Thursday, May 16, 2013

शनिबार बाहुनले शक्ति देखाउने

bramin
०६२/६३ को ऐतिहासिक जनान्दोलनपश्चात् दोस्रो दर्जाका नागरिकसरह राज्यले बनाएको भन्दै आन्दोलन गरिरहेका बाहुनले आगामी ४ गते शनिबार रत्नपार्कबाट विशाल शान्तिर्‍याली निकाल्ने भएका छन्।
बाहुन समाज काठमाडौं ३२ वडाका उपाध्यक्ष एवम् अधिकारकर्मी धर्म पौडेलका अनुसार रत्नपार्कबाट बिहान दश बजे विशाल शान्तिर्‍याली निकाली काठमाडौं जिल्ला अधिवेशन गर्ने कार्यक्रम रहेको छ।
उपाध्यक्ष पौडेलका अनुसार ०६२/६३ को जनान्दोलनपश्चात् नेपाली समाजमा विद्यमान जातीय, सामाजिक एवम् धार्मिक सहिष्णुता र सद्भावमाथि नियोजित तरिकाले प्रहार गरियो। विविध जातिको समीकरण, आ–आफ्नै संस्कार र संस्कृतिबाट गोलबद्ध नेपाली समाजलाई छिन्नभिन्न पार्ने काम गरिएकाले जातीय सद्भाव र बाहुन अधिकारका लागि बाध्य भएर सडकमा आउनुपरेको पौडेलले बताए। प्राचीन पुराण इतिहासको आधार लिएर भन्नुपर्दा महाभारतभित्र पर्ने यस भूगोल क्षेत्रमा प्राग ऐतिहासिक इतिहास देखिनुअघि नै बाहुनको बसोबास रहेको इतिहासलाई बङ्ग्याएर यहाँका राजनीतिक पार्टीले बाहुन  जातिलाई अन्यमा राखेका कारण पनि बाध्य भएर आन्दोलन गर्नुपरेको समाजले जनाएको छ।
शनिबार गर्ने काठमाडौं जिल्ला अधिवेशन र विशाल शान्तिर्‍यालीबारे जानकारी दिन वितरण गरिएको विज्ञप्तिअनुसार ०६३ यता प्रमुख दल सम्मिलित सरकारद्वारा जातीय आधारको विभेदकारी नीति कार्यान्वयन गरियो। दुर्भाग्य मार्क्सवाद र लेनिनवाद अङ्गालेका दलहरू सम्मिलित कम्युनिस्ट सरकारले पनि वर्गीयताको सिद्धान्त त्याग गरी जातका आधारमा विभेदकारी नीति अवलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ। ऋषिहरूको तपोभूमि (ध्यान केन्द्र) का रूपमा स्थापित यस भूमिमा विभिन्न ऋषि बाहुनसँग जोडिएका बाहुन कुलका सन्तान बाहुन हजारौँ वर्षदेखि बसोबास गर्दै आएको इतिहासले पुष्टि गरेको विज्ञप्तिमा जनाइएको छ।
यसरी हजारौँ वर्षदेखि बस्दै आएका धर्तीपुत्र बाहुनलाई राज्यले आदिवासीको सूचीमा नराखी अन्यमा राखेकाले बाध्य भएर ०६६ साल असोज २२ गते बाहुन समाज गठन गरी संस्थागत आन्दोलनको थालनी गरिएको उल्लेख छ।
मुलुकमा जातीय, धार्मिक एवम् सामाजिक सहिष्णुता कायम राख्न सनातन धर्म र संस्कृतिको रक्षा गर्न, देशलाई जातीय आधारको सङ्घीयतामार्फत आउन सक्ने सम्भाव्य द्वन्द्वबाट बचाई राष्ट्रिय अखण्डता कायम गराउने पवित्र मन्त्र बोकेर सङ्घर्षमा लागेको बाहुन समाजको शािन्तर्‍यालीमा सहभागी हुन सबै जाति र भाषी दिदीबहिनी दाजुभाइलाई विज्ञप्तिमार्फत समाजले आग्रह गरेको छ।

No comments:

Post a Comment