Monday, June 10, 2013

धनीका सपना



घडीलगाउने रहर त्यतिबेला अधुरै रह्यो,' कुराकानीको बीचमा उपेन्द्र महतोले सुनाए ।

भएको के थियो भने २०३४ सालतिर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियरका विद्यार्थी उपेन्द्रले छात्रवृत्ति पाए । सात सय रुपैयाँ हातमा पर्‍यो । होस्टलमा कोठा नपाएपछि क्याम्पस नजिकै बनिरहेको एउटा घरको रखवालीसमेत गर्ने गरी तीनजना विद्यार्थी महिनाको सय रुपैयाँ भाडा तिरेर बसेका थिए । यस्तैमा छात्रवृत्तिको पैसा आयो । अनौपचारिक रूपमा सबभन्दा धनी नेपाली मानिने उपेन्द्रले सात सय रुपैयाँका बारे भने, 'त्यो ठूलै रकम थियो, मेरो जीवनको पहिलो कमाइ थियो ।' 

मनमा लाग्यो, यत्रो पैसाको उपयोग कुनै राम्रै काममा हुनुपर्छ । योजना बन्यो, घडी लगाउने । बुबाले चिनेका केही मानिस थिए, जो हङकङ आतेजाते गरिरहन्थे । हङकङबाट घडी मगाउने योजना बुनियो । तर, घडी लगाउनुअघि नै कसैले पैसा साफ गरिदियो । सबै योजनाको फाइलमा 'सम्पन्न'को छाप लाग्ने भइदिएको भए सायद संसार यति दुःखी हुँदैनथ्यो होला । यो योजना पनि त्यस्तै बन्यो । कसैले पूरै बजेट घुस खाइदियो ।

ट्याङ्काको ताल्चा फोडेर पैसा चोरिएको थियो । कोठाका साथी मौन थिए । स्थिति बडो असहज बन्यो । घडीको तृष्णाले समयलाई नै रोक्लाजस्तो भयो । एउटा साथीले मुख फोरे, 'पुलिसमा गयो भने झन् लफडा हुन्छ ।' पैसा कहाँ पुगेछ, कुरो बुझियो । कलेजमा पनि उसले पैसा चोरेको हल्ला फैलियो । 'नैतिक संकटमा परेका ती साथी बीचैमा पढाइ छोडेर गए, मलाई अहिले पनि मेरो पैसाका कारण उसको जीवन बर्बाद भयो भन्ने पीर लाग्छ,' उनले सुनाए । समय नबताई घडी यसरी बन्द भयो । यसपछि अलार्मका लागि टेबुलघडी किने पनि नाडीमा लगाउने घडी किन्न निकै समय कुर्नुपर्‍यो । 





२०३० सालतिरको सिरहा । पञ्चायत व्यवस्थाविरुद्ध सुषुप्त विरोध चलिरहेको थियो । कमला नदी किनारका सिरहा र धनुषाका गाउँमा वामपन्थी संगठन फैलिँदो थियो । कमला किनारकै कर्जन्हाको हाइस्कुलमा सात कक्षा पढ्ने एउटा केटालाई भने यी कुरासँग केही मतलब थिएन । भर्खरै मात्र कसैले सुनाएको एउटा अचम्मको कुराले दिमाग खाइरहेको थियो । सुनाउनेले सुनाइदिएको थियो, 'इन्जिनियरले पक्की घर हेरेर त्यसमा कति इँटा, कति बालुवा र सिमेन्ट लागेको छ ठ्याक्कै भन्दिन सक्छ ।' अरे बा ! कसरी सक्छ होला ? 'त्यसो भए म पनि इन्जिनियर बन्छु र एक दिन ठूला घरमा कतिवटा इँटा छन्, सबलाई भन्दिन्छु,' केटाको मनमा यस्तो संकल्प थियो । 

मन न हो, मोडियो । दस कक्षामा आइपुग्दा केटालाई लाग्यो, 'होइन, बन्नु त डाक्टर पर्छ ।' २०३३ सालमा ६५ प्रतिशतसहित फस्र्ट डिभिजन ल्याएर एसएलसी पास गर्दा मनमा डाक्टर बन्ने कि इन्जिनियर बन्ने भन्ने द्वन्द्व कायम थियो । तर, जे बने पनि पढ्नलाई राजधानी काठमाडौं जानुपर्छ भन्नेचाहिँ पक्का थियो । 

यसरी उपेन्द्र महतो असारको एउटा उष्ण दिनमा आपmना काकाको साथ लागेर काठमाडौं आइपुगे, जीवनमा पहिलोपल्ट जुत्ता लगाएर । आठ कक्षामा छँदा पहिलोपटक जनकपुर पुग्दा उनलाई यो सहर भव्य लागेको थियो । काठमाडौंमा चाहिँ सबभन्दा बढी आश्चर्यमा टुँडिखेलले पार्‍यो । 'मैले त कुनै जमिन्दारको निजी सम्पत्ति होला भन्ठानेको,' स्मृतिमा यस्तै टाँसिएको छ । तराईंबाट पहिलोपटक आउनेका लागि असारका दिनमा पनि काठमाडौंले तर्साउने जाडो पालेर बसेको थियो । 'मलाई पछि रुस पुग्दा बरु त्यति जाडो लागेन,' केही दिनका लागि बेलारुसबाट नेपाल आएका उपेन्द्रले राजधानीको आपmनो घरमा भने । भाटभटेनीको घरलाई उनले यज्ञालय नाम दिएका छन् । अघिल्लो वर्ष रामदेवको योगा क्लास र यो वर्ष तिरुपति बालाजीको खुलामञ्चमा बिहे गराउने कर्ममा केही रोपनी कम्पाउन्डमा फैलिएको यो घरले योगदान दिएको छ । यो सहरमा पहिलो रात भने उनले खिचापोखरीको एउटा लजमा बिताएका थिए । 'दुई बेडको कोठाको तीस रुपैयाँ जति तिरियो,' ठूलो सहरको पहिलो दिन उनलाई अझै याद छ । काठमान्डु त आइयो तर पढ्ने के ? उनलाई लाग्यो, आखिर डाक्टर हुन पनि इन्जिनियर हुन पनि साइन्स त पढ्नैपर्छ । 'अनि, मैले अमृत साइन्स क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस र महाराजगन्ज मेडिकल कलेजमा जाँच दिएँ,' उनले सुनाए । पहिले अमृत साइन्समा नाम निस्कियो । भर्ना भएपछि इन्जिनियरिङमा पनि निस्कियो । बनिसकेको घरको इँटाको संख्या ठ्याक्कै भनिदिने भूत सवारै थियो । उनी अर्को जिल्ला सरे, पाटन । 'लौ, उता गएको केही दिनमा फेरि महाराजगन्जमा पनि नाम निस्कियो,' उनी मजाले हाँसे । तर, यसपटक फेरि ठाउँ सर्ने कष्ट उनले गरेनन् । हस्पिटललाई एउटा डक्टर कम भए हुन्छ, देशलाई घर बनाउने मान्छेकै खाँचो छ ! पढ्न थालेपछि थाहा पाइयो, इँटा पत्ता लगाउनु सोचेजस्तो ठूलो काम होइन रहेछ । सोचेका सबै कुरा न ठूला हुन्छन् न सत्य ! त्यो घडी प्रकरण यसपछिको कथा थियो ।





२०३३ सालमा १७ वर्षको उमेरमा पहिलोपटक काठमाडौं आउँदा ३० रुपैयाँ भाडा तिरेर एउटा लजमा बसेको मान्छे त्यसको तीस वर्षमा सबभन्दा धनी नेपाली कसरी बन्यो ? यो त्यो यात्राको कथा हो । डा. उपेन्द्र महतोलाई अहिले आपmनो कति पैसा कहाँ लगानी भएको छ, थाहा छैन । भन्छन्, 'मलाई थाहा नभएकै राम्रोजस्तो लाग्छ ।' साथमा कहिल्यै पैसा बोकेर उनी हिँड्दैनन् । 'एक दुईपटक क्यास नभएर समस्यामा परेको पनि छु,' गोजीमा नभएर के भयो र ? ब्यांकमा त छँदैछ नि, त्यसैले उनी यसमा हाँस्न सक्छन् । सबैले सक्दैनन् । 

