prachanda puspeएनेकपा माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणमा आफूलाई प्रगतिशील राष्ट्रवादको पक्षपातीका रुपमा चिनाएका थिए। राष्ट्रवादकै मुद्दामा विवाद भई पार्टी विभाजन भएको तर्क गरेका उनले मोहन वैद्य ‘किरण’ पक्षलाई उग्रराष्ट्रवादीको संज्ञा दिए। प्रगतिशील राष्ट्रवादलाई जे जसरी अर्थ्याउन खोजे पनि आफू भारतसँग मिलेर जान चाहेको प्रष्ट पारे। यसको अर्थ उनी प्रो भारतीय बन्न चाहन्छन्।
पार्टीभित्र डा.बाबुराम भट्टराईलाई भारतले विश्वास गरेको र आफू भारतको पेलाईमा परेको भोगाईले छटपटिएका प्रचण्डले राष्ट्रवादका सवालमा आफूलाई यूटर्न गराए। भारतीय अधिकारीहरूसँग व्यक्तिगत राजनीतिक फाइदाको सवालमा छलफल गरी आफ्नो दल र गुटलाई चुनाव जिताउन भारतीय सहयोगका लागि नदीनालाको लाइसेन्सदेखि विमानस्थल सुरक्षामा समेत भूमिका दिनसक्ने बताएर आए। विगतमा भारतविरोधी परिचय बनाएका उनले जिम्मेवार अधिकारीहरूसँग माफी मागे। प्रचण्डको राष्ट्रवादको मुखुण्डो भारतीय भूमिमा उदांगो भयो। अरुलाई भारतीय दलाल भन्ने उनी आफै दलाल बन्ने इच्छा व्यक्त गरेर फर्किए। प्रचण्डको प्रवृत्ति र प्रस्तावको वास्तविकता खुल्दै जाला। तर उनी प्रगतिशील राष्ट्रवादका नाममा दलाली राष्ट्रवादलाई अंगिकार गर्दैछन् भन्ने घटनाक्रमले देखाउँदै लगेको छ।
कार्यकर्ता र जनता झुक्याउन सडक र मैदानमा कुर्लेर भारतलाई गाली गर्ने र भित्र चाहिं उनीहरूसँगै घाँटी जोड्ने प्रवृत्ति प्रचण्डको परिचय बनिसकेको छ। चीन जानुअघि भारतीय राजदूत जयन्तप्रसादसँग बारम्बार भेटेर पहिलो भ्रमण भारतमै बनाउन अनुनय विनय गरे। स्रोतका अनुसार प्रसाद स्वयंले प्रचण्डको अनुनय विनयबारे नेपालका निकटस्थ नेताहरूसँग खुलाएका छन्। चीन जान समेत भारतीय राजदूतको स्वीकृति लिएका प्रचण्डको राष्ट्रवाद लाजिम्पाजमै उदांगो भइसकेको थियो। नयाँ दिल्लीमा पुगेर फर्कदा सम्म उनको राष्ट्रवादको जामा खुलिसकेको थियो। लाचार बनेर प्रधानमन्त्री बन्दा पहिलो भ्रमण चीनको गर्नु गम्भीर गल्ती भएको र सेनापति प्रकरणमा भारतको भनाई नसुन्नुलाई अर्को गल्ती स्वीकार्दै माफी माग्दै हिंडे। बानेश्वरमा भारतविरुद्ध कुर्लेका उनी दिल्लीमा भारतीय नेता र अधिकारीहरूसम्म लम्पसार परे। लचिलो बन्नसक्ने नेताको परिचय बनाएका उनले आजकल आफूलाई प्रो भारतीय बनाइसके। दिल्लीमा सार्वजनिक रुपमा चीनसहित त्रिदेशीय समझदारीको सवाल उठाउने र मनमोहन सिंहसँग पुगेर व्यक्तिगत लाभका लागि याचना गरेको खुलिसक्यो। उनी अब हुने चुनावमा दिल्लीको आशिर्वाद लिन पुगेका थिए न कि नेपालको आर्थिक हितका लागि। भारतलाई नदीनालाको लाइसेन्स, एयरपोर्ट सुरक्षाको जिम्मेवारी र भारतविरोधी गतिविधिलाई ठेगान लगाउन भूमिका खेल्ने प्रतिवद्धता समेत सुनाउन पुगे। माओवादी र आफ्नो गुटलाई जिताउन सघाऊ पुर्‍याए भारतको हितमा गर्न सक्ने कामहरूबारे समेत जानकारी गराए।
