विश्वभरि नै २५५७ औँ बुद्ध–जयन्ती मनाइँदै गर्दा देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे देशभक्तिपूर्ण प्रचार गरे। उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाए। बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट महङ्खव छ।
निरर्थक विवाद
बुद्धको जन्मस्थानलाई विवादास्पद बनाउने भारतीय चाल पर्दाफास गर्दा बिर्सनै नहुने एउटा पक्ष हो, लुम्बिनी रहेको कपिलवस्तु बुद्ध जन्मिएको बेला शाक्य जनपदको राजधानी थियो। आजभन्दा साढे छब्बीस सय वर्षअघि शाक्य वंशको स्वतन्त्र गणराज्यको रूपमा रहेको कपिलवस्तु नेपालको अंश थिएन, न त भारतकै कुनै भूभाग थियो। त्यतिखेर नेपाल वा भारतको निर्माण, एकीकरण र विस्तार कपिलवस्तुसम्म भइसकेको थिएन। गणराज्यको विनाश, राजतन्त्रहरूको उदय अनि तिनको पनि अन्तर्संघर्षसँगै ब्रिटिस साम्राज्य र नेपालबीचको भूराजनीतिक द्वन्द्व र सम्झौतापछि कपिलवस्तु नेपालको सीमाभित्र परेको हो। कपिलवस्तुको ऐतिहासिक रहेको तथ्य भारतले सहर्ष स्वीकार्न सक्नुपर्छ। इतिहासमा कपिलवस्तुको एक भागको रूपमा रहेको पिपरहवा आफ्नो सिमानाभित्र परेकै आधारमा सिंगो कपिलवस्तुमाथि हकदाबी गर्नु, लुम्बिनी नेपालमा रहेको ऐतिहासिक तथ्यलाई बेवास्ता गर्नु इतिहाससम्मत छैन, न त न्यायोचितै छ। बुद्ध नेपालमा जन्मिएको होइन भन्ने भान पार्न अनेक तिकडम र बौद्धिक कसरत गर्नु पनि इतिहास मिच्ने प्रयत्नभन्दा केही हुन सत्तै्कन। सीमा र भूभागको विषय एक ठाउँमा छँदैछ, बुद्धको दर्शन, सिद्धान्त र ज्ञान भने उनी जहाँ जन्मिएका भए पनि महङ्खवपूर्ण छ। तर, ती सबै विषयलाई भने खासै वास्ता गरिएको छैन।
कपिलवस्तु गणराज्य र सङ्घ
इतिहास हेर्दा बुद्धकै कालखण्डमा पनि राजतन्त्रमा फेरिएको कोशल राज्यले कपिलवस्तु गणराज्यको सार्वभौमिकतामाथि अंकुश लगाउन थालेको देखिन्छ। कोशल नरेशको अनुमतिबिना शाक्य वंशको शासक वर्गले कपिलवस्तुका केही सार्वभौमिक अधिकार प्रयोग गर्न नपाउने अवस्था बनेको थियो। रोमिला थापरका अनुसार कोसल नरेश विडूडभले आफ्नै मामाघरको जनपद : कपिलवस्तुमा भीषण आक्रमण गरी शाक्यहरूको संहार गर्दै गणराज्य नष्ट गरेका थिए, रोहिणी नदीको पानीको बाँडफाँडको निहुँमा। वंश र कुलको गणराज्यबाट समाज राजतन्त्रतिर उन्मुख हुन थालेको बेला कपिल ऋषिको नामबाट बनेको कपिलवस्तु र शाक्य वंशको गणराज्यलाई सखाप पार्ने प्रयास भयो, प्राकृतिक स्रोतमाथि स्वामित्व र प्रयोगको विवादका कारण। बुद्ध, लुम्बिनी र कपिलवस्तुसँग जोडिएको पछिल्लो अदृश्य द्वन्द्वमा लुकिरहेका यस्ता कारणलाई बेवास्ता गर्न सकिँदैन।
डी.एन. झाका अनुसार, हालको नेपालको तराईदेखि पहाडसम्म फैलिएका विदेह, लिच्छवि, मल्लहरूको गणराज्य र तिनको वृज्जि वा वज्जि नामक महाजनपद (आठ गणराज्यहरूको सङ्घीय शासन) थियो। तर, ती गणराज्य र महासङ्घ कालान्तरमा समाज–विकासको क्रममा राजतन्त्रको अतिक्रमणका कारण समाप्त भएर गए। यस अर्थमा नेपालका लागि न गणराज्य र सङ्घीय प्रणाली नौलो हो, न त राजतन्त्र नै सर्वकालिक शासन पद्धति हो। तर, ती गणराज्यको स्वरूप भने वंश, कुल र गणमाथि आधारित कुलीनतन्त्रका आधारमा चलेको थियो। र, लामो समयसम्म वज्जि महाजनपद नामक सङ्घीय प्रणालीले नेपालदेखि उत्तर भारतसम्म प्रचलित रहेको तथ्यलाई राज्य पुनर्संरचनाको सन्दर्भमा हेक्का राख्न लायक देखिन्छ।
