Sunday, June 9, 2013

काठमाण्डौंमा हजारौं युवा जोडीबीच 'लिभिङ टुगेदर'

चितवनकी रोशनी र हेटौंडाका उदीपले सामाजिक सञ्जाल फेसबुकबाट यसरी च्याटिङ गरेको भोलिपल्ट भेटघाट गर्ने वातावरण मिलाए । निरन्तर फोन र च्याटमा खुलेर कुराकानी गरी नजिकिएका उनीहरूलाई यो पहिलो पटकको भेटझैँ लागेन । लामो समयदेखि आर्थिक सड्कटमा गुज्रिरहेकी रोशनी अघिल्लो दिन उदीपले गरेको विकल्पको विषय सुन्न निकै आतुर बनेकी थिइन् । आफूसँग नरिसाउने र सम्बन्ध नतोड्ने बाचा गराएर उदीपले रोशनीलाई भने- 'लेट्स ह्याभ एक्स्पिरियन्स, लिभिङ टुगेदर डियर, मी अल्सो एलोन, तिमीलाई आर्थिक भार कम हुन्छ, मलाई नि साथी हुन्छ ।’
आफूले अति सरल र सहजरूपमा राखेको प्रस्तावबाट झस्किएकी रोशनीलाई देखेर उदीपले पुनः सतर्क बन्न खोज्दै भने– 'प्लीज फिल कम्फर्टेबल, डन्ट वरी, नेभर फोर्स यु, बट् आई विस यु सो ।’
केटा र केटी एउटै रुम सेयर गरेर बस्नु त्यति सहज नहुने बताउँदै रोशनीले आफ्नो प्रस्ताव तत्काल अस्वीकार गरेकीले एक पटक सोच्न आग्रह गर्दै उदीप पनि बिदा भए । नजिकका केही साथीसंगीबीच उक्त प्रस्तावको विषयमा कुराकानी गर्दा साथीहरूले पनि हौस्याएपछि दुवैले ‘बेड भिन्नाभिन्नै हुनुपर्ने, एकले अर्कोको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न नपाइने, सहमतीविना त्यस्तो कुनै रिलेसन नहुने’ प्रस्ताव तयार गरे । दुवैलाई यी प्रस्ताव स्वीकार्य भएपछि उनीहरूको सुरु भयो ‘लिभिङ टुगेदर’को जीवनयात्रा ।
सँगै बसेपछि एक–अर्काको व्यक्तिगत चासो हुनु स्वभाविक हो । एकले अर्काको विषयमा इन्टर्नल र बाह्य प्रायः सबै बुझ्ने अवसर पाए । यी दुईबीचको दूरी नजिकिँदै गएपछि रोशनीको प्रस्ताव फितलो बन्दै गयो । बिस्तारै उनीहरूको सम्बन्ध श्रीमान्–श्रीमतीको भन्दा फरक भएन । क्षणिक सन्तुष्टिका लागि गरिएको शारीरिक सम्पर्कबाट गर्भ रहेको उनीहरूले पत्तै पाएनन् । त्यसैले पटक–पटक एबोर्सन गराउन बाध्य भएकी रोशनीले एक दिन उदीपलाई जसरी हुन्छ आफूलाई छिटो बिहे गर्न प्रस्ताव राखिन् । पर्ख न सोचौं भनी केही समय मागेको उदीपले धेरै दिनसम्म पनि यस विषयमा कुरा निकाल्न चाहेनन् । आफूले विवाहको विषयमा कुरा गर्दा उदीपले रिसाउने, झर्किने गरेकाले रोशनी धेरै चिन्तित भइन् । एकपटक विवाहकै विषयमा भएको झगडाले ठूलै रूप लियो । तर आफूले विवाह गर्ने बाचा नगरेको, शारीरिक सम्पर्क पनि दुवैको सहमतिमा मात्र भएकोले यसमा आफ्नो केही दोष नभएको भन्दै उदीप पन्सिन खोजे, अनि कोठा नै छोडेर निस्किए । त्यसपछि आफूलाई विरक्त लागेर आत्महत्याको प्रयास गरेकी रोशनीको हाल काठमाडौंकै एक प्राइभेट अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न सो अस्पतालका चिकित्सकको सहयोगमा रोशनीकै साथी भावनाले भनिन्– ‘जति प्रयास गरे पनि परिवारले रोशनीलाई एसेप्ट गर्दैन, उदीप पनि सम्पर्कमा छैन, उपचार गराएपछि मैले कहाँ लग्ने ?’
