म आज ट्रेनमा एक्लै हिँडिरहेको छु । मलाई आज फतिमाले गरेको प्रश्नको जवाफ मैले चाँहदा चाहँदा पनि दिन सकिन । जवाफ थाहा हुँदा पनि मैले फतिमाको प्रश्नको जवाफ मात्र अभी सँग रहेको कुरा प्रष्ट्याएर घर फर्किँदै छु । किन फतिमाले यो कुरा जान्न खोजी भन्ने कुरानै दिमागमा राउण्ड अवाउट झैँ फन्फनी घुमीरहेको छ । कुरा मनैमा गढेपछि सजिलै एक्जिट लिन पनि नमिल्दो रहेछ । अभीको काम रातीको नौ बजे सकिने थियो, उ सोझै फतिमाको घर तिर आउँदै छ । आज रिचर्डको जन्मदिन हो । फतिमाले कर गरकै कारणले म पनि सरिक भएँ । फतिमाले कर गरेकै कारणले हातमा वाइन समाएको थिएँ । रिचर्ड ले फेरि आफ्नो जन्मदिनको वहाना देखाएर अर्को ग्लास थपिदियो । फतिमाले दिएको त वाईन नै थियो, तर रिचर्ड थपेको भने, वाइनको बोतलमा मिसाएको बन्डबर्ग रम हो कि झैँ लाग्यो । मलाई थाहा छ, रिचर्डलाई रम मन पर्छ, र उसलाई थाहा छ मलाई वाईन मन पर्दैन । अगिल्लो चोटि नेपालबाट आउँदा खुकुरीकै आकारभित्र भएको खुकुरी रम उपहार ल्याइदिएको थिएँ मैले । उसले बदलामा मसँग हाँसो गरेर “नाव यु क्यान म्यारी माई डटर” भनेको प्रसंग सम्झिँदा म एक्लै ट्रेनभित्रै अलिअलि लागेको नशाको मुडमा हाँस्न पुगेछु । अरु यात्रुलाई असामान्य नलागोस् भनेर मैले आँखा मोवाईलतिर गाडेँ । रिचर्ड ले तेसो भन्दा उसलाई फतिमा र अभीको निकटता बढीरहेको कुरा थाहा थिएन । अहिले भने उसले खुलेर अभीलाई फतिमाको प्रेमी भनेर स्विकारेको छ ।
“ह्याज अभि इभर ह्याड अ गर्लफ्रेन्ड” ?, फतिमाले मलाई सोधेको यो प्रश्न जति प्रष्ट थियो, त्यतीनै अस्पष्ट लागिरहेको छ उसले मलाई यो प्रश्न सोध्नुको कारण । यसो हुने बित्तिकै मलाई फतिमाको घरमा बस्न मन लागेन । उसले पछि म गम्भिर भएको देखेर, मलाई यो कुरालाई सिरियसली नलिन आग्रह गरेकी थिई । उसले यत्तिकै सोधेको भनेर भने पनि मलाई यो कुरा त्यति सहज नलागेपछि म केही समय बिताएर, अभी काम बाट नआउँदै केही काम भएको निउ पारेर त्यहाँबाट निस्किएको थिएँ । अभीलाई ट्रेनभित्रबाटै सम्पर्क गर्न खोजेँ । यतिखेर अभिले फतिमालाई निकै प्रेम गर्छ,, फतिमाका लागि यो नै पर्याप्त कुरा हो । फतिमाले, आई वील नेभर डिग इन टु हिज पास्ट भनेर धेरैचोटि भनेकी छ, । अभिको एक्स गर्लफ्रेन्ड पनि सिड्नीमै छ । तर तिन बर्ष भइसक्यो उ सँग अभि छुट्टिएको । यतिञ्जेल सम्म नसोधेको प्रश्नलाई अहिले आएर सोध्नु ? मैले लामो शास फेरेँ । मनमा एककिसिमको चिसो पस्यो । म चाहन्न यिनिहरुको सम्बन्धमा कुनै रोकावट आवोस् ।
फतिमाले कहिले काहीँ अफ्ठ्यारोमा पार्छे मलाई, लास्ट मन्थपनि हामीलाई एउटा ताल न बेतालको प्रश्न गर्दै थिई । यस. बि. यस. मा भारतको यौन ब्यपारको बारेमा बनाईएको बृतचित्र प्रसारण भइरहेको थियो । सब टाइटल र न्यारेसनको माध्यमबाट बुझ्न सजिलो भएकाले फतिमा निकै चाख दिएर हेर्दै थिई । हुन त मानिसहरु कति कम मुल्यको लागि सेक्स गर्छन् भन्ने कुरा उसको लागि पनि नौलो होइन । संसारको जतिसुकै महंगो शहर भनेपनि यहि सिड्नीमा मात्र बिस डलरमा पनि एक घण्टाको लागि केटीहरु केटासँग हिँड्छन् । कसैले सोचेको थिएन फतिमाले हामीसँग तिमीहरुले पनि बेश्या सँग रात बिताएका छौ भनेर सोध्छे भनेर । म र अभी तेतीखेर मुखा मुख गरेका थियोँ । “ आइ डन्ट नो अबाउट अभी, बट आइ डन्ट प्रिफर टु ह्याभ सेक्स विथ अननोन पर्सन”, मैले यति भने पछि फतिमा अभी तिर फर्किएकी थिई । बिचरा अभीले संकोच मानेर, मात्र “नेभर” भनेर कुरा अन्तै मोडेको थियो । म ट्रेनभित्र फेरि एक्लै हाँसेछु । अब चाहिँ मलाई अरुले मेन्टल भन्छन् कि भन्ने पिर लाग्यो । यसपाली भने स्टेशन आएछ । मोबाइलमा आँखा गाड्नु नपर्ने भयो । प्लेटफार्म बाट फेरि अर्को ट्रेन बदल्नु थियो । वलाई क्रिकबाट पनानिया जाने ट्रेन समाउनका लागि अझै आठ मिनट बाँकि छ । अरु के गर्नु । फेरि मोबाईल तिरै शिर झुकाएँ । हरीले आज कसको कविता शेयर गरेछ । कविता पढेपछि मनमनै हाँसे । फेरि फतिमाको प्रश्न याद आयो । हुन त म प्राय कविता बुझ्दिन, र पनि यो कविताको टुक्रा मलाई यतिखेर सान्दर्भिक लाग्यो । अभीले फतिमा सँग जति ढाँटेपनि, यो कविताको पात्र र अभीले एउटै डुँगामा यात्रा गरिरहेझैँ लाग्यो ।
“बेश्यासँग रात बिताएपछि
भोलीपल्ट सखारै
एक सर्को चुरोट र चियाको चुस्कीसँगै
कविले प्रश्न गर्यो आफ्नै कविताभित्र !
असनदेखि हाँडी गाउँसम्म आईपुग्दा तिरेको
ट्याक्सीभाडा भन्दा पनि
किन सस्तो थियो उनको मुल्य ?
कविले त्यही साँझ
सोध्यो आफ्नै कवितालाई
भ्निदे ओ कविता !
कति हो तेरो कविको मुल्य ?
(ISSUE 99- NEPALI PATRA AUSTRALIA)
No comments:
Post a Comment