Monday, January 20, 2014

गच्छदारले भने, यिनले हामीलाई ‘इगनोर’ गर्ने

काठमाडौ, माघ ६ – यतिखेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निकै क्रोधित र आक्रमक भएका छन् । कारण हो, मधेशका तीन प्रमुख दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरण । विगत पाँचवर्षदेखि मधेशी मोर्चाको नेतृत्व गर्दै उच्च स्तरीय राजनीतिक संयन्त्रणमा त्यही हैसियतले प्रतिनिधित्व गर्दै आएका गच्छदारको सो हैसियत धरापमा पर्न थालेपछि उनी क्रोधित र आक्रमक हुँदै गएका छन् ।
दोस्रो सविधानसभा चुनावबाट मधेशको पहिलो पार्टी भएका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको सो पोजिसन खोसिन लागेका छन् । १४ सीट लिएर मधेशवादी दलमध्ये ठुलो पार्टीको हैसियतमा रहेका गच्छदारको सामुने २७ सभासद् रहेको पार्टी आउन थालेपछि उनी आफ्नो हैसियत कायम राख्नका लागि दौडधुपमा लागेका छन् ।
यहाँसम्म कि आफ्नो राजनीतिक जीवनमा सबभन्दा बढी नफरत गर्ने राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीको दैलोसम्म पुगे उनी । चुनाव सकिए लगतै भण्डारीले एकतालागि गच्छदारलाई सार्वजनिक रुपमा आह्वान गरेपछि त्यसलाई कुनै वास्ता नगरेका गच्छदार अहिले त्यही दैलो चाहार्न पुगेका छन् । ‘अब हामी दुई दाजु भाइ मिल्नुपर्छ नत्र यिनीहरु हामीलाई सखाप पार्छन्, गच्छदारले भण्डारीलाई भने । मधेशका ठुलो पार्टी, नेपाली राजनीतिकमा यत्रो इतिहास बोकेको व्यक्ति मलाई समेत उनीहरुले नसोधी गुपचुप रुपमा एकीकरण गरिरहेका छन्, आफूलाई के ठान्छन् उनीहरु, भण्डारीसमक्ष आक्रोश पोख्दै उनले भने, रक्षा मन्त्री पदबाट राजिनामा दिलाउनमा तिनै फटहाहरुको काम हो, मैले मोर्चामा यो विषयलाई लग्दा उनीहरुले यो तपाईको पार्टीको विषय हो पार्टीमा मिलाउनुस् भन्दै मलाई साथ दिएन र म एक्लै परेपछि बाध्य भएर तपाईलाई राजिनामा दिन लगाएको थिए ।’
नेपाली सेनामा मधेशीको सामूहिक प्रवेशको विवादलाई लिएर अध्यक्ष भण्डारीले रक्षा मन्त्रीबाट राजिनामा दिनु भएको थियो । नेपाली सेनालाई लिएर भण्डारीले दिएको अभिव्यक्तिको संसदमा निकै आलोचना भएको थियो र सोही आलोचनाका कारण गच्छदारले भण्डारीसँग राजिनामा मागेका थिए । र, अहिले मधेशी मोर्चाका कारण आफूले राजिनामा मागेको दोष अर्कामाथि थुपार्दै सफाई दिन थालेका छन् ।
गच्छदरसँगको भेटमा भण्डारीले विगतमा जे भयो भयो, यी आफूलाई मात्र सच्चा मधेशवादी भन्नेहरु एक्ला एक्लै मिलिरहेका छन्, यिनीहरु बलियो भएर आए भने हामी त सखाप हुन्छौ त्यसैले पार्टी एकीकरण नै गर्नुपर्छ भनि भण्डारीले गच्छदारसमक्ष प्रस्ताव गरे । हामीले दुई पार्टीलाई एकीकरण गरेर अरु दलसँग मोर्चाबन्दी गर्ने समेत भण्डारीले सुझाव दिए । अरु पार्टीसँग एकीकरण गरेर काम