा नै असर पर्ने भन्दै सोभियती जनताले यसको विरोध गरेका हुन्। नेपाली पत्रपत्रिका कान्तिपुर, चैत्र २४) मा पनि यो समाचार आयो। रुसका जनताले यसअघि नै लेनिनको शालिक ढालेर लेनिनवादप्रति आफ्नो आक्रोश पोखिसकेका थिए। 
 त्यो देशका जनताले घृणा गरेर, त्यसको अवशेषसमेत मेट्न खोजिरहेका यी दुवै व्यक्ति नेपालमा भने सम्मानित छन्। नेपाली कम्युनिस्ट पार्टीको कार्यालय र तिनका नेताका निवासमा लेनिन र स्टालिनको फोटो महान् नेताका रूपमा झुन्डिइरहेका छन् र उनले आयोजना गर्ने सार्वजनिक समारोहमा त्यसलाई माल्यार्पणबाट सम्मान गरिरहिएको छ। 
दुई: नेपालका कम्युनिस्ट पार्टीहरूले त्यसरी नै सम्मान गरिरहेका अर्का 'महान् नेता'। हुन माओ। उनले चीनमा त्यस्तै नरसंहारकारी कम्युनिस्ट शासन २६ वर्ष (१९४९–१९७५) सम्म चलाए। उनको शासनकालमा साढे २ करोड मान्छे मारिएको अभिलेखहरू छन्। उनको मृत्युको ३७ वर्षपछि अर्थात् २०१२ को सुरुमा चिनियाँ लेखक (वेङ म्वाङह्वाङ ए लिदटिल रेड बुक)ले भनेः 'सचेत भएर विश्वलाई नियालेपछि यो थाहा भयो, हामील्ााई संसारकै महान् समाजवादी मुलुक भनेर सिकाइएको राष्ट्र त वास्तवकै गरिब मुलुकहरूमध्येको एउटा पो रहेछ। हाम्रा ऐतिहासिक अभिलेखालयबाट बाहिर आएका सूचना अध्ययन गर्दा हामीलाई सन्त नेता भनिएका व्यक्ति त वास्तवमा बर्बर अधिनायक पो रहेछन् र उनको राजनीतिक अभियानका क्रममा दसौंलाख मानिसको मृत्युका लागि जिम्मेवार रहेछन् भन्ने थाहा पाइयो (नागरिक दैनिक १५ पुस २०६८)। 
माओ चीनमा यतिखेर कुन अवस्थामा छन् र त्यहाँका नागरिकले उनका अवशेषहरू कसरी मेटाउँदैछन् भन्ने सन्दर्भमा उनले लेखेका छन्– मेरो गृहनगरमा बादशाहको चिहान खन्दा निस्केका पुरातात्विक सम्पत्तिजस्तै नयाँ प्रकाशमा माओको व्यक्तित्व पनि धुजाधुजा भयो। उनका सर्वव्यापी मूर्तिहरू भत्काउन थालिए र उनको चित्रअंकित ब्याचहरू भाँडाकुँडा बनाउनका लागि पगालिए। 
तीन: कम्युनिस्ट पार्टीको तानाशाही र व्यक्तिहत्या तथा तिनका कारण पीडित नै लथालिंग भएको अवस्था भोगिरहेका एउटा कम्युनिस्ट पार्टीले शासन गरिरहेका देशका नागरिक अर्को देशमा कम्युनिस्ट पार्टीको तानाशाही नचलोस्, सुधार होस् भन्ने कामना गरिरहेको अवस्था पनि प्रकट भइरहेका पाइन्छ। उत्तरकोरिया कम्युनिज्मको एउटा अत्यन्त क्रूर रूपमा छ। त्यहाँ करिब ७० वर्ष (१९९४–२०१२) कम्युनिस्ट पार्टीको निरन्तर शासन चलिरहेको छ। त्यहाँ त्यो शासनका हजुरबुवा बितेर अहिले नाति पुस्ता शासनमा छन्। त्यो शासन कस्तो रह्यो भन्नेबारे यिनै चिनियाँ लेखक लेख्छन्, ३५ वर्ष बितिसकेको छ तैपनि माओको अत्याचारको प्रतिध्वनि उत्तरकोरियामा गुन्जिएको देख्दा दिक्क लाग्छ। यस घडीमा उत्तरकोरियाका हकमा अपेक्षा गर्न सकिने के हो भने माओको मृत्युपछि चीनमा भएजस्तै जनतालाई सास्ती दिँदै आएको यो एकलकाँटे मुलुकको पनि रूपान्तरण होस् भन्ने नै हो।
