Monday, November 25, 2013

गोलाकारभित्रको हँसिया हथौडा सबैको रोजाइ

एमाओवादीलाई अग्रीम बधाई 
एक जुगमा एक दिन एक चोटि आउँछ
उलट पुलट उथल पुथल हेरफेर ल्याउँछ
गोपालप्रसाद रिमालले देखेको यो सपना अब पाँच दिनपछि पूरा हुँदैछ । एक जुगमा एक दिन एक चोटि आउने त्यो अवसर हो, मंसिर ४ गतेको दोश्रो संविधानसभा निर्वाचन । यो निर्वाचनले ल्याउने उथलपुथलले वास्तवमै मुलुकको पुरानो राज्य संरचना, प्रतिगामी सोच र पुरानो सत्ताका बचेखुचेका अवयवलाई भत्काउनेछ र त्यही भग्नावशेषमा नयाँ नेपालको बलियो जग खडा हुनेछ । दोश्रो संविधानसभामा कायम हुने एमाओवादीको पूर्ण बहुमत र संघीयता पक्षधरहरूको दुईतिहाई बहुमतले मुलुकमा पहिचानसहितको संघीयता र संघीयतासहितको गणतन्त्रलाई संस्थागत गर्ने नयाँ अग्रगामी संविधान जारी गर्नेछ । यसरी राजनीतिक एजेन्डालाई संस्थागत गरेपछि मुलुक एमाओवादीको नेतृत्वमा उत्पादनलाई बढावा दिंदै पूँजीको विकास गर्ने आर्थिक एजेन्डामा प्रवेश गर्नेछ । त्यसैले मंसिर ४ को निर्वाचन सात सालको आन्दोलनदेखि नै जनताले देखेको समृद्ध नयाँ नेपाल निर्माणको स्वर्णिम द्वार हो । मंसिर ४ पछि अब कसैले चाहेर पनि समृद्ध नेपाल निर्माणको वेगलाई रोक्न नसक्ने परिस्थिति सिर्जना भएको छ ।

 जनताको मनस्थिति
पहिलो संविधानसभामा संघीयता पक्षधरहरूको दुईतिहाई बहुमत आउन नसक्दा संविधान बन्न सकेन । कांग्रेस र एमालेको यथास्थितिवादी सोच र चुनाव हारेका नेताहरू पार्टीमा हावी भइरहेकाले उनीहरूबाट संविधानसभाबाट संविधान बन्न नदिने षडयन्त्र भइरह्यो । संघीयताको मुद्दामा कांग्रेस र एमालेको दोहोरो सोच र भूमिकाका कारण मुलुक अन्योलमा प¥यो । जनताका परिवर्तनका एजेन्डालाई आत्मसात गर्न नदिने र यथास्थिति लम्ब्याएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीकरण र सामाजिक न्यायमूलक लोकतन्त्रका मुद्दा तुहाउने षडयन्त्रमा लागे ।
यी सबै कुराको पोल अब खुलिसकेको छ । आजको एक्काइसौं शताब्दीका नेपाली जनता आफ्ना शत्रु को हुन् ? र मित्र को हुन् ? भन्ने छुट्याउन समर्थ भइसकेका छन् । यसपालि कसलाई भोट दिनुपर्छ र कसलाई चोट दिनुपर्छ भन्नेमा पनि उनीहरू स्पष्ट छन् । जनताको मनस्थिति हेर्दा उनीहरू परिवर्तनको वाहक शक्ति एमाओवादीलाई नै अग्रता प्रदान गर्ने पक्षमा देखिन्छन् । फेसबुकका भित्ता र डलरवादीहरूका झुठा मत सर्वेक्षणले गरेका आकलनभन्दा पर मुलुकको यथार्थ भिन्नै छ । र, यसपटक पनि प्रचण्डकै शब्दमा ‘एमाओवादी के चिज हो भन्ने  विरोधीहरूले थाहा पाउनेछन् ।’ हारको पूर्वाभास भइसकेका कारण कांग्रेस र एमालेका कतिपय नेताहरू निर्वाचन आयोगदेखि पाश्चात्य मुलुकका दूतावास र केही मिडियाको शरणमा परेका छन् ।

