Saturday, June 8, 2013

दलित बस्तीमा गैरदलितको आक्रमण, डेढ दर्जन घाइते

२५ जेष्ठ, २०७०, 
रौतहट :  ब्रह्मस्थानमा पूजा गर्ने विषयलाई लिएर दलितमाथि आक्रमण हुँदा डेढ दर्जन घाइते भएका छन्। विवादपछि गैर दलित समुदायका मान्छेले दलितका घर तोडफोड गरेका छन् भने लाखौं सम्पत्ति लुटेको बताइएको छ। रौतहटको पिपरिया दोस्तिया- ५ स्थित ब्रह्मस्थानमा पूजा गर्ने विषयमा विवादले उग्ररुप लिएपछि शुक्रवार राति गैर दलितहरूले दलितमाथि आक्रमण गरेका हुन्।
वैशाख २८ गते भिमडावर निवासी उमेश रामको गाउँकै चमार चेलीसँग विहे गर्नुअघि ब्रह्मास्थानमा पूजा गर्न जाँदा उनलाई मन्दिर प्रवेशमा रोक लगाएपछि विवादको थालनी भएको थियो। एक महिनादेखि चल्दै आएको विवाद समाधान गर्न स्थानीय प्रशासनले पहल गरेको थियो। प्रशासनको प्रयास विफल भएपछि दलितहरुमाथि आक्रमण भएको हो।
वगही गाविसमा नागरिकता वितरण टोलीबाट नागरिकता बनाएर घर फर्किंदै गर्दा जितेन्द्र साह उनकी श्रीमतीलाई दलित समुदायका मान्छेले आक्रमण गरी घाइते बनाएका थिए। त्यसको प्रतिकार गर्ने क्रममा गए राति सो घटना भएको सो गाविस ५ का बिजु ठाकुरले बताए।
गैर दलितहरु एकत्रित भएर दलित समुदायका तिन दर्जन घरमा आक्रमण गरेका छन्। साही क्रममा दलितहरु घर जोगाउन खोज्दा गैर दलितहरुद्वारा कुटिन पुगेका थिए। गैर दलितको आक्रमणमा परी हरिदयाल महरा, गुरुदयाल महरा, महावीर राम, बन्ति राम, उपेन्द्र राम, सुनिता देवी राम, जितनी देवी राम लगायत गम्भीर घाइते भएका छन्। उनीहरुको गरुडास्थित अनामिका स्वास्थ्य क्लिनीकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सोही घटनामा परेका रुपलाल राम, कान्ति राम, भागवत राम, नन्दलाल राम, दिपनी देवी राम, चन्द्रजोती देवी राम, कमोदिया देवी, सुनैना राम, लगायतका एक दर्जन दलित घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ।
चार समूहमा विभाजन भइ आएका गैर दलितहरुले वीरेन्द्र राम, नेवालाल राम, चुला राम, रामएकवाल राम, चन्देश्वर राम, गरिव राम, सत्यनारायण राम, झमन राम, महिन्द्र राम, सोनेलाल रामका घरमा तोडफोड गरेका छन्। ती घरबाट भाँडाकुडा, खानेपानीको पाइपलाई तोडफोड गर्दै घरभित्र रहेका लत्ता कपडा, साइकल, मोबाइल सेट तथा नगदहरु लुटेर लगेको रुपलाल रामले बताए।
घटनास्थलबाट दश मिनेटको दूरीमा प्रहरी कार्यालय भए पनि आक्रमणको दुई घण्टापछि मात्र प्रहरी घटनास्थलमा पुगेको भन्दै भन्दै स्थानीय आक्रोसित छन्। घटना भएपश्चात प्रहरीले आक्रमणमा संलग्न रहेका मध्ये पिपरिया दोस्तियाका रामदेव राय यादव र छोटेलाल यादवलाई पक्राउ गरेको हरी उपरिक्षक गोविन्द राम परियारले बताए। मुलुकमा जातिय भेदभाव र छुवाछुत अन्त्य भइसकेकाले दोषीलाई कडा कारवाही गर्ने उनले बताए।
वैशाख २८ गते मन्दिर प्रवेशमा रोक लगाउदै अभद्र व्यवहार गरेपछि गैर दलितविरुद्ध दलितहरुले जेठ २० गते इलाका प्रहरी कार्यालय गरुडामा जातिय भेदभाव तथा छुवाछुत ऐन अन्तर्गतको आठ जना माथि मुद्दा दर्ता गराएका थिए। उनीहरु अझै फरार छन्।

No comments:

Post a Comment