Friday, May 17, 2013

हिंसा रच्नेहरुलाई सधैं आफै मारिने डर


गर्दनको माया हुनेले राजनीति नगरे हुन्छ 
माओवादीले मान्छे मार्न सशस्त्र विद्रो थालेको वर्ष २०५२ को अघिल्लो दिनसम्म कुनै दुर्घटना बाहेक मान्छे मारिएको घटना हुँदैन थियो । उसले ‘महान क्रान्ति’ भनेको विद्रोहको यो दश वर्षमा सवैभन्दा सजिलो र प्रत्येक दिन एउटा सानो विषयमा पनि बन्दुक चलाइ हाल्ने र मान्छे मारिइ हाल्ने एउटा डरलाग्दो र दुःखद पुम्पराको जग नै बस्यो ।
त्यसको सवैभन्दा पछिल्लो उदाहरण हो-भक्तपुर गोठाटारको माघ ६ गतेको घटना । दुई पक्षीय झगडा जो विधिवत मिलिसकेको थियो, पछि माओवादी हतियार उन्माद प्रकट भयो र त्यो झगडा वा ती दुई पक्षका विषयमा कुनै सम्वन्ध र सरोकार नै नभएका एक बालकको यति अकल्पनीय रुपमा ज्यान लिइयो कि त्यसलाई व्यक्त गर्ने शव्द नै नहोला ।
गल्ती माओवादीको थियो । गोली उसवाट चल्यो र भरे एक त्यस्तो निर्दोष वालक जसले आफु पढेको स्कूलमा सवैलाई उछिनेको रिजल्ट आफ्ना आमा-बाबुलाई सुनाउन मनभरी पठन पाठनको विजयीभाव भरेर हतार हतार आफ्नो घरतर्फ गइरहेका थिए । माओवादी कार्यकर्ताले गोली चलाए विचरा घर पुग्नै नपाई आफ्नो त्यो बौद्धिकता सहितको यो संसारमा प्रवेश गरेको एउटा बालक खुत्रुक्क भयो । कुनै दोष, दाग र दागी केही नभएको एउटा बालकको यो हत्याले एउटा परिवारको भावी पुस्ता समाप्त मात्र गरेन, माओवादीका लागि मानव के हो भन्ने एउटा उदाहरण नै प्रस्तुत गर्‍यो । उसका लागि मान्छे केही होइनन, जुनसुकै बेला जहाँसुकै खुत्रुक्क पार्न सकिन्छ ।
१० वर्षीय बालक सन्तोषको हत्या घटनाको खवर पढे पछि धनकुटाका दुईजना साधारण नागरिक नोदनाथ त्रिताल र दीपक दाहालले आफ्नो मन यसरी पोखेका छन्- ‘माओवादी कार्यकर्ताको निर्देशनमा गोली प्रहार’ शीर्षकको खवर पढ्दा आङ नै जिरिङ्ग भयो । मारिएका बालक सन्तोषले स्कूल फष्ट भएको समाचार सुनाउनै पाएनन् भन्ने कुराले त झनै भावुक बनायो । आमा सरस्वतीको भावविह्वल तस्वीरले आम नेपाली आमाहरुका आँखा रसाएका छन्, मुटु काँपेका छन् । भविष्यको योग्य कर्णधार बन्न सक्ने, कक्षा २ देखि नै प्रथम भई तीक्ष्ण बुद्धि र क्षमता प्रदर्शन गर्दै आएका १० वर्षे सन्तोषलाई गुमाएर राष्ट्रले एउटा होनहार नक्षत्र गुमाएको छ । त्यसमा हामी सबैको हृदय रसाएको छ । जति नै लेखेपनि यस्तो पीडामा परिवारलाई समवेदनाका शव्द कम हुन्छन् मन बुझाउन गाह्रै हुन्छ ।

