Thursday, May 16, 2013

मकै, कोदो, फापरसमेत विदेशबाट


सुकुमेल ग्वाटेमाला, चना अस्ट्रेलियाबाट-
विष्णु पोखरेल, काठमाडौं, मङ्सिर २२- अधिकांश जनता कृषिमा निर्भर रहेको नेपाली बजारमा मकै, कोदो, फापर, केराउ लगायत खाद्यान्न विदेशबाट आइरहेको छ। देशको प्रमुख खाद्यान्न बालीमा पर्ने मकै नै गत वर्ष २ अर्ब २७ करोड रुपैयाँ बराबर आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ।

  नेपाली बजारमा बिक्री हुने फूल उठ्ने मुरली मकैमध्ये ९० प्रतिशतभन्दा बढी युएई, भारत, अर्जेन्टिना, एन्टिगुवा, बर्बुडालगायत देशबाट आउने गरेको बिक्रेताहरू बताउँछन्। सहरिया उपभोक्ताको आवश्यकता पूरा गर्न कोदो र फापरजस्ता अन्नसमेत विदेशबाट ल्याइएको छ। तरकारीका रूपमा प्रयोग हुने चनादेखि पूजाआजामा चाहिने जौसम्म विदेशबाट आउँछ।

केन्द्रको तथ्यांकअनुसार भारतबाट कोदो, फापर, मकै, जुनेलो र जौ, अस्ट्रेलिया र इजिप्टबाट चना र केराउ तथा बर्माबाट मास आयात भइरहेको देखिन्छ। स्थानीय बजारमा खपत हुने सुकमेल पनि धेरैजसो ग्वाटेमालाको हो।

केन्द्रका अनुसार कोदो आयात निरन्तर बढ्दो छ। आर्थिक वर्ष २०६५/६६ मा ११ हजार टन कोदो भारतबाट भित्रिएको थियो। अर्को वर्ष २०६६/६७ मा बढेर करिब १२ हजार टन पुग्यो भने गत वर्ष १५ हजार टन भित्रियो।

राजधानीलगायत मुख्य सहरी क्षेत्रमा पिठोसहित विभिन्न परिकार बनाएर बेच्न विदेशी अन्न झिकाइने गरेको सम्बद्ध विज्ञहरू बताउँछन्। कृषि मन्त्रालयको पछिल्लो तथ्यांकले भने देशभित्रै यस्ता अन्न उत्पादन बढिरहेको देखाएको छ। कोदो उत्पादन गत वर्ष १ प्रतिशत बढेको कृषि मन्त्रालयले जनायो। नेपालमा वर्षिक ३ लाख २ हजार टन कोदो उत्पादन हुने मन्त्रालयको तथ्यांक छ।

'नेपालमा सबैखाले अन्न आयात भएको देखिन्छ,' कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले नागरिकसँग भने, 'निर्यात पनि भएको छ, खुला बजारमा यस्तो भइरहन्छ।' कोदो, फापरजस्ता अन्न आयातको प्रयोजन भने प्रस्ट नभएको उनले बताए।

पूर्व कृषिसचिव टेकबहादुर थापाले मकै आयात धेरैजसो दाना उद्योगका लागि हुने गरेको बताए। 'भारतीय मकै छुट्टै स्वादको हुन्छ, त्यही भएर खानलाई आन्तरिक उत्पादन नै धेरै प्रयोग भएको देखिन्छ,' उनले भने, 'हाम्रो स्वाद अरू मकैले पूरा गर्दैन।'

खाद्यान्नमात्र होइन, राजधानीमा खपत हुने चना अस्ट्रेलिया र इजिप्टबाट आइरहेको बिक्रेताहरू बताउँछन्। 'अस्ट्रेलियाबाट चना धेरै आउन थालेको तीन/चार वर्ष भयो,' कालिमाटीका खाद्यान्न बिक्रेता एवं किराना व्यापारी संघका उपाध्यक्ष पुरुषोत्तम मानन्धरले भने, 'अहिले इजिप्टको चना आउन थालेको छ।' यस वर्ष अस्ट्रेलियाको चना कम आउँदा दुई महिनाभित्र किलोमा १५ देखि २० रुपैयाँ बढेको उनले जानकारी दिए।

पहिले नेपालमा कम उत्पादन हुने अन्नमात्र आयात हुने गरेकामा अहिले सबैखाले आउन थालेको बिक्रेताहरू बताउँछन्। केन्द्रका अनुसार गएको साउनयता विभिन्न मुलुकबाट ८८ करोड २७ लाख रुपैयाँको अन्न आयात भइसकेको छ। गत आर्थिक वर्ष ५ अर्ब ३ करोडको भित्रिएको थियो। त्यसअघि ४ अर्ब १९ करोडको आयात भएको थियो।

स्वदेशी उत्पादन हुँदाहँुदै विदेशी उपभोग गर्दा हैसियत बढेको ठान्ने मनोवृत्तिले खाद्यान्न आयातलाई बढावा दिएको कुलेश्वरका आयातकर्ता गोपालभक्त ठैंवले बताए। 'अस्ट्रेलियाको चना खाइरहेका छौं भनेर हामी मख्ख पर्छौं,' उनले भने, 'धेरैजना विदेशी नै खोज्दै आउँछन्।'

धेरै युवाले वैदेशिक रोजगारमा गएर खेतीपातीमा ध्यान नदिनु र माग बढ्नुले पनि खाद्यान्न आयात बढेको उनले बताए। 'गेडागुडी र दालको खेती हुन छाडेको छ,' उनले भने, 'आन्तरिक माग पूरा गर्न आयात नगरी हुँदैन।'

नेपाली बजारमा खपत हुने चामलमा भारतीय उत्पादनको हिस्सा ठूलो छ। नेपालमा धान उत्पादन बढे पनि ग्राहकले भारतीय चामल मन पराउने गरेकाले आयात गर्नुपरेको बिक्रेताहरू बताउँछन्।

नेपालबाट निकासी हुने खाद्यवस्तुमा भने गहुँ र मुसुरो दाल मुख्य छन्। यसबाहेक अलैंची, अदुवा, चिया, मह, कफीजस्ता कृषिजन्य वस्तु पनि उल्लेख्य निर्यात हुने गरेको तथ्यांक छ। सरकारले यस्ता कृषि उपजलाई निर्यातयोग्य सूचीमा राखेको छ।

No comments:

Post a Comment