महिनामा पन्ध्र दिनजति उनको समय आकाशमा बित्छ । हवाई यात्रा सबभन्दा बढी हुने क्रियाकलापमा पर्छ । तर, उनलाई आपmनै जहाज किन्ने मन छैन । भन्छन्, 'सस्तो त पर्ला तर मलाई खै किन हो मेरो जहाज भन्न लाज लाग्छ ।' उनलाई लाग्छ, निजी जहाजमा हिँड्यो भने धेरैथरी मान्छे भेट्न पाइँदैन, 'समाजबाट टाढा पुगिन्छ ।'     

धनी हुने कुनै सूत्र छैन । भइदिएको भए, देशभरका प्लस टु र कलेजमा त्यही एउटा सूत्रमात्रै घोकाइन्थ्यो होला । तर, यसको मतलब धनी हुनै सकिन्न भन्ने पनि होइन । 'इमानदारी, मेहनत र भाग्य,' उपेन्द्रले यसको उपाय बताए । र, व्याख्या गरे, 'यसमा महत्त्वपूर्णचाहिँ मेहनत र इमानदारी हो, यो दुई चिज भयो भने भाग्यचाहिँ आपै+m आउँछ । तर, मेरो भाग्य छैन भनेर बस्यो भनेचाहिँ केही आउँदैन ।'





दुई वर्षमा ओभरसियर साब भएपछि उनी लागे विराटनगर । संयोग कस्तो भने, 'ओभरसियर पास भएकै दिन मैले मोरंग सिंचाई आयोजनामा नियुक्ति पाएँ,' उनले आपmनो कथाका पाना फुकाए । अब पालो आयो जहाज चढ्ने । 'जागिर पाएर पहिलोपटक विराटनगर जहाजमा जाने सल्लाह भयो,' उनले सुनाए । सँगै नियुक्ति पाएका साथी थिए, राजेश्वर साह । पाँच सयमा दुइटा टिकट । 'टिकट किनियो । भएभरको पैसा, चामल-तरकारी सबै सकाइयो । कोठाको चाबी घरपतिलाई छोडियो र एयरपोर्ट हिँडियो तर प्लेन त क्यान्सिल भयो, पर्‍यो आपत । अब के गर्ने, के खाने, कहाँ गएर सुत्ने ?' काठमाडौंमा राति अबेरसम्म हिँड्न ठीक थिएन । घरपतिले कोठा खोलिदिए । तर, खानेकुरा थिएन । प्लेन चढ्ने सुखले एक छाकको 'भोग' खायो । आखिर संसारमा भोको पेट सुत्ने उनी एक्लो मानिस पनि त थिएनन् । 

भोलिपल्ट जहाजले जागिरमा पुर्‍यायो, तलब- साढे ३ हजार । 'पहिलो महिनाको तलबले बुवालाई चाइनिज रेडियो र आमालाई साडी किन्दा यति खुसी लाग्यो कि जीवनमा यति खुसी दोहोर्‍याएर आएको छैन,' उनी सम्भिmन्छन् । त्यहाँ उनले डेढ वर्ष काम गरे ।  

त्यसपछि सुरु भयो, इन्जिनियर बन्ने चटारो । त्यसबेला ओभरसियरबाट सिधै इन्जिनियर पढ्न पाइन्थेन । काठमाडौं आएर अनेकथरी जाँच र इन्ट्रान्स दिने काम जारी थियो । यस्तैमा एक दिन खबर आयो, रसियाको स्कलरसिप पाइयो । यहाँबाट जीवनले अर्को मोड समात्यो । मस्कोमा स्कलरसिप पाएर पढ्न पुगेका विभिन्न देशका विद्यार्थीलाई होटलमा राखिएको थियो । रुम पार्टनर थिए, भीमकाय अपि|mकन । 'म डरले रातभर निदाउन सकिनँ,' उनी भन्छन्, 'तर एकै ठाउँमा पढ्न थालेपछि ती दौंतरी भए ।' बेलारुसको राजधानी मिन्स्कमा पढ्न पुगेपछि उनले जीवनमा पहिलोपटक टेलिभिजन हेरेका थिए । 





