काठमाडौं। अहिलेसम्म आर्थिक लाभको पद नलिएका कांग्रेस सभापति सुशील कोइराला स्थायी बसोवासको खोजीमा छन्। अहिले बसोवास गरिरहेको कुँवर थरका एक व्यापारीको घरमा तनावरहित बुढेसकाल बित्न नसक्ने ठोकुवा ज्योतिषीहरूले दिएका कारण उनी स्थायी बसोवासको खोजीमा जुटेको प्रचार कोइराला परिवारले गरेको छ। तर यसको भित्री रहस्य भने अर्कै रहेको बताइन्छ।
लाउडाकाण्डदेखि रक्सी र केटीकाण्डसम्म संलग्न कोइराला परिवारले सुशीलका राजनीतिक सहयोगी लक्ष्मण ढकाललाई हटाउने योजनाअनुसार घर सर्ने प्रस्ताव ल्याएको विश्वस्त स्रोतले बताएको छ। आगामी नेतृत्व कसले लिने भन्ने विषयमा कोइराला परिवारभित्र त्रिकोणात्मक संघर्ष चले पनि उनलाई हटाउने विषयमा भने कोइरालाको संयुक्त परिवार ज्यान फालेर लागेको छ। नौ वर्षदेखि साथमै रहेका ढकाल अनेकौं घटनाका आँखदेखा साक्षी रहेकाले उनलाई विस्तारै पन्छाउने योजना दिलबहादुर घर्ती, गोपाल पहाडी, दिलेन्द्र बडू र आनन्दप्रसाद ढुंगानाले बनाएका छन्।
नागरिकता प्रमाणपत्रका आधारमा ७७ वर्ष र जन्मका आधारमा ७९ वर्ष उमेरका कोइरालाले पुराना सहयोगी वीरेन्द्र दाहालमार्फत ज्योतिषिहरूको सल्लाह लिएको बताइन्छ। ८२ वर्षको उमेरमा खड्गो रहेको र २०७० सालको असारदेखि मंसिरसम्म बासस्थान परिवर्तन नगरे अनिष्ट हुने ज्योतिषीले बताएपछि कोइराला निवास सर्ने तर्खरमा लागेको उनीहरूको तर्क छ। निवास नसरेसम्म चुनाव नजित्ने ज्योतिषीको सल्लाहअनुसार उनी बीपीपुत्र डा.शशांक कोइरालाको घरमा सर्न लागेको समाचार स्रोतले जनाएको छ।
अहिले मासिक ९० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको घरलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्ने र खाने सुत्ने चाहिँ शशांकको घरमै गर्ने गरी पुराना सहयोगी दाहालले सम्पूर्ण व्यवस्था मिलाएको कार्यकर्ताको भनाइ छ। २०५९ सालसम्म कोइरालाका निकट सहयोगी रहेका वीरेन्द्र दाहाल शाही शासनकालमा चिप्लिएर दरबार छिरेका थिए। ‘फ्रि तिब्बत मुभमेन्ट’ का जानकार मानिने दाहाल पछिल्लो समय पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआई’ सँग संलग्न रहेको बताइए पनि मूलतः उनी बीपीपुत्र शशांकका दारु पार्टनर हुन्। सम्पर्क कार्यालयको स्वकीय सचिव लक्ष्मण ढकाल र निवासको स्वकीय सचिव आफै हुनेगरी दाहालले कुरा मिलाएका छन्। घरमुली शशांक भने टोखास्थित फराकिलो कम्पाउन्ड भएको अर्का निजी निवासमा सर्ने भएका छन्। कानुनी रूपमा डिभोर्स नगरे पनि श्रीमती सुपात्रासँग अलग बस्दै आएका शशांकले हतपत्ति सार्वजनिक पहुँच नहुने टोखाको एकान्त ठाउँमा रिसोर्ट टाइपको बंगला बनाएका छन्। बीपीको राजनीतिक उत्तराधीकारी आफू भए जस्तै आफ्नो राजनीतिक उत्तराधिकारी बीपीपुत्र शशांकलाई बनाउने अभियानअन्तर्गत सुशील कोइरालाले निवास सर्न लागेको चर्चा कांग्रेस वृत्तमा गरिएको छ। सुजाता, शेखर र शशांकमध्ये आफूलाई बुढेसकालको सहारा जसले दिन्छ, उसैलाई उत्तराधिकारी बनाउने व्यक्तिगत चाहना उनमा छ।
ज्योतिषीको सल्लाहबमोजिम ८२ वर्षको उमेर (अब ३ वर्ष) सम्म पार्टी महाधिवेशन नगराउने, त्यसबेलासम्म पार्टी हाँक्ने जिम्मा शशांकलाई दिने गरी वीरेन्द्र दाहालले कुरा मिलाएको समाचार स्रोतले जनाएको छ। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई धकेल्दै भित्तामै पुर्याएर बुढेसकाल ज्यादै पीडादायी बनाइदिएका कोइराला यतिबेला आफ्नो बुढेसकाल पनि त्यस्तै हुने त होइन? भन्ने चिन्ताले आक्रान्त छन्। तर सुजाताले भने सुशील कोइरालाको बुढेसकाल गणेशमान र किसुनजीको भन्दा धेरै पीडादायी हुने घोषणा सार्वजनिक रूपमै गरिसकेकी छन्। उनको भनाइ छ– ‘सभापति पदमा बहाल हुँदा त उहाँले पार्टीलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुभएको छैन, पीए लक्ष्मणले नै चलाएको छ, सभापति पदबाट मुक्त भएपछि उहाँलाई कसले पुस्छ र?’
No comments:
Post a Comment