Thursday, May 30, 2013

स्ववियु निर्वाचन स्थगित


काठमाडौ, जेष्ठ १६ - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । फर्जी भर्नाको विषयमा विद्यार्थी संगठनहरुबीच कुरा नमिलेपछि त्रिविले बिहीबार निर्वाचन नै स्थगित गरेको हो ।
देशभरका क्याम्पसहरुमा कतै तालाबन्दी तथा कतै बिरोध प्रदर्शन भएपछि आजदेखि सुरु हुने भनिएको निर्वाचन कार्यतालिका नै प्रभावित भएको थियो । निर्वाचन कार्यतालिकामा आजलाई उम्मेदवारी मनोनयनको समय तोकिएको थियो । भर्नाका लागि तोकिएको अन्तिम दिन विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरुले ठूलो संख्यामा फर्जी विद्यार्थी भर्ना गराएपछि विवाद हुँदै आएको थियो ।
विश्वविद्यालयका उपकुलपपति, रेक्टर, रजिस्टार तथा विद्यार्थी संगठनहरुबीच भएको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन रद्द भएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । छलफलमा नेविसंघ, अनेरास्ववियु तथा एमाओवादी र नेकपा माओवादी निकट अखिल(क्रान्तिकारी) को सहभागिता रहेको थियो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरले विवादका कारण सबै क्याम्पसका निर्वाचन समितिहरुमा तालाबन्दी गरिएपछि निर्वाचनको वातावरण बन्न नसकेको बताए । 'आज विद्यार्थी संगठनहरुबीच विवाद मिलाउने कोशिस गर्यौ,'उनले भने 'मिल्न नसकेपछि स्ववियु निर्वाचन स्थगित गर्नुपर्यो ।' उनले आगामी दिनमा विद्यार्थी संघ/संगठनहरुबीचको थप छलफलपछि फेरि निर्वाचन तिथी तोकिने बताए ।

No comments:

Post a Comment