इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका स्टार रक्षक जोन टेरी चेल्सीका पूर्व सहयात्री वायन ब्रिजकी पूर्व प्रेमिका भेनिसा पेरोन्सेलसँग रोमान्स गरेकैले विवादमा तानिए। त्यही कारण राष्ट्रिय टोलीमा केही समय कप्तानको हैसियत गुमाउनुपर्यो भने साथीहरू बीच पनि उनी निकै आलोचित बने। श्रीमती टोनीलाई धोका दिँदै उनकै मोडल संगीसँग टेरीले गरेको रोमान्स पनि गोप्य रहेन। जसले उनको पारिवारिक वातावरण धमिलियो। विश्वभरका सञ्चार माध्यममा उनका सम्बन्ध आलोचित बने। टिकाटिप्पणी धेरै भए।
खेलकुदका अधिकांश स्टार लामो रोमान्सपछि मात्र वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरू प्रेम–कथा गोप्य राख्न चाहन्छन्, जुन विवाहपछि मात्रै एकैचोटि सतहमा देखा पर्छ।

गल्फका बादशाह टाइगर उड्सको समय पनि गतवर्ष रोमान्सकै कारण तनावमा रह्यो। शृंखलाबद्ध प्रेम सम्बन्धको खुलासा हुँदा उनले मात्र तनाव बेहोर्नुपरेन, सुपरमोडल श्रीमती एलिन नोर्डेग्रेनसँग सम्बन्धविच्छेद नै भयो। पारिवारिक सम्बन्धमा उथलपुथल भयो। जसको असर कोर्समा पनि देखियो। सबैजसो प्रतियोगिताका निर्विवाद उनले लगातार निरासाजनक नतिजा बेहोर्नुपर्यो।

एसी मिलानका इटालियन स्ट्राइकर मारियो बालोटेलीका केही प्रसंग अझ रोचक छन्। म्यानचेस्टर सिटीमा रहँदा उनलाई एक युवती अत्यन्तै मन परेछ। म्यानचेस्टरको सडकमा बिएमडब्लु कार कुदाइरहँदा अचानक उनको नजर तिनै सुन्दरीमा पर्यो। पिछा गर्दै उनी घरसम्म पुगे। ढोका ढकढक्याए। ढोका खोल्ने अधबैंसे सिटी र उनका खाँटी समर्थक परेछन्। तिनै युवतीका काका पर्ने अधबैंसेले बालोटेलीलाई भित्र निम्त्याए। आफ्नी आमा, श्रीमती र सँगै बस्दै आएकी भतिजीसँग गौरवका साथ परिचय गराए। त्यसपछि मात्र उनले बालोटेली आफ्नो दैलोसम्म धाउनुको कारण सोध्न भ्याए। आफ्ना प्रशंसकको खातिरदारीका कारण नर्भस भएका बालोटेलीले पनि उनकी भतिजीबारे भन्न भ्याइसकेका थिएनन्।
अधबैंसेको जिज्ञासाले उनलाई सहज भयो। दुई बेडरुमको त्यो सानो घरको लिभिङ रुममा २० मिनेट उपरखुट्टी लगाउँदा उनले तीनपटक डेटका लागि युवतीलाई अनुरोध गरे, तर युवतीले नम्रतापूर्वक अस्विकार गरिन्। भोलिपल्ट उनले सबै कुरा द सनलाई बताइन्।
बालाटोलीले नै गतमहिना च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डले रियाल मड्रिडमाथि ४–१ को जित हासिल गरेपछि अर्को विवादास्पद अभिव्यक्ति दिए। उनले डर्टमुन्डको पक्षमा गलफत्ती गर्ने क्रममा रियालले त्यो नतिजा उल्टाए आफ्नी बेल्जियन मोडल प्रेमिकालाई स्पेनिस टोलीका सबै खेलाडीसँग सुत्ने अनुमति दिने बताए। जसका कारण रिसाएकी प्रेमिकाले बालोटेलीलाई तत्कालै छोडिन्।
खेलाडी सेलिब्रिटी हुन्। सेलिब्रिटीका गतिविधि मिडिया र तीनका पाठकलाई स्वादिष्ट खुराक बन्छन्। पापाराजीका क्यामेरा खेलाडीतर्फ तेर्सिनुको कारण यही हो। मिडियाको दौडधुप पनि स्वादिष्ट खुराककै लागि हो। सेलिब्रिटी भएपछि व्यक्तिगत भन्ने हुँदैन वा हुन दिइँदैन। पश्चिमाहरू नितान्त व्यक्तिगत मामला सार्वजनिक गर्न हिच्किचाउँदैनन् पनि। तर, नेपाली खेलकुदको अवस्था भिन्न छ। प्रेमिकासँगको सम्बन्ध त परको कुरा भयो, विवाहको कुरा सार्वजनिक गर्न पनि हिम्मत गर्दैनन्।