छैन, बरु एउटा बलियो र भरपर्दो मोर्चाको आवश्यकता छ, हामीले एकीकरण गरेपछि मोर्चाबन्दी गर्नुपर्छ भनि भण्डारीको सल्लाहका गच्छदारले पनि सहमति जनाएको रामसपा स्रोतले जनाएको छ । भण्डारीले रातोपाटीसँग कुरा गर्दै भने, एकीकरणका लागि हामी दुईबीच अनौपचारीक कुराकानी भएको हो, अब छिट्टै नै त्यसलाई औपचारिकता दिन्छौ । अलग अलग रहेका तीन पार्टी आपसमा मिलिरहेका छन् भने हामी लामोसमयसम्म एउटै पार्टीमा सँगै राजिनितक गरेको र भर्खर पार्टीबाट अलग भएका कारण एकीकरण गर्न कुनै समस्या हुँदैन ।’
तीन दलले एकीकरणको प्रकृयामा गएर राम्रो काम गरेपनि अन्य मधेशवादी दललाई ‘इगनोर’ गर्नु हुँदैन थियो, भण्डारीले भने, मैले चुनाव सकिने वित्तिकै विज्ञप्ति जारी गरी तमलोपा, फोरम लोकतान्त्रिकलाई एकताका लागि आह्वान गरेका थिए तर उनीहरुले त्यसको कुनै उतारा (जवाफ) दिएनन् दिएनन् एकीकरण गर्ने बेलामा समेत एकपटक सोधेन, के मधेश उनीहरुकै ठेक्का हो उनीहरुकै बपौटी हो जो जे चाहन्छन त्यही हुन्छ ?’
महन्थ ठाकुर अध्यक्ष रहेका तमलोपाबाट अलग हुनमा गच्छदारले पैसादेखि पावरसम्म सहयोग गरेका महेन्द्रराय यादवलाई पनि फोन गरी यी तीन दलको विरुद्धमा आक्रोश पोखेका थिए । गच्छदारले भने, यिनीहरुले हामीलाई इगनोर गर्ने तागत कहाँबाट आयो । मधेशको ठुलो पार्टीको अध्यक्ष म, मधेशी जनताको मत लिएर आएको म अनि मलाई नै उनीहरुले छाडेर एकीकरण गर्ने भनि महेन्द्र यादवसमक्ष गुनासो गरेका थिए गच्छदारले । गच्छदारले अब आफूहरु पनि एउटा मोर्चा तुरुन्त बनाई हाल्नुपर्छ नत्र एकीकरण गर्ने खाली स्पेश लिइसकेपछि अप्ठ्यारो हुने सुझाव महेन्द्ररायलाई दिएका थिए ।
त्यसपछि महेन्द्रराय यादवले पनि भनि हाले, मैले आज हो र ! उहिलेदेखि मोर्चा बनाउनुपर्छ भनि बारम्बार तपाईको दैलो चहारेका थिए । कतियौंपटक मोर्चाको बैठक बोलाउ, मोर्चाको बैठक बोलाउ भनेका थिए तर तपाई मोर्चाको संयोजक भएर बेवास्ता गर्नुभयो आज त्यसैको नतिजा हो उनीहरु एक हुनु । जे होस् ढिलै भएपनि मोर्चाको एउटा रुप दिई हाल्नुपर्छ चाँडै नै ।’
यस विषयमा रातोपाटीले महेन्द्रराय यादवसँग जिज्ञासा राख्दा उनले केही दिनपहिले गच्छदारसँग फोनमा कुराकानी भएको स्विकार गर्दै मोर्चा बनाउने तयारीमा लागेको समेत जानकारी दिए । एकीकरण गर्नु पनि राम्रो कुरा हो, तर सबै दल एकीकरणमै जानुपर्छ भने छैन अलग एउटा मोर्चा पनि बनाउनुपर्छ । मधेशमा एउटै दल सम्भव छैन, उनले भने, हामीले बनाउन लागेको मोर्चामा अनिल झा, राजकिशोर यादव, सरिता गिरी, शरत्सिह भण्डारी, विश्वेन्द्र पासवानलगायत जनाजाति पार्टीलाई पनि सम्मलित गर्नेछौ पछि अहिले एकीकरण प्रकृयामा रहेका तीन दल सम्मलित पार्टीलाई पनि मोर्चामा ल्याउनेछौ ।’
 

No comments:

Post a Comment