होस्टेल भनेर कोठामा
रोशनी र उदीपजस्तै पोखराकी सृष्टि पनि विगत छ महिनादेखि लमजुङका पारससँग बस्दै आएकी छिन् । उनीहरूबीच श्रीमान्–श्रीमतीभन्दा फरक सम्बन्ध छैन । परिवारको नजरमा उनीहरूले प्रेमी–प्रेमिकाको जस्तो सम्बन्ध भएको स्वीकारे पनि सँगै बसेको भन्नेचाहिँ परिवारलाई जानकारी छैन । ‘म होस्टेलमै बसिरहेकी छु भन्ने कुरामा ममी–ड्याडी विश्वस्त हुनुहुन्छ’, बीबीएस प्रथम वर्षमा अध्ययनरत सृष्टिले खुलेर भनिन्– ‘पारस र मेरो सम्बन्ध सबैलाई थाहा छ, सँगै बस्दा हामीलाई आपत्ति छैन भने अरूलाई बाल मतलब ?’ यति मात्र होइन, हामी दिदी–भाइ वा दाजु–बहिनी भनी कोठा लिएर सँगै बस्नेहरू पनि यदाकदा भेटिन्छन् । उनीहरू मिलेर बस्छन् भने घरबेटीले पनि निधिखोजी गर्ने कुरा भएन । आफ्ना छोराछोरी कहाँ–कसरी बसेका छन् भनेर अभिभावक नै जागरुक हुनुपर्ने देखिन्छ ।
यौनचाहना पूरा गर्ने अवसर
आफ्नो दैनिकीलाई रमाइलो ढङ्गमा बिताउन चाहने युवायुवतीको ठूलो जमात नै छ राजधानीमा । आर्थिक भार कम गर्ने बहानामा विवाहअगाडिको शारीरिक सम्पर्कलाई निरन्तरता दिने राम्रो अवसरको रूपमा लिभिङ टुगेदरलाई लिन थालेका छन् युवायुवतीले ।
तर महँगीले आकाश चुलिएको यो अवस्थामा खर्च न्यून गर्ने उपाय भनेर राजधानीमा मौलाएको लिभिङ टुगेदरले विकृतिको रूप लियो भने झनै आर्थिक भार थपिँदै जान्छ । आर्थिक भार कम गर्ने र एकले अर्कालाई बुझ्ने अवसरको रूपमा लिएको भनिए पनि लिभिङ टुगेदरको मुख्य उद्देश्य युवापुस्तामा देखिएको तीव्र यौनचाहना पूरा गर्ने माध्यम भएकोले युवापुस्ता यसतर्फ आकर्षित भएको विज्ञहरूले स्वीकारेका छन् ।
वरिष्ठ मनोविद् डा. गड्डा पाठक लिभिङ टुगेदरले आर्थिक भार कम होइन अझ बढाउने बताउनुहुन्छ । आफ्नो परिवार, समाजको विरुद्ध पश्चिमी शैली लिभिङ टुगेदर रोज्ने युवापुस्ताहरू आफ्नो पार्टनरलाई प्रभाव जमाउन डिस्को, रेस्टुरेन्ट, डान्सबारमा गएर पैसा खर्च गर्न लालायित हुन्छन् । यसरी खर्च गर्न नसक्नेहरूमा चाहिँ एक किसिमको वितृष्णा जाग्ने भएकाले मनोवैज्ञानिक रूपमा उसलाई ठूलै असर पर्न सक्छ । त्यसैले यस्ता युवायुवती छोटो समयमै आर्थिक आर्जन गर्ने बाटोको खोजीमा भौंतारिन्छन् । फलस्वरूप लिभिङ टुगेदर अपनाएका युवायुवतीहरू आपराधिक क्रियाकलापमा समेत संलग्न हुने प्रबल सम्भावना रहेको मनोविद् डा. गड्डा पाठकको भनाइ छ । अर्का समाजशास्त्री पद्मलाल देवकोटा युवापुस्ताले दाम्पत्य जीवनको विषयभन्दा सेक्सको विषयमा गम्भीर भएर त्यसैलाई प्रमुख स्थानमा राख्नाले पछिल्लो समयमा लिभिङ टुगेदर मौलाएको बताउनुहुन्छ । यसले पछि गएर उनीहरूकै भविष्य अँध्यारोतर्फ धकेलिने उहाँ बताउनुन्छ । जुन व्यवहार (लिभिङ टुगेदर)ले आफूलगायत आफूसँग जोडिएको वरपरको वातावरणलाई असर पुर्याइरहेको हुन्छ, त्यस विषयमा किन सोच्दैनन् उनीहरू ? –उहाँ प्रश्न गर्नुहुन्छ ।
लिभिङ टुगेदरका नाममा विकृति
काठमाडौंमा युवापुस्ताको माहोल नै गजब छ हिजोआज । सम्बन्धको सुरुवात नै नयाँ तरिका, नयाँ व्यवहार, नयाँ फेसनबाट । हिजोआज प्रचलनमा आएको ‘लिभिङ टुगेदर’ लाई त झन् एड्भान्स र मोर्डन सोचाइको नाम दिएर अगाडि बढिरहेका छन् युवापुस्ता । प्रायः बाहिरबाट कलेज पढ्नका लागि राजधानी छिरेका युवापुस्तामा लिभिङ टुगेदर विकृतिका रूपमा मौलाएको छ ।
युरोपियन देशमा आफ्नो संस्कृतिकै रूपमा चलाउन थालिएको लिभिङ टुगेदर प्रथा हिजोआज नेपाली सोसाइटीमा पनि यसरी कमन भइसकेको छ । हिजोसम्म फिल्मी दुनियाँ र किताबी पानामा सीमित युवापुस्ताको जमात अहिले लिभिङ टुगेदरजस्तो पाश्चात्य संस्कृतिमा रम्दै गएको छ । यसले नेपाली समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक एवम् धार्मिक विकृति बढ्दै जाने विज्ञहरूको टिप्पणी छ ।
समाजशास्त्री चैतन्य मिश्र युवापुस्तामा मौलाएको लिभिङ टुगेदर सामाजिक विकृतिको अर्को नाम भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यसले हाम्रो समाजमा ठूलै विकृति ल्याउँछ । लिभिङ टुगेदर प्रचलनले बायोलोजिकल निड त पूरा गर्ला तर सामाजिक, आर्थिक, सांस्कृतिक रूपमा यसले ठूलो विकृति जन्माइरहेको हुन्छ ।’ युवापुस्ताहरू यसरी पाश्चात्य संस्कृतिसँग नजिकिँदै जानु बढ्दो इन्टरनेटको दुरुपयोगको उपज भएको उहाँ बताउनुहुन्छ ।
युरोपियन प्रवृत्तिको नक्कल
समय पहिलेकै जस्तो कहाँ रह्यो र अब ? प्रेमी प्रेमिका मात्र होइन, विवाहको लागि मिति तोकिएका जोडीसमेत लिभिङ टुगेदरलाई महत्त्वका साथ लिन थालेका छन् । बुटवलका सञ्जीव क्यानडाबाट नेपाल फर्किएको २ महिना भयो । विवाहको लागि ६ महिनाको बिदामा आएका उनी हाल आफ्नो हुनेवाली जीवन साथीसँग राजधानीमा सँगै बसिरहेका छन् । विवाहअघिको यस्तो बसाइलाई युरोपियन प्रवृत्तिको नक्कल नभने के भन्ने ?