नेपाली खेलकुदका सफल खेलाडी दीपक विष्ट र तेक्वान्दोकी उदीयमान स्टार आयशा शाक्यको विवाह भएको समाचार हल्लाका रूपमा आउँदा धेरैले पत्याएनन्। गुरुचेलीका रूपमा खेलकुदमा लामो समयदेखि परिचित यी दुईबीच प्रेमको सम्बन्ध थियो भनेर कसैले शंका गर्ने कुरै भएन। सँगै रेस्टुँरा जान, गफिन, देश–विदेश भ्रमणका लागि उनीहरूसँग जायज कारण थियो– एकै खेलका राष्ट्रिय खेलाडी र मार्सल आर्टस्को चेन अफ कमान्डअनुसार गुरु चेलीको सम्बन्ध।
त्यसैले दीपक–आयशाको विवाहको खबरले निकट परिचितलाई पनि आश्चर्यमा पार्यो। २०६७ फागुन २२ गते मध्याह्नतिर मोबाइलमा परिचितले यो खबर दिँदा अधिकांशको प्रतिक्रिया हुन्थ्यो, 'होइन होला। के वाहियात जोक गरेको!' तर, सत्य त्यही थियो। विष्ट सुदूर पश्चिमका काजी, आयशा पाटनको कट्टर शाक्य परिवारकी छोरी। जातीय विषयले परिवारमा लामै विवाद भएको रहेछ। दीपकले जबरजस्ती सहमत गराएका परिवार र थोरै निकट मित्रको उपस्थितिमा बुढानिलकण्ठमा विवाह गरे। सिनामंगलस्थित काकाको घरमा भोज आयोजना गरे। मोबाइलमा पाएको खबर नपत्याएर सुटुक्क गरेको विवाह र भोजको निम्तो दिन बाध्य पार्दै धेरैले दीपकलाई नै फोन गरेर समाचार पुष्टि गराए।
भोजमा अपेक्षा नै नगरेका धेरै पाहुना बोलाउनुपरेको स्मरण दीपकको मानसपटलमा ताजै छ। केही त फोनमा सम्पर्क नभएपछि खबर पुष्टि गर्न आफैं सिनामंगल आएको उनी सम्झन्छन्। 'हामीले धेरै सुभचिन्तक कमाएका रहेछौं भन्ने त्यो बेला महसुस भयो। धेरैले आश्चर्य माने। फोनमा बधाई दिए। केही त सोझै ठाउँ पत्ता लगाएर सिनामंगलमै आइपुगेछन्,' उनी विगततिर फर्किए।
लगातार चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमानका साथै ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी तथा एसियाली खेलकुदका तीन कास्य पदक विजेताको परिचय बनाएका दीपक नेपाली खेलकुदबाट जनस्तरमा समेत चिनिएका थोरै सेलिब्रिटीमध्ये एक हुन्। साथमा उनको मित्रवत व्यवहारले पनि धेरै प्रशंसक बटुलेको छ।
आयशा पनि के कम। तेक्वान्दोकी यी हँसिली सुन्दरीको रूपजस्तै स्वभाव अनि रिङमा विपक्षीमाथि कठोर बन्न सक्ने क्षमता नेपाली खेलकुदमा निकै लोकप्रिय छ। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्नुका साथै एसियाडमा कास्य पदक जितेको इतिहास र भविष्यमा अझ ठूला सफलता हासिल गर्न सक्ने सम्भावना आयशाको परिचय थियो, छ। त्यसैले दीपक–आयशाको सम्बन्धले नेपाली खेलकुदको 'हाई प्रोफाइल एफेयर' को नाम पाएको थियो।
दीपक–आयशा झन्डै छ वर्षको रोमान्सपछि वैवाहिक बन्धनमा बाँधिएका हुन्। दुई परिवारको जात तथा रहनसहन नमिल्ने कारण सम्बन्ध परिपक्व नभएसम्म र कसैले थाहा पाएमा भाँडिन सक्ने ठानेर उनीहरूले सम्बन्ध गोप्य राखेका थिए। 'हामी परिवारलाई सहमत गराएरै विवाह गर्ने योजनामा थियौं। सबथोक नमिलेसम्म हल्ला नगर्ने सहमति थियो,' दीपक र आयशा एकै स्वरमा भन्छन्।
...
