राजविराज- पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणको पूर्वसंध्यामा सदरमुकाम राजविराज सहित जिल्लाभरि टाँसिएका पर्चा पम्पलेटको भाषाप्रति स्थानीय बुद्धिजीवी, कानुन व्यवसायी, राजनीतिक दलका नेताले आपत्ति जनाएका छन्। पर्चा पम्पलेटहरुमा ज्ञानेन्द्र शाहलाई 'श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव' भनेर सम्बोधन गरिएको छ। शनिवार रातिको समयमा सदरमुकाम राजविराज सहितका जिल्लाका विभिन्न ठाउँहरुमा राजावादीहरुले हजारौंको संख्यामा पम्पलेट टाँसेका हुन्।
पर्चा पम्पलेट टाँस्दै गर्दा शनिवार राति सप्तरीको भारदहमा स्थानीयहरुले विरोध जनाएका थिए। लोकतन्त्रको मर्मविपरीत प्रतिगमनकारीहरु सक्रिय हुन खोजेको भन्दे भारदहबासीहरुले पर्चा पम्लेट टाँस्न राजाबादीहरुलाई अवरोध पुर्याएका थिए। पछि मध्यरातको समयमा त्यहाँ पर्चा पम्पलेट टाँसिएको स्थानीय राजकुमार गाईमले बताए। ज्ञानेन्द्रलाइ श्री ५ महाराजाधिराज भनेका प्रायः पम्पलेट आइतबार बिहानै च्यातेर फ्याँकिएका छन्। नगरका प्रमुख ठाउँहरुमा केही पोष्टर भने देख्न पाइन्छ।
दलका स्थानीय नेता तथा कानुन व्यवसायीले उक्त कदमलाई गैरकानुी र गैरसंवैधानिक भन्दै त्यसविरुद्ध कानुनी कारवाही थाल्न प्रशासनसँग माग गरेका छन्। 'मुलुकी एनेको किर्ते कागजको महलमा कसैले नपाएको पगरी, ओहदा इत्यादिवारे भ्रामक प्रचारप्रसार गर्दछन् भन्ने त्यस्तामाथि कानुनी कारवाही हुन्छ भनि लेखिएको छ', पुनरावेदन बार एशोसिएशन राजविराजका अध्यक्ष अधिवक्ता हेमनारायण चौधरीले भने, 'यस्तामाथि अविलम्ब कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता छ ।'
'यस्ता गैर कानुनी गतिविधि भईरहँदा स्थानिय प्रशासन किन मौन छन त ?', प्रश्न गर्दै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले भने, 'मुलुकमा कानुन पालना गराउने निकाय, संविधानको रक्षा गर्ने निकायहरु किन बोल्न सकिरहेका छैनन्, म आफै आश्यर्च चकित छु ।'
यता नेकपा एमाले सप्तरीले राजावादीहरुको यस्तो प्रचारलाई हठ र पागलपनको संज्ञा दिएका छन्। एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानले संविधानविपरितको यस्तो हर्कत एमालेलाई मान्य नहुने बताए।
त्यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रीक सप्तरीका अध्यक्ष शैलेश चौधरीले ज्ञानेन्द्र शाह र उनका समर्थकद्वारा बेला बखतमा भइरहने यसका प्रकारका असंवैधानिक गतिविधिलाई नियन्त्रण गर्न केन्द्रीय नेतृत्व तहलाई नै कडा रुपमा प्रस्तुत हुनु पर्ने खाँचो रहेको बताए। तराई दौडहामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह सोमवार सप्तरी आउँदै छन्।
सप्तरीको भारदहस्थित कंकालनी भगवती मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर, राजविराजस्थित राजदेवी मन्दिर सहितका मठ मन्दिर पुगी पुजाआजा गर्नुका साथै पूर्वराजा शाह राजविराज नगरको पैदल यात्रा समेत गर्ने कार्यक्रम छ। उनी सोमवार राति राजविराजमै बिताउनेछन्।
No comments:
Post a Comment