‘विदेशमा रुम शेयर गरेर बस्नु कमन कुरा हो, नत्र सस्टेन हुनै सकिँदैन’, खुलेर कुरा गर्दै उनले भने– ‘विवाह गरेर उतै लैजाने भएपछि मेरी हुनेवाली श्रीमतीले पनि उताको संस्कृतिमा एड्जस्ट हुनु जरुरी छ नि । विदेशमा आफूले वा परिवारले चुनेको जीवन साथीलाई बुझ्न प्रशस्त समय दिन्छ । त्यसको महत्वपूर्ण माध्यम नै लिभिङ टुगेदर हो । त्यसैले यो समय हामी दुईले एक–अर्कालाई बुझ्नकै लागि सँगै बस्ने निर्णय लिएका हौं ।’ सञ्जीवकी मगेंतर उर्वसी पनि के कम, सञ्जीवकै कुरामा सहमति जनाउँदै उनले थपिन्– ‘उहाँमा मैले इमानदारिता देखें । उता (क्यानडामा) मसँग रुम शेयर गरेर बसेको कुरा समेत नढाँटी बताउनुभयो । आजकलका केटाहरू यस्ता इमानदार कहाँ हुन्छन् र ? यो प्रस्ताव पनि उहाँकै हो ।’ उनका अनुसार हतारमा विवाह गरेर फुर्सदमा पछुताउनुभन्दा एकले अर्कालाई बुझेर निर्णय लिनु अत्यन्तै जरुरी छ । यसरी सँगै बस्दा एकले अर्कालाई योग्य पार्टनरको रूपमा स्वीकार्न नसके आइपर्ने समस्याका बारेमा दुवै सचेत देखिन्छन् । सञ्जीव र उर्वसीको एउटै भनाइ छ– ‘आफ्नो लाइफको सबाल छ, केही रिस्क त मोल्नै पर्छ नि ।’
गम्भीर मानसिक समस्या
सुखमय दाम्पत्य जीवनको सपना बोकेका केही युवापुस्ताले एकले अर्कालाई बुझेर मात्र विवाह गर्ने भनी विवाहपूर्व लिभिङ टुगेदरलाई राज्ने गरेको पाइन्छ । यसरी एक–अर्काको विश्वासमा लिभिङ टुगेदरबाट सुरु भएको दिनचर्याले दिगो रूप लिने सम्भावना भने कमै हुन्छ । केही समयपछि उनीहरूको विश्वासमा तुषरापात हुन पुग्छ । जब उनीहरूको सपना र विश्वासमा एक–अर्काबाट हत्या हुँदै जन्छ, तब उनीहरू मानसिक रूपमा विक्षिप्त हुँदै जान्छन् । बिस्तारै गम्भीर मानसिक रोगको सिकार बन्न पुगी अन्त्यमा मृत्युवरण गर्ने बाटो खोज्ने अवस्थासम्म आइपुग्छन् । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा पहिलेको तुलनामा हिजोआज युवापुस्तामा बढी मानसिक रोगको सिकार भएको पाइएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यसो हुनुमा प्रेमसम्बन्धमा खटपट, असमझदारी, अविश्वासजस्ता कारण नै बढी देखिएका छन् ।’ आफ्नो अनुभवमा युवकको तुलनामा युवतीहरूमा बढी गम्भीर मानसिक समस्या देखिएको उहाँको भनाइ छ ।
भावी समस्या र सचेतना
