त्रिशुली बस स्टपवाट चिन्डेगाउँ लाग्दा उसको मन एक तमासले छटपटिरहेको थियो । कहिले भोक लागे जस्तो, कहिले तिर्खा लागे जस्तो भइ नै रहृयो । घर पुग्नासाथ बाबु छोरी एक झमट रोए, कोसेलीको पोको फुक्यो । पछि फेरि घ्यावरिङ्ग बुढो बालक जस्तो रमायो । धेरै वेर सम्म दुःख-सुखको कुरा भयो ।
एकदिन उ माथि चौतारीमा मन भुलाउनलाई गएको बेला उसले कृष्णे कार्कीलाई भेटेको थियो । कृष्णे कार्कीले उसलाई देख्नासाथ भन्यो क्याहो बुढा तेरी डंकीनी जस्ती छोरी...........................लाई शहर जागिर खान पठाए भनी ढुक्क परेर वसेका होलास, के वस्थिस यो बाइफाले त्यहाँ, देश भागी सकी वेश्या हुनलाई ।
बुढो दुःखीत र आतंकित भएर घर फर्केको थियो र त्यसपछि उसले चौतारीमा मन भुलाउन जाने साहस गरेन । प्रधानपञ्चको जगजगी भइरहेको छ । अझ बढेको छ भन्ने कुरा उसले सुनायो । खोल्सा घरे घिसिङ्गलाई कसले कसले मारेर चार टुक्रा पारी उसैको खेतमा फालि राखेको कुरा सुनायो । साथै गाउँलेहरु प्रधानपञ्चले नै मान्छे लगाएर मारेको हो भनी खास खुस कुरा गर्छन भन्ने सुनायो ।
अन्तमा बुढाले आफूले वुझेका कुराको निचोड यसरी सुनायो, "पञ्च भनेको पापी हुदोरहेछ, पापी मान्छे मत्र पञ्च हुदोरहेछ । यो गाउँमा पञ्च नहुन्जेल यस्तो वीधि उत्पात भएको थाहा छैन, यस्तो विधि महंगी भएको पनि थाहा छैन, मान्छे यस्तरी मार्यो खोइ पुलिसले केहि गरेन । यी कृष्णे कार्की र प्रधानपञ्च फेरी कस्तो मिल्ने ।" निमुखाबुढाले गमेको कुरा यति नै थियो ।
टीकाको भोलिपल्ट गोरीमाया गाउँ घुम्नलाई केहिवेर निस्की । उसले पनि वाटामा दुइजना तन्नेरीलाई अगल-बगल राखेर आइरहेको प्रधानपञ्चलाई भेटी । उसलाई देख्नासाथ आइमाई लग्गु कुख्यात प्रधानपञ्चको आँखा र जुंगामा नाचेको आतुर इशारा गोरीमायाले वुझी । उसको सारा शरीर घृणाले एकल्ट सांग्रियो ।
"क्या हो गोरी भोटिनी, राम्रो घरको फेला परेकी जस्ती छेस ।" प्रधानपञ्चका आँखाहरु गोरी मायाको बांकटे चोलोवाट निस्केका सेता पाखुराहरुमा सललल बगे ।
"सवै मान्छे राक्षस हुँदा रहेनछन् । सतासी वाजे" गोरीमायाको जवाफ सुनेर प्रधानपञ्च एकैछिन झसंग भयो तर उ ख्यागी भएकोले मनःस्थिति तयार पार्न गाह्रो भएन ।
जुंगामा ताउँ दिदै उसले फेरि भन्यो, "पुलिसको घरमा बसेकी छेस रे मालिकलाई त खुवै रिझाइस होली ।"
बतौरी गोरीमायाको पेटभरि र मुखभरि जवाफ हुन्थ्यो । उसले तत्काल भनी, "गरीबकी छोरी काम गर्दै ठिक्क, फेरि सतासी बाजेको जस्तो घरमा दुइटीले नपुगेर झडकेली छोरीलाई सुद्धा स्वास्नी राख्ने चलन त्यहाँ रहेनछ ।"
खुला दोवाटोमा उनी पनि आफ्ना मतियारहरुको अघि यति नराम्रोसंग आफ्नो भण्डाफोर भएको देख्दा प्रधानपञ्च अपमान र रिसले कालो निलो भयो, ऊ चुरमुरिएर बोल्यो, "तेरा मुख छाडा भोटिनी, यस्तै बेगतिको कुरा गर्छेस र त भेट्टाइस् हावा बिग्रेको पोई ।"
