काठमाडौं नगर पञ्चायतमा हरिबोल भट्टराईलाई प्रधानपञ्च र तीर्थराम डंगोललाई उपप्रधानपञ्चको उम्मेदवार बनाइएको थियो। उहाँहरूलाई चुनाव जिताउन म खब लागें। त्यतिबेला स्कुल पढ्दै थिएँ। नेविसंघको संगठन कलेज–कलेजमा थियो, तर स्कुल तहमा खासै थिएन। उहाँहरूलाई चुनाव जिताएपछि नेपाली कांग्रेस पार्टी भनेको के हो? किन गणेशमानजीलाई सरकारले दुःख दिइरहेको छ? भन्नेतर्फ चाख राख्दै गएँ। राजनीतिसम्बन्धी किताबहरू पढ्न थालें, अग्रज नेताहरूसँग जिज्ञासा राख्न थालें। २०४६ सालको जनआन्दोलन हुँदासम्म म राजनीतिप्रति पूरै आकर्षित भइसकेको थिएँ। पञ्चायती व्यवस्था नढलेसम्म नेपालको भविष्य छैन भन्ने छाप मेरो मनमस्तिष्कमा परिसकेको थियो। मैले चिनेजानेसम्म हाम्रा दाजुभाइ तथा नातेदार कोही पनि राजनीतिमा संलग्न थिएनन्। हाम्रो तामाङ जातीमा राजनीतिप्रति खासै चेतना थिएन भन्दा हुन्छ। मेरो बाबुबाजेहरू सैनिक सेवामा हुनुहुन्थ्यो। पारिवारिक पृष्ठभूमि मध्यमस्तरकै हो, तर बुबा–आमा सानैमा बित्नुभएकाले म दुःख गरेरै हुर्किएको हुँ।
० तपाईको थातथलो कहाँ हो?
– हामी काठमाडौंकै बासिन्दा हौं। हाम्रो पुर्ख्याैली बसोबास थापाथली हो। म २०२८ सालमा थापाथली माइतीघरमै जन्मंे। एक हिसाबले भन्दा काठमाडौंमा जन्मनु हुर्कनु अन्य दृष्टिकोणले सुविधाजनक नै होला, तर राजनीतिक अवसर भने बाहिरी जिल्लाका युवाहरूको भन्दा काठमाडौंका युवाहरूका लागि कम नै हुने रहेछ। हामी स्कुलमा पढ्दा बाहिरका जिल्लामा राजनीतिक चहल–पहल खुब हुन्थ्यो। गाउँका स्कुलहरूको तुलनामा सहरका स्कुलमा राजनीतिक चहल–पहल बढी हुन्थ्यो। त्यसैकारण होला, म पहिले नेपाली कांग्रेस र त्यसपछि नेविसंघ भएको।
० कांग्रेस र नेविसंघमा लागेर के के जिम्मेवारी पाउनुभयो?
– सडक आन्दोलनको जिम्मेवारी, चुनाव प्रचार–प्रसार गर्न झन्डा लिएर जुलुसमा हिँड्ने जिम्मेवारी त मैले १२/१३ वर्षको उमेरदेखि नै पाएको हुँ। तर सडकको जिम्मेवारीबाट पदीय जिम्मेवारी पाउन मैले निकै ठूलो संघर्ष गर्नुपरिरहेको छ। निकै धेरै समय लाग्यो। कलेज पढ्न थालेपछि साथीहरूले मेरो संघर्षशीलतालाई ख्याल गरेर होला, पदीय जिम्मेवारीमा बस्नुपर्छ भन्न थाले। पदको आधारमा मात्रै पहिचान हुने परिपाटी बस्न थालेकोे छ। यस्तो परिपाटी राम्रो होइन, तर के गर्ने? पदमा नबसी पहिचानै नहुने। त्यसैले रत्नराज्य क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र त्रिवि कीर्तिपुरमा अध्ययन गर्नेक्रममा मैले नेविसंघका विभिन्न पदमा बसेर काम गरें। स्वतन्त्र विद्यार्थी युनियनमा पनि धेरैपटक चुनाव लडियो। कहिले जितियो, कहिले हारियो। राजनीतिमा हारजित ठूलो कुरा होइन भन्ने लाग्छ।
० अहिले पनि विद्यार्थी राजनीतिमै हुनुहुन्छ?
