Wednesday, May 15, 2013

जनजाति महासंघमा शेतामगुरालिको बर्चस्व सकियो


माओवादी शून्य, कांग्रेस २, एमाले ४ सीटमा विजयी



१ जेठ, काठमाडौं । सोमबार राति चितवनको सौराहामा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनले आफ्नो २३ वर्षे इतिहासमा पहिलोपटक शेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बू (शेतामगुरालि) को बर्चश्वलाई तोड्दै अल्पसंख्यक जातिका हातमा नेतृत्व सुम्पेको छ । महासंघको १३ सदस्यीय कमिटीमा माओवादीको प्रतिनिधित्व शून्य छ भने एमालेले ४, कांग्रेसले २ र चैतन्य सुब्बाको पार्टीले २ स्थानमा पकड जमाएका छन् ।
ठूलाले हारे, अल्पसंख्यक जातिले जिते
आठौं महाअधिवेशनले कुमाल, मेचे, माझी, भुजेल, दराई, चेपाङ, उराउ आदि समुदायलाई नेतृत्वमा ल्याएको छ । इलामका नगेन्द्र कुमालको अध्यक्षतामा निर्वाचित १३ सदस्यीय सचिवालयमा राई, लिम्बू, मगर, गुरुङजस्ता ठूलो समुदायमा रहेका आदिवासी जनजातिबाट एकजना पनि कार्यसमितिमा परेका छैनन् । समितिमा एकजना शेर्पा र एकजना भोटे छन् भने अरु सबै अति सीमान्तीकृत समुदायका आदिवासी जनजातिहरु चुनिएका छन् ।
यो पनि पढ्नुस्
आदिवासी जनजाति महासंघमा आवद्ध ५६ जातीय समुदायमध्ये मगर, गुरुङ्ग, तामाङ, राई, शेर्पा, थारु र लिम्बूहरुलाई बहुसंख्यक एवं ठूला जातीय संगठन मानिन्छ भने अन्यलाई जातीय संगठनभित्रै पनि पिछडिएको समुदाय मानिन्छ । नेवार समुदायलाई जनजातिभित्रको विकसित समुदाय मानिन्छ ।
jana-jati final
वि.सं. ०४७ सालमा स्थापना भएको महासंघले आफ्नो २३ वर्षे इतिहास रचिसकेको छ । यसअवधिमा महासंघको नेतृत्वमा पर्शुराम तामाङ, सुरेश आलेमगर, बालकृष्ण माबुहाङ, ओम गुरुङ, पासाङ शेर्पा र राजकुमार लेखीसमेत ६ जनाले नेतृत्व सम्हालिसकेका छन् । निवर्तमान अध्यक्ष लेखी थारु समुदायका भए पनि उहाँको कार्यकालमा अहिलेको जस्तो सचिवालयमा अल्पसंख्यकको बाहुल्यता थिएन । थारु समुदाय पनि आदिवासी जनजातिभित्रको बहुसंख्यक मानिन्छ ।
‘हामीले यसपालि महासंघमा सेतामगुरालिको बर्चस्व तोडेर साँच्चै पछाडि परेको सीमान्तीकृत समुदायलाई नेतृत्वमा ल्याउन सफल भएका छौं ।’ महाधिवेशनपछि एक जनजाति नेताले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘महासंघलाई साम्प्रदायिक एवं बाहुनविरोधी संस्थाजस्तो बनाउन यिनै ठूलाहरुको भूमिका थियो, अब महासंघ त्यस्तो साम्प्रदायिक संस्था नभएर पिछडिएको जातिको हितको प्रतिनिधित्व गर्ने संस्था बन्ने छ ।’ स्रोत भन्छ, ‘यसपालि पनि महासंघलाई ठूला जातीय संस्थाले आफ्नो पकडमा राख्न चाहेका थिए, तर उनीहरुले सकेनन् ।’
एमाओवादी, माओवादी र अशोक राई पत्तासाफ
महासंघको आठौं महाधिवेशनले एमाओवादी र माओवादीलाई पनि पत्तासाफ गरेको दाबी जनजाति नेताहरुले गरेका छन् । ‘दुईवटै माओवादीका नेताहरुले आफ्नो मान्छेलाई जिताउने कसरत गरेका थिए, तर उनीहरुमध्ये एकजनाले पनि जितेनन् ।’ ‘स्रोतले भन्यो अनलाइनखबरसँग भन्यो- ‘सौराहाको मदरल्याण्ड होटलमा ४ रातसम्म बसेर नेताहरुले आफ्नो मान्छेलाई जिताउने षड्यन्त्र गरे । एमाओवादीका वर्षमान पुन, वैद्यपक्षका सुरेस आलेमगर, एमालेका पृथ्वीसुब्बा गुरुङ, कांग्रेसका आरबी गुरुङ र संघीय समाजवादीका ६ जना केन्द्रीय सदस्यहरुले एउटै होटलमा बसेर महासंघमा खेल्ने प्रयास गरेका थिए । सामाजिक लोकतान्त्रिक पार्टीका चैतन्य सुब्बा पनि यो राजनीतिक खेलमा सक्रिय थिए ।
महासंघ स्रोतका अनुसार महासंघमा कसलाई ल्याउने भन्नेबारे एमाओवादी र माओवादी दुबै एकमत थिए । उनीहरुले एमाओवादीका राज्यसमितिस्तरका नेता पेमाछिरी शेर्पालाई अध्यक्षमा ल्याउने कसरत गरेका थिए । तर, यसमा असफल भएपछि उनीहरुले अन्तिम घडीमा चन्द्रबिक्रम राईलाई जिताउने प्रयास गरे । पेमाछिरी शेर्पालाई अध्यक्ष बनाउन नसकेपछि माओवादीले महासचिवमा उठाएको थियो, तर उनले जितेनन् ।
