Monday, February 10, 2014

शुशील कोइराला प्रधानमन्त्री निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइराला नेपालको प्रधानमन्त्री निर्वाचित भएका छन् ।
सोमबारको व्यवस्थापिका संसदको बैठकको मतदानमा कोइरालाको पक्षमा ४०५ मत र विपक्षमा १४८ मत खसेको थियो ।
कोइरालाका पक्षमा नेपाली काँग्रेस र नेकपा एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेका थिए । एनेकपा माओवादी, मधेशी जनाधिकार फोरम, मजफो लोकतान्त्रिक र राप्रपा नेपालले विपक्षमा मतदान गरेको थियो ।
मतदान अघि व्यवस्थापिका संसदमा उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले एकबर्षभित्रै नयाँ संविधान जारी गर्ने, ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने काम र आर्थिक विकासमा जोड आफ्नो नेतृत्वको सरकारको प्राथमिकता रहेको बताए।
साथै उनले शान्ति प्रक्रियाका सम्बन्धमा विगतको सम्झौता कार्यान्वयन गर्ने र बाँकि रहेका कामहरु पूरा गर्ने, बन्द हडताल र चक्काजामलाई निरूत्साहित गर्ने र स्वदेशी/विदेशी लगानीका लागि वातावरण निर्माण गर्ने आफ्नो सरकारका प्राथमिकता रहने पनि उनले बताए।
कोइरालाले सुशासन सबै नेपालीको चाहना रहेकोले आफ्नो सरकारले भ्रष्ट्राचारविरुद्व कार्य गर्ने र प्रशासनयन्त्रमा जवाफदेहिता एंव पारदर्शिताका लागि जोड दिने बताए ।
उम्मेदवारी प्रस्तुत गर्ने क्रममा लिखित मन्तव्य पढ्दै कोइरालाले थपे, 'हामी सहमतिको सरकार निर्माणको सम्भावना सकिएपछि बहुमतिय सरकार निर्माण प्रक्रियामा प्रवेश गरेका छौ,' उनले भने, 'बहुमतिय भएपनि यही सरकारलाई सहमतिय सरकार बनाउने प्रयास जारी राख्ने छौं।'
संविधान निर्माण र आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्न संविधान सभामा रहेका सबै दलहरुको एकता र सहकार्यबाट मात्रै संभव रहेको दृढ विश्वास रहेको बताउदै कोइरालाले आर्थिक विकासका लागि स्थीर सरकारको आवश्यकता रहेको बताए ।
कोइरालाको उम्मेदवारीको समर्थक एमाले संसदीय दलका नेता केपी ओलीले 'खोलो तर्‍यो लौरो बिर्स्यो' जस्तो नगर्न चेतावनी दिए।
ओलीले भने, 'हामीले ताली मात्रै दिएर समर्थन गर्दैनौं, आजैका दिनदेखि गलत कामका विरूद्ध आलोचना गर्न तयार भएर समर्थन गरेका छौं।'

त्यागी नेताको छवि
सरल जीवनशैलिका कारण उनलाई त्यागी र सन्त नेताको रुपमा समेत लिइने कोइराला संसदले बहुमतीय प्रधानमन्त्री चुन्ने दिन आफ्नो पहिचानका रुपमा रहेको सेतो दाह्री कायमै राखेर निधारमा रातो टीका लगाएर संविधान सभा भवन आएका थिए ।
यसअघि नेपाली कांग्रेसको नेतृत्वमा पटक पटक सरकार बन्दा प्रस्ताव आए पनि उनले मन्त्री तथा कुनै पनि लाभको पद स्वीकार नगरेका कोइराला पहिलो पटक सार्वजनिक पदमा बहाल हुँदैछन्।
पहिलो संविधान सभा विघटन भएपछि बाबुराम भट्टराईको सरकारको विकल्पका रुपमा चुनावी सरकार गठन गर्ने प्रयास हुँदा सुशील कोइरालाले नेतृत्वको इच्छा देखाएका थिए। तर दलहरुबीच सहमति नभएपछि त्यो प्रस्ताव सफल हुन सकेन।
अविवाहित ७५ वर्षिय कोइरालाको प्राथमिकतामा सधै नेपाली काँग्रेसको संगठन सुदृढीकरण रह्यो।
कोइरालाको उम्मेदवारीका प्रस्तावक रामचन्द्र पौडेलले संसदमा उनलाई 'कम बोल्ने र धेरै काम गर्ने नेता' भएको बताए। उनले कोइरालालाई अत्यन्त निष्ठावान व्यक्तित्व भएका नेता बताए ।

कोइरालाको राजनीतिक जीवन
सुशील कोइरालाको जन्म बोधप्रसाद कोइराला र कुमुदिनी कोइरालाका जेठा छोराका रुपमा विराटनगरमा ७५ वर्षअघि भएको हो। अविवाहित कोइरालाका ६ भाइ र एक बहिनी छन्।
वन अधिकृत पिता जागीरका सिलसिलामा बाँके पुगेपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो। यस पटक र यसअघिका निर्वाचनहरुमा कोइराला बाँकेबाटै निर्वाचित भएका थिए।
विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी वि. सं २०१७ सालको राजनीतिक परिवर्तनपछि १६ वर्षसम्म भारत निर्वासनमा रहेका थिए।
वि.सं २०३६ मा नेपाली काँग्रेसको केन्द्रीय सदस्य भएका कोइरालाले लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरिसकेपछि पछिल्लो महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गर्दै सभापति चुनिएका थिए।
प्रधान न्यायधिश खिलराज रेग्मीको नेतृत्वमा २०६९ चैत १ गते बनेको गैरदलीय सरकारले मंसीर ४ मा गरेको चुनावमा सबैभन्दा ठूलो दल उनकै नेतृत्वमा रहेको नेपाली काङ्ग्रेस बन्न सफल भयो।
संसदीय दलको नेताका लागि भएको आन्तरिक निर्वाचनमा देउवालाई पराजित गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुल्यो।
दोस्रो ठूलो दल नेकपा एमालेको समर्थन बिना उनको बाटो सहज थिएन। आइतबार सात बुँदे सहमतिका साथ एमालेको समर्थन पाएपछि कोइराला बहुमतीय प्रधानमन्त्री बन्न सफल भए।
 २०७० माघ २७, सोमबार

No comments:

Post a Comment