– पार्टीमा काम गर्नु र नेविसंघमा काम गर्नु उस्तै उस्तै हो जस्तो लाग्छ। मुख्य कुरा, कहाँ काम गर्दा आफूले प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने हो। अहिले पनि म विद्यार्थी नै हुँ। केन्द्रीय क्याम्पस कीर्तिपुरमा पढ्छु। मेरो भूमिकालाई मूल्यांकन गर्दै साथीहरूले चारपटकसम्म नेविसंघ त्रिवि समितिको उपाध्यक्ष बनाए, कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि दिए। २०५७ सालमा स्ववियु सदस्य, २०६० मा स्ववियु उपसभापति र २०६२ मा स्ववियु सचिव निर्वाचित भएँ। स्वतन्त्र पिद्यार्थी युनियनको अघिल्लो निर्वाचनमा सभापतिको प्रत्यासी थिएँ, तर मेरो पालामा बडो दुर्भाग्य भयो। त्रिवि कीर्तिपुरको स्ववियु निर्वाचनको इतिहासमै सबैभन्दा बढी मत मैले प्राप्त गरें, तर चुनाव भने जित्न सकिनँ। मैले करिब २३ सय मत प्राप्त गरें, २५ सय मत प्राप्त गरेर एमाओवादीको अखिल क्रान्तिकारीले चुनाव जित्यो।
० कसरी त्यस्तो भयो?
– अखिल क्रान्तिकारीले करिब १५ सय नयाँ भर्ना गर्यो, चुनावको मुखमा ठूलै दादागिरी भयो। त्यो अराजकता हामीले रोक्न सकेनौं। त्रिविमा उसका समर्थक विद्यार्थी खासै थिएनन्। नयाँ भर्ना गरेकाले मात्रै भोट दिएर कसरी जित्लान् र? भन्ने आंकलन हामीले गर्यौं। नेविसंघमा देखिएकै विद्यार्थीहरूको संख्या दुई हजारको हाराहारीमा थियो। चुनाव जित्न त्यो संख्या काफी भएका कारण हामीले अन्य तरिका अपनाउनुपर्ने जरुरी ठानेनौं। भद्र ढंगले हामी प्रस्तुत भयौं। हाम्रो अपेक्षा करिब दुई हजार भए पनि हामीले २३ सय चानचुन मत प्राप्त गर्यौं।
० अन्य क्याम्पसमा राजनीति गर्दा र केन्द्रीय क्याम्पसमा राजनीति गर्दा के फरक पाउनु भो?
