Tuesday, May 14, 2013

साइँलाको थालमा रगत र आँशु

dahal

काठमाडौं। जातीय भेदभाव र छुवाछूत विरुद्ध जनयुद्ध लडेको भन्ने र सबै जातीलाई राज्य दिने भनेर जातीय बिद्वेष फैलाउने अभियानमा संलग्न रहेको एकीकृत नेकपा माओवादीको असली मुखुण्डो त्यही पार्टीका एक प्रभावशाली नेताले उदांगो पारिदिएका छन्।
एमाओवादीभित्र बाहुन क्षेत्री बाहेक अन्य जातीका नेताहरु समेत जातीय भेदभावको शिकार बन्नुपरेको खुलासा त्यस पार्टीका नेता गोपाल किराँतीले गरेका हुन्। यो खुलासा पनि उनले अन्त होइन, पार्टीको गत माघमा सम्पन्न महाधिवेशनमै गरेका छन्। उनले लिखित रुपमै एमाओवादीभित्र जातीय विभेद रहेकेा कुरालाई महाधिवेशन हलमा प्रस्तुत गरेको हालैमात्र सार्वजनिक भएको छ। एकजना बाहुन कार्यकर्ताको घरमा खाना खान जाँदा पार्टीका बाहुन नेता गिरिराजमणि पोखरेललाई र आफूलाई अलग अलग थालमा अलग अलग खान्की दिइएको उदाहरण प्रस्तुत गर्दै उनले एमाओवादीभित्र यो रोग कायमै रहेको बताएका छन्।
आफूलाई भात भान्छामै छुवाछूत गरिएको दृष्टान्त प्रस्तुत गर्दै गोपाल किराँतीले दस्तावेजमा लेखेका छन् ‘गत सेप्टेम्बरमा क. गिरिराजमणि पोखरेल सम्बद्ध एक पार्टी डीसीएम (बाहुन)ले इटहरीस्थित उनको घरमा खाना खान कर गरे। उच्चवर्गतर्फ लम्किरहेका ती डीसीएमले खाना दिंदा क पोखरेललाई काँसे थालमा दिए भनें सँगै बसेको मलाई अन्य सस्तो थालमा। अन्य खानाको परिकार वितरण पनि हिन्दू वर्णव्यवस्था अनुसारकै अन्तरको थियो। त्यो बस्तुतः बाहुन बितरण प्रणाली हेा। अरु जातिमा पनि सामन्ती अवशेषहरु अवश्य छन्। तर जनजाति र दलितको सामन्तवादले राज्य र पार्टी संचालनमा अहिले प्रभावित गर्दैन र यो मुख्य टिप्पणीको विषय बन्दैन’।
मनुस्मृतिको आधुनिक संस्करण एनेकपा माओवादीमा देखिएको उल्लेख गर्दै किराँती लेख्छन् ‘…खेदको कुरा मार्क्सवाद लेनिनवाद माओवादलाई जीवन दर्शन मान्ने पार्टी डीसीएम (जिल्ला कमिटी सदस्य)को त्यो बितरण संस्कृतिले पार्टी र राज्य संचालन गर्दा के महान शहीदहरु, घाइते, बेपत्ता योद्धाहरु र नेपाली सर्वहारा वर्गले रगत, आँशु र पसिनाको धारा बगाएर स्थापित गरेकेा उपलब्धीको रक्षा र विकास सम्भव छ?’
गोपाल किराँतीले पार्टीको सातौं महाधिवेशनमा छलफलका लागि भनेर प्रस्ताव गरेको दस्तावेज महाधिवेशनको भारी मतले अस्वीकृत भएको थियो। उनले एकीकृत नेकपा माओवादीको नाम परिवर्तन गरी संघीय नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने र बिभिन्न जातिहरुको नाममा राज्य कम्युनिस्ट पार्टी गठन गरी तिनीहरुको महासंघका रुपमा केन्द्रीय पार्टीलाई कायम राख्ने प्रस्ताव गरेका थिए। महाधिवेशन हलमा उनले प्रस्तुत गरेको प्रस्तावलाई एनेकपा माओवादीले ‘नेपाली क्रान्तिको नयाँ विश्लेषणः एक ऐतिहासिक आवश्यकता’ शीर्षकमा प्रकाशित गरेको छ।

No comments:

Post a Comment