Thursday, May 9, 2013

हनिमुन मनाउन पनि ‘लिफ्ट’ नै लिने ? (व्यंग्य)


Sushil-koirala

यतिखेर सबै दौडधुपमा देखिएका छन् ।
प्रचण्ड चीन गएर आए लगत्तै भारत जाने तरखरमा छन् ।
राष्ट्रपति जनकपुरको आफ्नो निवास पुगेका छन् ।
उपराष्ट्रपति कार्यक्रमै–कार्यक्रमको सूची मिलाउँदैमा भ्याई–नभ्याई बनेका छन् ।
रेग्मीहरु त यसै–उसै बेफुर्सदी हुने भइहाले । उनीहरुलाई रिबन काट्दैमा हैरान छ ।
अलिकति फुर्सदमा थिए – काँग्रेस सभापति सुशील’दा । त्यसैले बेफुर्सद देखिन कार्यक्रम बनाए जिल्लातिरको । जिल्ला पनि अरु हो र आफ्नैं बाँकेको । काठमाडौं र यसको कोठे राजनीतिबाट कहिल्यै माथि नउठेका विचरा सशील’ दालाई नेपालगञ्ज कसरी पुगिन्छ भन्ने सम्मको पत्तो रहेनछ ।
‘बसबाट जाने नि लक्ष्मणबाबु †’ सुशील ’दाले सुरुमा आफ्ना सहयोगी लक्ष्मण ढकाललाई यसै भनेका थिए ।
‘बसबाट गए त भोलि साँझमात्र पुगिन्छ । कार्यक्रम आज दिउँसो छ ।’ ढकालले दिम्दारी जवाफ दिए ।
‘त्यसो भए के गर्ने ?’ सुशील’दा थोरै दु:खी झैं प्रस्तुत भए ।
‘प्लेनमा जाने । सक्भर म सस्तोमा टिकट मिलाउँछु ।’ ढकालले जवाफ दिए । प्लेनमा जाने भन्ने वित्तिकै उतर्सिएका सुशील’दा सस्तो टिकट भन्नासाथ अलि उज्यालो देखिए । ढकालले ज्यान प्राण गरेर टिकट खोजे । एउटा टिकट मिलाइदिए बापत आगामी चुनावमा पार्टीको तर्फबाट टिकट मिलाइदिनेसम्मको आश्वासन ढकालले दिए । तर कोही कसैले यो उधारो कुरा पत्याएनन् । अन्तत: एक एअरलाइन्सका कर्मचारीले केही बेरमा एउटा चार्टर्ड प्लेन नेपालगञ्जतर्फ उड्न लागेको बताए । ढकाल र कोइराला कम्पनीलाई यो खबरले आहत मनलाई राहत दिएजस्तै भयो ।
अब योभन्दा बढी कुरा त नभनौं कि ! किनकि पाठकहरुलाई राम्ररी थाहा छ, कोइरालाको उडान दाहालको सौजन्य भयो । ढ्याक्कै संघीय गणतन्त्रको यात्रामा प्रचण्डलाई पछ्याएर हिँडिरहेको काँग्रेस जस्तै । करिब एक घण्टाको उडानमा प्रचण्डसँग कोइरालाले ग्रेट हलको मिटिङ्गका कुरा सोधे । कति थरी खाना खानुभयो ? भन्नेदेखि किन यति धेरै सम्मान पाउनुभयो ? भन्ने जिज्ञासा राखे । करिब–करिब प्रचण्ड जवाफमा ‘ट्वाँ’ परेका कोइरालाको अवस्था देखेर सहयोगी ढकालले भने, ‘अध्यक्षज्यू ! हाम्रो सभापतिज्यूलाई पनि यसो ‘ट्रिप’ मिलाउनुपर्‍यो । म पनि भर्खरै बिहे–बन्धनमा बाँधिएको मान्छे, हनिमुनका लागि बेइजिङ्ग जान पाए हुन्थ्यो ।’