सोमबार अबेलातिर एमाले नेता पृथ्वी सुब्बा गुरुङले हार स्वीकार गर्दै निवर्तमान अध्यक्ष राजकुमार लेखीसँग सम्पर्क गरी आफ्नो पार्टीले अध्यक्षमा कुमाललाई नै समर्थन गर्ने तर महासचिव आफ्नो दले पाउनु पर्ने माग गरे । एमाले नेता गुरुङ र लेखीवीचको सहमतिअनुरुप बाजुरा निवासी एमालेका पेम्बा भोटे महासचिव पद हात पार्न सफल भएका छन् । अध्यक्षमा एमालेको आफ्नो दाबी नभएकाले उसले अन्तिम घडीमा आएर कांग्रेसनिकट कुमाललाई अध्यक्षमा जिताउन सहयोग गरेका कारण प्रत्यासी राईले पराजय भोग्नुपरेको स्रोत बताउँछ ।
नवगठित अशोक राईको संघीय समाजवादी पार्टीबाट रमक चेम्जोङको नेतृत्वमा आधा दर्जन केन्द्रीय नेताहरु सौराहामा बास बसेका थिए । तर, माओवादीको जस्तै राईको पार्टीबाट पनि सचिवालयमा एकजना पनि सदस्य छानिएनन् ।
कुन-कुन पार्टीबाट आए महासंघमा ?
महासंघको १३ सदस्यीय केन्द्रीय सचिवालयमा अध्यक्ष र कोषाध्यक्ष कांग्रेसले जितेको छ भने एक महासचिव, दुई उपाध्यक्ष र एक सचिव पद एमालेले जितेको छ । चैतन्य सुब्बाका दुईजना केन्द्रीय सदस्यले उपाध्यक्ष जितेका छन् । बाँकी ५ मध्ये एकजना राजकुमार लेखी समर्थक र ४ जना स्वतन्त्र छन् ।
स्रोतका अनुसार इलाम निवासी नवनिर्वाचत अध्यक्ष नगेन्द्र कुमाल पूर्वकांग्रेस कुन् । पाँच उपाध्यक्षमध्ये झापा निवासी रोश्नी मेचे (महिला), चैतन्य सुब्बाको सामाजिक लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य हुन् । त्यस्तै ताप्लेजुङ निवासी अर्का उपाध्यक्ष डन्डु शेर्पा (हिमाल) पनि सुब्बाको सामाजिक लोकतान्त्रिक पार्टीका केन्द्रीय नेता हुन् ।
कास्की निवासी उपाध्यक्ष सूर्यबहादुर भुजेल (पहाड) एमालेका सक्रिय कार्यकर्ता हुन् भने उपाध्यक्ष रामअवतार मण्डल (तराई) धनुषा निवासी हुन् । मण्डलको दलीय संलग्नता खुलेको छैन । पाँचौ उपाध्यक्ष टपिया दराई भने चितवनका एमाले निकट हुन् । त्यस्तै महासचिव पेम्बा भोटे बाजुराका सक्रिय एमाले कार्यकर्ता रहेको स्रोत बताउँछ ।
पाँचजना सचिवहरुमध्ये यशोधा (महिला) दाङ निवासी हुन् । उनी राजकुमार लेखी निकट हुन् । चौधरीलाई लेखीले नै सचिवमा प्रस्ताव गरेको बताइन्छ । उनी निर्विरोधरुपमा सचिवमा चुनिएकी हुन् । अर्का सचिव गणेशलाल थकाली (हिमाल) पोखराका हुन्, उनको दलीय संलग्नता छैन । सचिव यमबहादुर (यमन) चेपाङ (पहाड) मकवानपुर निवासी हुन् । उनी एमाले निकट हुन् । अर्की सचिव चिनीमाया माझी (भित्री तराई) को भने दलीय आवद्धता खुलेको छैन । महासंघको महिला शाखामा काम गरेकी माझीले आफूलाई स्वतन्त्र बताउने गरेकी छन् । सचिव पदमा निर्वाचित सुनसरीकी ध्यानी उराव (तराई) पनि स्वतन्त्र हुन् ।
कोषाध्यक्षमा निर्वाचित गोर्खाका जगतबहादुर बराम कांग्रेसको भातृसंगठन नेविसंघका केन्द्रीय नेतासमेत भैसकेका व्यक्ति हुन् ।
छैनन् स्थायी केन्द्रीय सदस्य
महासंघको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको १३ जनाको सचिवालय नै महासंघको केन्द्रीय कार्यकारिणी निकाय हो । प्रत्येक ६/६ महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा ५६ वटै जातीय संगठनले एक जना महिला र एकजना पुरुषलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा पठाउने विधानमा व्यवस्था रहेको छ । तर, महाधिवेशनबाटै केन्द्रीय सदस्य चुन्ने प्रणाली महासंघमा छैन ।
- See more at: जनजाति महासंघमा शेतामगुरालिको बर्चस्व सकियो

No comments:

Post a Comment