Friday, May 17, 2013

काठमाडौं प्रहरी प्रमुखमा सुवोध घिमिरेको सरुवा, राष्ट्रियता तथा समावेशीतालाई चुनौती ।

अन्ततः प्रधानमन्त्री खिलराज रेग्मी तथा गृह जिल्ला पाल्पाका गृह मन्त्री माधव घिमिरे तथा गृह सचिव नविन घिमिरे द्वय द्वारा महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी प्रमुखमा घिमिरे थरका सुवोध घिमिरेलाई ल्याएर नै छाडे । गृहमन्त्री घिमिरे, गृह सचिव घिमिरे भएकोले वा कार्यदक्षताका कारण नामै नसुनिएका सुवोध घिमिरेलाई अति संवेदनशिल काठमाडौं प्रहरी प्रमुखको रुपमा किन ल्याइए आम जनमानसमा चर्चा व्याप्त छ । गणतन्त्र पश्चात समावेशी नारा चर्को रुपमा गुन्जायमान भएता पनि खिलराज मन्त्रिमण्डल नै स्थापित भयो, असमावेशी खिलराज मन्त्रिमण्डलद्वारा धमाधम असमावेशी नियुक्ति तथा सरुवा गरिरहेको दृश्य नेपाली जनता टुलुटुलु हेर्न बाध्य भएका छन् । स्वघोषित नेपालका ठेकेदार हौं भन्ने  चार दलका समुहद्वारा निजामति सेवाका विशिष्ट तहका कर्मचारीलाई मात्रै मन्त्रिमण्डलमा समावेश गर्ने प्रावधानमा किन र कस्को इशारामा यस्तो अव्यावहारिक निर्णय गरियो बुझ्न सकिएन, जस्ले गर्दा खिलराज मन्त्रिमण्डललाई मनमानी गर्न सजिलो भएको छ ।
विशिष्ट श्रेणीका कर्मचारीलाईृ मात्र सरकारको दायित्व दिने निर्णय किन गरियो, यदि कुशल उद्यमी, प्रबुद्ध वर्ग, मानव अधिकारवादी, पूर्व सैनिक अधिकृत, पूर्व प्रहरी प्रमुखलाई समेत मन्त्रिमण्डलमा समावेश गर्ने निर्णय गरिएको भए, खिलराज मन्त्रिमण्डल सर्वगुण सम्पन्न समावेशी चरित्रको सक्षम मन्त्रिमण्डल हुने थियो तर जानीजानी यस्तो निर्णय गरिएको हो भन्नेमा सन्देह रहेन । संविधानको व्याख्याताको रुपमा रहेको न्याय पालिका प्रमुखलाई अन्तरिम संविधानको धज्जि उडाउदै प्रधानमन्त्रीमा नियुक्त गरियो, खिलराज मन्त्रिमण्डल चुनावी  प्रयोजनका लागि भएता पनि यो मन्त्रिमण्डल नेपाली इतिहासमा घोर असमावेशी मन्त्रिमण्डल बनेको छ । नेपालका बहुसंख्यक आदिबासीको मन्त्रिमण्डलमा अनुपस्थिति कुनै योजनाको तहत नै भएको हो भन्ने ठोकुवा गर्न सकिन्छ । 
नयाँ नेपाल, गणतन्त्र नेपाल नामाकरण भएता पनि विगत जस्तै उही पुरानो हैकमवादी तत्वको हाली मूहाली र वर्चस्व कायम भएको छ । समग्रमा भन्नु पर्दा खिलराज मन्त्रिमण्डल ऐतिहासिक बाहुन मन्त्रिमण्डलमा परिणत भएको छ । अधिकार र पहिचान सहितको बहुजातिय प्रदेशलाई एकल जातिय राज्य भनि अफवाह फैलाउने विषेश जातिका सञ्चारकर्मीलाई खिलराजको बाहुन बाहुल्य मन्त्रिमण्डल, जातिवादी मन्त्रिमण्डल भएको नदेख्दा आश्चर्य लागेको छ । पहिचान सहितका बहुजातिय प्रदेशलाई खास गरि बाहुन सञ्चारकर्मीद्वारा जोरदार रुपमा एकल जातिय प्रदेश हुने भनि जोरदार रुपमा प्रोपेगान्डा मच्चाए र उनीहरु सफल पनि भए अन्तिममा पहिचान सहितको संघियता नै संविधान सभा हत्याको मूख्य कारण बन्न पुग्यो । नेपालका उत्पिडित वर्गलाई अवसरबाट हमेशा बञ्चित गराउने कार्य जातियता नहुने, उत्पिडितद्वारा समान अधिकार, पहिचानको आवाज उठाउदा जातियता देख्ने कुदृष्टिलाई निश्चित रुपमा घोर जातिवादी भन्दा अन्यथा हुने छैन । नेपालको घोर साम्प्रदायिक र जातिवादी वर्गले स्वघोषित रुपमा आफैलाई उदारवादी भनी रहँदा हिन्दीको गित “तुम कहो तो पून्य” हम कहे तो पाप मैने पि शराव तुमने क्या पीया आदमीका खुन अर्थात् तिमीले भन्दा पून्य मैले भन्दा पाप, मैले पिएको छु मदिरा, तिमीले त मान्छेको खुन पिएका हौ भन्ने उखान चरितार्थ भएको छ । 