एमाओवादीको अग्रता
पाँच दिनअघिसम्मको चुनावी जोड घटाउको आकलन गर्दा दोश्रो संविधानसभा निर्वाचनमा एकीकृत माओवादीको पक्षमा स्पष्ट बहुमत आउने पक्का भएको छ । यसपटक एमाओवादीको पूर्ण बहुमत र संघीयता पक्षधर शक्तिको दुई तिहाई आउने सुनिश्चित भइसकेको छ । एकातिर बहिष्कारवादी नेकपा–माओवादीको अभियान तुहिएको छ भने कांग्रेस र एमाले चुनाव हार्ने मानसिकतामा पुगिसकेका छन् । एमाओवादीले पूर्वदेखि पश्चिमसम्म संचालन गरेको मेची महाकाली जागरण अभियानको लपेटाले पूरै मुलुकलाई गाँजेपछि देशैभरि एमाओवादीको पक्षमा अभूतपूर्व लहर सिर्जना भएको हो । जनताले एमाओवादीलाई भोट हाल्ने ठहर गरिसकेका छन्, अब त्यो ठहर मतपेटिकामा खस्न मात्र बाँकी छ । अहिले सर्वत्र त्यसैको प्रतीक्षा भइरहेको छ । विभिन्न जिल्लामा एमाओवादी उम्मेदवारलाई अग्रिम बधाई दिन थालिएको छ ।
निर्वाचनको प्रचार अभियान र त्यसमा एमाओवादीको पक्षमा उर्लंदो जनलहरले पनि यसको अग्रता पुष्टि गरिरहेको छ । निष्पक्ष भएर मूल्यांकन गर्ने हो भने निर्वाचनको प्रचार अभियानमा एमाओवादीले सबैलाई पछारेको देखिन्छ । ख्यातिप्राप्त कलाकार, विभिन्न जातजातिका नृत्य र सांस्कृतिक झाँकी, नेताहरूको बुलन्द भाषण र इमानदार अनि यथार्थमा आधारित घोषणापत्रका कारण एमाओवादीको प्रचार सभामा जन–सागर उर्लियो । ‘मेची महाकाली जागरण अभियान’ को नेतृत्व गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायतका एमाओवादीका शीर्ष नेताको टोली झापादेखि कंचनपुरसम्मको तुफानी दौडाहामा गए ।
एमाओवादीको पक्षमा प्लस प्वाइन्ट के हो भने यसपटक मधेशमा एमाओवादीको पक्षमा व्यापक उभार देखा प¥यो । पहिलो संविधानसभा निर्वाचनमा साँढे भएर उदाएका मधेशवादी दल अहिले बिरालो भएका छन् । उनीहरू धेरै टुक्रामा विभाजित छन् । मधेशका जनता क्षेत्रीयको साटो राष्ट्रिय पार्टी नै रोज्ने मनस्थितिमा छन् । मधेशका  नक्कली संघीयतावादी र सत्ताको दलाली गर्नेहरूलाई मधेशका जनताले चिनिसकेका छन् । विगतमा मधेशमा ध्यान दिएको भए दुईतिहाइ आउने विश्लेषण गरेका प्रचण्डले मधेशमा बढी ध्यान दिएकाले मधेशमा धेरै सीट बढ्ने अनुमान गरिएको छ ।
उता, पूर्वी नेपालमा पहिचान सहितको संघीयता पक्षधरहरूको नेतृत्व गर्दै एमाओवादी नै अग्रमोर्चामा खडा भएको छ । संघीयता पक्षधर एमाओवादीलाई जिताएर संघीयता विरोधीलाई हराउन पूर्वका जनता कम्मर कसेर बसेका छन् । मोरङ क्षेत्र नम्बर ९ बाट खडा भएका एमाओवादी नेता वर्षमान पुन अनन्तले पूर्वका १४ जिल्लाका ४४ वटा निर्वाचन क्षेत्रमा पार्टीको विजय सुनिश्चित गराएका छन् । झापामा गोपाल किराँती एमाले नेता केपी ओलीको नाभीमै प्रहार गर्दै पूर्वमा विजय पताका फहराउँदैछन् । सुदूरपश्चिममा जनयुद्धको उद्गम थलो रुकुमबाट जनार्दन शर्मा प्रभाकर र गणेशमान पुन रश्मिले विजयको झन्डा फहराउँदैछन् । दाङ वरपरको क्षेत्रमा कृष्णबहादुर महराले विजय पताका गाडिसकेका छन् । काठमाडौंमा पहिलेभन्दा अवस्था सुदृढ भएको छ । काठमाडौंमा प्रचण्ड, हिसिला यमी, नन्दकिशोर पुन पासाङ, रेणु दाहाल, मुक्ति प्रधान, महेन्द्र श्रेष्ठ र हिमाल शर्माहरूको उपस्थिति नै विपक्षीलाई भारी भइरहेको छ । एमाले नेता माधव नेपाल, ईश्वर पोखरेलले फेरि हार व्यहोर्दै छन् । गगन थापाको करारी हार हुँदैछ । भक्तपुरमा ‘रोहित’को साम्राज्य भत्कँदैछ । पाटनले अग्रगामी शक्तिकै पक्षमा भोट खसाल्दैछ ।

