Friday, June 7, 2013

यसरी भयो पूर्वसभासद्को हत्या

मियाँ पत्नी नुरजहाँ र छोरी रुबेदा

राजविराज, जेष्ठ २४ - विघटित संविधान सभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्या आफ्नै परिवारजनको संलग्नतामा भएको प्रहरी अनुसन्धानबाट प्रमाणित भएको छ ।
हकको हत्या भएको १८ दिनपछि शुक्रवार राजविराजस्थित अञ्चल प्रहरी कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी पूर्व सभासद् हकको हत्या परिवारकै संलग्नता भएको जनाएका हुन् ।
पूर्व सभासद् हक हत्याको मूख्य योजनाकारहरुमा उनकी माइली छोरी १९ वर्षीया रुबेदा खातुन र ४५ वर्षीया श्रीमती नुर जहाँ खातुन रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । आमा-छोरीको मिलेमतोमा केही अपरिचित ब्यक्तिहरुको सहयोगले पूर्वसभासद् हकको ५ महिनाको प्रयासपछि हत्या गराउन सफल भएको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी दिनेश आचार्यले बताए ।
आमा-छोरी मिलेर हकको हत्या गराउन सिरहाको चतरी गाविस ६ निवासी हाल लहान नगरपालिका ५ मा बसोवास गर्ने ४० वषिर्य अब्दुल रउफ, सिरहाको भगवानपुर गमहरियाका एनुल शेख र झारफुक्क गर्ने मौलबी ३७ वर्षीय मोहम्मद जमिरुल शेखको सहयोग लिएका थिए ।
'करिक एक वर्षअघि हककी जेठी छोरी बिरामी परेको बखत उनलाई झारफुक गर्न मोहम्मद जमिरुल शेख उनका घर आएका थिए,' प्रहरीको घटना प्रतिवेदनमा भनिएको छ, 'सोही क्रममा हककी माइली छोरी रुबेदासित जमिरुलको प्रेम भयो र सोही क्रममा उनीहरुले गतवर्षको फागुनमा लुकाएर रौतहटमा निकाह (विवाह)समेत गर्‍यो, तर यो जानकारी पाएका बुवा हकलाई मान्य थिएन, उनी यसको विरोधी थियो, सो विषय र श्रीमती नुर जहाँ खातुनले पनि घरको सम्पत्ती हिनामिना गर्दै आएको विषयलाई लिएर पटक-पटक घरमा झगडा हुने गर्थ्यौं ।' प्रहरी प्रतिवेदनका अनुसार आमा-छोरीलाई हक नै बाधक भएकोले जमिरुल लगाएर पाँच महिनाअघि हत्या गर्न योजना बनाउन सुरु गरेको थियो । हक पत्नीले जमिरुललाई उपलब्ध गराएको करिब ८० हजार रुपैयाँको सहयोगमा उनले दुई जना (अब्दुल रउफ र एनुल शेख)लाई योजनामा सहभागी बनायो ।
प्रतिवेदनका अनुसार घटना घटेको १५ दिन अघिबाट नै जमिरुल, अब्दुल र एनुल हकको घर रहेको कल्याणपुर गाविस आउने जाने काम बढी नै गर्‍यो । सोही क्रममा जेठ ५ गते नै हकको हत्या गर्ने योजना उनीहरुले बनायो । तर, सफल हुन सकेन । त्यसपछि जेठ ६ गने घरबाट हक नजिकै रहेको आफ्नै हुमा पेट्रोल पम्पमा राति १० बजे सुत्न गएको जानकारी माईली छोरी रुबेदाले जमिरुललाई दिएपछि उनीसहित तीनैजना मोटरसाइकलमा सिधै हक सुतेको पेट्रोल पम्प पुग्यो र करिब एक घण्टापछि हकको हत्या गरी फरार भयो । पत्रकार सम्मेलनमा घटना अनुसन्धानबारे जानकारी गराइरहेका केन्द्रीय अनुसन्धान ब्यरोका डीएसपी दिनेश आचार्यले भने, 'तीनै जनाले हकको हत्या गरेपछि माइली छोरी रुबेदालाई 'काम तमाम' भइसकेको जानकारी पनि दिएछ ।'
