Friday, May 17, 2013

प्रचण्डको ‘किचनमा’ बैद्य सिध्याउने कसम


काठमाडौं। लोकमानसिंह कार्कीलाई जुन शक्तिले अख्तियारको प्रमुख बनायो त्यही शक्तिले राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई तथास्तुको आश्वासन दिएको चर्चा उच्च राजनीतिक वृत्तमा चल्न थालिसकेको छ। सबैले आ–आफ्नै अनुकूलता सोचेर काम फत्ते गरे लगत्तै एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने अब आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउने सपना देख्न थालिसकेका छन्। त्यसका लागि सबैभन्दा पहिले नेकपा माओवादीलाई तहसनहस पार्ने उनको योजना सार्वजनिक भएको छ।
प्रचण्डले मंसिरको चुनाव पनि सार्न सके नेकपा–माओवादीको आधाभन्दा बढी हिस्सा आफूतिरै फिर्ता ल्याउन सकिने र बाँकी रहेकालाई दमन गरेरै ठेगान लगाउने निष्कर्ष निकालेका छन्। दक्षिणका एकजना दूत सहित आफ्ना विश्वासिला व्यापारी, तस्कर र किचन क्याबिनेटका केही नेताहरुसहितको जमघटमा प्रचण्डले यो निष्कर्ष सुनाएका हुन्। त्यति भन्दै गर्दा चुनाव चाहिँ आफ्नै नेतृत्वमा गर्ने सपना पनि उनले सुनाएको जमघटका एक सहभागीले अन्य दलका शीर्ष नेतादेखि सरकारका केही प्रभावशाली मन्त्रीसम्मको कान फुकेपछि प्रचण्डको योजना बाहिर आएको हो।
dahal
प्रचण्डले असारमा चुनाव नभए मंसिरमा पनि हुन नदिने कुरा धेरै पहिले नै खुस्काएका थिए। उनले पार्टीका राज्य समितिस्तरका प्रशिक्षणहरुमा मंसिरमा पनि चुनाव नहुने र एम्ााओवादी नेतृत्वको सरकार बनेपछि मात्र चुनाव हुने आसय व्यक्त गरिसकेका छन्। यसो भन्नुको पछाडि मुख्य त्रास उनका लागि मोहन वैद्य नेतृत्वको नेकपा माओवादी बनेको हालैका उनका अभिव्यक्ति र क्रियाकलापले पुष्टि गरेका छन्। नेकपा माओवादीको शक्ति यथावत रहुन्जेल कुनै हालतमा चुनाव जित्न नसकिने निष्कर्षमा पुगेका प्रचण्डले मंसिरको चुनाव टार्न खोज्नुको पछाडि गम्भीर रहस्य लुकेको छ। उनी नेकपा माओवादीलाई नसिध्याई चुनावमा भाग लिने मुडमा नरहेको समेत एमाओवादीका एक नेताले बताए।
पार्टी फुटे लगत्तैदेखि प्रचण्डले कृष्णबहादुर महरामार्फत् मोहन वैद्यसँग एकताको प्रयास गरेका थिए। उनले बेला आउनासाथ बाबुराम र नारायणकाजी दुवैलाई पार्टीबाट निकालेर भने पनि मोहन वैद्यलाई सम्मानजनक स्थानमा राखेर पार्टी एकता गर्ने प्रस्ताव महराको कपन निलोपुल नजिकैको निवासमा राखेका थिए। त्यसबेला उनले नेकपा माओवादीको महाधिवेशन रोक्नका लागि मात्र जाल फालेको निष्कर्ष निकालेर बैद्य र रामबहादुर थापा बादलले उनको जालझेलमा नफस्ने निष्कर्ष सहित महाधिवेशन सम्पन्न गरेका थिए। यसबीचमा प्रचण्डले देव गुरुङ, हितमान शाक्य, पम्फा भूषाल लगायतका नेताहरुसँग पनि अनौपचारिक सूत्रहरुमार्फत् एकताको प्रस्ताव अघि बढाएका थिए।