प्रचण्ड उभार
मुलुकभर प्रचण्ड उभार आइरहेको छ । कात्तिक २ गते अछामबाट आफ्नो देशव्यापी यात्रा थालेका प्रचण्डले कैलालीमा गएर अभियान समापन गरे पनि उनले विश्राम लिएका छैनन् । प्रचण्डको देशव्यापी यात्राले हरेक क्षेत्रमा विपक्षी भोट बैंकलाई भत्काएको छ । विपक्षी बढारिएका छन् । बहिष्कारवादी नेकपा–माओवादीका अनेक हतकन्डा र बन्दको बाबजूद प्रचण्डले हरेक क्षेत्रमा पुगी जनताको मन जितेकाले मुलुकमा प्रचण्ड नै राजनेता हुन् भन्ने पुष्टि भएको छ । जनतामा यत्तिको खट्ने नेताले देश बनाउँछ भन्ने छाप परेको छ । मेची महाकाली अभियानले निर्वाचनको माहोललाई नयाँ मोडमा ल्याएपछि अत्तालिएका कांग्रेस र एमालेका नेताहरू भने जनतामाझ खासै जान सकेनन् । उनीहरूसँग एक त नेतृत्वकै संकट छ । कांग्रेसका तीन नेता सुशील, शेरबहादुर र रामचन्द्र तीनतिर फर्किएका छन् । अर्कोतिर एमालेसँग स्पष्ट भिजन नै छैन । कांग्रेस र एमालेमा एकातिर नेतृत्वकै संकट छ भने भएका नेताहरू पनि विभाजित छन् । यी दलका शीर्ष नेताकै विरुद्ध मुलुकभर बागी उम्मेदवार खडा भएका छन् । हरेक नेतालाई आ–आफ्नै निर्वाचन क्षेत्रकै चिन्ता भएकाले उनीहरूले देशव्यापी रुपमा प्रभावकारी प्रचार अभियान संचालन गर्न सकिरहेका छैनन् । शेरबहादुरलाई हराउन सुशील लागेका छन् । सुशीललाई हराउन शेरबहादुर भिडिरहेका छन् । रामचन्द्र पौडेललाई हराउन खुमबहादुर खड्का व्यस्त छन् । कांग्रेसमा मुलुकभर अन्तर्घातको वातावरण छ । यही हीनताबोधले पनि यी दलका शीर्ष नेता जनतामाझ उत्साहका साथ जान सकिरहेका छैनन् । यसरी नीति र नेतृत्वको संकटबाट ग्रस्त भएका कांग्रेस र एमालेका नेताहरूलाई चुनौती दिंदै एमाओवादीले भने ‘जसको नीति उसकै नेतृत्व’ नाराका साथ व्यापक चुनावी अभियान संचालन गरिरहेको छ ।