घटनापछि फरार भएका तीनै जनालाई ब्यापक खोजीको क्रममा हत्यामा संलग्न रहेका अब्दुललाई मात्रै प्रहरीले पक्राउ गर्न सकेको छ । हत्या कार्यमा संलग्न रहेका रुबेदाका ब्वाईफ्रेन्ड जमिरुल र एनुल अहिले पनि फरार छन् ।
हक हत्याको मुख्य योजनाकार निजकी १९ वर्षीया छोरी रुबेदा र अब्दुललाई बिहीवार प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा हक पत्नी नुर जहाँ खातुनलाई पनि शुक्रवार बिहान पक्राउ गरिएको हो । पत्रकार सम्मेलनमा तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको थियो ।
इन्टरनेटको माध्यमले मोबाईल प्रयोगको आधारमा नै हत्यारासमक्ष पुग्न सकेको सप्तरीका प्रहरी प्रमुख एसपी संजयसिंह बस्नेतले बताए । 'समयमा बत्ती नआउनु र इन्टरनेट समस्याले टावर सर्च गर्न समस्या भएकाले हत्यारा पक्राउ गर्न ढिलाई भएको हो', प्रहरी उपरीक्षक बस्नेतले भने, 'हामीसँगै सिआईबीको टोलीले पनि लगातार १८ दिनसम्म स्थानीय होटेलमा बसेर अनुसन्धान थालेका हो, फरार रहेका दुई जना पनि छिट्टै पक्राउ पर्नेछ ।' केही सञ्चार माध्यममा समाचार बिहीवारै आइसकेकाले एक जना अभियुक्त भाग्न सफल भएको उनको भनाई छ ।
यता प्रहरी नियन्त्रणमा रहेकी पूर्व सभासद् हककी पत्नी खातुनले हत्यामा आफुहरुको संलग्नता नरहेको दाबी गरेकी छिन् । पतिको हत्यामा उनका दुई भाइ र मामाको संलग्न भएको उनको दाबी छ । 'आफुहरुलाई फँसाइएको छ', उनले भने, 'मेरो देवरहरुले घटनाबारे केही बोल्छ भने छोराको पनि हत्या हुन्छ भनेपछि डरले कतै केही बोलिन् ।'
पूर्व सभासद् हकको हत्यामा संलग्न रहेकामध्ये पक्राउ परेका तीनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाही प्रक्रिया सप्तरी प्रहरीले अगाडी बढाईसकेको छ ।
हकको हत्या गर्न ८० हजार
सप्तरी/काठमाडौं, जेष्ठ २५ - पूर्वसभासद सदरुल मियाँ हकलाई उनकै श्रीमती र छोरीले भाडाका अपराधी प्रयोग गरी हत्या गर्न लगाएको खुलेको छ । श्रीमतीसँग आर्थिक विवाद र छोरीले मन पराएको केटोसँग बिहे नगरिदिएपछि उनीहरूले ५ महिनाअघिदेखि योजना बनाई हत्या गराएको प्रहरीले जनाएको छ । हककी श्रीमती ४५ वर्षीया नुरजहाँ खातुन, माइली छोरी रुबेदा खातुन र उनका प्रेमी मौलबी मोहम्मद जमिरुल शेखले हत्या योजना बनाएको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी दिनेश आचार्यले बताए ।
घटना घटेपछि काठमाडौंबाट अनुसन्धानका लागि त्यहाँ पुगेका डीएसपी आचार्यले आमाछोरीसहित हत्या गर्ने सिराह चतरीका अब्दुल रउफलाई पक्राउ गरेको बताए । रुबेदाका प्रेमी मौलबी मोहम्मद जमिरुल शेख र हत्या गर्ने अर्का सिराह भगवानपुरका एनुल शेख फरार छन् । एनुल र अब्दुलले पूर्वसभासद हकको हत्या गर्न ८० हजार रुपैयाँको 'सुपारी' दिएको बताएका छन् ।
४५ वषर्ीय सभासद हकको १८ दिनअघि सप्तरीको राजबिराजस्थित आफ्नै पेट्रोल पम्पमा सुतिरहेका बेला अज्ञात समूहले घाँटी रेटेर हत्या गरेको थियो । हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न र योजनाकारलाई पक्राउ गर्दै शुक्रबार पत्रकार सम्मेलन गरेको हो ।
कसरी भयो हत्या ?