अरुको यति सजिलै हत्या गर्ने गराउनेहरु आफै चाहि मर्नवाट कति डराउँदा रहेछन् र त्यही समाजभित्र बारम्बार आफु असुरक्षित रहेको, आफुलाई मार्न खोजिएको भन्दै चिच्याउँदा रहेछन् भन्ने माओवादीकै अध्यक्ष पुष्पकमल दाहालवाट पटक-पटक सार्वजनिक भएका अभिव्यक्तहरुलाई एकै ठाउँमा राखियोभने एउटा  विचित्रको चित्र बन्दछ । अरुलाई मार्ने हातहरु, मार्न लगाउने दिमाग र त्यसका लागि प्रयोग भइरहेका हतियारहरु मान्छे मार्नेका सपनामा सधै आफैतिर तेर्साएको देख्दा रहेछन् भन्ने पनि यसले बताउँछ । तर त्यो सपनाले आमनागरिकको होइन- आफ्नै जीवनको मात्र चिन्ता बोकेको पाइयो । ‘मलाई सुरक्षा खतरा छ’ यस्तो भनाई माओवादी अध्यक्ष प्रचण्डले बितेको एक वर्षमा दशौं पटक जति दोहोर्‍याई सकेका छन् । त्यो खतरा कसवाट छ भन्ने चाहि उनले खुलाएका छैनन् ।
एकः पुस २५ गते उनको मारिने संभावना रहेको भन्ने पछिल्लो सार्वजनिक अभिव्यक्ति हो । माओवादीको नेवाः राज्य समितिको अन्तरकृया कार्यक्रममा उनले राजा वीरेन्द्रको २०५८ सालमा भएको हत्या र २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दुर्घटनाबाट मृत्यु जस्तै आफुमाथि पनि मार्ने षडयन्त्र भैरहेको भनी बताएका थिए । उनले पछिल्लो पटक आफुलाई मार्ने षडयन्त्र भैरहेको भनि बताएको एघारौ दिन माओवादी कार्यकर्ताको निर्देशनमा गोठाटारमा १० बर्षिय बालक सन्तोषको हत्या भयो । त्यो हत्याको भोलिपल्ट प्रचण्डले बर्दियामा एउटा आमसभामा सम्वोधन गर्दा यो हत्याका वारे एक शव्द पनि बोलेनन् । उनको भनाइ थियो- आफु चाहि मर्नवाट डराउँदिन ।
दुई : उनी प्रधानमन्त्री रहेकै बेला पनि उनको आफ्नो मूल्याङकनमा माओवादीको नेतृत्वलाई हत्या गरेर सिध्याउने खेल भैरहेको पाएका थिए । २०६५ पुस २९ गते नेकपा एकता केन्द्रको एकीकरण घोषणा सभामा उनले भने- माओवादीको सरकार हटाउने र यसका सबै नेताहरुको हत्या गरेर सिध्याइ दिने योजना बनिरहेको छ । सम्पूर्ण सरकारी संयन्त्र आफ्नै हातमा भैरहेको बेला यस्तो योजना कसले बनाइरहेका छन् भन्ने बारे कुनै उल्लेख नहुनु त्यसबेला आलोचनाको विषयमा बनेको थियो । त्यो भाषणमा उनले माओवादीका अन्य नेता भन्दा बढी आफु टार्गेटमा हेको भन्ने सम्मको जानकारी दिएका थिए ।
तीन : उनी प्रधानमन्त्री रहेकै बेला २०६५ माघ १६ गते पनि उनीवाट आफु मारिन लागेको अर्को सूच्ना जारी भएका थियो । यो दिन मधेसी कार्यकर्ताहरुको भेलालाई सम्वोधन गर्दै उनले फेरि पनि भने, ‘माओवादी नेतृत्वलाई सिध्याउन तराई मार्फत केही शक्ति केन्द्रहरु लागेका, त्यसको योजनाको जानकारी आफुले पाइसकेको र जुनसुकै  दिन जेसुकै हुन सक्ने अवस्था छ । त्यतिखेर तराई आन्दोलन पनि थिएन । मधेसी जनअधिकार फोरम पनि प्रचण्ड कै नेतृत्वको सरकारमा थियो । त्यस्तो अवस्थामा तराईवाट प्रचण्डलाई मार्ने योजना कसरी बन्यो होला र त्यो कसरी परिचालित होला भन्ने कसैले बुझ्न सकेका थिएनन् । अहिलेसम्म पनि त्यसको रहस्य खुल्न सकेको छैन । तर प्रचण्ड चाहि आफ्नो ज्यान लिन कोही लागि परेको भनी बताउन छाडेका छैनन् ।