राजकुमार होइनन् बुद्ध
अर्को हेक्का राख्नैपर्ने पक्ष हो, बुद्ध राजतन्त्र चलाउने कुनै राजाका पुत्र अर्थात् राजकुमार थिएनन्। 'राजा' शब्द सुन्नेबित्तिकै कपिलवस्तुमा पनि राजतन्त्रै रहेको मान्नेहरूको अभाव छैन। र, पहिले 'गोतम' जन्म–नाम रहेका र पछि अनुयायीहरूले 'सिद्धार्थ' मानेका बुद्ध पनि राजकुमारै रहेको भ्रम अझै छ। इतिहासअनुसार कपिलवस्तुमा त्यतिखेरसम्म क्षत्रिय कबिलाका रूपमा रहेका शाक्य वंशको गणराज्य चलिरहेको थियो। दामोदर धर्मानंद कोशाम्बीका अनुसार, बेला–बेलामा शाक्यहरूका मुखियाको निर्वाचन हुन्थ्यो, राजा पद राजतन्त्रमा जस्तो वंशानुगत भइसकेको थिएन। मुखिया छानिन योग्य हरेक क्षत्रिय व्यक्तिलाई राजन्य भनिन्थ्यो र शासन गर्ने अधिकार नभएका श्रमिकलाई भने विश् भनिन्थ्यो। शासन गर्ने अधिकार भएका राजन्यहरूबाटै राजा छानिन्थ्यो र सबै राजन्य राजा थिए भने विश्को कोटीमा पर्ने गैरक्षत्रिय, दास र श्रमिकहरूलाई गणसभामा भाग लिने एवं मतदान गर्ने अधिकार थिएन। अतः यस्ता कुलीनतन्त्रको रूपमा रहेका कुनैकुनै गणराज्यमा छसात हजारसम्म राजन्य हुन्थे।
डी.एन. झाका अनुसार गणराज्यको गणसभा (संथागार)का प्रत्येक सदस्य राजन्यको हैसियत राजाको जस्तो थियो। तिनै राजन्य वा राजाहरूकै बीचबाट मुखिया राजा वा सेनापति चयन गरिन्थ्यो। लुम्बिनीमा गोतम (त्यति बेला 'गौतम'लाई 'गोतम' प्रयोग गरिएको छ।) जन्मिएको समयमा संयोगवश उनकै पिता शुद्धोधन राजा थिए। त्यसैले, बुद्ध राजकुमार भएको र उनले भव्य राजदरबारमा सुखसयल भोगेको मनगढन्त कथा लेखिएको कोशाम्बिको आरोप थियो। पक्कै पनि २० वर्षको वयस्क अवस्थामा पुगेपछि क्षत्रिय युवा गोतम पनि राजन्य वा राजा भए नै। राहुल सांकृत्यायनका अनुसार त्यसबीचमै शुद्धोदन मात्रै होइन, भद्दिय र दंडपाणि पनि राजा छानिए।
क्षत्रिय कुलीन राजन्य
हुन त गोतमका पिता शुद्धोदन पनि त्यत्तिकै राजामा छानिएका थिएनन्। डा. अम्बेडकरका अनुसार, हजार हलो जोत्नुपर्ने खालको विशाल क्षेत्रमा फैलिएको जमिनका मालिक शुद्धोदन कुलीन त थिए नै, कुशल सेनापति पनि थिए। उनी आफैँ पनि हलो चलाउनेदखि शस्त्र धारण गर्दै युद्धसमेत सञ्चालन गर्थे। उनका अनेक दरबारमा सुखसयलमा बाँच्दै गोतमले अन्य क्षत्रिय कुमारले जस्तै शस्त्रअस्त्र विद्या सिकेका थिए।