प्रहरीका अनुसार पत्नी नुरजहा र १९ वषर्ीया छोरी रुबेदा सभासद हकसँग खुसी थिएनन् । सभासद हकले इँटाभट्टा र अन्य ठाउँबाट कमाइ गरेर ल्याएको पैसा श्रीमतीलाई राख्न दिने गरेका थिए । श्रीमतीले त्यो रकम जतन गरेर नराखी मास्ने गरेकी थिइन् । 'माइतीलाई दिनेदेखि अन्य ठाउँमा जथाभावी खर्च गर्ने गरेकी रहछिन्,' डीएसपी आचार्यले भने, 'यो कुरालाई लिएर पति-पत्नीबीच राम्रो सम्बन्ध नहुँदा सभासद पेट्रोल पम्पमा गएर सुत्न थालेका रहेछन् ।'
माइली छोरी रुबेदाले हकलाई थाहै नदिई बिरामी झारफुक गर्न आउने व्यक्तिसँग मुस्लिम संस्कारअनुसार निकाह -विवाह) गरेको थाहा पाएपछि बाबुछोरीबीचको सम्बन्धसमेत राम्रो थिएन । रुबेदा र जमिरुलले २०६९ फागुनमा रौतहट पुगी सुटुक्क निकाह गरेका थिए ।
'रुबेदा र जमिरुललाई छुटाउन सभासद हकले अर्का युवकसँग बिहेको कुरो निकालेपछि यिनीहरूले हत्या योजना बनाएको देखियो,' डीएसपी आचार्यले भने, 'सुरुमा भारतबाट हत्यारा ल्याउने कोसिस गरेका थिए, तर नसकेपछि विदेशबाट फर्किएर आएका व्यक्तिलाई सुपारी दिएर मार्न लगाएको पाइयो ।'
प्रहरीका अनुसार छोरीले आफ्नो प्रेमविवाह सफल पार्न आमालाई आफ्नो पक्षमा पारेकी हुन् । हत्या गर्न आउनेलाई सुपारीबापतको ८० हजार रुपैयाँ हककी पत्नीले नै उपलब्ध गराएको अनुसन्धानले देखाएको छ ।
'आधा रकम यिनीहरूले पाइसकेका छन्,' आचार्यले भने, 'आधा काम पूरा भएपछि दिने सहमति भएको रहेछ ।'
प्रहरीका अनुसार हककी जेठी छोरीको छोराछोरी नभएपछि सिराहका मोहम्मद जमिरुल हकलाई धामीझाँक्री गर्न बोलाइएको थियो । जमिरुल नियमितजसो घरमा आउने-जाने गर्ने क्रममा जमिरुल र रुबेदाबीच प्रेमसम्बन्ध भएको प्रहरीले जनाएको छ ।
रुबेदाले आफ्नो बिहे अर्कै व्यक्तिसँग हुन लागेको भन्दै त्यसो हुन नदिन बुवाको हत्या गर्नुपर्ने प्रस्ताव जमिरुलसमक्ष राखेको प्रहरीलाई बताएकी छन् । 'बिहे गरेर घर छाडे पनि सभासदले सफल हुन नदिने अनुमान गर्दै हत्या गरेर नै बाधा फुकाउन खोजेको रहेछन्,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'आमाले पनि उनीहरूको योजनामा साथ दिइन् ।'
५ महिनाअघिदेखि यिनीहरूले हत्याको तानाबाना बुन्न थालेका थिए । कसरी गर्ने/कसलाई गर्न लगाउने भनेर धेरै योजनाहरू बनाएका थिए । 'खानामा विष राख्नेदेखि गाडी दुर्घटना गराउनेसम्मको योजना बनाएको पाइयो,' अनुसन्धानमा संलग्न ती अधिकारीले भने, 'त्यो योजनामा पक्राउ पर्न सकिने भन्दै यिनीहरूले भारतबाट हत्यारा ल्याएर हत्या गर्ने तयारी गरे ।'
तर जमिरुलले भारतबाट हत्यारा ल्याउन सकेनन् । पटक-पटक हत्याराको खोजी गर्दै उनी भारत पनि गएको अनुसन्धानले देखाएको छ । 'हत्या गर्न सक्ने व्यक्ति नभेटेपछि यिनीहरूको योजना अझै लम्बियो,' ती अधिकारीले भने, 'अनि जमिरुलले आफ्नै गाउँका एनुल भन्ने व्यक्तिलाई प्रस्ताव राखेर काम गर्न लगाएको पाइयो ।'