हरेक गरिबले धनी भएको सपना देख्छ । तर, धनीले आफू गरिब भएको सपना देख्छ कि देख्दैन ? यो प्रश्नको उत्तर दिनका लागि गतिलै धनी चाहिन्थ्यो, जुन उपेन्द्र थिए । उनलाई प्रश्न सोधियो, साथमा अर्को पनि जोडेर । कुनै दिन बिहानै ब्युँझिदा गरिब हुनुभयो भने तपाईको जीवन कस्तो होला ? नीलो चेक सुट र सुनौलो घडी टल्काएर बसेका उनले आरामले जवाफ दिए । 'मैले अहिलेसम्म आफू गरिब भएको सपना देखेको छैन,' यो जवाफ पहिलो प्रश्नलाई । 'गरिब भइएछ भने पनि मलाई खासै फरक पर्दैन, किनभने म धनीको घरमा जन्मिएर धनी भएको मानिस होइन, गरिबी भोगेर धनी भएको हुँ, गरिबी कस्तो हुन्छ मलाई थाहा छ,' योचाहिँ दोस्रोको ।

उनलाई कहिल्यै यति धनी हुन्छु भन्ने लागेको थियो ? उनको छोटो उत्तर आयो, 'थिएन ।' यसमा ज्यादा किचकिच गर्नुपर्ने जरुरी पनि देखिएन । बरु, उनलाई सबभन्दा बढी पैसाको अभाव कहिले भएको थियो ? 'स्कुल पढ्दा फिस तिर्न नसकेर मेरो नाम काटिएको बेला,' प्लेन क्यान्सिल भएर अलपत्र भएको बेलालाई चाहिँ उनले सम्झेनन् ।

उनलाई लाग्छ, अहिलेको जमानामा धनीको महत्त्व बढाउनका लागि गरिब होइन, धनी नै धेरै चाहिन्छन् । हामीले सोधेका थियौं, 'गरिब भएनन् भने धनीको महत्त्व पनि घट्ला होइन ?' उनले भने, 'पहिले धनीको सुरक्षा र काम गर्नका लागि पनि गरिब चाहिन्थे तर अहिले त धनी नै चाहिन्छ ।' त्यसो भए मानिसहरू धनीलाई किन गाली गर्छन् त ? एकथरी मानिसको राजनीति र पूरा करिअर नै धनीलाई गाली गरेर टिकेजस्तो देखिन्छ । जब कि सारा संसारको ध्यान पैसा कमाउनेछ । 'के धनी हुनु खराब कुरा हो ?' 'कहिले त धनी हुनु पाप नै हो कि जस्तो पनि पारिदिन्छन्,' उनले भने, 'चोरेर, लुटेर, भ्रष्टाचार गरेर धनी हुनुचाहिँ खराब हो । राम्राे काम गरेर धनी हुनु त रामो हो ।' 





उनी भाग्यमा खास विश्वास गर्दैनन् । तर, संयोगले चाहिँ उनलाई विश्वास गरेजस्तो देखिन्छ । जस्तै, रसियामा उनको व्यापारको कुरालाई लिनुस् । 'त्यसबेला बर्लिन पर्खाल भत्केको थिएन, रसियनले पश्चिम जर्मनीबाट सामान ल्याउन पाउँथेनन् । तर, विदेशीले पाउँथे । र, हामी नेपालीलाई भिसा पनि चाहिन्थेन । रसियनलाई चाहिन्थ्यो,' यो एउटा अवसर थियो । 