जुन प्रयोजनका लागि खिलराजको नाम प्रस्तावित गरिएको थियो, त्यो कार्य गरिएको जस्तो देखियता पनि त्यो कार्य यथावत् छ, असारमा चुनाव नहुने नै भयो , मंसिरमा चुनाव हुने संभावनामा संदेह छ । सम्भवतः चुनाव, संविधानसभा तथा संविधान निर्माण नेपाली जनताका लागि दिवास्वप्न बन्ने लगभग निश्चित छ । बाबुराम जस्तै हाव-भाव भएका धेरै कम बोल्ने, हाँस्नमा कञ्जुस्याई गर्ने, सरल देखिने खिलराज रेग्मीको नियुक्ति तथा स्थापना बडा नाटकिय प्रकारले किन र कस्को इशारामा भएको छ, त्यो सर्वविदित नै छ । बाबुराम भट्टराई जस्तै खिलराज रेग्मी पनि कसैको इशारामा नाच्ने कठपुतली मात्रै हुन् भन्ने कुराको पुष्टि काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुवोध घिमिरेको सरुवाले स्पष्ट हुन्छ । घिमिरे थरका गृहमन्त्रि एवं गृह सचिव घिमिरे थरका भएको कारणले मात्रै प्राथमिकता दिइएको हो भन्ने कुरामा संदेह रहेन । एसएसपी सुवोध घिमिरे जनयुद्धकाल देखि आज सम्म हमेशा सुगम स्थानमा सरुवा पाउने नेपाल प्रहरीका केही भाग्यमानी प्रहरी अधिकृत मध्येका श्रेणीमा पर्दछन् । सुवोध घिमिरे गौशाला, लागु औषध, पर्सा प्रहरी प्रमुख तथा प्रतिआतंकवाद महाशाखा अन्तर्गत एन्टी टेरोरिष्ट सेलमा धेरै समय बिताएका प्रहरी अधिकृत हुन् । जमिम शाह हत्याकाण्डमा नसिहत पाएका रण बहादुर चन्दलाई नाटकीय प्रकारले महानगरिय प्रहरी प्रमुखमा सरुवा गरि पुरस्कृत गरिएको जस्तै गरि सुवोध घिमिरेलाई कसैको इशारामा उपयोग गर्नका निमित्त ल्याइएको हो भन्ने तर्फ शंका उत्पन्न भएको छ । कुनै विशेष देशको हितमा संलग्न भएका प्रहरी अधिकृतलाई यस्तो संवेदनशिल समयमा महानगरिय प्रहरी प्रमुखको दायित्वमा पुरस्कृत गरि किन सरुवा गरिन्छ सोचनिय विषय छ । पूर्व एमाले नेता सलिममिया अन्सारीको छोरा नेसनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारी नक्कली भारु काण्डमा परि केन्द्रिय कारागारमा बन्दी रहेको अवस्थामा युनुस अन्सारी माथि केन्द्रिय कारागार परिसरमा प्रवेश गरि सरे आम गोली प्रहार गर्ने भारतीय नागरिक जगजित सिंह भन्ने मनमित भाटिया लाई सरलताका साथ कारागार प्रवेश गरि गोलीकाण्डलाई अन्जाम दिने वातावरणको निर्माण गर्ने तत्कालिन एन्टी टेरोरिष्ट सेलका एसएसपी सुवोध घिमिरे हुन् भन्ने कुराको पुष्टि सरोजराज  अधिकारी द्वारा लिखित “चक्रव्यूह मा चन्द्र सूर्य” को शिर्षक युनुस अन्सारी, (कारागार भित्रै बाह्य पक्षको कारवाही) पृष्ठ ५७ देखि ७९ मा विस्तृत रुपमा बर्णन गरिएको छ । जमिम शाह हत्याकाण्ड पश्चात डिएसपी जगजित चन्द समेतका हत्यारा सजिलै प्रकारले फरार हुन सफल भए, हत्याराहरु हत्या पश्चात् फरार हुन सफल हुनुमा प्रहरी मिलेमतोमा भगाइएको हो भन्ने कुरा तात्कालिन उपत्यका प्रहरी आयुक्तको कार्यालय प्रमुख मदन खड्काद्वारा जमिम शाह हत्याकाण्ड छानविन गर्न गठित समिति समक्ष स्विकार गर्दै बयान दिएका थिए । जमिम शाह हत्याकाण्डमा जिम्मेवारी निर्वाह नगरेको भनी नसीहत पाएका रणबहादुर चन्दलाई प्रधानमन्त्रि बाबुराम भट्टराई, गृह मन्त्रि गच्छेदाको प्रस्तावमा सुध्रिने नसीहत सहित रण बहादुर चन्दलाई पनि महानगरीय प्रहरी प्रमुखमा सरुवा गरि पुरस्कृत गरिएको थियो । पुनः खिलराज रेग्मी, गृह मन्त्रि माधव घिमिरे, गृह सचिव नविन घिमिरेको प्रस्तावमा संदेहस्पद चरित्र बोकेका प्रहरी अधिकृत सुवोध घिमिरेलाई यस्तो संवेदनशिल समयमा महानगरीय प्रहरी प्रमुखमा सरुवा गरि  पुरस्कृत गर्नुको रहस्य गम्भिर छ ? 
