बिहीबार १६ जेष्ठ, २०७०
काठमाडौ - विश्वको सर्वोच्च शिखर सगरमाथामा वर्षैपिच्छे सयौं आरोहीले विजयी झन्डा फहराइरहेका हुन्छन्। एकै दिन असी, नब्बे, सय वा सवा सयले शिखर चुमेको खबर सुन्ने वा पढ्नेलाई लाग्छ, सगरमाथा त जो पनि चढ्न सक्ने रहेछ।
के सगरमाथा शिखर पुग्न सर्वसाधारणले सोचेजस्तै सजिलो छ? दशकौंदेखि पर्वतारोहण क्षेत्रमा लागिपरेका विज्ञहरू भन्छन्, 'पटक्कै छैन। तर, अत्याधुनिक पर्वतारोहण सामग्रीका कारण अहिले भने केही सजिलो भएको छ।'
समुद्र सतहबाट ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथामा सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङनोर्गे शेर्पाले मानव इतिहासमै पहिलोपटक विजयी झण्डा गाडेका थिए। तर, परम्परागत आरोहण सामग्रीका भरमा उनीहरूलाई शिखर पुग्न जति गाह्रो भएको थियो, सायद त्यत्ति गाह्रो अहिलेका आरोहीलाई नहुने विज्ञहरू बताउँछन्।
'साठी वर्षअघि हिलारी र तेन्जिङले सगरमाथा यात्रा गर्दा असाध्यै गह्रुङ्गा पर्वतारोहण सामग्री बोकेका थिए,' इन्टरनेसनल माउन्टेनियरिङ एन्ड क्लाइम्बिङ फेडेरेसनका मानार्थ सदस्य तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बुधबार नागरिकसँग भने, 'अहिले भने तिनका दाँजोमा हल्का सामान लिएर जान मिल्छ। यसबाट आरोहण सजिलो भएको छ।'
उनका अनुसार हिलारी–तेन्जिङले त्यसबेला खर्पस (हिमखाडल) पार गर्न काठको भर्यामङ प्रयोग गरेका थिए। श्वासप्रश्वासका लागि कृत्रिम अक्सिजन भएको सिलिन्डर १५ किलो तौलका थिए। साथमा त्यस्तै गह्रुङ्गा आइस एक्स, क्रापोन, स्नोबारलगायत पनि बोकेका थिए।
तर, अहिले यसमा व्यापक परिवर्तन आइसकेको छ। आरोहणमा प्रयोग गरिने सामग्री हलुकामा होइन, अत्याधुनिक पनि रहेको शेर्पाले जानकारी दिए। 'अहिले आरोहीले बोक्ने अक्सिजन सिलिन्डरको तौल साढे तीन किलोमात्र हुन्छ,' उनले भने, 'त्यसमाथि आरोहीले भर्यािङ नै बोक्नुपर्दैन। भर्या्ङ त आरोहण सुरु हुनुअघि नै 'आइसफल डाक्टरहरू'ले हालिसकेका हुन्छन्।'
हिलारी–तेन्जिङले आरोहण गर्दा अहिलेजस्तो डोरी र भर्याेङ पहिले नै हालिएको थिएन। उनीहरू मानव इतिहासमै पहिलोपटक सगरमाथा आरोहणमा जाँदै थिए। र, कुन बाटो भएर शिखर पुग्ने भन्ने हेक्का पनि थिएन। अनुमान भरमा हिँडिरहेका थिए।
६० वर्षअघि हिलारी–तेन्जिङले शिखर पुग्दा जुन बाटो बनाएका थिए, अहिले त्यही नै बाटो (दक्षिण–पूर्वी मोहोडा) पछ्याउँदै संसारभरका पर्वतारोही सगरमाथा चुचुरो पुगिरहेका छन्। हाल भएभरका आरोही आधारशिविरमा जम्मा हुने र 'एक्लिमटाइज' गर्दै सफा मौसम कुरेर बस्ने गर्छन्। जब मौसम सफा हुन्छ, तब सबै आरोही शिखरतिर उक्लिन्छन्। त्यसबेला भने शिखर पुग्नेको लर्को हुन्छ। अनि, एकै दिन ८०, ९०, सय वा सवा सय आरोही चुचुरो पुग्छन्।
वर्षैपिच्छे सयौं आरोहीको 'भिड' सगरमाथामा पुग्छ। तिनले त्यहाँ फोहोर पनि थुपारिरहेका छन्। तर, शेर्पा भने वर्षमा ७–८ सय आरोही सगरमाथा पुग्नुलाई भिड मान्न तयार छैनन्। 'विकसित देशका हिमालमा वर्षपिच्छे तीसदेखि पैंतीस हजार पुग्छन्, तर हाम्रो सगरमाथामा त एक हजार पनि पुग्दैनन्। अनि कसरी भिड भयो त?'
