Friday, May 17, 2013

अमर लामा हत्याको नालीबेली


अमर लामा हत्याको नालीबेली

दुई दशकअघि नेकपा एमालेका तत्कालीन महासचिव, नेपालका एक होनाहार राष्ट्रवादी नेता मदन भण्डारीको रहस्यमय हत्या भयो चितवनको दासढुंगामा । भण्डारी र एमालेका अर्का नेता जीवराज आश्रित सवार जीप त्रिशुलीमा खस्यो, दुवैजनाको स्वर्गारोहण भयो । तर, दुर्घटनामा बचेका अमर लामा पछिसम्म रहस्यमयी बनिरहे । कतिपयले उनको नियतमाथि प्रश्न गरिरहे, कतिपयले बाह्य शक्तिकेन्द्रले उनलाई प्रयोग गरेर भण्डारी र आश्रीतको मृत्युवरण गराएको अनुमानसमेत गरिरहे । तर सबै कुरा रहस्यको गर्भमा रहेकै बेला लामा पनि रहस्यमयी तरिकाले मारिए । लामा एकमात्र जीवित साक्षी थिए जीप दुर्घटनाको । आज मदन र आश्रीतप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै सो घटनाका एकमात्र प्रत्यक्षदर्शी लामाको हत्याको बिवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । लामा हत्याको नालीबेली २०६४ सालको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो जहाँ लामाको हत्या तत्कालीन माओवादी कार्यकर्ताले नै गरेको भन्ने कुराको पुष्टि हुन्छ ।
यसरी मारिए अमर लामा
-पर्शुराम काफ्ले /
काठमाडौँ । एमालेका नेता मदन भण्डारीको विवादास्पद जिप दुर्घटना प्रकरणका एकमात्र सँक्षी डाइभर अमर लामाको हत्या भएको चार वर्षपछि त्यसको भित्री रहस्य नयाँ पत्रिकाले फेला पारेको छ । लामाको हत्यामा तत्कालीन विद्रोही माओवादी कार्यकर्ताको संलग्नता रहेको पत्ता लागेको छ । हत्यामा माओवादीका तीन छापामार संलग्न भएको रहस्य समेत खुलेको छ ।
भर्खरै माओवादी प्रवेश गरेका एमाले नेता कार्यकर्ताको सुझाव अनुसार माओवादीले ०६० साउनको दोस्रो साता लामालाई काठमाडौबाट उठाएर ललितपुर र मकवानपुरको सीमानामा पर्ने ठिंगन गाउँमा पु-याउने योजना बनेको थियो । त्यतिवेला माओवादीका भ्याली कमाण्ड इन्चार्ज रामवहादुर थापा वादल थिए । समाचार स्रोतका ललितपुरको ग्वार्कोमा नक्कली खासा ब्यापारी बनेर बसेका वादल साउनको पहिलोसाता तिरै ठिंगन गाउँमा पुगेका थिए । ग्वार्कोमा बस्दा वादल ‘साईला’ तथा ‘प्रेम दाइ’ नामले चिनिने गरेको माओवादी स्रोत बताउँछ ।
ठिंगनमा जनमुक्ति सेनाका कमिसार दिलीप प्रजापति लगायतले लामासित दासढुंगा हत्याकाण्डका बारेमा वयान लिने तयारी भइरहेको थियो । सोही प्रयोजनका लागि लामालाई नियन्त्रणमा लिएर जाने क्रममा कीर्तिपुरमा सो हत्याकान्ड भएको थियो ।
भदौ २०६० मा भारतको दिल्लीमा बसेको माओवादी पोलिटव्युरो वैठकमा समेत अमर हत्याकाण्डको बारेमा चर्चा भएको माओवादी स्रोत बताउँछ । तर यस बारेमा माओवादी नेता केही पनि बोल्न चाहन्नन् ।
लामाको अकस्मात मृत्युपछि मदन हत्याका बारेमा नयाँ रहस्य खोतल्ने माओवादी योजना समेत तुहिन पुगेको थियो । तनहुँ भानु ८ का अमरजङ् तामाङ् ((अमर लामा) जेठ ३, २०५० को दासढुंगा प्रकरणपछि चर्चामा आएका थिए ।
३ जेठ २०५०मा चितवनको कालीदास गाविस २स्थित दासढुंगामा एमाले नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रीतको रहस्यमय मृत्युसँगै लामा रहस्यका पात्र बनेका थिए । जनतामाझ लोकप्रिय नेता भण्डारीको मृत्युप्रकरणसित जोडिएका लामाको ११ साउन २०६०मा हत्या भएको थियो ।
यसरी भयो हत्या
एमाले र मालेबाट माओवादी प्रवेश गरेकाहरुले अमर लामाबाट मदन हत्याकाण्डको वास्तविकता खोतल्न पहल गर्नुपर्ने सुझाव दिदै आएको उपत्यकाका तत्कालीन माओवादी नेताहरुले बताएका छन् । ‘भर्खरै पार्टी प्रवेश गर्ने साथीहरुले अमरबाट दासढुंगा हत्याकाण्डबारे भित्री कुरा निकाल्न सुझाव धेरै पहिलेदेखि नै दिदै आएका थिए ’ उपत्यकामा खटिएका माओवादी जनमुक्ति सेनाका तत्कालीन कमिसार दिलीप प्रजापति भन्छन्, ‘अमरबाट कुरा वाहिर निकाल्नुपर्छ भन्ने कुरा पहिलेदेखि नै उठेको थियो । हामी उपयुक्त समयको खोजीमा थियौँ । ’ तर लामाको हत्यामा माओवादी संलग्नतालाई उनी ठाडै अस्वीकार गर्छन् ।
तर माओवादीकै सुत्रले नयाँ पत्रिकालाई दिएको जानकारी अनुसार उपत्यकामा खटाइएका जनमुक्ति सेनाका कम्पनी कमाण्डर सदीपको नेतृत्वमा आएको तीनजनाको समूहले ११ साउन २०६०को दिउँसो कालीकास्थानस्थित ताजा खवर साप्ताहिकको कार्यालयबाट उनलाई उठाएर लगेको थियो । उनी ५ साउनमा सो पत्रिकाको प्रवन्ध सम्पादक नियुक्त भएका थिए । लामालाई अपहरण गर्न सदीपको नेतृत्वमा तीन व्यक्ति सहभागी थिए । लामालाई बा १ ज २५६० नंवरको रातो रङ्को ट्याक्सीमा राखेर अपहरण गरिएको थियो । अपहरणकारीहरुले लामालाई ट्याक्सीमा हालेर कालीकास्थानबाट अनामनगर, माइतीघर, कुपण्डोल,सानेपा, चौधरी ग्रुपको कार्यालयको चोक हुँदै रिङ् रोडबाबाट बल्खु तारेर कीर्तिपुर पु-याएका थिए ।
। कीर्तिपुरको ढाट राखिएको ठाउँमा १० रुपियाँ कर तिरेर पाँगाबाट पिपलको बोट काटेपछि उनीहरुले ट्याक्सी रोकेका थिए । त्यसदिन ३ः३० तिर कीर्तिपुरमा तत्कालीन शाही सेनाले सुरक्षा जाँच गरेको थियो । त्यतिवेला लामालाई कीर्तिपुरको नगाउँ दोवाटोमा पु-याइएको थियो । सुरक्षा जाँच देखिएपछि माओवादी कार्यकर्ताले ट्याक्सी रोकेर आफ्नो ज्यान बचाउने दाउ शोचेका थिए । सेनालाई देखेपछि लामाले गुहार माग्ने र त्यसपछि अपहरणका संपूर्ण योजना खुल्ने डरले माओवादी कार्यकर्ता लामाको हत्या गरेर भाग्ने जुक्ति रचेको माओवादी स्रोतले बतायो ।
‘कीर्तिपुरमा पुगेपछि अगाडि शाही सेनाले चेक गरिरहेको थियो ’ स्रोतले नयाँ पत्रिकासित भन्यो, ‘सरासर गएको भए ऊ( अमर लामा ) बाँच्थ्यो तर उसलाई लैजानेहरु पक्राउ पर्ने वा मर्ने निश्चित थियो । ’
माओवादी कार्यकर्ताले आफ्नो ज्यान बचाउन ट्याक्सी रोकेर अमरलाई ढोका खोलेर भाग्न भनेका थिए । ट्याक्सीको पछाडि सीटमा राखिएका अमर हतारिएर भाग्ने क्रममा अपहरणको नेतृत्व गरेका कमाण्डर सदीपले गोली हानेका थिए । स्रोतका अनुसार टाउकामा गोली लागेपछि लामा घोप्टो परेर ढलेका थिए । लामालाई गोली हानेपछि तीन माओवादी कार्यकर्ता तीनतिर तितरवितर भएका थिए । घटना कीर्तिपुर नयाँबजार र इलाका प्रहरी कार्यालय बीच रहेको राजु महर्जनको घर अगाडिको बाटोमा भएको प्रहरीको अनुसन्धानमा पनि उल्लेख छ । समाचार स्रोतका अनुसार तीनै जनालाई पार्टी सम्पर्कमा आइपुग्न झण्डै एकसाता लागेको थियो ।
घटनाको भोलिपल्ट (१२ साउन) मा अपहरणमा संलग्न ट्याक्सी हाँक्ने दाताराम अधिकारीलाई प्रहरीले समातेको थियो । तर अनुसन्धानपछि अपहरणमा उनको संलग्नता नभएको भन्दै प्रहरीले उनलाई रिहा गरेको थियो । पक्राउ परेको भोलीपल्टै (१३ साउनमा ) ३५ वर्षीय दाताराम अधिकारीलाई प्रहरीले भवानीप्रसाद पाठक नाम गरेका व्यक्तिको रोहवरमा रिहा गरेको थियो । उनलाई आवश्यक परे पछि प्रहरीमा हाजिर हुने शर्तमा छाडिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका डाक्टर हरिहर वस्तीले पनि लामाको हत्या गोली प्रहारबाट भएको प्रतिवेदन दिएका थिए ।
एमाले नेता प्रदीप ज्ञवाली अमर हत्याका बारेमा पार्टीले कसैलाई शंका नगरेको बताउँछन् । ‘मदन भण्डारीको हत्याको रहस्य लुकाउनका लागि पनि अमरलाई कसैले हत्या गर्न सक्छन् भन्ने आशंका त भएको थियो ’ एमाले नेता ज्ञवाली भन्छन्, ‘तर हत्या यसरी नै भयो भन्ने जानकारी हामीलाई छैन । हामी त्यतापट्टि पुगिसकेका छैनौ ।’
के थियो दातारामको बयान ?
दातारामले आफू सामान्य डाइभर मात्र रहेको र अमरको अपहरणमा आफ्नो संलग्नता नरहेको बयान प्रहरीलाई दिएका थिए । प्रहरी नै विश्वस्त हुने गरी उनले दिएको वयानमा लामाको अपहरणमा कालो वर्ण, दारी लामो भएको, लाम्चो अनुहार भएको ,छोटो कपाल पालेको र ढाकाटोपी लगाएका व्यक्ति ट्याक्सीको अगाडि सीटमा बसेको उल्लेख छ । यसै गरी अपहरणमा संलग्न अर्का व्यक्ति गोरो वर्ण, गोलो अनुहार, कालो टिसर्ट र नाक छोटो भएको वयान उनले प्रहरीलाई दिएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरीसित उनले दिएको रोचक वयानमा भनिएको छ,‘ म २०४३ सालदेखि काठमाडौँमा बस्न थालेको हुँ । पहिला ठूलो गाडि चलाउँथे । सात वर्षदेखि ट्याक्सी चलाउँदै आएको छु । मैले चलाउने ट्याक्सी वानेश्वरका शम्भु तिवारीको हो । ’ सोही दिनको घटनाका बारेमा प्रहरीलाई दिएको वयानमा अधिकारीले साउन ११ गते मैतिदेवीबाट डिल्लीवजार आउँदै गर्दा कालीकास्थानमा आएपछि अपहरणकारीले ट्याक्सी रोकेको र त्यसपछि चेपतिरको बाटोमा गएको बताएका थिए । ‘ट्याक्सीको अगाडी १ जना र पछाडि ३ जना बसे अनि अगाडि सीटमा बसेका सेतो सर्ट लगाएका व्यक्ति र अगाडिका व्यक्तिले समातेर ल्याए र ट्याक्सीमा हाले’ उनको वयानमा उल्लेख छ, ‘कालीकास्थानबाट अनामनगर, माइतीघर, कुपण्डोल,सानेपा, चौधरीग्रुपको कार्यालयको चोक हुँदै रिङ् रोडबाट बल्खुतिर लागियो । उनीहरुले कीर्तिपुर जाऊँ भने । मैले मानिन । तर जवर्जस्ती लगे ।’
कीर्तिपुरको ढाट राखिएको ठाउँमा उनीहरुले १० रुपियाको कर पनि तिरेको र पाँगा हुँदै पिपलको बोट कटेपछि अपहरणकारीले ट्याक्सी रोक्न भनेको पनि उनले बताएका छन् । ट्याक्सीको मिटरमा १६५ रुपिया मात्र उठे पनि उनीहरुले २०० रुपियाँ दिएर ओरालो लागेको र आफू फर्केको उनको दावी छ ।
‘केही समयपछि अर्को ट्याक्सी ड्राइभर साथीले मलाई खबर ग-यो र भन्यो–तेरो ट्याक्सीमा चढेर गएको अमर लामालाई मारेछन् नि । ’ एकछिनपछि मैले रेडियोमा समाचार सुने । मलाई त साह्रै नमज्जा लाग्यो । ’ प्रहरीलाई दिएको भनाईमा अधिकारीले अगाडि भनेका छन्, ‘आखा अगाडि देखेमा लामाको अपहरणमा संलग्न व्यक्तिलाई म चिन्न सक्छु ।’
प्रहरी उनको यस्तो वयानबाट प्रभावित भएका कारण थप अनुसन्धान गर्न तिर नलागेको सो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । प्रहरी स्रोतका अनुसार हत्या भएकै दिन लामाको लास विश्वराज लामाले बुझेका थिए ।
प्रहरीले लामाको हत्याका बारेमा अनुसन्धान गर्न डीएसपी डेग वहादुर जीसीको नेतृत्वमा अनुसन्धाना टोली गठन गरेका थियो । उपत्यका अपराध अनुसन्धान शाखाका तत्कालीन डीएसपी जीसीले तयार पारेको प्रारम्भीक प्रतिवेदनमा अमरको हत्या माओवादीले गरेको आशंका गरिएको थियो । २१ भदौ २०६०मा जीसीले तत्कालीन उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको प्रतिवेदनमा लामाले ‘माओवादीको गम्भीर प्रकृतिको राजनीतिक सुचना प्रवाह गरेकोले माओवादीले हत्या गराएको हुन सक्ने तर त्यसको पुष्टि गर्न नसकिएको ’ उल्लेख छ । लामाले कस्तो गम्भिर प्रकृतिको सूचना प्रवाह गर्थे भन्ने बारे प्रहरीको प्रतिवेदनमा उल्लेख छैन ।
लामाको हत्या माओवादीबाटै भएको प्रहरी आशंका अब पुष्टि भएको छ । तर प्रहरीले हाल यससम्बन्धी केही पनि अनुसन्धान गरेको छैन । हत्यामा नेपाल प्रहरीसँग लुटेको आठ राउण्डको चाइनिज पेस्तोल र ८ दशमलव ६२ एमएमको गोलीको प्रयोग भएको निष्कर्ष प्रहरीले त्यतिवेलै निकालेको थियो ।
सरकारले पनि लामाको हत्याका बारेमा छानवीन गर्न २० साउन २०६० मा पुनरावेदन अदालत पाटनका न्यायाधीश मधुसुधन श्रेष्ठको संयोजकत्वमा एक सदस्यीय आयोग गठन गरेको थियो । तर आयोगले तयार पारेको प्रतिवेदन हालसम्म सार्वजनीक भएको छैन ।
(२०६४ साल साउन दोस्रोसाता प्रकाशित नयाँ पत्रिका दैनिकको समाचार)

No comments:

Post a Comment