बाबुराम भट्टराई, विजय कुमार गच्छेदार, खिलराज रेग्मी, माधव घिमिरेद्वारा विवादित, संदेहस्पद तथा कुनै विशेष छिमेकी देशको हित अनुकुल कार्य गर्ने प्रहरी अधिकृतलाई मात्र पुरस्कृत गर्न किन तत्परता देखाइयो ? नेपाली जनता जान्न उत्सुक छन् । सुवोध घिमिरे नेपालका यस्ता प्रहरी अधिकृत हुन् जस्को भारतिय दूतावास तथा भारतिय गुप्तचर संस्था र सँग राम्रो मेलजोल तथा राम्रो सम्बन्ध भएको मध्येमा पर्दछन् भन्ने कुरा चक्रव्यूहमा चन्द्र सूर्यमा स्पष्टताका साथ वर्णन गरिएको छ । रण बहादुर चन्द तथा सुवोध घिमिरे जस्ता विवादित एवं सन्देहस्पद प्रहरी अधिकृतलाई पुरस्कृत गर्दा नेपाली जनता समक्ष क्रमिक रुपले लेण्डुप दोर्जे चरित्र बोकेका बाबुराम भट्टराई, गच्छेदार, खिलराज रेग्मी, माधव घिमिरे भारतको कठपुतली तथा भक्ति उजागर भएको छ । बाबुराम भट्टराई कसैको इशारामा नाच्ने कठपुतली थिए भन्ने आम नेपाली जनतामा प्रमाणित भई सकेको छ भने वर्तमान खिलराज रेग्मी पनि बाबुराम पश्चात्का कठपुतली हुन् भन्नेमा शंका रहेन । नेपालमा अस्थिरता तथा नेपालको अस्तित्व विलिन गराउन विभिन्न प्रयोगहरु भई रहेका छन्, रण बहादुर चन्दलाई महानगरिय प्रहरी प्रमुखमा सरुवा गरि ल्याइएको पनि एक प्रयोग नै थियो सम्भवतः अदृश्य शक्तिद्वारा रण बहादुर चन्दको सरुवा तथा उपयोगितामा त्रुटि महसुस गरी चार महिना नवित्दै कठपुतली सरकारको माध्यमबाट सुवोध घिमिरेलाई प्रयोग गर्न हेतु महानगरिय प्रहरी प्रमुख बनाइएको हो भन्ने बुझिन्छ । अदृश्य शक्तिद्वारा सुवोध घिमिरेको सरुवा गराएर एक तीरले दुई सिकार गरेका छन्, प्रथम आफ्नो अनुकुलको प्रहरी अधिकृतलाई संवेदनशिल समयमा नेपालको मुटु काठमाडौं प्रहरी प्रमुखमा सरुवा गराउन सफल, दोस्रो महत्वपूर्ण सफलता भनेको नेपाली जनताले जति चिच्याए कराए पनि भारतको इशारामा भारत परस्त व्यक्तिलाई जुन कुनै स्थानमा स्थापना गर्न सकिन्छ भन्ने कठोर संदेश दिइएको छ । 
बहुसंख्यक नेपाली जनता राष्ट्रभक्त भएता पनि नेपालका राजनैतिक नेता , निजामति सेवकमा धेरै जस्तो काजी लेण्डुप प्रवृतिधारी तत्व हमेशा प्रयोग भइरहे तथा रहनेछन् । जबसम्म यस्ता बहुरुपीया नेता तथा निजामति सेवकलाई राष्ट्रभक्त नेपाली जनताले निर्मूल गर्न सक्दैनन्, तबसम्म नेपाल, नेपाली विर गोर्खाली भएता पनि निरिह भएर बाँच्नु बाध्य हुने छन् । देश समाप्त हुने ग्राण्ड डिजाइन क्रमशः सफल हदै गईरहेको छ । राष्ट्रभक्त नेपाली जनताले मातृभूमि नेपाल आमाको अस्तित्व जोगाउन सक्ने हुन् वा होइनन् सजगताका साथ प्रतिक्षारत भएर बसौं समय सन्निकट छ । 
-अमरदीप मोक्तान
डाँडाखर्क, दोलखा

No comments:

Post a Comment