यसै महिना नेपाली खेलकुदका अर्का दुई खेलाडी एकै मण्डपमा दुलाहा–दुलहीका रूपमा देखिए। बास्केटबलका पूर्व राष्ट्रिय खेलाडी एवं वर्तमान प्रशिक्षक विकास शाही र पौडीकी पूर्व सुपरस्टार एवं बास्केटबलकी वर्तमान राष्ट्रिय खेलाडी नयना शाक्य। दीपक–आयशाको विवाहजस्तो यसपालि दुवैका परिचितलाई विवाहले कुनै आश्चर्यमा पारेन। बरु लामो समयदेखिको शंकालाई पुष्टि गर्यो।
खेलकुदका सबैजसो मित्र साझा हुने भएकाले हुनसक्छ, निम्तो विकासका तर्फबाट आयो। एसएमएस वा मोबाइल कलमार्फत निम्तो आउँदा निम्तालु सबैको एउटै प्रश्न हुन्थ्यो, 'कोसँग विवाह गर्न लागेको?' प्रश्न जायज थियो, किनकि विकासले दुलहीबारे केही जानकारी गराएका थिएनन्। अनि विकासको उत्तर पनि त्यस्तै, 'भोजमा आउनुस् न देखिहाल्नुहुन्छ नि। तपाईंले चिनेकै हो।' यत्तिमै धेरैले दुलहीका रूपमा मण्डपमा नयना देखिने अड्कल काटिहाले, किनकि लामो समयदेखि स्कुटरमा यो जोडी हुइँकिइरहेको धेरैले देखेका थिए। पौडीमा निर्विवाद स्टारडम हुनाका बाबजुद विकाससँगको हिमचिमपछि उनी बास्केटबलमै होमिँदा पनि शंका स्वभाविक थियो। दुईबीचको निकटता सामान्य थिएन, त्योभन्दा माथिको थियो। जसले शंकामा मलजल थपेको थियो।
...

नेपाली समाजमा अझैसम्म प्रेम, रोमान्सलाई सामान्य मान्ने चलन आइसकेको छैन। त्यसैले नेपाली खेलकुदका पनि थुप्रै कथा लुकिरहेकै छन्। विवाहपछि मात्र एकैचोटि रहस्य छताछुल्ल देखिन्छ। फुटबलका अधिकांश स्टार लामो रोमान्सपछि मात्र वैवाहिक बन्धनमा बाँधिएका छन्। पूर्व स्टारहरू मणि शाहदेखि हरि खड्का, राकेश श्रेष्ठ, राजेश शाही, बसन्त थापा, बसन्त गौचन, निराजन रायमाझी, सन्तोष साहुखल, प्रदीप महर्जन हुँदै विकास मल्लहरूसम्मले प्रेम विवाह गरेका छन्। नेपाली खेलकुदमा मागी–विवाह आजकाल सायदै हुन्छन्। तर, विवाहअघि प्रेमबारे कसैले छनकसम्म दिँदैनन्। कारण– समाजको डर।
अन्तरजातीय सम्बन्धका कारण राजेश शाहीले विवाहपछि पनि लामो समय संघर्ष गर्नुपर्यो। सन्तोष साहुखल र बसन्त गौचन यसका उदाहरण हुन्। राजेश र बसन्तले गुरुङ युवतीसँग विवाह गरे भने साहुखलले शाहीसँग। 'विवाहअघि कसैले थाहा पायो भने भाँडिनसक्ने भएकाले चुप रहनुपर्छ। नेपाली समाजले जति आदर्श छाँटे पनि प्रेमलाई पचाउने अवस्थासम्म पुगिसकेको छैन,' राजेश भन्छन्, 'त्यसैले अत्यन्तै निकट मित्रबाट पनि लुकाउनुपर्ने बाध्यता थियो र छ।'
यद्यपि राजेशको विचारमा अहिले केही परिवर्तन आएको छ। एक दशकअघि 'प्रेमिका छ' भन्नसमेत लजाउने अवस्था थियो, अहिले खेलाडीहरू खुलेआम प्रेमी वा प्रेमिका भएको बताउँछन्। तर, आफ्नो पार्टनरको नाम भने गोप्य नै राख्छन्। गत सिजनमा नेपाली सेनासँग आबद्ध फुटबल स्टार भरत खवास यसको एउटा उदाहरण हुन्। 'गर्ल फ्रेन्ड छ। तर, अहिलेलाई गोप्य राखौं। उसको घर पाटन हो, योभन्दा बढी भन्नु राम्रो हुँदैन। समाजमा मेरोभन्दा बढी उसको प्रतिष्ठामा आँच आउन सक्छ,' भरत भन्छन्।

No comments:
Post a Comment