Thursday, May 16, 2013

बुद्धको जन्म भारतमा भएको हो ?


- ङिमा पाख्रिन
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् । पप गायक धिरज राईले आफ्नो पछिल्लो एल्बमको एउटा गीत नै "बुद्ध वाज बोर्न ईन नेपाल" भनेर राखिएको छ भने सिनेकर्मी अमित ढुंगानाले यसै शिर्षकमा फिचर फिल्म बनाउँने कार्यका लागि अन्तिम चरणमा पुगेको हालैको एक भेटमा बताएका थिए । यसै शिर्षक एवं सेरोफेरोमा दर्जनौं फेस बुक पेजहरु खोलिएका छन, समुहहरु स्थापना भएका छन् केयौं लेखहरु लेखिएका छन् । कोरियाका लागि नेपाली राजदुत कमन सिंह लामाको प्रयासमा बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वशान्ति दीप प्रज्ज्वलित गरी आगामी बुद्ध जयन्तीमा कोरिया पुराईदै छ । सरकारी तवरबाट भएको सयाद यो नै एउटा खुड्किलो होला ।

उता भारतले लुम्बिनीको सिमानामा जोडेर नक्कली लुम्बिनी बनाएका समाचारहरु प्रशस्तै आएका छन् । बुद्धको जन्म भारतको उत्तरी प्रान्त लुम्बिनीमा भएको पुस्तकहरु प्रकाशन गरी बिध्धालयमा औपचारिक शिक्षा दिई रहेको अब कुनै लुकाई रहनु पर्ने विषय भएन । यसो हुँदा हुदै पनि नेपाल सरकार तथा नेपालका राजनितीक दलहरु चै किन केहि बोलेका छैनन् त ? बुद्धको जिवनी बारेमा धेरै लेख रचना तथा किताबहरु पश्चिमाहरुले लेखेको हुँदा र उनीहरुको बुझाई सिमाको कारणले पनि बुद्ध भारतमा जन्मेको भन्ने भ्रमक कुराहरु पर्न गएको हुन सक्छ भनेर शिक्षाबिद डा तारा निरौला भन्नुहुन्छ । वहाँका अनुसार यस्ता गलत सुचनाहरुलाई सच्याउँने पहल नेपाल सरकारबाट तत्काल गर्न अति जरुरी छ । भारतले यसरी बुद्ध भारतको उत्तरी प्रान्तमा जन्मेको भन्नु राजनितीक विषय हो भनेर बुद्ध दर्शनका अध्येता फुर्वा तामाङ भन्नु हुन्छ । कहिले बुद्ध भारतमा जन्मेको, कहिले सगरमाथा भारतमा पर्छ आदि ईत्यादि भनेको सरासर घुमाउँरो पाराले नेपाल छुट्टै देश नभई भारतको एउटा प्रान्त हो भनेर भारतले राजनितीक बोली बोलेको हो भनेर तामाङ ठोकुवा गर्नु हुन्छ ।

नेपालका केहि पुस्तकहरुमा बुद्धलाई भगवान बिष्णुको नवौ अवतारको रुपमा ब्याख्या गरिएको छ । यो पनि सरासर हिन्दुबादी राज्यसत्ताको राजनितीक खेल हो भनेर फुर्वा तामाङ भन्नु हुन्छ । यदि बुद्ध नवौं अवतार नै हो भने, बिष्णुका अरु अवतारहरु मानिएका भगवान क्रिष्णका क्रिष्णाष्टमी, श्रीरामको राम नवामी मनाए जसरी नै राज्यका तर्फबाट साथै आम हिन्दुहरुबाट समेत भव्यताका साथ किन बुद्ध जयन्ती मनाईन्दैन भन्ने प्रश्न टड्कारो छ । बुद्ध आफैंले कहिल्यै पनि आफू कसैको अवतार हो भनी उल्लेख गरेको पनि पाईदैन ।

बुद्धमार्गी महान ब्यक्तिहरुले बुद्ध कहाँ जन्मेको भन्ने कुरामा बहस गर्नु भएको देखिएको छैन । मानव निर्मित देशको सिमाहरुले यसलाई छेकिनु पनि हुँदैन । त्यसो त बुझ्नु पर्ने कुरा के पनि हो भने जति खेर बुद्धको जन्म भयो अहिलेको जस्तो बिभिन्न देशको सिमाङ्कन भएको थिएन । नेपालकै कुरा गर्दा नेपाल भन्ने नामको अहिलेको स्वरुपमा धेरै पछि मात्रै निर्माण भएको हो । अध्येताहरुको अध्ययनले देखाए अनुसार जति खेर बुद्ध जन्मनु भयो, त्यो बेला त्यो भुमी (लुम्बिनी) कपिलबस्तु नामको राज्यभित्र थियो जुन सम्राट अशोक शासित मगध देश अन्तर्गत उल्लेख गरेको पाईन्छ । कपिलबस्तुले मगधलाई बर्षेनी कुत (तिरो) बुझाउँनु पर्दथ्यो तर भगवान बुद्ध जन्मेकोले पछि त्यो मिनहा गरिएको भनेर लुम्बिनीमा रहेको अशोक स्तम्भमा उल्लेख गरिएको छ । कपिलबस्तुको राजधनी तिलोराकोटमा थियो जहाँ राजा शुध्दोधनको दरबार थियो । त्यहीं दरबारमा बुद्धको बाल्यकाल बितेको थियो । यसरी त्यो बेला जे भए पनि हालको अवस्थामा बुद्धको जन्मसँग सम्बन्धित यी सबै भुमीहरु नेपाल राष्ट्र भित्रका हुन् । यसलाई कसैले दाबी बिरोध गरी रहनु पर्ने जरुरी नै छैन ।

बुद्ध कहाँ जन्मेको हो, कुन भुमीमा वहाँले ज्ञान प्राप्त गर्नु भएको हो भन्ने बिषयमा बहस गरी रहनु भन्दा बुद्धले दिनु भएका उपदेशहरुको, वहाँका बचनहरुको, वहाँले देखाएका मार्गहरुको बारेमा बहस गरिनु राम्रो हुन्छ । बुद्धका अहिँसाबादी मार्गको ब्यापक छलफल हुनु जरुरी छ । बुद्धसँग के कला थियो, जसले गर्दा वहाँप्रति रिस राग गर्ने धेरैजना पनि वहाँलाई भेटेपछि वहाँकै पछि लागेका थिए, सम्राट अशोक समेत वहाँको भक्त बनेका थिए । वहाँले के ज्ञान छाड्नु भएको छ, जसले गर्दा बिश्वलाई नै चकित बनाएको छ, यस सम्बन्धमा निर्माताहरुले फिल्महरु बनाईनु जरुरी छ । गायक-गायिकाले गीतहरु गाउँनु जरुरी छ । लेखकले लेखनु आवश्यक छ । बुद्ध दर्शनका बारेमा बिभिन्न मिडियाहरुमा प्रचार प्रसार हुनु, सोसिएल साईटहरुमा ब्यापक छलफल गर्नु जरुरी छ । आजका हरेक मानबले वहाँले देखाएका मार्ग बुझेर यहीं मार्गमा हिड्नु आवश्यक छ ।

No comments:

Post a Comment