देशमा क्रियाशील प्रमुख राजनीतिक पार्टीका प्रमुख नेताहरू स्वार्थी र जड भए भने मुलुक गत्यावरोधको शिकार हुने रहेछ। अहिले नेपालमा त्यही भएको छ। मुलुक हाँक्ने मुख्य जिम्मेवारी पाएका एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र एमालेका प्रमुखहरू पटकपटक असफलसिद्ध भइसकेका छन्। इतिहासको नकारात्मक शिक्षाबाट पाठ सिक्नुभन्दा पनि अँध्यारो भविष्यतिर मुलुकलाई जबर्जस्त धकेल्दैछन्।
चार दलका नेताले गर्ने काम, देश र जनताका लागि त कुरै छाडौं पार्टीलाई समेत एकीकृत बनाएर डोर्याउन सकेका छैनन्। सशस्त्र सङ्घर्षमा पार्टीभित्र निर्विकल्प नेतृत्व रहेका र आफ्नै नाममा विचार ‘प्रचण्डपथ’ बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि आफ्नो नाममा रहेको विचारलाई मात्र थेग्न नसकेको होइन, पार्टीलाई समेत एकीकृत राख्न सकेनन्। ज्यान हत्केलामा राखेर प्रचण्डसँगै लड्दै आएका मणि थापाहरूले पार्टी छाडे। तराईका स्थापित नेता मात्रिका यादवले सशस्त्र संघर्षकालमा बाहिर विरोध गरेर बसेका नारायणकाजी श्रेष्ठहरूलाई नेता बनाएर पार्टीमा भित्र्याइएकोमा विरोध गर्दै अलग्गै पार्टी खोलेर हिंडे। मात्रिका यादवसँगको फुट नै अन्त्य भएन। तलदेखि माथिसम्म सशस्त्र संघर्षमा सहभागीहरू झण्डै आधा हिस्सा लिएर मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल′ जस्ता होनाहार नेताहरू अलग्गिए।
प्रचण्डका गुरु तथा विचारक किरण र सशस्त्र संघर्षकालका फौजी रणनीतिकार बादलको बहिर्गमनले तत्कालको स्वार्थ र आवश्यकताले मात्र एकता बनिरहेको बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको आडमा प्रचण्डको राजनीति ढल्पलढल्पल गर्दै चलिरहेको छ। पोल्टाको पोखेर भूइँको टिप्ने काममा प्रचण्डले जाँगर चलाइरहेका छन्, विभिन्न पार्टीमा हैसियत गुमाइसकेका लोभीपापी, अवसरवादी नेताहरूलाई आफ्नो पार्टीमा हुलेका छन्/हुल्दैछन्।
नेपाली कांग्रेस गिरिजाप्रसाद कोइरालाको निधनपछि नेतृत्वविहीन बनेको छ। सुशील कोइरालाले स्वच्छ छवि कायम राखे पनि पार्टीलाई गति दिन पटक्कै सकेका छैनन्। जनमत नेपाली कांग्रेसको राम्रो रहे पनि यसलाई सम्हालेर लैजानसक्ने क्षमता कोइरालाको पटक्कै देखिएन। महाधिवेशन भएको धेरै भइसक्दा पनि कमिटी र विभागलाई समेत समयमै पूर्णता दिन नसक्नु र दिएकाहरू पनि चर्को विवादमा पर्नु जस्ता कुराले कांग्रेसको अहिलेकै नेतृत्वमा चुनावमा जाँदा कांग्रेस निकै कमजोर सावित हुने पक्का छ। एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्व त झन् आफ्नै पार्टीमा निकै कमजोर सावित भइसकेको छ। खनालले बाहिर एउटा निर्णय गरेर आउने तर पार्टीले उल्ट्याइदिने काम पटकपटक भएको छ। सामान्यतः यस्तो अवस्थामा नैतिकताका आधारमा नेताहरूले राजीनामा दिने प्रचलन हुन्छ। तर, खनाल त्यस्ता नेता ठहरिए, जति पटक कमिटीले अल्पमतमा पारे पनि पद छाड्दै नछाड्ने। खनालको नेतृत्वकै कार्यकालमा अशोक राई लगायत धेरै नेताहरूले पार्टी छाडे। कतिपय नेताहरू पार्टी छाड्दै एमाओवादीमा प्रवेश गर्दैछन्। संविधानसभाको निर्वाचनपूर्व महाधिवेशन गरेर हुन्छ अथवा कुनै अर्काे उपयुक्त विकल्प सोचेर हुन्छ, कार्यकर्तालाई उर्जा र जनतामा आकर्षणका लागि नेतृत्वको विकल्प एमालेले नसोच्ने हो भने एमाले पनि कमजोर सावित हुने पक्का छ। विजय गच्छेदार संलग्न दल, मधेसी जनअधिकार फोरम फुटेर आधा दर्जनभन्दा बढी अन्य मधेसी नाममा दल खडा भइसकेका छन्।
एमाओवादी, नेकां, एमाले, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) मात्र होइन सबैजसो पार्टीका प्रमुख नेताहरू यो पाँच वर्ष(२०६५ साल)बाट असफल मात्र होइन अति नै बद्नाम भइसकेका छन्। चार दलका यी प्रमुख नेताहरूले सहजतापूर्वक स्वच्छ छवि भएका, उर्जावान युवा नेतृत्वहरूलाई अगाडि बढाएनन् भने यिनीहरू त फेल खान्छन् नै, देशलाई समेत रसातलमा पुर्याउनेछन्। अहिलेको नेतृत्वले चुनावमा संख्यात्मक रुपमा थोरै जीत–हार हात पारे पनि मुलुकलाई चाहिं फेरि पनि निकास दिन सक्ने छैनन्। प्रचण्ड, सुशील, झलनाथ र गच्छेदारले पदबाट राजीनामा दिएर स्वच्छ राजनीतिक निकासका लागि वातावरण बनाउनु मुलुक, जनता र पार्टीहरूको हितमा हुनेछ। यसो हुन सके अरु साना–ठूला, भारेभुरे दलमा समेत दबाब पर्नेछ।
२०४८ सालपछिको नेपालको राजनीति स्मरण गर्ने हो भने, नेपाली नेताहरूको इगो, कुण्ठा र लोभीपापी चरित्रले देश बर्बाद भइसक्यो, अनि हाम्रा सन्ततिको भविष्य समेत बर्बाद भइसक्यो। अझै कति बर्बाद पार्ने हो? नागरिक समाज र स्थापित मिडियाहरूले पनि असान्दर्भिक नेताहरूको विपक्षमा जनमत निर्माणमा लाग्ने कि?
No comments:
Post a Comment