एमाओवादीको योगदान
एमाओवादीप्रति जनतामा विश्वास पलाउनुको मुख्य कारण यसले सरकारमा रहेर गरेको योगदान पनि हो । ‘अरुलाई हे¥यौं पटक-पटक, माओवादीलाई हेरौं यस पटक’ नारामा विश्वास गरेर जनताले यो पार्टीलाई भोट दिएका थिए । एमाओवादी सरकारमा गएर पनि केही गरेन भन्दै जतिसुकै हौवा चलाइए पनि खासमा एमाओवादी सरकारकै पालामा मुलुकमा जनताका पक्षमा धेरै काम भएका छन् ।
२०६८ चैत्र २८ गते ७१ अफिसरसहित १४६० माओवादी सेनाका लडाकूहरूको समायोजन भयो । यसअघिका माधव नेपाल र झलनाथ खनालको सरकारका पालामा हुन नसकेको काम डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि नै सम्भव भयो । यसबाट पनि कसमा कति दम छ भन्ने बुभ्mन सकिन्छ । एमाओवादी सरकारकै पालामा जनयुद्धका शहीद र बेपत्ता परिवारलाई पटकपटक गरी ५ लाख नगद र बाँकी ५ लाख बराबर तामाकोशी जलविद्युत् आयोजनामा शेयर दिने निर्णय गरियो । साना किसान तथा घरेलु उद्यमीहरूले सरकारी बैंकहरूबाट लिएको ३० हजारसम्मको ऋणको साँवा र व्याज दुवै मिनाहा मात्र गरेन, १ लाख रुपैयाँसम्मको ऋणको व्याज मिनाहा र शहीद तथा बेपत्ता परिवारको ४ लाखसम्मको साँवा र व्याज दुवै मिनाहा गरियो । यसबाट देशैभरका करीब ३ लाख किसान र उद्यमीहरूको करीब ७ अर्ब बराबरको ऋणमोचन भयो, जुन नेपाली इतिहासकै अनुपम घटना हो ।
युवा तथा साना उद्यमी स्वरोजगार कार्यक्रम, रोजगारी ग्यारेन्टी विधेयक, गरीबी परिचय पत्र, सुकुम्वासीलाई आवास व्यवस्था, स्थानीय निकायको अनुदानमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रममा विस्तार, सहकारी अभियान, वैज्ञानिक भूमिसुधार कार्यक्रमका लागि ‘उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोग’ गठन, लगानी बोर्डको गठन, सडक विस्तार र शहरी विकास, ‘कर्णाली विकास आयोग’ र ‘सुदूर-पश्चिम विकास आयोग’ को गठन गरेर एमाओवादी सरकारले मुलुकमा लोक कल्याणकारी काम गर्न सक्ने पार्टीको रुपमा उभ्यायो । यसबाट पनि यो पार्टी जनपक्षीय हो भन्ने स्पष्ट हुन्छ ।
एमाओवादी सरकारकै पालामा राष्ट्रिय गौरवका योजना अनुसार मध्य-पहाडी लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण लोक मार्ग, काठमाडौं-तराई फास्ट ट्र्याक, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय विमानस्थल, ठूला जलविद्युत् योजना, ठूला सिंचाइ योजना लगायतका राष्ट्रिय प्राथमिकताप्राप्त १७ ठूला योजनाहरूलाई ‘राष्ट्रिय गौरवका योजना’ घोषणा गर्दै तिनलाई साधन—श्रोतको कमी हुन नदिने र छिटो पूरा गर्ने नीति तय ग¥यो । संस्थान निर्देशन बोर्डको गठन ग¥यो । नेपालको परराष्ट्र नीतिलाई परम्परागत ‘दुई ढुंगाबीचको तरुल’ होइन ‘दुई छिमेकीबीच गतिशील पुल’को रुपमा पुनव्र्याख्या गर्दै राष्ट्रिय हितको संरक्षण गर्ने नीति अनुसरण ग¥यो । नयाँ नेपाल निर्माण कोषको स्थापना र राष्ट्रिय स्वयंसेवाको थालनी ग¥यो ।