चार: यी कीराहरू! कति माग्छन्!! जति दिए पनि पुग्दैन? यो भनाइ अर्को एउटा कम्युनिस्ट पार्टी रुमानियाका अध्यक्ष, सर्वोच्च शक्तिमान व्यक्ति चाउचेस्कुकी प्रथम श्रीमतीको हो। उनले रोमानियाका जनतालाई कीराको संज्ञा दिइन्। मुखभरिमा अन्नदेखि राज्यसँग जनताले कतिपय सुविधाहरू माग्नुपर्ने हुन्छ। त्यही क्रममा जनताले आवाज उठाउँदा उनले जनतालाई कीराहरू र तिनलाई जति खानेकुरा दिए पनि नपुग्ने भन्दै सार्वजनिकस्थलमै यस्तो प्रतिक्रिया दिएकी छन्। उनी आफैं चाहिँ कति सौखिन थिइन् भने उनका हजारौं जोर जुत्ता जसमा सबै हीराजडित हुन्थे पछि यो पार्टी सत्ताच्युत भयो। त्यहाँका आम नागरिकले यो पतनलाई 'ह्याकुलाबाट मुक्ति' भन्ने संज्ञा दिए। अहिलेसम्म यो मान्यता कायमै छ।
पाँच: कम्युनिस्ट पार्टीले शासन थालेको र संसारकै सबैभन्दा लामो समयसम्म रहेको रूप आफैं चाहिँ कस्तो थियो? साम्यवादका विशेषज्ञ भनी चिनिएका एलएनक्रिट समनले १९१७ देखि १९२० बीच सोभियत अर्थतन्त्रमा भएका विकास क्रमलाई मानव जातिको इतिहासमै पहिले कतै नभएको महाविनाश भनी बताएका छन्। १९२६ मा उनले दिएका हुन्। यो बेलासम्म त्यहाँको कम्युनिस्ट पार्टीले शासन गरेको नौ वर्ष बितेको थियो।
यो महाविनाश त्यहाँ कम्युनिस्ट पार्टी बोल्सेभिकले शासन गरेदेखि प्रारम्भ भएर त्यो पार्टी ढल्दाको बेलासम्म नै कायम रह्यो।
छ : रूसको कम्युनिस्ट पार्टीले ७० वर्षसम्म शासन गर्दा त्यहाँको समाजलाई के दियो? यो झन् डरलाग्दो पक्ष छ। विश्वकै कम्युनिज्मको अध्ययन गरेका हावर्ड विश्वविद्यालयका इतिहासका वरिष्ठ प्राध्यापक रिचर्ड पाइप्सले आफ्नो पुस्तक साम्यवाद एक इतिहास नामक पुस्तकमा त्यसको वर्णन गरेका छन्। उनी अनुसार सोभियत संघको अहिलेको समाज अपांगजस्तै भएको छ। सबैभन्दा लामो समयसम्म कम्युनिस्टशासन व्यवस्था चलेको रूसमा परेका प्रभावहरूमध्ये एउटा के देखिएको छ भने त्यहाँको आम जनसमुदायमा आत्मनिर्भरताको भावना हराउन पुगेको छ। सोभियत शासनअन्तर्गत निजी मामलाबाहेकका हरेक विषयमा माथिबाटै सबै आदेशहरू आउनुपर्दथ्यो र कुनै कुरा आफ्नै सक्रियतामा गर्न खोज्नुलाई अपराध मानिन्थ्यो। यसले गर्दा त्यो राष्ट्रले ठूला वा साना सबै विषयहरूमा निर्णय गर्ने क्षमता गुमाएको छ। आपराधिक क्रियाकलापहरू अपवादमा पर्छन्। मानिसहरू आदेश पर्खेर बसिरहन्छन्।
सात: कम्युनिस्ट नेताहरू आफ्नो देशमा जुन सिद्धान्तबाट प्रेरित रहेर शासन गरे र गरिरहेका छन् त्यसलाई उनीहरूले पनि बुझेर गरेका थिए त? भन्ने प्रश्न खडा हुन्छ। सोभियत संघमा ११ वर्ष सर्वोच्च पदमा रहेका निकिता खुश्चेभका छोरा सर्जेइ खुश्चेभ आफ्ना पिताका बारे लेख्छन्– वास्तवमा साम्यवाद भनेको यथार्थ रूपमा के होला त भनेर बुझ्न मैले प्रयास गरें र म यसमा सफल भइनँ। ... मैले आफ्ना बुबासँग साम्यवादको प्रकृतिबारे प्रकाश पारिदिनु हुन भनेर प्रयास पनि गरें, तर त्यसो गर्दा पनि कुनै पत्यारिलो जवाफ पाउन सकिन मलाई के लाग्यो भने उहाँ आफैं पनि त्यति धेरै प्रस्ट हुनुहुन्थेन। (निकिता खुश्चेभ ७०१)।

No comments:

Post a Comment