चार : यो पनि उनी प्रधानमन्त्री भएकै बेलाको अभिव्यक्ति हो । २०६५ माघ २८ गते आफ्ना स्वकीय सचिवमाथि गोली प्रहार भयो । शक्तिवहादुर बस्नेतमाथि भएको यो प्रहारको अभियोगीहरु समातिइ सकिएका छन् । यो प्रहार कुनै राजनीतिक कारण अन्तर्गतको थिएन भन्ने उनका बयानले नै बताइसकेका छन् । तर त्यसबेला प्रचण्डले भने, यो आक्रमण आफैमाथि लक्षित थियो । प्रधानमन्त्री बालुवाटारमा बस्ने, यो गोलीकाण्ड चाहिं कोटेश्वर नजी सचिवको निवासमा- उनी घर पस्ने क्रममा भएको थियो । यति लामो दूरीको आक्रमणमा निशाना आफुमाथि साँधिएको भनी प्रधानमन्त्री प्रचण्डले गरेको दाबी आफैमा हास्यास्पद थियो ।
पाँच : यसको लगत्तै केही दिनपछि २०६५ फागुन १ गते प्रचण्डको अर्को भाषणको कार्यक्रम बन्यो । यो भाषण थियो - नवलपरासीको आफ्ना लडाकूको शिविरभित्र । त्यहाँ उनले घोषणा गरे- प्रतिक्रियावादीहरु बालुवाटार घेराउ गर्ने योजना गरिहेका छन् । त्यस्तो घेराउ भयो भने बालुवाटार मै आफुले बलिदना दिनेछु । बालुवाटार घेराउ नै गरेर आफुलाई हत्या गर्न खोजिदै छ भन्ने उनको जानकारीको आधार सूत्रहरु के हुन् भन्ने त्यहाँ पनि खुलाइएन ।
छ : सरकारवाट हटेर प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतवाट प्रचण्डले २०६६ जेठ ८ गते संसद्लाई सम्वोधन गरे । यो सम्वोधनमा पनि उनले आफ्नो हत्या हुन लागेको सन्देश नै दिन खोजे । ‘राष्ट्रपति शासन लागू गरेर आफुहरुमाथि ज्यानकै ठूलो खतरा उव्ज्याइन खोजेको बुझेपछि त्यो सूचनाका आधारमा सरकारवाट बाहिरएको हुँ । उनको यो भनाइ संसदमा रेकर्ड नै भएको छ ।  तर त्यो बेला त्यस्तै कुनै परिस्थिति थिएन । संविधानसभावाट सवैभन्दा ठूलो दलका रुपमा रहेको माओवादीको नेतृत्वको सरकारलाई अपदस्थ गरेर तिनका नेताहरुलाई मारेर कसैले शासन गर्ने सोच वनाएको भन्ने यस्तो शंका प्रचण्ड बाहेक अरु कसैमा उठेको कल्पनासम्म गर्ने अवस्था थिएन । तर उनले त्यस्तो शंका सार्वजनिक रुपमै गरिदिए ।
सात : २०६६ जेठ २५ गते फेरि उनले आफ्नो ज्यानको खतरा सरकार मै हुँदा बनि सकेको अर्को घोषणा गरे । माओवादी सरकार पतन गराएर यसका शीर्ष नेताहरुको हत्या गर्ने त्यसबेला भैरहेको षडयन्त्र सरकार छाडेपछि पनि चलिरहेको भन्ने उनको भनाइ पहिले भन्दा झन कडा रुपले प्रकट भयो ।
आठ : सरकार छोडेको पाँचौ महिना २०६६ भदौमा फेरि उनले काठमाडौंको खुलामञ्च सभावाट वालुवाटार भित्रै आफ्नो हत्या गर्ने षडयन्त्र रहेको तेहर्‍याए । बालुवाटार भित्रै आफ्नो हत्या हुन लागेको भन्ने तीन पटकसम्म भनाइ दोहोरिरहँदा त्यो षडायन्त्रको तानाबानाबारे चाहिं कतै पनि एउटा सूत्रसम्म दिन आवश्यक ठानेन् ।