– सुरुमा नगरको वडा, त्यसपछि स्कुल हुँदै क्याम्पस र विश्वविद्यालयमा सक्रिय राजनीति गर्ने अवसर पाएँ। यी सबै ठाउँका अनुभव पृथक् पृथक् छन्। र, चुनौतीहरू पनि पृथक् पृथक् छन्। वडामा काम गर्दा मेरो नेतृत्वदायी भूमिका थिएन। चुनावमा प्रचार–प्रसार गर्ने, जुलुसमा हिँड्ने गर्दा त्यही खालको संगत हुन्थ्यो। साथीहरू पनि त्यही लेबलका थिए। क्याम्पस तहमा राजनीति गर्न थालेपछि देशभरिका साथीहरूसँग संगत भयो। उनीहरू राजनीति जानेबुझेका र खारिएका थिए। ती साथीहरूको संगतले मलाई अझ परिपक्व बनायो। आफूले पनि थप कुरा सिक्ने मौका पाएँ। वडा र स्कुलमा राजनीति गर्दा कांग्रेस र नेविसंघ भनेको यस्तो संगठन हो, पञ्चायतले यसरी दुःख दिएको छ, प्रजातन्त्र नआई हाम्रो भविष्य छैन भनेर युवाहरूलाई आकर्षित गर्नुपर्थ्याे । आफूले जे जानेको छ, त्यही कुरा सम्झाउने गरिन्थ्यो। साथीहरू मजाले आकर्षित हुन्थे, तर क्याम्पस तहमा पुगेपछि नेविसंघमा नयाँ विद्यार्थीहरूलाई आकर्षित गर्न बढी नै मेहनत गर्नुपर्थ्याे। प्रायःजसो विद्यार्थीहरूले दिमागमा एउटा एउटा धारणा बनाइसकेका हुन्थे। कम्युनिस्टहरूका भ्रमपूर्ण तर गुलिया नारा घुसिसकेको दिमागलाई खाली गराएर नेपाली कांग्रेसका टर्रा धारणा घुसाउनु निकै चुनौतीपूर्ण हुन्थ्यो। र, पनि हामी निरन्तर खट्यौं। म प्रवेश गर्दाताका रत्नराज्य क्याम्पस अखिलको गढ थियो। विस्तारै विस्तारै हामीले मेहनत गर्न थालेपछि त्यो क्याम्पसमा नेविसंघको रामै्र वर्चश्व स्थापित भयो।
० त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्दा के–कस्तो चुनौतीको सामना गर्नुपर्दो रहेछ?
– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहको मात्रै पढाइ हुने भएकाले स्वाभाविक रूपमा बौद्धिक समूहको जमघट हुने नै भयो। व्यवहार, अनुभव र पढाइले खारिएका विद्यार्थीहरूको नेतृत्व गर्नुपर्ने भएकाले आफूलाई निरन्तर अपडेट राख्नु सबैभन्दा ठूलो चुनौती थियो। भाषण गरेर, चर्का नारा दिएर मात्रै त्रिविमा संगठन गर्न नसकिने रहेछ। नेपाली कांग्रेस या नेविसंघमा यो यो कारणले लाग्नुपर्छ भनेर त्रिविका विद्यार्थीहरूलाई सम्झाइरहनु जरुरी छैन। को अखिल, को नेविसंघ भन्ने कुरा स्नातक गर्दा नै निर्धारित भइसकेको हुन्छ। हामीले त खाली हाम्रा साथीहरूबीच संयोजनको भूमिका निर्वाह गर्ने हो। छरिएको शक्तिलाई समेटेर बलियो संगठन बनाउने मात्रै हो। म आफंैले पनि अन्य क्याम्पसको विद्यार्थी नेताका रूपमा परिचय दिँदा जुन खालको सम्मान पाउँथे, त्रिविको विद्यार्थी नेता भनेर परिचय दिँदा त्यसको तुलनामा निकै ठूलो सम्मान र रेसपोन्स पाएको अनुभव छ। मेचीदेखि महाकालीसम्मको बौद्धिक समूहबीच चिनिने मौका त्रिविको विद्यार्थी राजनीतिको क्रममै पाएको हुँ।
० त्रिभुवन विश्वविद्यालय जस्तो स्नातक तह उत्तीर्णले मात्रै प्रवेश गर्न पाउने शिक्षण संस्थामा स्ववियु एमाओवादी जस्तो भर्खर जनताको टाउको काटेर आएको पार्टीले कसरी जित्यो?
– त्रास र आश दुवैको प्रभाव हो। त्यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। आर्थिक रूपमा उनीहरू सबल भए। मैलेमाथि नै उल्लेख गरिसकेकेको छु, चुनावको मुखमा नयाँ विद्यार्थी भर्ना गर्न उनीहरू सफल भए। तैपनि भोट अन्तर सानै थियो।
० चुनावको मुखमा विद्यार्थी भर्ना गर्न पाइने भएपछि नेविसंघले पनि गरेको भए हुन्नथ्यो?
