समुन्द्रको किनारमा उभिएको छु यतिखेर । आजकल साँझ चाँडै पर्न थालेको छ । चिसो छ । ब्राइटन बिचका छेउमा चराहरु कानै खाने गरि कराइरहेका छन् । भोकाएर होइन, यी चराहरुको स्वभाव नै यस्तै छ । म यसरी नै बिताउँछु कैयौँ साँझहरु जब एक्लै हुन मन लाग्छ, सम्बन्ध, भीड र उही मेरो प्रिय नोटबुक अथवा आइप्याडबाट टाढा । तर पनि मोबाललाई अझै छोड्न सकेको छैन, तर जब म एक्लै यसरी समय बिताउन चाहन्छु मेरो मोबाइल साइलेन्स मोडमा हुन्छ, भाइव्रेट पनि नगर्ने साइलेन्स । तेसैले त कहिलेकाहीँ शुन्यता र मौनताबिचको दुरी पनि महत्वपूर्ण लाग्छ । छुन त यतिखेर पानीको छाल छोएको छु । टेक्न त यही लच्किने बालुवामाथि टेकेको छु, तर पनि सम्झिरहन्छु घरिघरि पुरानो घाउ कोट्याइरहेझैँ त्यही समय जतिखेर जिन्दगीपनि शायद अनुत्ततिरत थियो समयसँगै, बुझ्दै थियो, म जिन्दगीभएर जन्मिएको मात्र छु, जिन्दगीलाई छुन अझै वाँकि छ । यतिखेर ब्राइटन विचको किनार किनार हिँड्दा पनि म किन झस्किन्छु मानौँ फेरि घर भित्र फेरि बाढी पसेको छ, र निन्द्राबाट ब्युँझिन नपाउँदै म फेरि बाढीको अनुहार देख्दैछु ।
“आमा, दुईचोटी पसीसक्यो बाढी घर भित्र, यसपाली पक्की घरकै बिम बाँधौँ”, मेरो गाढा अनुरोध सँधै फिका भएर फर्किन्थ्यो आमाको छोटो जवाफ भएर, “ह्या, कतिचोटी एउटै कुरा समाएर बस्छ यो”! हुन त मलाई पनि कोहलपुरमा बस्न मन छैन । आइएस्सी नेपालगंजमा पढ्न सुरु गरिहालेँ नत्र मैले जानेको थिएँ, म मनमनै भत्भताउँथे त्यतीखेर, क्याम्पसमा बिदा थियो । बसपार्क, कहिल्यै पुरा नहुने टाउन प्लानिङ र बसपार्क पछाडिको अत्यासलाग्दो जंगल जहाँ जंगलबधुहरु पछाडिको कपडामा मडारिएको धुलो पनि नटक्टकाइकन चुरोट पिउँदै निस्कन्छन्, त्यो पनि दिउसै । राम्रा कुराहरु पनि छन् यहाँ, मलाई मन पर्ने बेलाउँती र कागतीका रुखहरु । म उक्लिन्थेँ बेलाउँतीका रुखमा, र दुइचारवटा बेलाउँती जाँगेका गोजीमा हाल्दै बसपार्क तिर निस्किन्थेँ । बसपार्कमा छिर्ने बित्तिकै दाहिने तिर मलाई निकै माया गर्ने दिदीको पान पसल थियो, त्यो दिदीलाई मैले गिज्याएर सँधै जुम्ली दिदी भन्थेँ । त्यो दिन मेरो जाँगेको खल्तीमा दुबैतिर बेलाउँती भएकाले, कसिएर जाँगे पुक्क—पुक्क उठेको थियो । हातमा भएको बेलाउँती टोक्दै मैले उनलाई भनेँ, “ए जुम्ली दिदी बेलाउँती खान्छ्यौ”, जुम्ली दिदीले यसपाली निकै उरन्ठ्यौलो जवाफ दिइन । “ के हो ! तेरो शरिरमा कति वटा बेलाउँती छन् भन् त ” ? कुरो सुन्दा त सोझै थियो तर उनले मस्किँदै भनेको हुनाले यिनी आज फेरी छाडा भइन जस्तो लागेर, दोकान बाहिरै बाट बेलाउँती ले जोडले हानेर निस्किएँ । तर उनले हातले नै समाइन । “तँलाइ गधा, चोट लागेर टाउकोमा टुटुल्को उठेको भए के हुन्थ्यो ”? मैले पनि पछाडि नफर्किकन जवाफ फर्काएँ, “के हुन्थ्यो र ? तिम्रो टाउकोबाट पनि एउटा बेलाउँतीे निस्किन्थ्यो” । उनको हाँसो म टाढै पुगिन्जेलसम्म पनि सुन्दैथिएँ । जुम्ली दिदीलाई हामीले जुम्लाबाट झरेकी भएकाले जुम्ली दिदी भनेका