बिहीबार १६ जेष्ठ, २०७०
मनिराज गुरुङ
ढोलझ्याम्टा बज्यो गजैलेसाकेला नाचौं मजैलेसोइ–सोइ ला हौ, कुर्रा हा हा...ढाकाको चोली, कम्मरमा पटुकी, कालो छिटको गुन्युमा सजिएकी एक किराती चेली हातमा सिमालीको सेउला बोकेर बडो उमङ्ग र उत्साहका साथ नाच्दै थिइन्। चिम्सा आँखा, गोरो अनुहार, डल्लो नाक भएकी उनी उमेरले भर्खरै टिनएज पार गरेकी जस्ती देखिन्थिन्। जेठ ११ गते शनिबार ललितपुरको नखीपोट ग्राउन्डमा किरातहरूको महान् चाड साकेला (उभौली पर्व) को अवसरमा किरात राई यायोक्खाले आयोजना गरेको साकेलामा उनी जस्तै सयौं युवायुवती आ–आफ्नो जातीय पहिरनमा सजिएर साकेला सिली नाच्न पुगेका थिए।
किरात धार्मिक वनका रूपमा मान्यता पाएको ललितपुर सानो हात्तीवनको किरात थानमा किरात पुजारीहरू फेदाङ्मा, नाक्छोङ, होमेहरूद्वारा विधिवतरूपमा मुन्धुम वाचन गर्दै पूजा गरेपछि यस वर्षको साकेला सुरु भएको छ। किरात राईहरूले साकेला भनिने यस पर्वलाई लिम्बूहरूले चासोक तङ्नाम भन्छन् भने सुनुवारहरूले फोलस्याँदर र याक्खाहरूले चासुवा। तर सबैको एउटै मर्म र परम्परा छ, त्यो हो अन्नबाली पाकिसकेपछि आ–आफ्नो इष्टदेवता र पितृहरूको पूजा गरी नयाँ अन्न उनीहरूलाई अर्पण गर्ने र आफूहरूले पनि खाने। किरात जाति भनेर चिनिने राई, लिम्बू, सुनुवार सबैले यसलाई भिन्दाभिन्दै नामबाट मनाए पनि एकैपटक मनाउने भएकाले यसलाई किरात चाड भनिन्छ।
परापूर्वकालमा किरात जातिका विभिन्न जातजातिले आ–आफ्नै घरआँगन वा क्षेत्रमा रहेको पूजाथानमा पूजा गरेर यो चाड मनाउने गरेको भए पनि काठमाडौंमा भने सबैले किरात धार्मिक वन हात्तीवनमै पूजा गरेर सुरुवात् गर्छन्। त्यस्तै सबैले मुन्धुम पढ्ने गरे पनि पूजा गर्ने तरिका र शैलीमा यी सबै जातिमा केही न केही फरक भने छ। तर फेरि पनि सबैमा पाइने समानता भनेको अनिकाल नलागोस्, सहकाल लागोस्, रोगब्याधीले नसताओस्, कुलपितृले आशीर्वाद दिऊन् भन्ने नै हो।
साकेला नाच्दा बजाइने ढोल दुईखाले हुन्छन्। भाले र पोथी भनेर चिनिने ढोल आवाजबाट पहिचान गरिन्छ। साकेला नाच्नेहरूमा केही पुरुषले ढोल भिरेर बजाइरहेका हुन्छन् भने अरूले हातमा झ्याम्टा, सेउला, चौरीको पुच्छर आदि लिएका हुन्छन्। नाचका सिलीहरू सिकाउने सिली माङ्पा र सिली माङ्मा पनि हुन्छ। साकेलामा विभिन्न १०८ किसिमका सिली हुने बताइन्छ। त्यस्ता सिलीमा अन्नबाली रोपेकोदेखि थन्क्याइएकोसम्म र मानिसको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप समेटिन्छन्। परापूर्वकालमा सबै सिली नाच्न नजानेमा नाच्नेहरूको मृत्युसम्म हुने गरेको करा सँस्कृतिविद्हरू बताउँछन्। त्यसैले साकेला नाच्नु निकै कठिन हुन्थ्यो।