डा. अम्बेडकरका अनुसार, गण–सभा (संथागार)का सक्रिय सदस्य रहिसकेका गोतम २८ वर्षको हँुदा फेरि एक पटक रोहिणी नदीको पानी बाँडफाँडमा विवाद हुँदा शाक्य र कोलीय वंशका कुलीनहरूका श्रमिक र दासहरूबीच ठूलै झडप भयो। त्यसले कपिलवस्तु र कोशल गणराज्यबीच युद्धको अवस्थासम्म पुर्याचएपछि गोतमले युद्धले कुनै प्रश्नको समाधान नदिने दाबी गर्दै विवाद समाधान र स्रोत बाँडफाँडका लागि कोलीय र शाक्यबाट दुई–दुई प्रतिनिधि र तिनले पाँचौँ व्यक्ति छानेर छानबिन गर्ने प्रस्ताव गरे। तर, पटक–पटकको मतदानबाट कोलीयहरूविरुद्ध युद्ध गर्ने नीति पारित भएपछि 'शत्रुताबाट शत्रुताको समाप्ति हुन सक्दैन' भन्दै गोतमले युद्धमा सहभागी हुनुको साटो निर्वासित जीवन बाँच्ने बाटो रोजे। अनि २९ वर्षको उमेरमा छोरा, पत्नी, सम्पत्ति, वंश र राज्यसमेत त्यागे, शान्ति र अहिंसाको मार्ग खोज्दै। कोलीय वंशको कोशल गणराज्यको अर्ध–उपनिवेशजस्तो भइसकेको कपिलवस्तुबाट निर्वासनको क्रममै लामो चिन्तन–मननपछि गोतम अन्ततः ३६ वर्षको उमेरमा बोधि (ज्ञान) प्राप्त गरी बुद्ध भए, मानवजातिलाई दुःखबाट मुक्तिको मार्ग खोज्दै। उनले ४५ वर्षसम्म वर्तमान भारत र नेपालका विभिन्न क्षेत्रमा आफ्नो मुख्य सिद्धान्त : अष्टांग मार्गको व्यापक प्रचार गरे, जुन तत्कालीन समाजमा क्रान्तिकारी जीवन–दर्शन साबित भयो।
अष्टांग मार्ग : अग्रगामी जीवन–दृष्टि
सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाचन, सम्यक कर्म, सम्यक जीवन, सम्यक विचार, सम्यक स्मृति र सम्यक समाधिजस्ता आठ वटा मुक्ति मार्गको खोज र विस्तार गरेका बुद्धले तत्कालीन समाजलाई अग्रगामी जीवन–दृष्टि र शैली दिए। झाका अनुसार, वास्तवमा उनले ७ इ.पू. वरपरबाट हालको नेपाल–भारतको तराई क्षेत्रका जनताको जीवनमा सुरु भएको आर्थिक विकास र सांस्कृतिक प्रगतिलाई वैचारिक नेतृत्व दिएका थिए। त्यतिखेर फलामे औजारको प्रयोगसँगै कृषि–कौशल र उत्पादनमा व्यापक वृद्धि तथा शहरीकरण र व्यापारीकरणमा बढोत्तरीले एउटा धनाढ्य वर्गको उद्भव गराएको थियो र आर्थिक विषमतालाई पनि सघन र व्यापक बनाउन थालेको थियो। शोषण–उत्पीडनको बलमा मुठ्ठीभर मानिसको हातमा अधिकांश जनताको जीवन सीमित भएपछि त्यसलाई औचित्यपूर्ण साबित गर्न एकातिर हिन्दू धर्मले वर्णव्यवस्था सुरु गरेको थियो। वर्णव्यवस्थामार्फत त्यस शोषण–उत्पीडनलाई वर्ण, जन्म, कुलका आधारमा विशेषाधिकारकै रूपमा स्थापित गर्दै विषमताकै पक्षपोषण गरियो। हिन्दू धर्मको वर्णव्यवस्था शोषण–उत्पीडनलाई उचित ठहर्यााउने प्रयत्नमा सफल पनि भयो। तर, नवधनाढ्य वर्ग र विषमताबाट पिल्सिएका जनता भने आफ्नो जीवनलाई अगाडि बढाउने जीवन–दर्शनको खोजमा थिए। जातभातलाई सुदृढ गर्ने हिन्दू वर्णव्यवस्था र पशुधनको सर्वनाश गर्ने धार्मिक अनुष्ठानले यथास्थिति कायम राख्ने बाहेक, तिनका अग्रगमनकारी आकांक्षालाई सम्बोधन गर्न सकेका थिएनन्।
झाका अनुसार, वैदिक धर्मअनुसारका अनुष्ठान र नवोदित सामाजिक समूहको आकांक्षाबीच आपसी टक्करकै बीच नयाँ–नयाँ धार्मिक र दार्शनिक विचारको खोज सुरु भयो, जुन जनताको भौतिक जीवनमा आएको आधारभूत परिवर्तन अनुकूल होस्। यही सामाजिक वातावरणमा थालनी भएका अनेक धार्मिक र दार्शनिक विचारमध्ये सबैभन्दा अग्रगामी विचारको रूपमा बुद्धका अष्टांग मार्ग स्थापित भएको थियो।