राष्ट्रियताको मुद्दालाई आफू अनुकूल व्याख्या गर्ने र बार्गेनिङ चिप्स बनाउने माओवादी शैलीलाई प्रचण्डले उदांगो पारे। सशस्त्र द्वन्द्व र पहिलो संविधानसभा चुनावसम्म उनी कट्टर राष्ट्रवादी बन्दै कुर्लिए। पार्टी नीतिमा भारतविरोधी बुँदाहरूलाई मोटो अक्षरमा राखे। विदेशीसँग लम्पसार परेर राजनीतिक भविष्य बलियो बनाएको हो कि भन्ने भान परेर पार्टीभित्रका प्रतिद्वन्द्वी बाबुराम भट्टराई राष्ट्रवादी बन्न थाले। उनले विदेशीको चलखेल बढेको विषय उठाए। विगतमा भारतकै आशिर्वादमा प्रधानमन्त्री बन्न सफल बाबुराम राष्ट्रवादी देखिने र प्रचण्ड प्रो भारतीय बन्न खोज्नुलाई शक्तिकेन्द्रको पहुँचमा यताउता भएको बुझ्न सकिन्छ। प्रचण्डले भारतलाई जत्तिसुकै रिझाउन खोजेपनि उनलाई भारतले पत्याइहाल्ने सम्भावना छैन। प्रचण्ड छिट्टै यूटर्न हुनसक्ने स्वभावबाट भारत समेत परिचित छ।
राष्ट्रवादको कार्ड
माओवादीले विगतमा नेपाली काँग्रेस र नेकपा एमालेविरुद्ध राष्ट्रवादको तुरुप फालेको थिए। जनयुद्धकालमा समेत प्रचण्डले भारतसँग सुरुङयुद्धको धम्की दिएका थिए। यो उनको सनकी स्वभावभन्दा रणनीतिक चाल थियो। त्यो उनको भारतसँग बार्गेनिङ थियो। बानेश्वरमा कुर्लिएर भारतलाई गाली गर्दा समेत बार्गेनिङको छनक मिलेको थियो। काँग्रेस र एमालेलाई ‘भारतीय दलाल′ को संज्ञा दिदै भारतलाई ‘विदेशी प्रभु’को उपमा दियो। अहिले आएर माओवादी अध्यक्ष प्रचण्ड स्वयं भारतसँग चाकडीमा लिप्त छन्। दिल्लीको गर्मीले राष्ट्रवादको मुकुण्डो च्यातियो। विगतमा उनको भारतविरोधी नारा हात्तीको देखाउने दाँत मात्र रहेछ। भ्रमहरू आफै चिरिदैछन् तर अन्य दलहरूले जनतासमक्ष प्रचण्डको असली चरित्र पुर्‍याउने दायित्व कसरी निर्वाह गर्लान् हेर्ने समय हो।
प्रचण्डको चरित्र उदांगिदै जादा राष्ट्रवादको मुद्दालाई एमालेले अघि सारेर राजनीतिक लाभ हासिल गर्ने अवसर बनाउन खोज्दैछ। एमालेले आगामी चुनावमा राष्ट्रवाद मुख्य मुद्दा बनाउने संकेत गरिसक्यो। काँग्रेसले समेत राष्ट्रवादको मुद्दालाई प्राथमिकतामा राख्ने जमर्को गरिसक्यो। काँग्रेसनिकट विचारहरूको संस्था वीपी चिन्तन प्रतिष्ठानले वैशाखको अन्तिम साता गरेको तीन दिने सम्मेलनमा राष्ट्रवादको विषयले उच्च महत्व पायो। राष्ट्रियता कमजोर भएको ठहरका साथ आगामी चुनावमा यस मुद्दालाई सशक्त रुपमा उठाउन कांग्रेसलाई सल्लाह दिने निर्णय समेत गरेको छ। माओवादीले राष्ट्रवादकै मुद्या उठाएर काँग्रेसलाई कमजोर देखाउन खोजेको र अब उसको चरित्र उदांगिएकाले बलियो चुनावी तुरुप राष्ट्रवाद नै हुनसक्ने निष्कर्षमा काँग्रेसीहरू पुगेका छन्। प्रमुख दलहरू एमाले र काँग्रेसले राष्ट्रवादको मुद्दालाई जोड साथ उठाउने संकेत देखिएको छ।
माओवादीले एमाले र काँग्रेसलाई महाकाली सन्धीमा बदनाम पार्न खोजेको थियो। उसले जनतामाझ एमाले र काँग्रेसले महाकाली बेच्यो भन्दै हिंड्यो। माओवादी भ्रम छर्न सफल भए। प्रचण्ड र बाबुरामको क्रियाकलाप छर्लंग छ। उनीहरू भारतसँग हात जोडेर हिंडे। यो मुद्दालाई राष्ट्रियतासँग गाँसेरै उठाउलान्। प्रचण्डको भारतसँगको सामिप्यता र उनले देखाएको व्यवहारले एमाले र काँग्रेस एग्रेसिभली प्रस्तुत हुने अवसर प्रदान भयो। अब उठ्ने राष्ट्रवादको मुद्याले माओवादीलाई कमजोर बनाउनसक्छ। विगतमा भारतविरोधी नक्कली पहिचान र राष्ट्रवादीको परिचयले मतदाता आकर्षित गर्न सकेका थिए। नक्कली राष्ट्रवादका नाममा जनता झुक्याउने माओवादी चालाले आगामी दिनमा जनआक्रोश थेग्न सहज छैन।