गोरीमायाले पनि प्याच्चै भनी, "त्यही पनि सतासी बाजे र कृष्णे काजीको दयामाया नभएको भए के भेट्टाइन्थ्यो,यसै पनि कर्मको खोटो" भनाभनमा दुवै प्रतिद्वन्दी र दुवै पर्यवेक्षकहरुले दोहोरै घोचपेच मजासंग बुझिरहेका थिए । पर्यवेक्षक तन्नेरीहरुलाई प्रशस्त मनोरञ्जन भइरहेको कुरा उनीहरुको अनुहारवाट झल्कन्थ्यो ।
यति भनिसकेर गोरीमाया छड्केर आफ्नो बाटो लागी, प्रधानपञ्च आफ्नो पुरुषत्वलाई थुक्दै त्यही उभिरहृयो, तर उसले अपमान भने पचाउन सकेन ।
उता गोरीमायाको गाउँ डुल्ने रहर नै एकएक मरेर गयो। कहाँ त अम्बा, सुन्तला तथा दही चामलको बासनाले दशैं बोध भइरहेको नाकमा फेरि सिनु गनाउन पुग्यो । उसले गाउँलाई फेरि सिनु गन्हाएको बगर देख्न थाली । कस्तो हेपेर बोल्छ भने गरीबकी छोरी भन्दैमा हाम्रो इज्जत पनि हुन्न कि क्या हो गाँठे ! ऊ सोच्दै थिई, खायो मुख भरिको जवाफ, त्यसको कमाइ खान परेको छ र - आबा नभए त म यो ज्यानमारा गाउँमा खुट्टा टेक्न आउने थिइन ।
ऊ गम्भीर भएर घर फर्की र आफ्नो सहज भाषामा बूढालाई भन्न थाली, "ओ होय आबा, कृष्णे कार्की मलाई वेश्या हुन गई भनी गाउँभरि आँधी लाएर हिड्छ, सतासी बाजेले आज भेटेर मालिक रिझाइस रे भनी घोचपेच गर्यो । मेरो उमेरकी उनकी छोरी काठमाडौंमा बसेर पढछे । ल उनको छोरीलाई यो गाउँमा कसैले एक वचन भनोस त खोल्साघरेलाई जस्तो काटेर मिल्काइदिन्छ । म गरीबकी छोरीलाई भने चारजनाको अघि बेइज्जत गर्छ । कृष्णे कार्की र सतासी बाजे बनमा चितुवा घुमे जस्तो घुमेर हिडछन् यो गाउँमा, कसैको सोझो मुखले हेर्न सम्म सक्ने होइनन् । मलाई त यो गाउँमा एकछिन पनि बस्न मन लागेन, पहिले पनि त्यत्रो जालझेलमा पार्यो अझ बौलाहाकी स्वास्नी भन्दै थियो आज । जाउँ आबा, बरु तिमी पनि के खान बस्ने यो पापी ठाउँमा ।" गोरीमाया आँशुको घुटको निल्न नसकेर घुक्क-घुक्क रुन थाली ।
घ्यावरिङ बूढाको पनि आँखा रसाएर आयो । मनासिव भनेकी छ छोरीले तर जुनी बिताएको ठाउँ छोडेर कसरी जाने, कहाँ जाने - बूढो तर्कहरुमा डुव्दै उत्रिदै गर्यो र अन्तमा बोल्यो, "यहाँ लथालिङ्ग छोडेर कहाँ जाने, के गरी बस्ने गोरीमाया - भैगो तँ जा तेरो ज्यानलाई राम्रो भए मलाई पुग्छ , म बूढो चाहिँ यही मर्छु तेरी आमा यही मरी ।"
बूढाको कुरा सुनेर गोरीमायाको झन भक्कानो फुटेर आयो । ऊ रुँदै भन्न थाली, "मेरो तागतले भियाए त सतासी बाजे र कृष्णे कार्कीलाई नङले कोपरी-कोपरी मासुको चोक्टा झिक्तै मार्ने थिएँ , यिनीहरुको पनि दशा कसो नआउला आबा ।"
विवश बूढो आँखाको डिल पुछ्दै बसिरहृयो । दुःख तथा आक्रोश सँधै आँशुसम्म आएर टुंगो लाग्थ्यो, पोख्ने तथा बगेर जाने ठाउँ थिएन, निदानमा आफैले आफैलाई फकाउन पर्थ्यो, सान्त्वना दिन पर्थ्यो ।
विष्णु कुमारी वाइवा 'पारीजात' को बहुचर्चित पुस्तक "अनिदो पहाडसंगै" वाट
No comments:
Post a Comment