Tuesday, July 2, 2013

नेकपा-माओवादीको निर्वाचन बिथोल्ने निर्णय



पोखरा, असार १८ - घोषित संविधान सभा निर्बाचनलाई सशक्तरुपमा बिथोल्ने निर्णयसहित चार दिनदेखि जारी नेकपा-माओवादीको केन्दि्रय समितिको पुर्ण बैठक मंगलबार सकिएको छ ।
निर्वाचन हुन नदिन पार्टीको सबै शक्ति परिचालन गर्ने भन्दै उसले अव राजनैतिक प्रतिक्रियामात्र नजनाई सशक्त प्रतिकारमा उत्रने जनाएको छ । चार राजनैतिक दल र सरकारले पेलेर अघि बढे सडक आन्दोलन मार्फत संविधान लेख्ने र सरकार बनाउने चेतावनी माओवादीले दिएको छ ।
बैठकका सबै बक्ताले अध्यक्ष मोहन बैद्यको राजनीतिक तथा महासचिव रामबहादुर थापाको संगठन र संघर्ष प्रस्ताव प्रतिवेदनप्रति समर्थन जनाएको प्रवक्ता पम्फा भुसालले बताईन । आफूहरुको कुरा नसुनि अहिलेकै अवस्था र प्रकृयामा निर्वाचनमा गए जनताको सडक आन्दोलनले संविधान लेख्ने र सरकार गठन गर्ने अधिकारको प्रयोग गर्ने उनले बताईन ।
बैठकमा ५ पदाधिकारीसहित १ सय २२ जना केन्दि्रय सदस्य तथा सल्लाहकारले दुवै प्रतिवेदनमाथि बोलेका थिए । त्यसक्रममा प्रतिवेदनले उठाएका बिषयको स्पष्टता, ब्याख्या, समावेश, हटाउनुपर्ने, परिमार्जन तथा  सुझावजस्ता बक्ताले उठाएका जिज्ञासामा दुवैजनाले प्रत्युत्तर दिएका थिए ।
बैठकमा अहिलेको राष्ट्रिय राजनीतिको बस्तुगत परिस्थितिको ब्याख्या गरिएको प्रबक्ता भुसालले संवाददाताहरुसंग बताईन । उनका अनुसार यसकासाथै पार्टीको स्थितिको समिक्षा, एक बर्षयता पार्टीले गरेको कामको समिक्षा, बिगतको आन्दोलनको समिक्षा तथा चैत १ यता विकसित राजनैतिक घटनाक्रमको विश्लेषण पनि बैठकमा भएको छ । 'निर्वाचन बहिष्कार गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई कसरी तिब्रता दिने भन्ने प्रतिवेदनको आधारमा संश्लेशण गरियो', भुसालले भनिन, 'चुनाव बहिष्कार गर्दै देशभक्त, राष्ट्रवादी, बामपन्थी तथा गणतन्त्रबादीसंग मिलेर अघि बढ्ने र त्यसकालागि संगठनको कार्यबिभाजन, कार्यबिन्यास र संघर्षका स्वरुप र कार्यक्रम तय गर्ने बिषयमा छलफल भयो ।'
माओवादीले यही चुनामा जानेगरी बार्तामा नबस्ने स्पष्ट गरेको छ । निर्वाचन घोषणाको मिति तथा भारतीयलाई नागरिकता दिन ल्याईएको नागरिकता अध्यादेश फिर्ता भए बार्तामा बस्छौ भनेको तर सरकार र चार दलले पेलेर गएकाले अब बार्ताको कुनै अर्थ नरहेको भुसालले बताईन ।  
सहभागीले संविधानसभाको निर्वाचन बिथोल्दै जनबिद्रोमा जानुपर्नेमा जोड दिएका थिए । निर्वाचन बहिष्कार गर्दा सरकार दमनमा उत्रने र त्यसैलाई क्याच गरि जनबिद्रोहमा उत्रनुपर्नेमा सहभागीको भनाई थियो । पार्टी गठनपछि भएको महाधिवेशनले जनयुद्धको जगमा जनबिद्रोहको लाईन पारित गरेको र संविधानसभा निर्वाचनको मिति घोषणा भएपछि सशक्त रुपमा अघि बढ्ने दस्तावेजसहित निर्णय पार्टीले गरेको हो ।
निर्वाचन बहिष्कार र बिथोल्ने क्रममा सरकार मुठभेडमा उत्रे प्रतिकार गर्ने भुसालले बताईन । राजनैतिक दलको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन नभएसम्म आन्दोलन गर्ने पार्टीले बताएको छ । राजनीतिलाई सहि मार्गमा ल्याउन फागुनमा भएको सहमति खारेज,  अराजनीतिक तरिकाले बिदेशिको ग्राईण्ड डिजाईनमा भएको संविधानलाई ध्वस्त पार्ने र बाधा अड्काउलाई नै खारेज गरेर २५ वटा धारा संसोधन गर्ने, राष्ट्रपतिको आदेश, न्यायधिशको सरकार र त्यसले घोषणा गरेको चुनाब खारेज गर्नुपर्ने भुसालले बताईन ।
बिपक्षको आवाज नसुन्नु अलोकतान्त्रिक भन्दै भुसालले चार दल लोकतन्त्र बिरुद्ध गएको र विदेशीको ग्रान्ड डिजाईनमा घोषित निर्वाचनले संविधान आउने कल्पनै गर्नै नसकिने दावी गरिन ।
गत शनिवारदेखि सुरु बैठकमा संविधान सभाको दोस्रो निर्वाचनको औचित्य र अर्थ नभएको भन्दै बहिष्कार गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो । अध्यक्ष मोहन बैद्यले निर्वाचन देशलाई प्रतिक्रान्तिमा लैजाने षड्यन्त्र रहेको भन्दै कुनै पनि हालतमा निर्वाचनमा नजाने र बिथाल्ने बिषयमा केन्दि्रत रहदै राजनैतिक प्रस्ताव पेश गरेका थिए ।  


No comments:

Post a Comment