वैचारिक टक्कर
बुद्धले वेदहरूको प्रभुत्वलाई नकार्ने र अहिंसाको प्रचार गर्ने क्रममा बशुबलिको विरोध गरेपछि पशु–धनमा आधारित कृषिको उत्थानमा मद्दत भयो। उनले किसानहरूलाई बीउ, पशु र औजार दिएर राज्यको सेवा गर्न राजाहरूलाई उपदेश दिए। शारीरिक र मानसिक श्रमलाई यथेष्ट जोड दिएर उनले कालीगढ र अन्य शिल्पीहरूको श्रमलाई सम्मान दिए। र, उनले व्यापारलाई सम्मानजनक पेसाका रूपमा लिँदै समुद्र–पारको यात्रालाई पनि स्वीकृति दिए भने ब्याजमा पैसा लगाउने चलनलाई पनि भर्त्सना गरेनन्। ब्राह्मण विधि–निर्माताहरूले भोजनालयलाई समेत स्वीकृति नदिएको स्थितिमा उनले पसलमा पकाइएका खाना खान निषेध गरेनन्। कतिसम्म भने जातिभेदको उग्रता र सहरीकरणको व्यापकताबीच फैलिएको वेश्यावृत्तिलाई पनि भर्त्सना नगरेका बुद्धका अनुयायी वेश्यालाई पनि धृणा गर्दैनथे।
यसरी नवोदित सामाजिक समूहका आकांक्षालाई सम्बोधन गरेका बुद्धले एकातिर ब्राह्मणवादी आडम्बर र भड्किलो कर्मकाण्डको तर्कसंगत ढंगले खण्डन गरे भने वर्णव्यवस्थामा तल पारिएका वैश्य (व्यापारी) र शूद्र (श्रमिक)प्रति, उनीहरूको पेसाप्रति उदार दृष्टिकोण अँगाले। 'तल्लो वर्ण'का पुरुष र महिलालाई पनि भीक्षु सङ्घमा प्रवेश गराउने, उनीहरूसँग खानपानदेखि सबै खाले व्यवहारलाई स्वीकार्ने तथा उनीहरूका लागि निषेधित रहेको ज्ञान र मोक्ष प्राप्तिको बाटो खोल्ने काम कम क्रान्तिकारी थिएनन्। त्यसरी उनले वर्णव्यवस्था र जातभातको पनि विरोध गरेपछि कट्टर ब्राह्मणवादी विचारसँग बुद्धको सिद्धान्तको सीधै टक्कर भयो। तर पनि दास, ऋणी र सैनिकलाई सङ्घ प्रवेशमा निषेध गर्दै उनले प्रचलित सामाजिक सम्बन्धलाई चुनौती नदिएको ठान्ने गरिन्छ। जातपात प्रथा र छुवाछूत प्रथाविरुद्ध कुनै दृढ संघर्ष नगरेको भन्दै उनको आलोचना पनि गरिन्छ। तर, शूद्र, दास र महिलाहरूको जीवनमा सुधारका उनले गरेका प्रयास प्रचलित सामाजिक भेदभावविरोधी अग्रगामी प्रयत्न थिए आज पनि कम अग्रगामी देखिँदैनन्।
मातंगजस्ता चाण्डाल–पुत्रहरूले पनि ज्ञान प्राप्तिसँगै सङ्घको उच्च पद पाउने संरचना र संस्कृति निर्माण गर्नु भनेको साढे छब्बीस सय वर्षपछिको दक्षिण एसियाली समाजका लागि कुनै पनि दृष्टिले गैरक्रान्तिकारी काम होइन। अतः बुद्धलाई गैरऐतिहासिक र गैरद्वन्द्ववादी ढंगले हेर्ने मार्क्सवादीहरूले हेर्ने दृष्टिकोण फेर्नुपर्ने देखिन्छ। र, बुद्धका सिद्धान्तलाई मूर्तिपूजा वा कर्मकाण्डमा संकुचित गर्ने बुद्धवादीहरूले पनि बुद्धले आफ्नो समाजलाई दिएको मार्गनिर्देशनबाट पाठ सिकेर आफूलाई परिमार्जित गर्नुपर्ने देखिन्छ। बुद्ध–जयन्तीका दिन वक्तव्यबाजी मात्रै गर्ने द्विज र गैरद्विज वर्णका नेता, मन्त्री र प्रशासकहरूले पनि बुद्धले भनेझैँ 'समाजमा दुःख छ, दुःखको कारण छ, दुःख विनाश गर्न सकिन्छ र दुःख विनाश गर्ने मार्ग छ' भन्ने चार आर्य सत्य मात्रै बुझे पनि ठूलै सामाजिक क्रान्ति हुन सक्छ।
No comments:
Post a Comment