नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको उन्नति–प्रगतिमा सदा भारतको साथ रहने बताउनुभएको छ। एक छिमेकी मित्रका नाताले हामी नेपाल र नेपालीको उत्तरोत्तर प्रगतिको चाहना गर्दछौँ भन्दै राजदूत जयन्तले भारतमा पनि नेपालीभाषीहरूलाई सम्मानपूर्ण स्थिति रहेको स्पष्ट गर्नुभयो। उहाँको भनाइ थियो, ‘नेपालीभाषी राज्य सिक्किम भारतको पाँचौँ धनी प्रान्त हो। भारतमा सरकारी सेवाको कुनै पनि विधामा प्रवेशका लागि परीक्षा दिन चाहनेहरूले नेपाली भाषालाई माध्यम बनाउन सक्छन्। कुनै पनि राज्यमा घरजग्गा खरिद गर्ने र बसोबास गर्ने छुट नेपालीलाई छ। भारतमा पचास लाखभन्द बढी नेपाली रोजगारीका निम्ति बसिरहेका छन् र नेपालको रेमिट्यान्सको सबभन्दा ठूलो स्रोत पनि भारत नै बनेको छ।’
उहाँले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा भारतको ठूलो योगदान रहेको चर्चा गर्दै भन्नुभयो, ‘हामीले स्कुल–कलेजका भवन, अस्पताल, खानेपानी, साना जलविद्युत्, सडकलगायतमा सहयोग गरेका छौँ, तर हामीले जे–जति काम गरेका छौँ ती एनजीओ या आईएनजीओमार्फत नभई नेपाल सरकारमार्फत नै भएका छन्।’ राजदूत जयन्तले मध्यपहाडी तथा पहाडी क्षेत्रमा हामीले गरेको सहयोगको पूर्ण सदुपयोग भएको र कामको गुणस्तरसमेत राम्रो रहेको महसुस गरेको भन्दै अगाडि भन्नुभयो, ‘पहाडको तुलनामा तराईमा भएको काममा गुणस्तर तथा त्यसको रेखदेख, सञ्चालन र परिचालनमा केही भिन्नता पाइएको छ। पहाडमा विकास कार्यमा मानिसको उत्साहजनक सहभागिता, जिम्मेवारीबोध र गुणस्तरीय काम गर्नुपर्छ भन्ने भावना प्रशंसनीय छ।’
गत बुधबार केही सम्पादकहरूसँगको दिवाभोजका अवसरमा राजदूत जयन्त प्रसादले उपरोक्त विचार व्यक्त गर्नुभएको हो। भारतीय राजदूतावासका पे्रस तथा सूचनाप्रमुख अभयकुमार सिंहद्वारा आयोजित दिवाभोजमा राजदूत जयन्तको विशेष उपस्थिति थियो। दिवाभोजमा सम्पादकहरू केशव पौडेल, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, नीमकान्त पाण्डे, शम्भु श्रेष्ठ, देवप्रकाश त्रिपाठी, किरण नेपाल, परशु घिमिरे, प्रशान्त अर्याल, राजेश अहिराज, कविर रणा, शिरीष बल्लभ प्रधानलगायतको सहभागिता थियो।
सो अवसरमा राजदूत जयन्त प्रसादले पत्रकारहरूको विभिन्न प्रश्नहरूको जवाफ दिनुभएको थियो। उहाँले नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्धलाई अझै मित्रवत् एवम् सुदृढ तुल्याउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने विचार प्रकट गर्दै भन्नुभयो, ‘हामी नेपाल र नेपालीको हितका निम्ति जुनसुकै सहयोग गर्न तत्पर छौँ।’
No comments:
Post a Comment