राज्य सरकारको एक भाषा, एक सँस्कृति नीतिका कारण किरातहरूको यो चाड र नाच पनि दुई दशकअघिसम्म समाप्त हुने क्रममा थियो तर वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपश्चात् सबै जातजातिले संगठित हुँदै आफ्नो भाषा, सँस्कृतिको संरक्षण, संवर्द्धन र पुनर्जागरण गर्ने अवसर पाए। त्यसैले साकेलाले पनि संरक्षण र पुनर्जीवन पायो। इतिहासमा किरात राजाहरूले पनि राज्य गरेको नेपाल खाल्डो नामले चिनिने नेपालको वर्तमान राजधानी काठमाडौंमा किरात धार्मिक वनको मान्यता र किरात चाडको मान्यता प्राप्त गर्न सफल भयो। साकेला उभौली (वैशाख पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा) गरेर वर्षमा दुईपटक मनाइन्छ। र, वैशाखे पूर्णिमा बुद्धजयन्तीको दिनसमेत रहेकाले सरकारले २०५८ साला मङ्सिरे पूर्णेलाई किरात चाड भनेर घोषणा गरेको थियो। यद्यपि सार्वजनिक बिदा भने २०६४ सालबाट दिन थालेको हो।
विगतमा किरात राईहरूको बाहुल्यता भएको क्षेत्र, विभिन्न कलेज, विद्यालयको प्राङ्गणमा नाचिने साकेलाले अहिले आएर टुँडिखेलसम्म अड्डा जमाउन सफल भएको छ। अझै थप शृङ्खला छन्। साकेला नाचिँदैछन्। हार्षोल्लासका साथ सोइ ढोले सोइ भन्दैछन्, किरातीहरू साकेलामा तालमा ताल मिलाएर। चालमा चाल मिलाएर। नखीपोट ग्राउण्डमा सँस्कृतिमोहले छपक्कै भएका के बूढा, के तन्नेरी सबैसबै जोसमा थिए। जातीय पहिरनमा सहभागी भएका छन्। र, एक दशक अघिभन्दा नाच्न धेरै सिपालु पनि भइसकेका छन्। शायद यसैलाई भनिन्छ– सांस्कृतिक जागरण। सांस्कृतिक चाडको अवसर पारेर किरात चाडमा रमाउन गैरकिरात पनि उत्तिकै संख्यामा उपस्थित भएका थिए।
हजारौंलाई अटाउन नखीपोट ग्राउण्ड असमर्थ थियो। त्यसैले ग्राउण्डबाहिरको चोकमा पनि नाच्नेको उस्तै भीड र हुल थियो। बास्केटबल ग्राउण्डमा पूरै जातीय पहिरन लगाएकाहरू मात्र थिए। त्यो अलि शालीन पनि थियो। ब्याडमिन्टन ग्राउण्डमा पनि नाच्ने हुल थिए। तर त्यहाँ जातीय पहिरन लगाउने र नलगाउने बराबरी थिए। बाहिरको चोकमा चाहिँ जातीय पहिरन नलगाउनेको बाहुल्य थियो। पूरै जातीय पहिरन लगाए पनि साथीभाइको कारण सबै समूहमा जातीय पहिरन लगाउनेहरू छरिएर रहेका थिए।
ढोकामा जातीय पहिरन नै लगाएका युवायुवतीले स्वयम्सेवकको कर्तव्य निर्वाह गरेका थिए। आठ वर्षअघि ग्राउण्डभित्रै प्रसादका रूपमा रक्सी, फाक्सा र वाचिवा उपलब्ध थियो। समूह वा व्यक्तिबीच झगडा हुनुलाई सामान्य मानिन्थ्यो तर यसपटक भने चुरोट खानेहरूलाई समेत चुरोट नखान आग्रह गर्दै मुख्य ग्राउण्डबाट बडो सम्झाइ–बुझाइ बाहिर पठाएको दृश्य पनि देखियो। त्यसैले भन्न सकिन्छ– मतुवाली भनिने यी जातिहरूले पनि अब आफ्नो असल पहिचान तयार गर्दैछन्।
No comments:
Post a Comment