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार १५ दिनअघिदेखि हकको दैनिकी हेर्ने गरेका थिए । मोटरसाइकलमा पिछा गर्दै हकको बिहान उठेदेखि बेलुका सुतिन्जेलसम्मको दैनिकीमाथि नजर राख्ने गरेका थिए । जेठ ५ गते हत्या गर्ने उनीहरूको योजना भए पनि हकसँग अरू कोही व्यक्तिसमेत देखेपछि हत्याराहरू पेट्रोल पम्पबाट फर्किएका थिए । त्यसको भोलिपल्ट राति १० बजे सुत्न गएको खबर पाएपछि उनीहरू पम्पमा गएका थिए । छोरीका प्रेमीलाई चिन्ने भएकाले हकले उनलाई ढोका खोलिदिएका थिए । भित्र पुगेपछि उनीहरूले चक्कुले घाँटी रेटेर हत्या गरेका थिए ।
कसरी समातिए ?
सप्तरीमा प्रभावशाली व्यक्तिका रूपमा परिचित हकको हत्याको विषयलाई लिएर अनेक अड्कलबाजी भइरहेका थिए । चुनावलाई लक्षित गरेर वा अन्य केही कारणले हत्या गरेको हुन सक्ने अनुमान भइरहेको थियो । 'सम्भावित कारणहरूको पहिचान गर्दै अनुसन्धान गर्दै जाँदा हत्यारासम्म पुग्न सफल भयौं,' सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले भने, 'हत्यामा संलग्नले अपराध स्वीकार गरिसकेका छन् ।'
प्रहरीले घटनाको भोलिपल्टदेखि हकको राजनीतिक, आर्थिक र पारिवारिक सम्बन्धलाई केन्द्रबिन्दुमा राखेर अनुसन्धान सुरु गरेको थियो । 'सुरुमा केही दिन कुहिरोभित्रको कागभै+m भयौं,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने, 'घटनाको केही दिनअघिदेखि हकको पेट्रोल पम्प वरपर हिँडडुल गर्ने नौला व्यक्तिका बारेमा सूचना पाएपछि आस पलाएर आयो ।' त्यसैलाई आधार बनाएर अनुसन्धान गर्दै जाँदा हत्यारासम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ ।
आर्थिक लेनदेन अध्ययन गर्दा प्रहरीले सभासद हकको ऋण धेरै भेटाएको थियो । राम्रै कमाइ भइरहेका व्यक्तिको ऋण धेरै देखेको थियो । पैसाकै विषयलाई लिएर हक दम्पतीबीच राम्रो सम्बन्ध नभएको सूचना पाएपछि प्रहरीले शंकाको सुई श्रीमतीतर्फ मोडेको थियो । छोरी र घरमा आवतजावत गर्ने व्यक्तिको कल डिटेल्सले समेत प्रहरीलाई अनुसन्धानमा सहयोग पुर्‍यायो । प्रहरीले छोरीसँग सम्पर्क भएका व्यक्ति र उसको वरपर घुमेका फोन नम्बरका बारेमा थप अनुसन्धान गरेको थियो ।
'घटनाको दुई दिनअघिदेखि दुई/तीनवटा नम्बर एउटै सर्कलमा घुमिरहेको पाइयो,' त्यसलाई आधार मानेर अनुसन्धान गर्दा अपराधीसम्म पुग्यौं ।' प्रहरीले सुरुमा हत्यामा संलग्न अब्दुल रउफलाई पक्राउ गरेको थियो । पक्राउपछि रउफको घर छापा मार्दा प्रहरीले सभासद हकको लुटिएका मोबाइलमध्ये एक मोबाइल बरामद गरेको थियो । नोकियाको कालो रङको मोबाइलको रउफले रातो हाउजिङ फेरेका थिए । प्रहरीले फरार दुई जनाको खोजी भइरहेको जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत सप्तरीबाट कर्तव्यज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment