काठमाडौं । सांगठानिक पद्धतिको मेलोमेसो नै नपाएको काँग्रेस चुनावको तयारी सँगसँगै अनेक थरी लफाडामा पर्ने गरेको छ । पछिल्लो किचलो भने संसदीय बोर्डलाई पूर्णता दिने विषयमा मच्चिएको हो ।
विधानअनुसार काँग्रेसको संसदीय बोर्ड ११ सदस्यीय हुन्छ । जसमा हालका पदाधिकारीहरु पाँच जना अहिले नै छन् । बाँकी रहेका ६ सिटमा को–को जाने भन्ने हानथापले नै काँग्रेसलाई तताएको हो ।
बाहिर जोडिए पनि भित्री रुपमा भने समानान्तर पार्टी अहिलेसम्म पनि चलाइरहेका शेरबहादुर देउवाले छवटामध्ये चारवटा सिट आफ्नो मान्छेका लागि छुट्याउनुपर्ने माग सुशील कोइरालासँग राखेका छन् । स्रोतका अनुसार देउवालाई दुईवटा ठाउँ दिने सोचमा रहेका सुशील कोइराला अरु चार सिटमा कसलाई ल्याउने भन्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन् । बिचरा शुसील ! सकून् पनि कसरी ? जम्मा ठाउँ छ, ६ वटा । दाबी गर्ने छन् दुई दर्जन ।
धेरै आकांक्षी भएर परेको अप्ठेरो त छँदै छ । त्यसमाथि विभिन्न क्षेत्रबाट आएका धम्कीहरुको त कुरै छाडौं । गिरिजापुत्री सुजाता कोइरालाले महाराजगञ्जसम्म नै पुगेर सुशीललाई थर्काइन्, ‘सशांक र शेखरलाई कुनै हालतमा लाने होइन, बुझ्नु भो नि ! मलाई ठाउँ नदिए म तपाईंलाई देखाइदिन्छु ।’ अविवाहित पुरुष, त्यसमाथि बयोवृद्ध । यो उमेरका आफ्नै सानो बुबालाई सुजाताले के देखाइदिन्छु भनेको हो त्यो उनी आफैं जानून् । तर, उनको यो कुरा सुनेपछि उनी निकट काँग्रेसीहरु नै सुजातासँग रुस्ट भएका छन् ।
अर्का बयोवृद्ध नेता कुलबहादुर गुरुङले आफ्नो गुट (उनी आफैं)लाई एक सिट हुनैपर्ने माग दाबी गरेका छन् भने सुजाताले झैं जेलभित्र बसेका खुमबहादुरले पनि आफ्ना लागि सिट नछुट्याए देखाइदिने नै धम्की दिएका छन् ।
यस अलावा अर्जुन नरसिंह केसी, रामशरण महतलगायतका धेरै काँग्रेसी नेताहरु संसदीय बोर्डको सदस्य बन्ने होडबाजीमा दिलोज्यानले लागिपरेको बताइन्छ ।
No comments:
Post a Comment