थिएनौँ । उनको पुरानो घर त बाग्लुङ थियो । दिदी जुम्लीहरुको निकै संगत गर्थिन्, ब्यापार गर्दा जुम्लीहरु सँग दुरुस्तै पारेर बोल्थिन् । अनि हामीले गिज्याएर भन्न थाल्यौँ — जुम्ली दिदी । उनको एउटा भाई छ, किराँत । उ मेरो साथी हो । फर्किँदा किराँत कता छ भनेर पनि सोध्दै नसोधि निस्किएँ । त्यसपछि त्यो दिन कतै जान मन लागेन । घरमा एउटा ब्रिक गेम थियो, तेही खेल्दै साँझ पर्यो । त्यो दिनमा घरमा बा हुनुन्थेन । केही काम परेर लखनउ जानु भएको थियो । आमा र म दुबै चाँडै खाना खाएर सुत्यौँ । आमाले राती ब्युँझाउँदा थाहा भयो, बाढी फेरी पसेछ । म निदाएपछि पानी पर्न थालेछ । आमाले पानी बिदा भइहाल्लाकी भनेर मलाई पहिले उठाउनुभएनछ । तर भेल बढेर खटीयासम्म पुग्न थालेपछि मलाई ब्युँझाउनै पर्ने भयो । हाम्रो घर अलि गहिरो ठाउँमा थियो, छेउमा एउटा सानो नाला थियो , र घर पछाडि घना जँगल । घरमा बा पनि नहुनुभएका कारण मलाई डरलाग्न थाल्यो । म र आमा दुबै खटिया माथि उभिएका थियौँ । त्यसो गर्दा पनि घुँडा सम्म आईपुग्यो । आमाले मलाई पानी तिर नहेर् दराज तिर फर्कि भन्नु भयो । भान्छा तिरको स्टिलको दराजमा समातेर निहुरिँदै थिएँ, आमाले हातले भेलतिर निहुरिएर केही पन्छाएझैँ गर्नुभयो । मलाई लाग्यो भेलले पहिले जस्तै दाउरा र काठ बगाएर ल्यायो । बाढीको पानीले त मलाई त्रसित बनाउन छोडिसकेको थियो, तर त्यो साँझ बाढी सँग अर्को आपत घरभित्र पस्यो । आमाले यसरी हातले पन्छाएको काठ वा दाउर नभएर सर्प रहेछ । अब त्रासको कुनै सिमा रहेन । आमालाई थाहा थियो म सर्पसँग कति डराउँछु भनेर । त्यसैकारणले मलाई दराजतिर समातेर बस भन्नु भएको रहेछ । म सँग कुनै उपाए थिएन । भेलमा कतिवटा सर्पहरु बगेर आए र आमाले कति सर्पहरुलाई हातले पन्छाउँदै म तिर आउन दिनुभएन मैले हेक्का राखिन । तर आमालाई मैले रुँदै भने, “आमा म अब यहाँ बस्न सक्दिन”, आमाले यसपाली भने, बल्ल हुन्छ तँलाई हामी पोखरा नै पठाउँछौ भन्नु भो । म हक्कानिँदै रुन थालेँ, “हुँदैन ! हामी सबै जाने”! म सानो तिनो कुराले रुँदैनथेँ, म रोएको देखेर आमा पनि रुन थाल्नु भो ।
धन्य छ, यो जिन्दगी कमसेकम सँधै पानी जस्तै आरालो खोज्दै हिँड्दैन, नत्र बग्थ्यो होला समय, डस्दै प्रीय सपनाहरू । यत्तिकैमा चिसो हावा चल्यो । मोबाइल हेरेँ । अभिसाको पन्ध्रवटा मिसकल आएछ । मन गरुङ्गो भएको थियो । अभिसालाई मात्र टेक्सट पठाएँ,“आई विल बि दियर विद इन फाइभ” । उभिएर एकचाटि आँखा चिम्लिएँ र लामो शाश तानेँ, ब्राइटन बिच करिव करिव अँध्यारोमा गुट्मुटिइ सकेको थियो । समुन्द्रको चिसो हावा नाक भित्र पस्यो अनि कारपार्क तिर सोझिएँ । मन भने अझै सेलाएन । आज फेरि आँखाभरी आमा भरिइन । अभिसा म सँग अतिनै रिसाइछ ! टेक्स्टको रिप्लाई आयो, “डन्ट ओरी, आई विल क्याच अ ट्याक्सी” । मैले यसको जवाफ पठाइन । मलाई थाहा छ, उनी मलाई नै कुर्नेछिन् ।
nisprabhsaji@gmail.com
(AUSTRALIAKO NEPALI PATRA - ISSUE 100)
No comments:
Post a Comment