– आ–आफ्नो पार्टी तथा संगठनको नीतिमा भर पर्छ। हामी लोकतन्त्रमा विश्वास राख्छौं। लोकतन्त्रमा विश्वास राख्नेले धाँधली गरेर होइन, मतदाताको मत जितेर स्थापित हुनुपर्छ भन्ने मान्यता राख्छ। तर कम्युनिस्टहरूको नीति जसरी हुन्छ, जित्नु नै हो। असल साधन प्रयोग गरेर प्राप्त जितलाई नै हामी उपलब्धि मान्छौं, तर उनीहरू साधन गलत होस् वा सही जस्तोसुकै प्रयोग गर्नु परोस्, तर जित्नैपर्छ भन्ने मान्यता राख्छन्। नक्कली विद्यार्थीको मतले चुनाव जित्नुभन्दा सक्कली विद्यार्थीको मतले हार्नु नै गौरव हो भन्ने हामीले ठान्यौं। आखिर उनीहरूले स्ववियु जितेर यो चार वर्षको अन्तरालमा के गरे त? सिन्कोसम्म भाँचेका छैनन्। त्रिवि स्ववियुको इतिहासमै यो चार वर्षको समय खेर गएको छ, कालो दिन भएको छ।
० तपाईले त्रिविमा विद्यार्थी राजनीति गरेकै डेढ दशक हुन लागिसकेछ, नक्कली विद्यार्थी भर्नाको विकृतिलगायत अन्य विकृति उन्मूलनका लागि के के काम गर्नुभयो?
– कम्युनिस्टहरूले शैक्षिक क्षेत्रमा मात्र होइन, विकृति र विसंगति देशमै घुसाएका छन्। धार्मिक, जातीय र भाषिक आधारमा नेपाली जनतालाई विभाजित गर्ने र द्वन्द्व सिर्जना गर्ने काम माओवादीबाट सुरु भएको हो। कलेजहरूमा हेर्दा नेविसंघले कहीँ पनि नक्कली विद्यार्थी भर्ना गरेको छैन। विकृति विसंगति कम गर्ने भनेको सर्वप्रथम आफैं उदाहरण बनेर हो। नक्कली विद्यार्थीको भर्ना गर्दा चाहिने खर्चले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहुलियत दिन सकिन्छ, त्यतापट्टि लाग्नोस् भनेर मैले एमाले अखिल र एमाओवादी अखिलका साथीहरूलाई सुझाव दिँदै आएको छु। पैसा खर्च गरेर विकृति भित्र्याउँदा विद्यार्थीको हकअधिकार प्राप्त हुँदैन भनेर मैले बारम्बार उहाँहरूलाई भन्दै आएको छु ।
० यसपटक नेविसंघलाई चुनाव जिताउन के रणनीति बनाउनुभएको छ?
– चुनाव जित्ने मुख्य आधार भनेको बलियो संगठन र व्यवहारमा लागू हुन सक्ने विचार हो। संगठन र विचारका दृष्टिकोणले हामी धेरै अगाडि छौं। एक हिसाबले भन्नुपर्दा हाम्रो संगठन र विचारप्रति आमबौद्धिक तहको बढ्दो आकर्षणले हाम्रा प्रतिस्पर्धीहरू अत्तालिरहेका छन्। तर त्यो शक्तिलाई व्यवस्थापन गर्न स्रोत र साधन जुटाउनुपर्ने चुनौती हाम्रोसामु छ। माओवादी सत्तामा आएपछि उसले धनबलमा चुनाव लडिरहेको छ। पार्टीको सम्पूर्ण शक्ति विद्यार्थी चुनावमा लागिसकेको छ। ऊ हरेक मोर्चामा जित्न चाहन्छ। उनीहरूसँग न बलियो सांगठनिक आधार छ, न त भरपर्न सकिने विचार नै छ। तैपनि विश्वबाटै समाप्त हुँदै गएको कम्युनिस्ट विचारका धङधङीमा अडिरहेको छ। कम्युनिस्ट धङधङीले मुलुकको राष्ट्रियता र लोकतन्त्र दुवै संकटमा पर्छ भन्ने कुरा अहिले एमाले र एमाओवादीले प्रमाणित गरिसकेका छन्। नेपाली कांग्रेस चार वर्ष मात्रै ओझेलमा पर्दा मुलुकको राष्ट्रियताको हालत र लोकतन्त्रको हालत के भयो? भन्ने कुरा आमजनताले बुझ्न बाँकी रहे पनि कलेज तहमा अध्ययनरत विद्यार्थीले बुझिसकेका छन्। त्यसमा पनि त्रिविमा अध्ययन गर्ने विद्यार्थीहरूले त मज्जासँग बुझेका छन्। म निरन्तर कीर्तिपुर जान्छु, त्यहाँका विद्यार्थीहरूसँग मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आइपरेको संकटबारे बहस गर्छु। हिजो एमाले अखिल र अखिल क्रान्तिकारीलाई भोट दिने साथीहरूले हामीले बाटो बिराएछौं, नेपाली कांग्रेसको संस्थागत विकासविना राष्ट्रियता र लोकतन्त्र सम्भव रहेनछ भन्न थालिसकेका छन्।
० आमनिर्वाचनका एजेन्डा र स्ववियु निर्वाचनका एजेन्डा एउटै भएनन्?
– हामी विद्यार्थी राजनीति गर्ने भएकाले हामीले उठाउने मुद्दा भनेको शिक्षा नीति नै हो। शिक्षा नीति गलत भयो भन्ने मुद्दा धेरै पहिलेदेखि उठ्दै आएको छ। पढाइ नियमित हुनुपर्यो। शैक्षिक क्यालेन्डर बनाएर समयमै परीक्षा र रिजल्ट हुनुपर्यो। पिछडा र लोपोन्मुख समुदायका विद्यार्थीलाई सरकारले अनुदान दिएर प्राविधिक शिक्षा दिनुपर्यो भन्ने हाम्रो पहिलो माग छ। त्यस्तै, विद्यार्थीका लागि विभिन्न क्षेत्रमा सहुलियत हुनुपर्यो। प्राविधिक शिक्षाको विस्तार गर्नुपर्यो। शिक्षालाई रोजगारमूलक बनाउनुपर्यो भन्नेलगायतका मुद्दाहरू सबै विद्यार्थी संगठनका साझा एजेन्डा हुन्। तर मुलुकको राजनीतिप्रति विद्यार्थी जगत बेखबर बस्न मिल्दैन। स्ववियु निर्वाचनलाई एक हिसाबले मिनी जनमतसंग्रहको रूपमा लिइने गरिन्छ। गत संविधानसभा किन र कसका कारण असफल भयो भन्ने मूल्यांकन पनि मुलुकका आमविद्यार्थीहरूले स्ववियु निर्वाचनमार्फत गरून्।
० निजी क्याम्पस र विश्वविद्यालयमा स्ववियु छैन, रिजल्ट राम्रो छ। त्रिविअन्तर्गतका कलेजमा स्ववियु छ, तर रिजल्ट नराम्रो छ। स्ववियुले ल्याएको विकृतिको परिणाम हो यो भन्ने गरिन्छ नि?
– तपाईको यो विश्लेषण सरासर गलत हो भन्दिनँ। तर रिजल्टको प्रतिशतलाई मात्रै मापदण्ड बनाउँदा यस्तो विश्लेषण गर्न सकिएला। प्राइभेटमा विद्यार्थी संख्या थोरै हुन्छ, सुविधाभोगी, त्यहाँ सम्पन्न वर्ग पढछन्। सरकारीमा विद्यार्थी धेरै हुन्छन्, सर्वसाधारण जनताका छोराछोरी दुःखजेलो गरेर, बिहान बेलुका अन्यत्र काम गरेर पढ्छन्। मुलुकको शिक्षा क्षेत्रमा पनि माफियाकरण भएको छ। धेरै शुल्क तिर्न सक्ने विद्यार्थी भर्ना गर्ने ती विद्यार्थीहरूलाई सरकारी संस्थामा पढ्ने विद्यार्थीलाईभन्दा धेरै नम्बर दिएर अभिभावक खुसी पार्ने विकृति सुरु भएको छ। त्रिविकै लोगो प्रयोग गरेर संगठित भएकाहरूले आफूले नाफा कमाउन खोलेका शिक्षण संस्थाका विद्यार्थीलाई बढी नम्बर दिने र सरकारी शिक्षण संस्थामा पढ्ने विद्यार्थीलाई सकेसम्म फेल गरिदिने, फेल गर्न नसके कम नम्बर दिने गर्दछन्।
० समस्या पहिचान भइसकेपछि त सबै विद्यार्थी संगठनले साझा एजेन्डा बनाएर नियन्त्रण गर्न अघि बढे हुँदैन?