त्यसैगरी परम्परागत कृषिको आधुनिकीकरण गर्न र व्यावसायिक कृषिको प्रवद्र्धन गर्ने प्रभावकारी नीति ल्यायो । पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा राख्न उच्चस्तरीय कार्यदल प्रतिवेदन कार्यान्वयन ग¥यो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पच्चीसौं वर्षदेखि नयाँ ठूला जहाज खरिद गर्न नसकेको स्थितिमा नेपाल सरकार जमानी बसेर दुई वटा न्यारो बडी जहाज खरिद गर्ने प्रक्रिया अघि बढायो । ऊर्जा संकट न्यूनीकरण गर्न र वर्षेनि बढ्दो लोडसेडिङको समस्या समाधान गर्न विशेष कार्ययोजना निर्माण र कार्यान्वयन ग¥यो । वर्षौंदेखि अल्झिरहेको पश्चिम–सेती जलविद्युत् आयोजना चिनियाँ कम्पनीको लगानीमा अघि बढाउने निर्णय ग¥यो ।
त्यसैगरी औपचारिक शिक्षा र उच्च शिक्षाबाट वञ्चितहरूको सुविधाको लागि खुला विश्वविद्यालय स्थापना गर्न खुला विश्वविद्यालय पूर्वाधार विकास समिति गठन भई कार्य प्रारम्भ गरियो । दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, पहिलो पटक राष्ट्रिय मुस्लिम आयोगको गठन तथा सर्वसाधारणको गुनासो, सुझाव प्राप्त गर्न र तिनको उचित सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत ‘हेलो सरकार’ कक्षको सञ्चालन गरेर एमाओवादीले आफ्नो कार्यकालमा जनमुखी शासनको झल्को दियो । सरकार र जनताबीच निरन्तर सीधा सम्पर्क बनाइराख्न ‘जनतासँग प्रधानमन्त्री’, ‘जनताको घरदैलोमा प्रधानमन्त्री’ जस्ता कार्यक्रमहरूको सञ्चालन गरियो ।
यसबाट एमाओवादी पार्टीको पूर्ण बहुमतको स्थिर सरकार बनेमा देशको आर्थिक-सामाजिक कायापलट गर्न सकिन्छ र विभिन्न वर्ग, क्षेत्र, समुदायका जनतालाई सुशासनको प्रत्याभूति गराउन सकिन्छ भन्ने सावित गरेर देखाएको एमाओवादीलाई पूर्ण बहुमत दिएर जनता मुलुकमा समृद्धिको नयाँ क्षितिज उघार्न चाहन्छन् । त्यसकै लागि मंसिर ४ को व्यग्र प्रतीक्षा भइरहेको छ । गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाएर एमाओवादीलाई जिताउन आतुर जनता गाइरहेका छन् 

‘गोलो घेराभित्र हँसिया हथौडा चिन्ह
त्यही छ देशको चित्र छाप लगाउँ है यसैभित्र
लौ है…माओवादीकै पाला लेखिनेछ नयाँ कानून’

No comments:

Post a Comment