नौ : २०६६ मंसिर २७ गते फेरि उनले आफ्नो ज्यान खतरामा परेको भनी अर्को सूचना दिए  कैलालीको डुडेझार वन अतिक्रमणको घटना निरीक्षण गरेर फर्किएपछि त्यहाँ जे-जस्तो भएको थियो त्यसको एकलौटी वर्णन गर्दै उनले ‘आफुलाई ज्यानको खतरा रहेको’ जानकारी गराएका हुन् । तर, यो खतरा कतावाट कसरी हुँदै छ भन्ने यहाँ पनि कुनै थप सुइको दिएनन् । दश : त्यसको केही दिनपछि २०६६ पुस २ गते एउटा सार्वजनिक समारोहमा उनले पहिले जस्तो ज्यानको खतरा मात्र भनेनन् त्यो झन् बढिरहेको दावी गरे । यो उनको एक वर्ष भित्र दशौ पटक ज्यानको खतराको दावी थियो  यो दशौ पटक सम्म आइपुग्दा उनीमाथि खतराका सूत्रहरु कतै पनि संकेत सम्म हुने गरी देखाइएन । एक पटक पोखरामा उनले अमेरिकीहरु भनी त्यस्तो संकेत गरेका थिए । अमेरकी दूतावासले यसलाई स्पष्ट पार्न विज्ञप्ति नै निकाले पछि उनी यो बारेमा मौन रहे । तर खतरा चाहिं महिनामा एक पटक हुने गरी प्रकट भइरहेका छन् । 
सधै ज्यानको खतरा देख्ने प्रचण्ड देशका लागि चाहिं सबैभन्दा ठूला सुरक्षा घेराभित्र छन् । ‘नेपाल’ पत्रिका १० माघले दिएको विवरण अनुसार :
प्रचण्डको सुरक्षा व्यवस्था
देशका पूर्व प्रधानमन्त्रीहरुमध्ये पुष्पकमल दाहाल सवैभन्दा बलियो सुरक्षा घेराभित्र वस्छन् । उनका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा माओवादी सेनाका करिब  ० जना, दोस्रो घेरामा जनपद प्रहरीका १५ जना र तेस्रो घेरामा सशस्त्र प्रहरीका २५ जना परिचालित छन् ।
सात पटक प्रधानमन्त्री भइसकेका गिरिजाप्रसाद कोइरालाको सुरक्षा जिम्मा जनपदका प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र मरासिनीले लिएका छन् । चार पटक प्रधानमन्त्री बनेका सूर्यवहादुर थापा र तीन पटक प्रधानमन्त्री भइसकेका शेरवहादुर देउवाको सुरक्षाको दायित्व प्रहरी नायव निरीक्षक (सई) को काँधमा छ । उनीहरु प्रत्येकलाई ११ जनाको संख्यामा रहेका जनपद प्रहरीले सुरक्षा दिन्छन् । तर, प्रचण्डको सुरक्षा व्यवस्थाको रेखदेख जनपद र सशस्त्र प्रहरीका डीएसपीहरुले गरिरहेका छन् । २०६४ असोज पहिलो साता देखि सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा र प्रधानमन्त्रीवाट राजिनामा दिए यता जनपद प्रहरीका डीएसपीको कमान्डमा सुरक्षाकर्मी परिचालित छन्, उनको सुरक्षाका लागि ।
यसका अतिरिक्त माओवादी सेनाले पनि उनलाई सुरक्षा दिइरहेको छ । माओवादी सेनाको सातौं डभिजनका कमान्डर समेत रहेका सन्तु दराई (परवाना) को टोलीले गत जेठ देखि दाहालको सुरक्षाको जिम्मेवारी पाएको हो । कमान्डर परवाना २०५२/५३ सालतिर दाहालका सहयोगी (स्टाफ) थिए । आफ्नो सवैभन्दा विश्वसनीय पात्र भएकैले दाहालले परवानालाई सातौं डिभिजनवाट काजमा ल्याएका हुन । 

- २०६६ चौत्र २४ गते प्रकासित 

No comments:

Post a Comment