‘कसलाई के धन्दा, कसलाई खानको धन्दा’ भने झैं ढकालको पारा देखेर तारा एअरलाइन्सका एअरहोस्टेजहरुसम्म अचम्ममा परे ।
‘माग्नेलाई मसिनो चामलको भात ?’ मनमनै भुत्भुताइन् एअरहोस्टेज विनिता र खुसुक्क उनले ढकाललाई भनिन्, ‘सर, प्लेन उत्रने बेला भयो बेल्ट बाँध्नुस् न ।’ बेल्ट बाँध्ने निहुँमा बेजोडको दनक दिइन् विनिताले । र, क्रमश: प्लेन ओरालो लाग्दै रनवेमा कुद्न लाग्यो । अब करिब–करिब कोइरालाको छुट्टिने बेला हुनलाग्यो र सोधे, ‘प्रचण्डजी ! दिल्ली जानुअघि हामी एकपटक चाहीँ भेटौा है ।’
‘किन ?’ सोध्न मन थियो शायद प्रचण्डलाई । तर कोइरालाले नै थपे : ‘हेर्नुस्, हाम्रो कुरा कसैले सुन्दैन । त्यसकारण, तपाईंमार्फत् म हाम्रो कुरा उनीहरुको कानमा पुर्‍याउन चाहन्छु ।’ उनी बोल्दै थिए । त्यत्तिकैमा उनीहरु नेपालगञ्ज एअरपोर्टको आगमन कक्षमा पुगे । पन्ध्रौं जनाको दलबलसहित ओर्लिएका प्रचण्डलाई लिन आएको जमातले सबैलाई फूलमाला लगाउन थाले । एकैछिनमा पत्रकारहरुको भीडले प्रचण्ड घेरिए । यता कोइराला, ढकाल र उनीहरुसित रहेका सुरक्षा अधिकारीलाई भने के गरौं ? कसो गरौं ? भयो । उनीहरु एअरपोर्टमा नै रहेको ‘टि—सप’ तिर लागे । केहीबेरमा प्रचण्डको समूह एअरपोर्टबाट बाहिरिसकेको खबर फैलियो र कोइरालाहरु एअरपोर्टबाट बाहिर निस्किए । उनीहरुको स्वागतमा अपेक्षित भीड र समूह देखिएनन् । बरु गाडी चढेर उनीहरु बजार क्षेत्रतिर लाग्दा एफ.एम.बाट खबर सुने, ‘कोइरालालाई दाहालको ‘लिफ्ट’। दाहालले लिफ्टसँगै चुनावी सिफ्टको कुरा पनि गरे । चीनपछि भारत : दहालसँग कोइराला नदारत । दाहालद्वारा काँग्रेससँग मात्रै प्रतिस्पर्धा हुने उद्घोष । आदि/इत्यादि ।
समाचारका मर्म, मान्यता र महत्त्वमाथि कोइरालाको किञ्चित रुची र चाहना देखिएन । उनी समाचार र त्यसको महत्वबोधको पाटोभन्दा सतही रुपमा के र कसरी बाँकेको एक नम्बर क्षेत्रीय सम्मेलनमा आफू पक्षधर क्षेत्रीय सभापति जिताउने भन्ने धुनमा केन्द्रित देखिन्थे । प्लेनमा लिफ्ट लिँदाका बेलामा सहयात्री र दिल्लीमा खबर समेत पुर्‍याउन सम्बाहक ठानेका प्रचण्ड र एमाओवादी यथार्थलाई कसरी आमसभामा निन्दा गर्ने ? त्यसको मेसो मिलाउँदै थिए । लगभग १२ वर्षसम्म ढुङ्ग्रोमा हाल्दा नसोझिएका पुच्छरहरु यसपटक पनि सोझिने कुरै थिएन । र त कोइरालाले सुटुक्क ढकाललाई भने, ‘हामीले लिफ्ट लिएर आएको कुरा अरुले थाहा पाए भने पनि हामीले चाहीँ भन्नु हुन्न ल ।’
kantipur news

No comments:

Post a Comment