गणेश लम्साल/नयाँ पत्रिका
विराटनगर, १५ जेठ
भिनाजु पर्नेबाट बलात्कृत झापाकी १२ वर्षीया बालिकाले सात महिनामै छोरो जन्माएकी छिन् । उनले बुधबार बिहान सामान्य प्रसूति (नर्मल डेलिभरी) बाट छोरो जन्माएकी हुन् ।
उनको स्वास्थ्य सामान्य भए पनि बच्चाको स्थिति भने गम्भीर छ । आफ्नै भिनाजु नाता पर्ने ४० वर्षीय सुरेन्द्रबहादुर विश्वकर्माबाट बलात्कृत भएर गर्भ रहेपछि झापा खुदुनाबारी– १ घर भएकी विश्वकर्मा थरकी उनी विराटनगरस्थित एबिसी नेपालको संरक्षणमा थिइन् ।
मंगलबार राति नै व्यथाले च्यापेपछि उनलाई अस्पताल लगिएको थियो । उनले बुधबार बिहान साढे पाँच बजे छोरालाई जन्म दिएकी थिइन् । उनले जन्माएको बच्चाको तौल एक किलो दुई सय ग्राम छ । बच्चालाई गाइनो चिकित्सकहरूले आइसियूमा राखेर उपचार गरिरहेका छन् ।
गाइनोलोजिस्ट डा. योगेन्द्र मिश्रका अनुसार बच्चाको बाँच्ने सम्भावना न्यून छ । उनले बच्चालाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गराउन सल्लाह दिएका छन् । कोसी अञ्चल अस्पतालमा भेन्टिलेटर नभएको र अन्य अस्पतालमा पनि खाली नभएकाले कोसीको आइसियूमै उपचार भइरहेको एबिसी नेपाल विराटनगरकी अध्यक्ष विष्णु शर्माले बताइन् । उनले भनिन्, ‘भेन्टिलेटरविनै टाढाको अस्पतालमा लैजान पनि सकिएको छैन ।’
डाक्टरका अनुसार सामान्यत: बच्चा जन्मन कम्तीमा ३७ हप्ता पुगेको र बच्चाको तौल अढाई किलो हुनुपर्छ । तर, बालिकाले २७ हप्तामै छोरो जन्माएकी हुन् भने बच्चाको तौल पनि आधा कम अर्थात् एक केजी दुई सय ग्राम मात्रै छ ।
चिकित्सकहरूले यति कम उमेरमा बच्चा जन्माउँदा आमाको ज्यान जोखिममा पर्ने खतरा हुने भएकाले पेट चिरेर अप्रेसन गर्ने आश्वासन दिएका थिए । तर, नर्मल डेलिभरिबाटै छोरो जन्माएपछि उनको ज्यान जोगिएको छ । उनलाई अस्पतालले बुधबार नै डिस्चार्ज गरेको छ । बालिकाकी आमा, छिमेकी र अधिकारकर्मी, अस्पतालका नर्स, चिकित्सक सबैले कम उमेरमा बच्चा जन्माएर पनि बालिकाको ज्यान बचेकोमा खुसी व्यक्त गरेका छन् । सबैले बालिकालाई भगवान्को आशीर्वादले बचाएको प्रतिक्रिया दिए ।
बालिकाकी आमाका अनुसार कक्षा दुईबाट भर्खर पास भएर तीनमा गएकी उनकी छोरी ०५९ वैशाख १० गते जन्मिएकी हुन् । यही वैशाखदेखि भर्खर १२ लागेकी उनी एघार वर्षकै उमेरमा छिमेकमा रहेका भिनाजु पर्ने सुरेन्द्र विश्वकर्माबाट बलात्कृत हुन पुगेकी थिइन् । डरले बलात्कार भएको कसैलाई भन्न नसक्दा गर्भवती भएकी थिइन् । समयमै कसैले पनि थाहा पाउन नसक्दा उनको पेटमा भु्रण हुर्किएको थियो । उनलाई सुरेन्द्रले बलात्कार गरेको र पेटमा गर्भ रहेको ४ वैशाख ०७० मा मात्र खुलेको थियो । त्यसपछि गाउँका महिलाले बलात्कारीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए भने बालिकालाई एबिसी नेपालको संरक्षणमा राख्न ल्याइदिएका थिए । ती बालिका केही दिनदेखि विराटनगरस्थित एबिसी नेपालको संरक्षणमा थिइन् ।
मैले जन्माएकै छैन, मुख किन हेर्नु ?
अबोध उमेरमै आमा बनेकी बालिका आफू सुत्केरी भएको स्वीकार्न तयार छैनन् । उनले छोराको मुख पनि हेर्न चाहिनन् । कोसी अञ्चल अस्पतालको बेडमा सामान्य अवस्थामा भेटिएकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘मैले कसैलाई जन्माएकै छैन, किन मुख हेर्नु ?’
उनका आफन्त भने आफूले कोखमा राखेर जन्माएको बच्चालाई एकचोटि हेर्नुपर्छ भनेर कर गर्दै थिए, तर उनलाई फकाउन कसैले सकेनन् । छिमेकी चन्द्रकुमारी विकले भनिन्, ‘केही गरे पनि मुख हेर्न मानिनँ ।’
बालिकाले अझै धेरै पढ्ने र अघि बढ्ने बताइन् । ‘मैले धेरै पढ्नु छ, अघि बढ्नु छ, अब पढ्न जान्छु,’ उनले भनिन् ।
एबिसी नेपालकी अध्यक्ष विष्णु शर्माले बालिकाले बच्चा जन्माउँदा पनि उनको स्वास्थ्य सकुशल रहेकोमा सन्तोष व्यक्त गरिन् । ‘यति सानो उमेरमा सुत्केरी हुँदा ज्यान जोखिममा पर्ला भन्ने पीर थियो, तर त्यस्तो केही भएन । अब उनलाई हामीसँगै राखेर स्कुल भर्ना गराउँछौँ ।’
बालिका सुत्केरी भएको खबर पाएपछि उनकी आमासहित महिला एम्बुलेन्स रिजर्भ गरेर झापाको खुदुनाबारीबाट विराटनगर आएका थिए । गिटी कुटेर गुजारा गर्ने दलित समुदायकी ती बालिका कक्षा ३ मा पढ्दै छिन् ।
No comments:
Post a Comment