मोहन वैद्यको बहिर्गमनपछि पार्टीमा एक्लो र अभिभावकविहीन अनुभव गरेका प्रचण्डले बाबुराम र नारायणकाजीलाई विश्वास गर्दैनन्। बाह्य शक्तिका कारण र अरु विकल्प नभएको अवस्थामा उनले अहिले कृष्णबहादुर महराको साथ रोजेका छन्। महरा प्रचण्डका लागि रहर नभई बाध्यतामात्र भएको उनका निकटस्थहरु बताउँछन्। पछिल्लो समयमा दक्षिणतिर महराको सम्बन्ध प्रगाढ बन्दै गएका कारण पनि उनले महरालाई साथमा लिएका छन्। महराको सम्बन्ध मोहन वैद्यसँग बिगतमा राम्रो भए पनि निर्णायक बेलामा अत्यन्त अवसरवादी चरित्र देखाएका कारण अहिले बैद्य समूहले सबैभन्दा अविश्वास पनि महरालाई नै गर्छ। प्रचण्डले हितमान शाक्यमहरुमार्फत् बैद्यसँग नजिकिने बाटो बनाएपछि तर्सिएका बाबुरामले केही समयअघि विप्लवलाई आफ्नो निवासमा खाना खुवाएर प्रचण्डलाई जवाफ दिएका थिए।
बैद्य र बादलको अभावमा पार्टीमा आफू कमजोर हुँदै गएको निष्कर्षमा पुगेका प्रचण्डले अब पार्टीमा भारतीय प्रभाव जबर्जस्ती हावी भएकाले आफू केही गरी पनि त्यसलाई चिरेर अघि बढ्ने अवस्थामा नरहेको खुल्लेआम बताउने गरेका छन्। पार्टी बैठकका सामान्य कुरा पनि भारतीय गुप्तचरहरुसम्म पुग्ने गरेकेा र आफूलाई भारतीय नेताहरुले समेत सोध्ने गरेको प्रसंग पनि प्रचण्डले सुनाउन भ्याइसकेका छन्। यसबीचमा जे गर्दा पनि मोहन वैद्यलाई पार्टी एकताका लागि मनाउन नसकेपछि प्रचण्डले अब बैद्य समूहमा बिभाजन ल्याउने अर्को रणनीति अख्तियार गरेका छन्। उनले बैद्य नेतृत्वको नेकपा माओवादीका केही केन्द्रीय सदस्यहरुलाई पार्टीमा प्रवेश गराएपछि अब अन्य नेताहरुतिर आँखा लगाएका छन्।
‘पार्टी एकताको सम्भावना सकियो। नेकपा माओवादी रनभूल्ल अवस्थामा छ। विद्रोह कि चुनाव भन्ने विषयमा कार्यकर्ताहरु र नेतृत्व नै अन्योलमा छ। विद्रोह तत्काल नगर्ने हो भने पार्टी बिभाजनको औचित्य पुष्टि हुँदैन। तर अहिले विद्रोहको अवस्था छैन। बैद्यजी भीष्मपितामह बन्नुभएको छ, केही नेता चुनावमा जाने पक्षमा छन्। तर विप्लवहरु कुनै हालतमा यो प्रक्रियामा सहभागी हुने अवस्था छैन। ‘ प्रचण्ड निकट एक प्रभावशाली नेताले भने –’यो अवस्थामा हाम्रो सिएमले उनीहरुभित्र खेलेर केही महिनाभित्रै त्यो पार्टीलाइ तहसनहस बनाउने कुरा गर्नुभएको छ। सायद त्यो प्रक्रिया माघ फागुनसम्म लाग्ने भएकाले पनि मंसिरको चुनाव नहुन सक्छ’।

No comments:

Post a Comment