लिभिङ टुगेदरको प्रचलनले वैवाहिक जीवन मजबुत हुने र सम्बन्धविच्छेदलाई न्यून गर्ने कुरामा विश्वास राख्ने युवापुस्ताको कमी छैन । विवाह सम्झौतामा गरिने कुरा होइन, जसले विवाहसँग सम्झौता गर्छ उसको भावी जीवन नारकीय बन्नेमा उनीहरू जोड दिन्छन् । त्यसैले मन मिले विवाह नभए रुम पार्टनर मात्र भनी लिभिङ टुगेदरलाई व्याख्या गर्नेहरू धेरै छन् । विवाहभन्दा पहिले नै सँगै बसेर सबै आनिबानी थाहा पाई जोडिएको सम्बन्ध पछि नटुक्रिनेमा उनीहरू विश्वस्त छन् ।
तर समाजशास्त्रीहरू युवापुस्ताको यो सोचाइ काँचो मानसिकताको उपज भन्ने गर्छन् । उनीहरूका अनुसार लिभिङ टुगेदरमा रहेका युवायुवतीको सम्बन्धमा दरार आएमा उनीहरू अलग्गिनुको विकल्प छैन । एक पटक अलग्गिएपछि पुनः जोडिएको वैवाहिक जीवन राम्रो हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । हाम्रो समाजमा युवाको तुलनामा युवतीहरूको विगतमा भएका परपुरुषसँगको सम्बन्धलाई स्वीकार गर्न नसक्ने मानसिकता हाबी छ । यसले गर्दा पछि गएर सम्बन्धविच्छेदको सम्भावना उच्च रहेको अधिवक्ता सपना प्रधान मल्ल बताउनुहुन्छ । हिजोआज दाम्पत्य जीवन सुखमय हुन नसक्नुको कारण उनीहरूको विगतको रिलेसनसिपले निम्त्याएको असमझदारी पनि महत्त्वपूर्ण समस्याको रूपमा रहेको उहाँको भनाइ छ ।
पश्चिमी मुलुकमा निकै प्रचलनमा रहेको लिभिङ टुगेदर आफैँमा नराम्रो प्रचलन भन्नचाहिँ मिल्दैन । जहाँबाट यसको सुरुवात भयो, त्यहाँ सामाजिक र व्यक्तिगतरूपमा पनि यो प्रचलन उच्च संस्कृति नै बनिसकेको अवस्था छ । त्यहाँका लागि यो प्रचलन फाइदाजनक नै होला । तर नेपालको परिप्रेक्ष्यमा यो प्रथाबाट जति फाइदा छ, त्योभन्दा बढी हानि पुर्याउने विश्लेषकहरूको ठहर छ । नेपालमा लिभिङ टुगेदरलाई सामाजिक विकृतिकै रूपमा लिइन्छ ।
एड्भान्स हुने बहानामा लिभिङ टुगेदरलाई रोजेका युवायुवतीले क्षणिक सन्तुष्टि पाए पनि पछि अप्ठइरो परिस्थिति सृजना हुन सक्छ । लिभिङ टुगेदरका नाममा केटा–केटी एउटै कोठामा बस्दा असुरक्षित यौनजन्य क्रियाकलापमा संलग्न हुने, कलिलै उमेरमा गर्भधारण हुने, समाजबाट तिरष्कृत भइने डरले असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यताहरू आइपर्छन् । यसले गर्दा विभिन्न यौनजन्य रोगको सिकार हुने सम्भावना प्रबल हुन्छ । साथै सानै उमेरमा यौनजन्य क्रियाकलापमा संलग्न भएका युवतीमा पछि गएर पाठेघरको क्यान्सर, बाँझोपनको सम्भावना बढी हुन्छ । यसबाहेक सामाजिक, आर्थिक, सांस्कृतिक एवम् मानसिक विचलनको समेत सामना गनुपर्ने हुन्छ । त्यसैले यस विषयमा अभिभावकलगायत सबै जना सचेत हुनु जरुरी छ ।
- साधना

No comments:

Post a Comment