इन्जिनियरिङमा पीएचडी गर्दैगर्दा उनले साथीभाइसँग सापट मागेर पश्चिम जर्मनीको बिजनेस टि्रप गरे । 'त्यो बेला रुसमा जिन्स बेच्न पाइन्थेन तर सबैले लगाउन मन पराउँथे,' व्यापारको आइडिया यहीँबाट फुर्‍यो । मिन्स्क फर्किंदा उनले जर्मनीबाट केही थान जिन्स र इलेक्ट्रोनिक्स सामान ल्याए । रसियामा जिन्स पाइन्ट हारालुछ भयो । जसले लगानीको पाँच गुणाजति फाइदा थियो । 

त्यहीताका रसियाको राजनीतिमा ठूलो उथलपुथल सुरु हुँदै थियो । घर आउनुपर्ने भएकाले खर्च जुटाउनुपर्ने भयो । जर्मनीको टि्रपले व्यापारतिर मन लोभिएको थियो । र, अर्को 'बिजनेस टि्रप' गरे सिंगापुरको । 'त्यो बेला सिंगापुरमा पनि नेपालीलाई भिसा चाहिन्थेन,' रुसी साथीसँग गरेको यो यात्राबाट फर्किंदा उनले टन्नै कम्प्युटर पार्टस् र अरू इलेक्टि्रोनिक सामान लगे । यसले सोचेभन्दा धेरै फाइदा दियो । केही समयमा रसियन साथी मिलियावस्की अलेसान्द्रोसँग मिलेर उपेन्द्रले कम्पनी दर्ता गरे । कम्पनीले कम्प्युटर र इलेक्ट्रोनिक सामान आयात गर्ने काम सुरु गर्‍यो । उनी यो बेला पीएचडी गर्न दबाब दिने इन्टरनेसनल डिपार्टमेन्टका प्रोफेसरलाई सम्भिmन्छन् । एमई पास भएपछि नेपाल फर्किने तयारीमा रहेका उपेन्द्रलाई उनले पीएचडीमा भर्ना हुन सल्लाह दिएका थिए । तर नेपाल फर्किएरै छाड्ने अड्डी कसेपछि तिनले पासपोर्ट लुकाइदिए । अनि पीएचडीमा भर्ना नभई उपेन्द्रले सुखै पाएनन् । नेपाल फर्किएको भए सायद उनी सरकारी जागिरमा हुन्थे ।  

फाइदा राम्रो हुँदै गर्दा उनलाई व्यापार बढाउने मन भयो । विश्वविद्यालयमा छँदा उनी नेपाली छात्रसंघ र त्यहीँको विद्यार्थी संघको सभापति पनि भए । यसले गर्दा पनि उनलाई सम्बन्ध बनाउन सजिलो भयो । हङकङबाट एकैपटक धेरै सामान ल्याउने उद्देश्यले उनले मस्कोको एउटा बैंकसँग ऋण मागे । तर, बैंकले उनले सोचेभन्दा निकै बढी एक मिलियन डलर पठाइदियो, त्यो पनि कुनै लिखत नगरी । कुनै साथीले त जीवनमा एक मिलियन डलर कमाउन सकिने होइन पचाइदेओ भन्ने सल्लाह पनि दिएका थिए । तर उनी बरु व्यापार बढाउनतिर लागे ।  व्यापारले फड्को मार्ने यो एउटा संकेत थियो । अहिले पेट्रोलियम रिफाइनरी, बैंक, टेलिभिजन, हेभी इक्विप्मेन्ट, रियल स्टेट, टेलिकम गरी उनको व्यापार युरोप, अपि|mका र नेपालसम्म फैलिएको छ । युरोपकै ठूलो इलेक्ट्रोनिक्स सुपरमार्केट उनकै नाममा छ । 'हामीलाई सजिलै ऋण दिलाइदिने बैंकका अध्यक्ष पछि रसियाको केन्द्रीय बैंकको गभर्नर भए,' उनले सुनाए, 'अवकाश भएपछि बैंक खोलेर उनलाई अध्यक्ष बनाइयो ।'

प्रकाशित मिति: २०६८ फाल्गुन २० १०:१६

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete