नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीले लोकतान्त्रिक, समृद्ध र समावेशी नेपालको निर्माणका लागि चाँडोभन्दा चाँडो स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु नै उत्तम मार्ग हुने धारणा अघि सार्नुभएको छ। संयुक्त राज्य अमेरिकाको दुई सय ३७औैँ स्वतन्त्रता दिवसका अवसरमा कमलादीस्थित राजदूतनिवासमा आयोजित विशेष कार्यक्रमबीच राजदूत बोडीले अमेरिका र आफू पनि नेपालको पुरानो मित्र रहेको स्मरण गराउँदै भन्नुभयो, ‘लोकतन्त्रमा निर्वाचन त्यत्ति नै अपरिहार्य छ, जति व्यक्तिगत अधिकारहरूको सम्मान, स्वतन्त्र प्रेस र गतिशील नागरिक समाज छ।’
निर्वाचनको मिति घोषणापश्चात् अमेरिका नेपाललाई सघाउन तत्पर रहेको उल्लेख गर्दै राजदूत बोडीले लोकतन्त्र र शासन–व्यवस्थाको सुधारका साथै शिक्षा र लैङ्गिक समताजस्ता चुनौतीको सामनाका लागि पनि अमेरिकाले नेपाललाई निरन्तर साथ दिने जानकारी गराउनुभयो। विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने उपस्थित अतिथिहरूलाई सम्बोधन गर्दै राजदूत बोडीले निर्वाचन र संविधान निर्माणको प्रयास भइरहेको नेपालको वर्तमान अवस्थासँग दाँज्दै अमेरिकाको सन्दर्भ स्मरण गर्नुभयो र सान्त्वना दिने भाषामा भन्नुभयो, ‘अमेरिकामा पनि रातारात लोकतन्त्रको स्थापना भएको थिएन, स्वतन्त्रताको घोषणापत्रपश्चात् पनि संविधान जारी हुन एघार वर्ष लागेको थियो।’
उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा मनाइएको सो कार्यक्रममा नेपाली सेनाको साङ्गीतिक टोलीले आफ्नो प्रस्तुति दिएको थियो भने कार्यक्रममा नेपाली सरकारी अधिकारीहरू, राजनीतिक नेतृत्व, नागरिक समाजका प्रतिनिधि, शैक्षिक र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
No comments:
Post a Comment