काठमाडौं, वैशाख १७ – नेपालका अदालतमा पछिल्ला केही वर्षयता सम्बन्ध विच्छेदका मुद्दाको संख्या ह्वात्तै बढेको छ । कतिपय जिल्लामा अन्य मुद्दाभन्दा सम्बन्ध विच्छेदका मुद्दामा बढोत्तरी भएको छ । सम्बन्ध विच्छेद सामाजिक समस्याको रूपमा देखा पर्दै छ । झापा जिल्ला अदालतमा गएको आर्थिक वर्षमा कुल ८ सय २५ वटा मुद्दा फैसला भएकोमा ४ सय २५ वटा सम्बन्ध विच्छेदका थिए । जुन कुल फैसला भएकामध्ये ५० प्रतिशत भन्दा बढी हुन आउँछ । गएको साउनदेखि फागुनसम्ममा २ सय ७६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुनु चिन्ताको विषय हो । हाम्रो समाजमा अहिले पनि सानातिना पारिवारिक विवाद घरपरिवार, आफन्त, समाज, प्रहरी कार्यालयमा मिलाउने प्रयास गरिन्छ । यस्ता सबै प्रयास असफल भएपछि मात्र मुद्दा अदालत पुग्ने गरेको छ । यद्यपि मुद्दाको संख्या भने बढ्दै गएको छ ।
सम्बन्ध विच्छेदका मुद्दा वैदेशिक रोजगारमा गएको मध्यम तथा निम्नमध्यम वर्गीय ग्रामीण परिवेशमा हुर्किएको परिवारमा बढी देखिएको छ । श्रीमान् रोजगारमा गएको अवस्थामा अलग्गै बसेकी वा परिवारमा सँगै बसेका महिलाले बढी सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् । श्रीमान् विदेशमा भएको अवस्थामा परपुरुषसँग सम्बन्ध राख्ने महिलाको संख्या बढ्दो छ । सँगै हुँदा पनि राम्रो सम्बन्ध नभइरहेको अवस्थामा श्रीमान् विदेश जाने परिस्थितिमा परपुरुषसँग सम्बन्ध बढेको देखिएको छ । त्यसो त विदेशबाट फर्किएकी श्रीमतीले श्रीमान्को अन्य महिलासँगको सम्बन्ध थाहा पाएर पनि सम्बन्ध विच्छेद हुने गरेको छ । श्रीमान् विदेशबाट फर्किएपछि अप्राकृतिक यौन सम्बन्ध राख्न खोज्दा तनाव उत्पन्न हुने गर्दछ । जुन सम्बन्ध विच्छेदको कारण बनेको छ । यौन हिंसा, घरेलु हिंसामा परे पनि यौनबाहेकका घरेलु हिंसाका मुद्दा नगन्य मात्र अदालत पुग्ने गरेका छन् । झापामा एक महिला अधिकारवादी संस्थाले गरेको अध्ययनले सम्बन्ध विच्छेदका अधिकांश मुद्दामा यौन जोडिएको निष्कर्ष निकालेको छ ।
विदेशमा भएको श्रीमान्लाई घर परिवारका अन्य सदस्यले कसैको मोटर वाइकमा हिँडेको, कुनै आफन्त वा छिमेकीसँग बोलेको कुरालाई गलत ढंगले सुनाइदिने र श्रीमान्ले मोबाइलबाट मानसिक टर्चर गर्ने सम्बन्ध विच्छेदको अर्को प्रमुख कारण हो । मैले एक २७ वर्षकी विवाहित युवतीलाई भेटेको थिए । श्रीमान्ले पठाएको पैसा नदिएको विषयमा घरमा सासू–ससुरासँग सम्बन्ध राम्रो रहेनछ । माइत जाँदा सासू–ससुराले छोरालाई खोइ कहाँ गई थाहा छैन भन्दिने । एक दिन माइत जाँदा तीन चार दिन भो भन्दिने, फलानासँग हिँड्छे, हामीलाई सोद्धिन जस्ता कुरा छोरालाई सुनाइदिने कार्यले उनीहरूबीच सम्बन्ध बिग्रिन थाल्यो । साउदी अरबमा भएका श्रीमान्ले फोनमा शंका गर्न थाले । उनले साँचो कुरा भनिन तर पनि पत्याएनन् । उनलाई पैसा पठाउन छाडे । उनले श्रीमान् आएपछि साँचो कुरा बुझ्लान् भनेर सहेरै बसिन् । तर, श्रीमान् आएपछि खटपट झन बढ्यो । श्रीमान्ले उनलाई उल्टै कुटपिट गर्न थाले । एक दिन रक्ताम्मे हुने गरि यातना दिएपछि पाँच वर्षीय छोरासहितको अंश र सम्बन्ध विच्छेद मुद्दा दर्ता गरिन् । अदालतमा उनको मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।