जति भिड भए पनि सगरमाथा चुचुरो पुग्न सर्वसाधारणले सोचजस्तै सजिलो भने नभएको उनले बताए। 'ज्यान माया मारेर जानुपर्छ, सकुशल फिर्ता आइन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन,' उनले भने, 'धरै आरोहीले सगरमाथामै ज्यान गुमाएका छन्।'
त्यसमाथि सगरमाथा भनेको शेर्पाको जीवशैली र आम्दानीको स्रोत पनि भएको उनको भनाइ छ। सरकारलाई करोडौं राजस्व पनि बुझाइरहेको छ। त्यही भएर सयौंको संख्यामा जाने आरोही नियन्त्रण गर्न नहुने शेर्पाले बताए। हिलारीले मृत्यु हुनु केही वर्षअघि 'सगरमाथामा चाप बढी भएकाले केही वर्ष विश्राम दिनुपर्ने' बताएपछि सगरमाथा शिखर चुम्ने सपना साँचेका संसारभरका आरोहीले आपत्ति जनाएका थिए।
शेर्पाका अनुसार सगरमाथा आरोहण गतिविधिबाट उल्लेख्य संख्यामा रोजगारी सिर्जना र आर्थिक कारोबार हुन्छ। काठमाडौंबाट लुक्लासम्म सामान लाँदा–ल्याउँदा प्रतिकिलो १ डलर र लुक्लाबाट सगरमाथासम्म लाँदा–ल्याउँदा प्रतिकिलो ३ देखि ४ डलर भाडा तिर्नुपर्छ। सगरमाथा आरोहणमा जाने १० जनाको दलले सामान्यतया २ लाख डलर खर्च गर्छ। त्यसमा अनुमति शुल्क १ लाख डलर र बाँकी १ लाख डलरको खाना, भरिया, हवाई भाडा, बिमा लगायत खर्च हुन्छ। एउटा दल सगरमाथा जाँदा ३ देखि ४ दर्जन नेपालीले काम पाउँछन्।
'अब पर्यटन उद्योग, पर्वतारोहण र वातावरणमा असर नपुग्ने गरी उपयुक्त र रणनीतिक योजना बनाएर सगरमाथालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्छ,' उनले भने, 'फोहोर नियन्त्रणका लागि सरकारी अनुगमन बलियो हुनुपर्छ।'
आरोही नियन्त्रण गर्न अनुमति शुल्क अझै वृद्धि गर्नुपर्छ भन्ने तर्कप्रति उनको पूूर्णअसहमति छ। 'शुल्क सस्तो भए सबै आरोही तिब्बततिरबाट सगरमाथा चढ्नुपर्ने हो नि, तर त्यस्तो भएकै छैन,' उनले भने।
शेर्पाका अनुसार नेपालबाट सगरमाथा जाँदा १० जनाको एउटा दलले आरोहण अनुमतिका लागि १ लाख अमेरिकी डलर सरकारलाई तिर्नुपर्छ। तर, तिब्बतमा भने त्यत्ति नै आरोहीलाई ५ हजार ५ सय डलर तिरे पुग्छ। 'उता हाम्रोभन्दा १५ गुणा कम शुल्क हुँदा पनि आरोहीजति यतै आइरहेका छन्,' उनले भने।
सगरमाथामा फोहोर थुप्रिन थालेको पाँच दशक नाघिसकेको छ। त्यत्ति अवधिमा जम्मा भएको ५० टन फोहोर विभिन्न आरोहण र सफाइ अभियान दलले आधारशिविर झारेपछि हाल अधिकतम ३० टन बाँकी छ। फोहोर उठाउनेतर्फ भने सम्बन्धित निकायको ध्यान पुग्न नसकेको पर्वतारोहण क्षेत्रका विज्ञको गुनासो छ।
शेर्पाका अनुसार पहिलो आरोहणदेखि हालसम्म गरी करिब ५ हजारपटक सगरमाथामा विजय हासिल गरिसकिएको छ। आरोही सँख्या छुट्ट्याउन गाह्रो छ। एउटा आरोहीले चारदेखि पाँचवटा अक्सिजन सिलिन्डर प्रयोग गर्छ। लुक्लादेखि सगरमाथासम्मका लागि एउटा आरोहण दलले औसतमा ५ सय भरिया प्रयोग गर्छ।
सरकारले सगरमाथा जाने एकजनालाई २५ हजार अमेरिकी डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर दस्तुर लिन्छ।
साधारण रूटबाहेक अन्य मार्गबाट सगरमाथा चढ्न सातजना बराबर ५० हजार डलर र प्रत्येक थप सदस्यलाई १० हजार डलर लाग्छ। अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ।
No comments:
Post a Comment