– आवाज उठिसकेको छ। तर कतिपय विद्यार्थी संगठन र नेताहरू शैक्षिक माफियाको प्रलोभनमा परेका छन्। शैक्षिक माफियासँग मिलेर आफ्ना छोराछोरी, भाइबहिनीलाई भर्ना गर्न वा ती शैक्षिक संस्थामा जागिर खुवाउन कतिपय विद्यार्थी नेताहरू तल्लीन रहेको मैले थाहा पाएको छु।
० स्ववियु चुनावको तयारी कहाँ पुगेको छ?
– प्रचार–प्रसार बल्ल सुरु भएको छ। साढे पाँच लाख विद्यार्थीहरू शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा लागेका कारण स्ववियु निर्वाचनको चहल–पहल जेठ १२ गतेपछि मात्र सुरु हुन्छ।
० नेपाली कांग्रेसको केन्द्रीय विद्यार्थी विभागमा तपाई पनि हुनुहुन्छ। स्ववियु चुनावका लागि तयारी थालिहाल्नुपर्ने होइन?
– गत जेठ ४ गते विभाग गठन भएको रहेछ। म विद्यार्थी विभागमा परेछु भन्ने कुरा समाचार हेरेपछि थाहा पाएँ। तर पूर्वमहामन्त्री जितजंग बस्नेत, पूर्वउपसभापति राजीव ढुंगाना, मलगायत केही साथीहरूले यो पद अस्वीकार गरेका छौं। यसलाई सुनियोजित षड्यन्त्रका रूपमा हामीले लिएका छौं। राजनीतिमा कसैलाई पद दिएर षड्यन्त्र गरिन्छ, कसैलाई पद नदिएर षड्यन्त्र गरिएको हुन्छ। हामीलाई भने पद दिएर षड्यन्त्र गरिएको छ। नयाँ ढंगको यो षड्यन्त्रलाई चिर्न हामीले पद अस्वीकार गरेका हौं। गुट र उपगुट दुवैको षड्यन्त्र छ यसमा।
० विद्यार्थी राजनीतिमा करिब २५ वर्ष बिताइसकेको मान्छे, अब काम गर्ने भनेको त पार्टी केन्द्रीय विभागमै होइन र?
– अब जाने ठाउँ भनेको त पार्टी विभाग नै हो। तर हामीलाई मात्रै किन टार्गेट गरियो? अरु साथीहरूलाई किन राखिएन? विभागमा राख्नुभन्दा पहिला किन सोधिएन? भन्ने प्रश्न हो। म त अहिले नेविसंघ केन्द्रीय समितिकै छु नि। एउटा पदमा हुँदाहुँदै मलाई किन अर्को पद दिने? पदमा नभएकालाई दिइयोस् न।
० त्रिवि स्ववियु सभापति पदमा फेरि टिकट माग्छ भनेर थन्क्याएको पो हो कि?
– साथीहरूले मेरो नाम स्ववियुमा लिनु र यता पार्टीले विभागमा राख्नु संयोग मात्रै होइन कि। साथीहरूले मेरो मूल्यांकन स्ववियुकै लागि गरेका हुन्। त्रिवि स्ववियुमा अञ्जान लामालाई उम्मेदवार बनाउँदा चुनाव जित्न सजिलो हुन्छ भनेर नेविसंघका आमसाथीहरूले भनिरहेका छन्।
No comments:
Post a Comment