आइमाईले सहनुपर्छ भन्ने मान्यता तोडिँदै गएको छ । महिला घरेलु हिंसा सहेर बसिरहने अवस्थाबाट मुक्त हँुदै गएका छन् । महिलाहरू आफ्नो अधिकार प्राप्तिका लागि अग्रसर हुँदै गएका छन् । यद्यपि बढ्दो सम्बन्ध विच्छेदले सामाजिक तथा पारिवारिक संरचनामा नै फेरबदल हुन थालेको छ । परिवार बिखण्डित हुने मात्र होइन, बालबालिकामा उत्पन्न हुने तनाव, उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका विषयमा गम्भीर समस्या देखिन थालेको छ । बाबु–आमा विखण्डित भएर हुर्किएका बालबालिको मनोविज्ञानमा परेको असरको गहन अध्ययन हुन सकेको छैन ।
बढ्दो चेतना, मानवअधिकार तथा महिला अधिकारवादी संघसंस्थाको सक्रियता, कानुन महिलाको पक्षमा हुनाले पनि सम्बन्ध विच्छेदमा मुद्दाको संख्या वृद्धि भएको हो । तर, यी सतही कारण मात्र हुन् । हाम्रो युवा पुस्ताले हेर्न चलचित्र, पत्रपत्रिकाका, रेडियो, टिभीमा बज्ने गीत, संगीत, विज्ञापन मात्र होइन लत्ताकपडा, दैनिक उपभोग्य सामग्री युवतीका अर्धनग्न तस्बिरबिना बिक्री हुन छाडेको छ । सञ्चारका अधिकांश सामग्री यौनसँग सम्बन्धित छन् । युवतीका नांगा तस्बिरबिना केही पनि बिकाउ हुँदैन । खाने, लगााउने, हेर्ने, सुन्ने सबै चिज र वस्तुमा सेक्स बिक्री गरिएको हुन्छ । सैलुनदेखि खाना खाने ठाउँमा समेत सेक्स झल्कने अर्धनग्न तस्बिर टाँगिएका हुन्छन् । समाजमा जताततै सेक्स मात्र बिक्री गरेर ब्रह्मचरी समाजको कल्पना गर्न सकिँदैन । पाश्चात्य पुँजीवादी मुलुकबाट आयातित अमर्यादित सेक्सले हाम्रो समाजमा जरा गडेको कुरा हामीले बुझ्न सकेका छैनांै । पुँजीवादी मुलुकबाट आयातित सबै सभ्यता र संस्कृति उत्तम छन् भन्ने हाम्रो धारणमै खोट देख्न सकेनौं । महिलालाई सेक्सको उपभोग्य सामग्री मात्र ठान्ने संस्कृतिलाई सहजै स्वीकार्नु कति उचित हो भन्ने सोच्दै सोचेनौं । हाम्रा लाउने, खाने, भाषा, संस्कृति, सेक्सलगायतका सबै विदेशी हुने तर सेक्स चाहिँ स्वदेशी हुन सक्दैन । हामीले आयात गरेको सेक्सलाई अब स्वीकारेर मर्यादित बनाउनुभन्दा अर्को विकल्प छैन ।
सेक्स जैविक आवश्यकता हो भनी स्वीकार्न सक्ने अवस्थाको सामाजिक संरचना तयार हुन नसक्नु अर्को समस्या हो । सेक्ससम्बन्धी हाम्रो चेतना स्तर त्यति उदार हुन सकेको छैन । आफूले जतिवटी पनि परस्त्री गमन गर्नु स्वाभाविक हुने तर श्रीमतीले एकजना परपुरुषसँग पनि सम्बन्ध राख्न नहुने सामाजिक मान्यता नतोडिए सम्म समस्या बल्झिरहन्छ । सेक्सलाई जैविक आवश्यकताको रूपमा स्वीकार्न सक्यौं भने बजारमा पाइने सेक्सका कृत्रिम साधन अस्थायी समाधान हुन सक्दछ । हामी पतिव्रता श्रीमती अपेक्षा गर्दछौं तर पत्नीव्रता हुन चाहँदैनांै । पश्चिमा देशमा सेक्स दुई बीचको निजी मामला ठानिन्छ । तेस्रो व्यक्तिको अवरोधलाई दण्डनीय मानिन्छ । तर हामीकहाँ तेस्रो व्यक्तिको अवरोधलाई कानुनले मान्यता दिएको छ । परपुरुष वा परस्त्रीसँग सेक्स सम्बन्ध राखेकै कारण लोग्ने स्वास्नीबीच सम्बन्ध विच्छेद हुने कानुनी प्रवधानलाई अब खारेज गर्नुपर्दछ । महिला वा पुरुष दुवैले सहमतिमा कसैसँग पनि सेक्स सम्बन्ध राख्न पाउनुपर्दछ । कसैसँग सेक्स सम्बन्ध राखेकै कारण दण्ड सजाय पाउन कानुनको अब आवश्यकता छैन । आधा नक्कल र आधा नियन्त्रणले समस्याको हल हुन सक्दैन । सहमतिमा सेक्स गर्न पाउने अधिकारलाई स्थापित गर्न हाम्रा अधिकारकर्मीले मुख खोल्नै पर्दछ ।
No comments:
Post a Comment